Skip to content

बाल भय विज्ञान, भयवाद र बसिबियाँलो

20140923_RanaKafley-01


बाल भय विज्ञान, बालबालिकाको शारीरिक र मानसिक विकासको लागि अति आवश्यक विज्ञान हो । यो विज्ञानले भय सम्बन्धी अध्ययन गर्दछ । यसले व्यापकता पाउन समय लाग्छ । भयवादभित्र व्याख्या भएको एउटा शीर्षक हो बाल भय विज्ञान । यसैलाई व्यापकता दिन बालबालिकाको असर, उपयोगिता बताउन असम भारतका रण काफ्लेले प्राथमिकदेखि विश्वविद्यालयका विद्यार्थीहरूमाझ बसिबियाँलो गर्दै आएका छन् । यसै सिलसिलामा सेप्टेम्बर १३, २०१४का दिन पूर्वाञ्चल भारतको असम राज्यमा पर्ने अति दुर्गम पहाडी जिल्ला कार्विआङलाङको कलङ्गा नेपाली वस्तीमा १५ औं शृंखला सम्पन्न भयो । असम गोर्खा सम्मेलन कार्विआङलाङका सचिव जीवन लामाले १५ वटा मैन जलाएर उद्घाटन गरे । लामाले मन्तव्य राख्ने क्रममा भने, “बसिबियाँलो शुद्ध नेपाली शब्द हो । एकछिन फुर्सत निकालेर गरेको काम नै बसिबियाँलो हो । विद्यार्थीलाई लिएर गरिएको यो काम अति नै फलदायी छ ।”

कार्यक्रमलाई स्थानीय शिक्षक द्वय कमल क्षेत्री र गोपाल सुनारले पहल गरेका थिए । उनीहरूको पहलमा महिला किर्तन मण्डलीले कार्यक्रमको आयोजना गरेको थियो । ७०भन्दा बढी बालबालिका र अभिभावकको उपस्थिति थियो । बसिबियाँलोलाई रोचक र आकर्षक बनाउन सञ्चालक रण काफ्लेले गीत, कविता, नाच, उखान टुक्का, चुडकिलालाई पनि समावेश गर्दै ल्याएका छन् । नानीहरूको ध्यान आकर्षित गर्न र बाल भय विज्ञान बुझाउन काफ्लेले बीच बीचमा प्रश्न राख्छन् । नानीहरूलाई प्रश्न थियो, “तिमीहरूको नाम कसले दियो ?” उत्तरमा १७ जनाले पुरोहित, २० जनाले बुबा, ७ जनाले शिक्षक र ५ जनाले आमाले दिएको बताए । न्वारण र बर्थ डे पनि यसैसँग जोडाएर छलफल गरेका थिए । कतिले २, ३ वटा नाम पनि बताए । देश सुब्बाको भयवादमा नामाकरण, अर्थ, शब्द कसरी हुन्छ निकै गहन व्याख्या छ । काफ्लेले सरल भाषामा बताए । कक्षा ३, ४ र ५का विनोद सुब्बा, पूजा विश्वकर्मा, सिधन सुनार र अनिज क्षेत्रीले नेपाली, हिन्दी गीत सुनाए । सञ्जीव क्षेत्री, दीपा देवी, गणेश विश्वकर्मा, यमुनादेवीले असमीया, हिन्दी, नेपाली कविता सुनाए ।

गीत र कविताको पालो सिद्धिएपछि सञ्चालकले अर्को प्रश्न गरे, “आमालाई ‘मम’ भन्न रुचाउँछौ कि ‘आमा’ ?” उनीहरूले मीठो उत्तर दिए—आमाभन्दा आत्मीय र आनन्द लाग्छ । ती बालबालिकाले आफूभित्रको हीनताबोध र अन्तरर्मुखी स्वभावलाई पराजीत गर्दै प्रतिभाको प्रदर्शन गरे । समाज निर्माणमा महत्वपूर्ण योगदान दिने दन्तेकथालाई पनि बसिबियाँलोले प्रमुख स्थान दिँदै ल्याएको छ । कक्षा ५का अनित क्षेत्रीले “दिदीबहिनी र भालु”, कक्षा ६का अजय क्षेत्रीले “काग र बाँदर”, कक्षा ६ कै सन्दीप क्षेत्रीले ‘पञ्च मुर्ख”का कथा सुनाए । बालबालिकाका प्रिय विषय हो कथा, दन्तकथा । कथाको माध्यमबाट पनि बसिबियाँलोले बालबालिकाको मन जित्दै आएको छ । त्यस्तै बाल भय विज्ञानको अर्को पक्ष हाँस्याबङ्ग्य हो । बालकलाकार गणेश विश्वकर्मा, पूजा विश्वकर्मा र दीपक क्षेत्रीले कलाको मार्फत कहिले पेट मिचिमिचि हँसाए त कहिले भावुक बनाए । त्यहाँका ग्राम प्रिय कलाकार गोपाल सुनार र मीना तिमसिनाले पनि गीत गाएर बालबालिकालाई प्रेरणा दिए ।

मनोरञ्जनमा रमाइरहेका ती विद्यार्थीहरूका ध्यान आकार्षित गर्दै काफ्लेले मुख्य विषयमा प्रवेश गराए—तिमीहरूलाई बुबाको बढी डर लाग्छ कि आमाको ?” उत्तरमा २० जनाले बुबाको, १८ जनाले आमाको र धेरैले दुवैको डर लाग्ने बताए ।

विश्व बजारमा भरखरै प्रकाशित भएको देश सुब्बाको अंग्रेजी पुस्तक उजष्यिकयउजथ या ाभबचष्कm देखाउँदै काफ्लेले भने, “डरलाई चिन्नु जरुरी छ । राम्ररी चिनेर उपयोग गर्नुपर्छ । डर मान्नु पर्ने बेला मान्नुपर्छ । नमान्ने बेला मान्यो भने हानी हुन्छ । यस्तो धेरै कुराको व्याख्या यो पुस्तकमा छ ।” शिक्षक दीपक क्षेत्रीले कार्यक्रमको समिक्षा गरे । पर्यवेक्षक किर्तन मण्डलीकी सचिव मीना तिमसिनाले आउँदो दिनमा पनि बसिबियाँलो गर्ने इच्छा व्यक्त गरिन् । यस्तै तथ्याङ्किक माध्यमबाट बाल भय विज्ञान बुझ्न सजिलो हुने कार्यक्रमले निष्कर्ष निकाल्यो । बाल मनोविज्ञान, बाल भय विज्ञान बुझ्न यस्तो कार्यक्रमले निकै मद्दत गर्ने कुरा कार्यक्रम सञ्चालक रण काफ्लेले सबैलाई बुझाए ।

नानीहरूको क्रियाकलाप हेर्न अभिभावकहरू विष्णुमाया तिमसिना, कान्छी माया पौडेल, गाउँ प्रमुख टेकबहादुर क्षेत्री, बुद्धिमाया चाम्लागाँई आएका थिए । उनीहरूले हिजो सामान्य रहेको डरलाई यतिका विशाल दर्शनको रूपमा नसोचेको विचार व्यक्त गरे । बसिबियाँलो कार्यक्रमपछि सहभागीहरूले आफूभित्रको भय आफ्नै तलाउमा खेल्दै गरेको, उडदै गरेको महसुस गर्दै आएका छन् । यस पटक पनि उनीहरूलाई यस्तै लाग्यो ।

रण काफ्ले,
भारत असम

Leave a Reply

Your email address will not be published. Required fields are marked *