Skip to content


ए, यायावरहरू हो !
ढुङ्गो दुख्छ –
यो ढुङ्गोमा कुल्चेर नहिंड ।

वाँच्नुका सबै सबै प्रकृयाहरूको सेवोटेज’
हाँस्नुका सबै सबै पद्धतिहरूको सेवोटेज’-
या
अन्त्यहीन जन्महरूको मृत्युउत्सव
चुपचाप सह्यो – यो ढुङ्गोले,
भो अब यसको छातीमा यसरी
नाचेर नहिंड ।

प्रागऐतिहासिक
रामापिथेकस मानवहरू –
यही ढुङ्गोको धारिला
घुयेंत्रो खेलाएर राजा भए
परब्रम्ह तेजले
विह्वल भएर
जङ्गली पातमा किरिङमिरिङ
युटोपिया’ लेख्दै हिंडे ।
आहत मुद्राका सतीहरू
महाराजका चितामा जल्न थाले
र उनीहरूको चित्कार छोप्न …
नगरा घन्कियो ।

चिसो पानीमा कठाङ्ग्रिएर
अनि
बिस्टाको पोखरीमा डुबेर
मरे यै ढुङ्गोका पुजारी
छोराहरू ।

यद्यपि
तन्नेरीहरूको मनको पहिरो
ओसारेर चल्न थाल्यो –
हिउँचुलीदेखि कामरूप कामाख्यासम्मको
सुपर एक्सप्रेस’ ।

बाकसभित्र चीलगाडीमा
लाशहरू आउन थाले ।
ओपेराहरूमा घोषणा गरियो –
पुनरूत्थान, पुनर्निर्माण, पुनर्जागरण !

चुपचाप सह्यो यो ढुङ्गोले –
गिनि पिग भएर
ऊ माथिका –
अभिशापित प्रयोगहरू ।

ढुङ्गो भनेको देश हो,
तिमीहरूले कुल्चे पग्लन्छ
नत्र
हज्जारौं डिग्रि सेल्सियस’
तापक्रम सहन तयार हुन्छ ।

ए, यायावरहरू हो !
ढुङ्गो दुख्छ –
यो ढुङ्गोमा कुल्चेर नहिंड ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *