Skip to content


शिवरात्रिको अवसरमा कसरी अर्को शिवरात्रि पर्व उठयो ! तीन दिन तीन रात, अङ्ग्रेजीको धुनी जगाउन आएकाहरू, ताप्न आएकाहरू । भारत र बङ्गलादेशबाट, पाकिस्तान र श्रीलङ्काबाट मात्र होइन ! टाढाटाढाबाट जापानका एक हूल, उता हङकङ, युनाइटेड अरब इमिरेटस्, कतार, इरान मात्र होइन परपरका बेलायत र अमेरिकादेखिका अङ्ग्रेजीप्रेमीहरूको हूल काठमाडौं ओर्लियो । नेपालका ४६ जिल्लाबाट धारो लाग्यो- सात सय अङ्ग्रेजीप्रेमी तीन दिन तीन रात, कत्रो पर्व ! प्राथमिक तहदेखि विश्वविद्यालयसम्मैका कुनै विषयमा नेपालमा यत्रो सम्मेलन भएको थाहा छैन !

यहाँ आउनेहरू कुनै राजनीतिक दलको सम्मेलनमा भाग लिन ट्रकमा झुन्डिएर ओसारिएका जनता थिएनन् । यी त अनेक राजनीतिक दलका, भावनाका, आस्थाका थिए । अनेक धर्मका, जातीय पहिचानका, भाषाका र भूभागका थिए । बन्दको भयले साता दिनअघिदेखि आएर त्यो महोत्सव पर्खिरहेका, आत्तिँदै नाइट बसबाट ओर्लेर सोझै स्टाफ कलेज झटारिएका, पेट दुख्नेहरू दबाइगोली बोकेर हतेरिँदै, उमेर पाकेका, काँचा, युवायुवती । अहो यी अङ्ग्रेजी भक्तहरू ! धनगढीबाट एक बस यात्री लिएर ओर्ले । मैले प्रश्न गरें, ‘के यी शिवरात्रिका दर्शनार्थी हुन् ?’ हमालजी बोले, ‘नाइँ सर, यी धनगढी ब्रान्चका २८ जना सदस्य नेल्टा कन्फरेन्समा भाग लिन आएका, तर हाम्लाई ३६ घन्टा लायो ।’

नेल्टाले चौध वर्षको निरन्तर प्रयत्नद्वारा विश्वको दृष्टि नेपालतिर फर्काउन सक्ने भएको देख्यौं । यो न अङ्ग्रेजी भाषा पलाएको मुलुक, न हुर्के-बढेको, न अङ्ग्रेजी मातृभाषीहरू वास बसेको तर आज यो विश्व उत्रिने मैदान कसरी भयो होला ? सम्झेर ल्याउँदा आश्चर्य लाग्छ । नेपालमा नेपाली भाषासाहित्यको यत्रो सम्मेलन हुनुपर्ने, गणितका, अझ विज्ञानका, इतिहास भूगोलका तर नेल्टाको तुलना यो देशको कुनै शैक्षिक-प्राज्ञिक संस्थासँग हुन सक्तैन । नेल्टा-नेपालका अङ्ग्रेजी भाषा पढाउने शिक्षकहरूको साझा संस्था । स्थापनाको पन्ध्र वर्षपछि हेर्दा २६ जिल्लामा शाखा खोलेर बाह्र सय आजीवन सदस्यको परिवार हिँड्दै छ । टोनी राइट र रिबेका अक्सफोर्डजस्ता अङ्ग्रेजी भाषा पठनपाठनमा विश्वले मानेका प्राध्यापक आए- बेलायत र अमेरिकाबाट चुनिएका विद्वान्हरू । ती र अन्य अनेक विज्ञसँग भेटवार्ता गर्न, तिनीहरूका कार्यपत्र र प्रस्तुतिमा भाग लिन कञ्चनपुरदेखि इलामसम्मका अङ्ग्रेजीप्रेमीको धारो छुटयो । देशमा अलिकति शान्ति छाउँदा यसरी जनता सल्बलाउँछन् ।

यसले एउटा सन्देश दिन्छ- यतिखेर सबै अङ्ग्रेजीको मुहुनीले लठि्ठएका छन्, शिवरात्रिका साधुजस्तै । तर साधुहरूलाई गाँजाले छोड्दा छयाङ्ग हुन्छ ! हाम्रा अङ्ग्रेजीभक्तको चाहिँ सम्पूर्ण जीवनै चुर्लुम्म छ । यतिखेर अङ्ग्रेजीको विश्वव्यापी परिभाषा बदलिँदै छ, बेलायती र अमेरिकीबाहेकका अरू अङ्ग्रेजी पनि त्यतिकै मान्य हुँदै छन्, सयौं भेराइटी पलाइरहेका छन्, यो अङ्ग्रेजी उत्पादन र उपभोगको कारखानामा नेपाल पनि मिसिएको छ । यो अब जसले रोप्छ वा कलमी गर्छ, जगाउँछ, फलाउँछ, उसैको पेवा हुन थालेको छ । अङ्ग्रेजीका अनेक विश्वभेद पलाइरहेको बेला नेपाली भेराइटी पनि दुईपाते भइसकेको छ । नेपाली भाषाले यसलाई हर्ष र विस्मत मिसिएका आँखाले हेर्छ । नेपाली संस्कृतिले पनि आफ्नो आँगनमै एउटा पराइले वास मागेको सुन्दै छ । अङ्ग्रेजी हाम्रा धरभित्रै पसिहालेका ता छैन । रुन, कराउन, बाझ्न, गोप्य साउती गर्न, प्रेम समर्पण गर्न, हृदयका वेदना उचाल्न, सपना देख्न- कहीँ पनि यो काम लाग्दैन । तर यो पाहुनाप्रति हाम्रो कत्रो प्रेम र आकर्षण । अलेलि गर्दै यो आँगनका डिलबाट उठेर पिँढीमा जाला र बिस्तारै हाम्रा ओछिनमा बस्ला, बुइगलमा चढ्ला तर कसले रोक्ने ? आफैंले बोलाएका हौं- हाम्रो बाँझोखेत खनजोत गर्ने खेतालो पो अङ्ग्रेजी । यो निहुरेर नखने हाम्रोमा अब कुनै बाली फल्दैन- ज्ञान र सूचनाका ढोकाहरूमा यो छेकेर बसेको छ । यसलाई नाघेर हामी कहीं पुग्न नसक्ने भयौं, केही देख्न नसक्ने भयौं । सबैतिर डम्म बादल छ ।

नेल्टा सम्मेलनमा विज्ञहरूले भने- हामीले संसारमा यस्तो अङ्ग्रेजीप्रेम कहीं देखेनौं । ग्लोबल अङ्ग्रेजी लोकलाई भेट्न यहाँ आएको । आधी विदेशीका, आधी स्वदेशीका कार्यपत्रहरू अर्थात् ग्लोबल बन्ने रहरले लोकलहरू भेला भएको- एक हाइबि्रड समाज स्टाफ कलेजका सुन्दर परिसरमा तीन दिन तीन रात सल्बलाइरह्यो । त्यो कोठामा नयाँ प्रविधिको बारेमा छ, छुट्छ कि, अर्कोमा विश्व अङ्ग्रेजीको वर्तमान स्थिति छ, त्यो छुट्छ कि ? टोनीको सेसन छ, रिबेकाको छ, म्याक डोनाल्डको, शिलाको, बोयुमको, बङ्गलादेशी हसनको, पाकिस्तानी जमालको, जापानी किङ्गरको नेपाली यादव, राई र दवाडीको । एकजना कता जानु, कता छोड्नु । तर पनि केही यस्ता शीर्षक थिए, ‘परिवर्तित विश्वसन्दर्भ र अङ्ग्रेजीको स्वरूप’, ‘परिवर्तित मूल्यहरू र भाषा शिक्षण’, ‘विषयपरक पाठयक्रमको आविस्कार र विश्व परिवर्तन’, ‘कक्षाकोठामा विम्बको प्रयोग’, ‘कक्षामा अङ्ग्रेजी वाणी’, ‘प्रजातन्त्रका लागि शिक्षण’, ‘सिकाइ र शिक्षण पद्धतिको बीचको सम्बन्ध’, ‘अङ्ग्रेजी कक्षामा लैङ्गकि विभेदको समाधान’, ‘जापानको उच्च माध्यमिक तहमा अङ्ग्रेजी शिक्षणका चुनौतीहरू’, ‘साञ्चारिक भाषा शिक्षण’, ‘अङ्ग्रेजी सिक्न सिकाउन उपयोगी वेबसाइटहरू’, ‘बङ्गलादेशी अङ्ग्रेजी -दोस्रो भाषा) अध्यापनमा चुनौती’, ‘अङ्ग्रेजी कसरी सिकिन्छ ?’, ‘कक्षाबाहिर अङ्ग्रेजीको प्रयोग’, ‘सुनाइबाट सिकाइ’, ‘नेपालको भाषिक विविधता र मातृभाषा शिक्षण’, ‘अङ्ग्रेजी भाषा शिक्षणमा आविस्कार’- ६८ वटा शीर्षकमध्ये केही यी हुन् । इलेक्ट्रोनिक प्रविधितिर अङ्ग्रेजी पठनपाठन गइरहेको कुरा, अबको पाठयक्रम कन्टेन्ट-बेस्ड हुने कुरा र दोस्रो भाषा -अङ्ग्रेजी) को पठनपाठनमा भएका आविस्कार र अनुसन्धान अति महत्त्वपूर्ण पक्ष थिए । यी कुराबाट नेपाली र अन्य भाषाभाषीले पनि धेरै ज्ञान-सूचना लिने कुरा थिए ।

अब अङ्ग्रेजी भाषा मात्र रहेन, एक माध्यम भएको छ । संस्कृतिको, विचारको, धारणाको संवाहक पनि । अब लठ्ठी लगाएर ग्रामर घोकाउने शिक्षकका दिन अस्ताए, अब शब्दार्थ र पदावली रटाउनेहरूले पनि राजीनामा लेखे हुन्छ । वर्तमान नयाँमा टेकेर कुदेको छ ! प्रविधिमा उड्न थालेको छ । अब हामी गरिब छौं कि धनी- त्यो कुरा गौण भएको छ ! प्रविधिको सहाराले यो दौडमा भाग नलिए हामी सदाका लागि समाप्त हुनेछौं । किनभने हाम्रो टेक्ने अर्को लठ्ठी छैन । मलेसियाले, जापानले, चाइना, सिङ्गापुर, हङकङ, बाँकी सारा एसियाली र अफ्रिकी देशले आ-आफ्नै कलमी हुर्काउँदै छन्, त्यही फल खाँदै छन् । आफ्नो र अरूको सँगसँगै लगिरहेछन्- अबको हाम्रो पनि मार्ग अर्को छैन ।

प्रमुख वक्ता रिबेकाको एक विषय थियो- ‘अङ्ग्रेजी भाषा शिक्षणमा शान्ति शिक्षा’ । यसरी मानवता, प्रजातन्त्र, शान्ति र पर्यावरणीय सन्तुलन यी भाषाबाटै आउने सन्देश भएका छन् । त्यसैले दोस्रो भाषाले वैश्विक मूल्यहरू पनि ओसारपसार गर्न थालेको छ, केवल ग्रामर र भोकाबुलरी अर्थात् नक्कली उच्चारण होइन । यस्तो अङ्ग्रेजी हामीलाई धेरै चाहिएको छ । यो देशका गरिबलाई, दुखीलाई, वञ्चित र मार्जिनललाई शक्तिशाली अङ्ग्रेजी उपलब्ध नगराउने हो भने राष्ट्रले तिनीहरूको शोषणलाई निरन्तर राखेको ठहर्नेछ । अब कुनै नारा-जुलुस र भाषणले, घोषणापत्र र प्रतिबद्धताले किनारिएको वर्ग अघि आउन सक्तैन, सीमान्तबाट यता फर्किन सक्तैन, सक्छ भने एक महान् समानताकारक शिक्षाले, अङ्ग्रेजीले, अङ्ग्रेजी माध्यमले । आज वञ्चितहरूले त्यति नै अङ्ग्रेजी पाउनुपर्छ, जति सम्पन्नहरूले पाइरहेछन् । अबको सरकारले समभाषी नीति ल्याउनुपर्छ, विभेदपरकताको अन्त्य गर्नुपर्छ- सारा विभेदको जरो दुईखाले शिक्षा पद्धति हो । अङ्ग्रेजीको मुहुनीले लठयाइएको भीडले जुन सपना देखिरहेछ, त्यो भोलिको नेपाल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *