Skip to content

सदानन्द अभागीको ‘षष्ठामृत’को रसपान


परिचय

वि.सं २००३ साल श्रावण १ गते पर्वत जिल्लाको शंकरपोखरीमा धर्ती चुम्नुहुने सदानन्द जैसी स्व.. कलाधर रिजाल र स्व. नन्दकली रिजालका जेष्ठ सुपुत्र हुनुहुन्छ । उहाँको साहित्यिक नाम सदानन्द अभागी हो । अभागी सुभनामका भाग्यमानी साहित्यकार भन्ने गर्छु म उहाँलाई । २०२० सालमा आमा शीर्षकको कविता लिएर नेपाली साहित्य आकाशमा झुल्किनु भएका उहाँ अहिले एक उज्ज्वल ताराको रूपमा स्थापित हुनुहुन्छ ।

नेपाली साहित्यका विविध विधामा अनवरत कलम चलाइरहनु भएका सदानन्दजी बहुमुखी प्रतिभाका धनी साहित्यकार हुनुहुन्छ । कविता सङ्ग्रह ३,कथासङ्ग्रह ४, उपन्यास ४, मुक्तकसङ्ग्रह १, खण्डकाव्य १, महाकाव्य दुई, समालोचना १, नियात्रा १, जीवनी १ र ६ वटा गजलसङ्ग्रहको एउटै संगालो मेरो समीक्षा कृति अभागीको प्रेमविहारको षष्ठामृत गरी विभिन्न विधामा २७ वटा कृति प्रकाशन गरिसक्नुभएको सदानन्द अभागीज्यूलाई नेपाली साहित्यकारहरूका माझमा भाग्यमानी साहित्यकार घोषणा गर्न केही गाह्रो पर्दैन ।

यतिमात्र कहाँ हो र यी वाहेक तीन दर्जनभन्दा बढी पुस्तकहरू वहाले कृषि विषयबाट पनि प्रकाशन गरिसक्नुभएको छ । यसरी उहाँ कृषि विशेषज्ञ तथा माटो विज्ञ व्यक्तित्व पनि हुनुहुन्छ । विभिन्न साहित्यिक र सामाजिक संस्थामा आवद्ध सदानन्दजीले इजिप्ट, थाइल्याण्ड, फिलिपिन्स, जापान र भारतजस्ता परराष्ट्रहरूको भ्रमण पनि गरिसक्नुभएको छ । गोरखादक्षिणवाहु चौथा र विविध पुरस्कारबाट पुरस्कृत अभागीजी धेरै संस्थाबाट सम्मानित व्यक्तित्व हुनुहुन्छ । वर्तमान समयमा सदानन्दजीको स्थायी बसोबास नवलपरासी जिल्लाको कावासोती नगर पालिका –७ शान्तिचोकमा छ ।

कृतिको संरचना

अब म दायाँबायाँ कतै नलागि, अभागीको प्रेम विहारको षष्ठामृत शीर्षकको गजलसङ्ग्रहको बारेमा दुई चार कुराहरू लेख्ने अनुमति चाहन्छु । यो सङ्ग्रह डा. धनपति कोइरालाबाट सम्पादन गरिएको हो । समभोग–समाधि (२०६४), गजल गुटिका (२०६५), बुढौतीका रहरहरू (२०६५), अभागीका गजलहरू (२०६६) र गजल परिकार (२०६८) समेत ५ गजल सङ्ग्रहहरू गजल षष्ठामृतसँगै आवद्ध गरी विशिष्ट सम्पादन गरी, यो ग्रन्थको जन्म भएको छ । विभिन्न समयमा प्रकाशित भएका गोजी आकारका ५ गजलसङ्ग्रहहरू अप्रकाशित गजल षष्ठामृतको संयुक्तरूप हो ‘अभागीको प्रेम विहारको षष्ठामृत’ यो भीमकाया गजलसङ्ग्रह हो । अगाडि पृष्ठमा गजलकारको सुन्दर तस्विर राखिएको छ भने आवरणको पछिल्लो पट्टी गजलकारको परिचयादि उललेख गर्नुको साथै गजलकारको फोटो पनि राखिएको छ ।

यसपटक उनको सबैभन्दा ठूलो र ५६३ वटा गजल भएको कृति पढेर २/४ शब्द राख्ने मन लाग्यो । उनको यस कृतिको संरचना हेर्दा आवरण पृष्ठ सहित ६१५ पृष्ठको छ । ग्रन्थको मूल्य रु १०००/–एकहजार राखिएको छ । यो सङ्ग्रह डा. धनपति कोइरालाबाट सम्पादन गरिएको छ । प्रकाशन भैसकेका कृतिहरूलाई यसमा समावेश गराउनको कारणमा पूर्व प्रकाशित गजलहरू पुनः दोस्रो संस्करण निकाल्नु परेकोले समावेश गर्नु परेको कारण देखाएका छन् गजलकारले । ६ वटा गजलसङ्ग्रह समाहित गरिएका गजलहरूको विवरण यस प्रकार छन् –समभोग–समाधि (८८ गजलहरू), गजल गुटिका (९२ गजलहरू), बुढौतीका रहरहरू (९२ गजलहरू), अभागीका गजलहरू (१०४ गजलहरू), गजल परिकार (८८ गजलहरू) र गजल षष्ठामृत (९९ गजलहरू) गरी जम्मा ५६३वटा गजलहरू यस ग्रन्थमा हामीले पढ्न पाउँछौं । यसरी हेर्दा यो सङ्ग्रह छ गजलसङ्ग्रहहरूको एक रूप हो । विविध रस र भावयुक्त गजलहरूको संगालो यो ग्रन्थ पठनीय र मननीय पनिरहेको छ ।

आदिकवि भानुभक्त आचार्यको द्विशतबार्षिकी शुभ–अवसरमा प्रकाशित यो ग्रन्थको विषयमा डा. धनपति कोइरालाज्यूले “अभागीका प्रेम विहारको षष्ठामृतको एकसरो परिक्रमा” भन्ने शीर्षकमा सम्पादकीय लेख्नुभएको छ– “अभागीको प्रेमविहारको षष्ठामृत गजल इतिहास र संरचना” शीर्षक दिएर गजलकार आफैले आफ्नो बारेमा लेख्नुको साथै नेपाली गजलको ऐतिहासिक पृष्ठभूमिको पनि उजागर गर्नुभएको छ । गजलको परिभाषा र तत्त्व समेत उल्लेख गर्दै नेपाली गजलको कालक्रमिक विभाजन पनि जानकारीको लागि उल्लेख गरिदिनु भएको छ । यसरी हेर्दा यो ग्रन्थ गजलका बारेमा विस्तृत ज्ञान आर्जन गर्न चाहनेहरूकोलाई पनि विशेष खुराक बन्ने देखिन्छ । गजलमा हुनुपर्ने आन्तरिक तत्वहरूजस्तै शेर मिसरा, मतला, रदिफ, मुरद्दफ, काफिया, मकता, तखल्लुस बहर लयादिका बारेमा प्रष्ट जानकारी उल्लेख भएको यो ग्रन्थ गजलका पारखी भाइ बहिनीहरूको लागि अँझै सिद्ध हुने देखिन्छ ।

सम्पादकीय, शुभसम्मति तथा भूमिका लेखनमा आएका अभिव्यक्तिहरू

यो ग्रन्थभित्र समावेश गरेका गजसङ्ग्रहमा केही्र साहित्यकारले शुभसम्मति तथा भूमिका लेखनमा कृतिकार तथा कृतिप्रति आफ्ना अभिव्यक्ति पोखेका छन् । जसले गर्दा कृति तथा अभागीको कृतित्व र व्यक्तित्वको गरिमा बढाएको छ । ‘अभागीको प्रेम विहारको षष्ठामृत’को सम्पादकीयमा धनपति कोइरालाले ‘यसमा अरबी–फारसी उर्दू वा हिन्दीका शब्दहरू प्रयोग नगरी आफ्नै नेपाली भाषिक शब्दावलीहरूबाट काफिया र रदिफ सृर्जना गर्ने प्रयास गरिएको छ ’ भनी आफ्नो अभिव्यक्ति पोख्नुभएको छ । साथै धनपतिजीले लेख्नुहुन्छ– माटो विशेषज्ञ व्यक्तित्व भईकन पनि साहित्यप्रतिको यति धेरै रुचि, चासो र निरन्तरता साधना आफैमा गरिमामय छ ।’

अभागीले आफ्नो जीवन घटना सहित गजलको इतिहास र संरचनाको बारेमा प्रकाश पारेका छन् ।

लक्ष्मीस्मृति साहित्य समाजले प्रकाशन गरेको यो ग्रन्थमा यसै संस्थाकी उपाध्यक्ष कृष्णादेवी शर्मा श्रेष्ठबाटै प्रकाशकीय लेखनमा लेखिएको छ–

षष्ठामृत बनिदेदेओस् अमृत बहाउने,
गजल गाउनेहरू माझ मोहनी लाउने
पृष्ठ २६

कृष्णादेवी शर्मा श्रेष्ठ शुभेच्छाक्रममा लेख्नुहुन्छ–‘उहाँका गजल देश काल परिस्थितिजन्य हुनुको साथै शृङ्गारिकतालाई समेत समेटिएका भावले सजिएका हुन्छन् (पृष्ठ २२४)’ ।

रमेश शुभेच्छुले लेख्नुहुन्छ – अभागीका गजलहरूभित्र समेटिएका गजलले व्यापक क्षेत्रका विविध विषय बस्तुलाई समेटेका छन् (पृष्ठ ३१८) ।

बरिष्ठ समालोचक तथा देवचुली मासिक पत्रिकाका सम्पादक भूपेन्द्र गण्डर्षि भट्टराईज्यूले धेरै मार्मिक शैलीमा लेख्नुभएको शुभकामना मन्तव्य पनि यो ग्रन्थले पाएको छ ।“ वि.सं २०२० को दशकदेखि साहित्य साधनमा गरिरहे तर न्याय पाएनन् । न्याय नपाएका महाकवि हुन सदानन्द अभागी ।’’ अर्का बहादुर सिंह बराल, जसले आजभन्दा १५० वर्ष पहिले ‘बरालको आँसु’ भन्ने कृति प्रकाशन गरेका थिए तर उनी अहिलेसम्म ओझेलमै छन् । बहादुरसिंह बराल र सदानन्द अभागी न्याय नपाएका नवलपरासीका साहित्यिक व्याक्तित्व हुन् । राष्ट्रले यी दुवै व्यक्तित्वका योगदानको कदर गर्नुपर्छ’ (पृष्ठ२७), भन्ने भनाइको कदर गर्दै म पनि भ्ूपेन्द्र गण्डर्षिको यो लेखाइमा सहमत छु । गण्डर्षिले यस कृतिका बारेमा अन्य धारणा पनि राख्नुभएको छ । जो यसप्रकार छन् –‘साहित्यिक हरेक फाँटमा समानान्तरले लेखनी जुरमुराउने अभागीकाल उत्तरार्ध कृतिहरूमा समय सापेक्ष भावनाको सहजानुभूति पाइन्छ । प्रस्तुत (अभागीको पेमविहारको षष्ठामृतको्र खण्ड) ‘बुढौतीका रहरहरू’मा अलरिजको जस्तो कल्पनाशक्ति, महाकावि देवकोटाको जस्तो भावहरूको कलात्मक संयोजन पाइन्छ ।(पृष्ठ–२२०)

यसरी ने भूपेन्द्रजीको अर्कोधाराण पनि यस पकारको छ –‘…..तथापि चितवन र रुपन्देहीको सेपमा परेको नवलपरासी साहित्य कुञ्जबाट फक्रन, पुल्न र सुवास छर्न सफल स्रष्टा हुन उनी (पृष्ठ४२९) ।’

दिपक सोतीले ‘मेरो कविलाई शुभसम्मति’ शीर्षकमा पाँच पृष्ठको लामो कवितामा गजलकार सदानन्द अभागकिा कृति तथा व्याक्तित्वलाई झल्काउने गरी लेखिएको कवितामा दिपकजीको धारणा यसप्रकार आएको छ –

विविध विधाको यो स्रष्टा
उमर खैयामको रुवाइमात्र हैन
अर्थरवेको नवरस पियाइ पनि हो
वर्डस्वर्थ, शेली हो प्राकृतिक मोहको
अनि देवकोटालाई चुम्छु भन्छ
युगकोद्रष्टा, साहित्यिक स्रष्टा हो
राष्ट्रियताको फूलबारी हो
साहित्यको घरबारी हो
पृष्ठ ३२२

गजलकृतिले समेटेका केही अभिव्यक्तिहरू

यो कृतिलाई गहिरिएर अध्ययन गर्दा यसमा के छैन भनी प्रश्न राख्न सकिन्छ । गजल सङ्ग्रहमा विविधता छ । प्रणयपरक शैलीमा लेखिएका गजल प्राचुर्य मात्रामा पाइन्छन् र शृङ्गारिकतामा पनि वविधताले भरिएका गजलहरू पढ्न पाइन्छन् । सम्भोग शृङ्गार र विप्रलम्भ शृङ्गार दुवै किसिमका शृङ्गारलाई अभागीले प्रयोगमा ल्याएका छन् । समसामयिक गजलहरू, जीवनदर्शनका विविधपक्षहरू राष्ट्र र राष्ट्रियता, मातृभूमिप्रति अपार स्नेहले भरिएका गजलहरू,धर्म –संस्कार, संसकृति र परमपराको अभिव्यक्ति, बोकेका, कृषिजन्य, प्राकृतिक, पर्यावरण, यात्रा बर्णन, साहित्यिक विषय, स्वैरकल्पना, बालसंसार, मेलापर्व, स्वावलम्वन, अनुशासन, जनयुद्ध र जनयुद्धले पारेको असर, सामाजिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक आदिमा देखिएका विकृतिक, विसङ्गति, दार्शनिक चिन्तन, अग्रजप्रति श्रद्धाभाव, मानवताको संरक्षण गर्नुपर्ने प्रेरणा, प्रकृति प्रेम, नारीवादी चिन्तन, प्राविधिक ज्ञान(कृषिजन्य), वीर नेपालीको महिमा, कमर्ठ हातहरूको महिमा, नेताहरूको अविश्वास, विश्वसनियताको खाँचो, सरकारको अकर्मण्यता, क्षमतावान प्रशाशनको आवश्यक्ता, देशको बर्तमान अवस्था, मानवीयता, शान्तिको कामना, भ्रष्टचार बिरुद्धको अभियान थाल्नुपर्ने कुरादेखि लिएर शोषण, दमन, अत्याचार, अनाचारजस्ता कुराहरूलाई मास्नु पर्छ भन्ने विषयमा थुप्रै गजल शेरहरूले वकालत गरेका छन् । शहीदहरूको त्याग, व्यक्तिगत पीडाहरू, बन्धुत्वको महिमा, मुखमा राम राम बगलीमा छुरा राख्ने नेताहरूको प्रवृति अन्याय र अत्याचार हटाउन जनतको एकताको आवश्यक्ता आदिका बारेमा गजलका शेरहरूले, दह्रोृ टिप्पणी गरेका छन् –

राष्ट्र र राष्ट्रियताप्रति लेखिएका गजलहरू–

सुन्दर छ यो हाम्रो देश
सवल छ यो हाम्रो भेष
पृष्ठ नं १६८

हिमालदेखि तराइसम्म नेपालीको भेक
धान फल्छ तराईमा चौरी चरन लेक
पृष्ठ नं २३७

नेपाल आमा रुन थालिन् छोरा विदेशिंदा
यै धर्तीले सुन दिन्छिन् पूर्ण हुन्छ दाम
पृष्ठ ५९९

हेर रारादेखि फेवा सम् म
प्रकृतिको छ राम्रो केस
पृष्ठ नं १६८

भ्रष्टचारप्रति लीक्षत नयाँ नेपाल निर्माण
गोजीभित्र धाइ सक्यो
पृष्ठ नं ३५८

समाजिक यथार्थ परक गजलहरू–
गास बास कपास छैन शरीर ढाक्न गरिबको
ठूला भाषण नेता गर्छन् मन राख्न गरिबको
पृष्ठ नं ५५

वेमौसमको चक्का जाम टायर समेत बाल्छन्
तोड फोड वेतोडको नै नारा मीठो गाउन
पृष्ठ ६३ गजल २८

आफू बाँचौ अरु बचाऔं मार्नुहुन्न सकैलाई
विवशको जाल फिजाई पार्नु हुन्न कसैलाई
पृष्ठ नं १४३

अब सक्छौ भने देश बनाऊ सारा शक्ति खर्च नेता
कुर्सी छाड बाटो देऊ किन सुख्खा जागर तर्छौ नेता
पृष्ठ ३९

प्रणयपरक गजलका शेरहरू–

लेन देन दिलको हो प्रणयकी खानी
दिल तोडी प्रेमी छोडी सरेजस्तो लाग्छ ।
पृष्ठ १५५

तिमी हौ मेरी दलकी फूल छौ दिल भरेकी
तिमीलाई छाडी एकलो हेर म बन्न सक्दिन
पृष्ठ नं ३४२

जीवनको सार्थकता प्रष्ट्याउने अभिव्यक्ति
कर्म गर्दा भोग्नै पर्छ श्वेद अनि आँधीवेरी
मृत्युञ्जय कोही छैन पृथ्वीमा कहींनेर
पृष्ठ नं ३५२

नारीवादी चिन्तन

समाजमा अनेकता मानिसको थर
थरमा नै विलिन् ती महान् हुन्छन् नारी
पृष्ठ २४९

कृषकलाई जानकारी मूलक अभिव्यञ्जना
उर्वरक माटो् बनाउँ फलाउँ हीरा मोती
कृषक बन्छन् धनी गरिबीलाई नाग्छ प्यारी
पृष्ठ २५८

बालसुलभ क्रिडाको महिमा
हेर मेरो नाति गर्छ नाना भाँती
हेर्न थाल्छ बसी कमिलाको ताँती
पृष्ठ ३२९

नेतृत्वप्रतिको उदासिनता–

सिंहदरवार पसेपछि थाले तानावाना बुन्न
जनताका पीर मर्काहरू सबले छाडे सुन्न
पृष्ठ ४४२

नारा–जुलुस गरे पनि उनको भत्ता पाक्छ
जनतालाई मार पर्छ देशको हुन्छ खति
पृष्ठ नं ४४१

जीवनदर्शन–

यथार्थमा यो क्षेत्र नै देवलोक पो रैछ
विकासमा सबै जना जुट्न हुन्छन् तयार
पृष्ठ ४३९

हीनताबोध गर्दै जाँदा मानव जीवन मोडिदैन
आलस्यता अङ्गालेमा सुन्दर वाग गोडिदैन
पृष्ठ ६०६

शान्तिको कामना

रगत देशमा धेरै बग्यो अँझै रगत नखोज भो
देशमा शान्ति चाहिएको छ सङ्घर्ष पथ नरोज भो
पृष्ठ ६१०

अन्त्यमा
यसरी असंख्य रदिफ र काफियाको संयोजन गरी यो स्थूलकाय गजलसङ्ग्रह प्रकाशन गर्नेकार्य चानचुन होइन । अन्य भाषाबाट होइन आफ्नै भाषाका रदिफ र काफिया संयोजन र सृजना गरिएका अभागीका यी गजलहरू आफ्नै शैलिलाई महत्व दिएर अगाडि बढेका छन् । प्रणय परक गजलहरूको बाहुल्यता रहेको छ तापनि अन्य युगवोध, राष्ट्रियता, जविनका भोगाइ, राष्ट्र दुःखेका जनता रोएका र देशको लागि विकास निकास कसरी हुन्छ भन्ने कुराहरू पनि मनग्गै समेटिएका छन् । नेपाली ‘साहित्य आकाशमा धेरै उज्यालो छर्ने सदानन्द अभागीको दिनोत्तर साहित्यिक प्रगति, दीर्घायु र सुस्वास्थ्यको हार्दिक कामना गर्न चाहन्छु । अन्त्यमा दुई शेर गजलहरू–

गजलमा पोखिएका छन् मनका छालहरू
उल्लेख छन् यहीं भित्र सामन्तका जालहरू
आफ्नै भाषा शैली अनि तखल्लुस प्रयोगमा
उजागर भएका छन् नेताका बबालहरू

हवस्
कृष्णादेवी शर्मा श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *