Skip to content

बहुराष्ट्रिय कम्पनी


आधा घाम आकासमा हुदैं
तन्नेरी सपना
जोर आँखामा पालेर
हुर्काएकै वर्षमा त हो
लोब्साङले
देउरालीमा पाती चढाएको
जुरेलीसँगै काफल टिपेको
अनि मयलका हाँङ्गा
छिम्ल्दै मोटर गुड्ने बाटो बनाएको
त्यही बाटो बनेकै वर्षमा नै हो
दुईवटा ट्याक्टर
हाईब्रिडवाला मकै
मार्फाको रायो
गाउँ भित्रिएको
अनि सँगसँगै भित्रियो
बहुराष्ट्रिय कम्पनीको ठेकेदार
गम्भिरे

उसले सिकायो
मार्फा लाउन
खुमल १,३,५,११,१३
जातका धान लाउन
अरुण्, देउती, मनकामना जस्ता
उन्नत नश्लको मकै छर्न

त्यो वर्ष फल्यो
मुरीका मुरी धान
भकारीका भकारी गहुँ
झुत्ताका झुत्ता मकै
बडेबडेमाका साग
त्यो देखेर
हाँसे सिताराम,गंगाराम
हाँसे पासाङ,लोब्साङ
हाँसे पुरै गाउँ

अर्को वर्ष
ठिक त्यसै समय
फलेन धान
फलेन गहुँ
फलेन मकै
सप्रेन मार्फा

रोए सिताराम,गंगाराम
रोए पासङ,लोब्साङ
अनि रोए पुरै गाउँ

गम्भिरे गन्भिर भयो
जुङ्गाँमा ताउ लायो
अनि मुसुक्क हाँस्यो

विचरा सिताराम,गंगाराम,पासङ अनि लोब्साङलाई
के थाहा
ती बहुराष्ट्रिय कम्पनीहरू
भक्तपुरेहरूले जुजुधौ दही खान सिकाएर
बनाउन कहिल्यै नसिकाए जस्तै
खेती गर्न सिकाउँछन्
तर बिउ भण्डारण गर्नै नमिल्नेगरी

यिनलाई के थाहा बहुराष्ट्रिय नीति?
ललीपप देखाएर गोजी भर्ने थिति
त्यसैले त
भोलिपल्ट
गम्भिरेको घर अगाडि
लाम देखियो मान्छेको
ठम्याईयो
सिताराम, गंगाराम, पासाङ, लोब्साङ
अरु थुप्रै
बहुराष्ट्रिय कम्पनीको
बिउ बिजन किन्न
सायद् त्यतिखेर
अस्ताएको थियो
घाम

बिना तामाङ’सुनगाभा’
बुढानिलकण्ठ,काठमाण्डौं

1 thought on “बहुराष्ट्रिय कम्पनी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *