Skip to content


तिमी बग्यौ कुन सागरमा मिल्न ….. थामेर किन छोड्यौ हातहरू …..

राष्ट्रिय समाचार पछि यो गीत बजिरहेको थियो रेडियो नेपालमा । गर्मी महिनाको आखिर तिर, गर्मी निकै थियो । ‘एक झर पानी परिदए शितल हुने थियो ।’ ऊ यस्तै सोच्दै थियो । पसिनाले जिउ भिजिसक्यो । खाटमा सतरंजा मात्र छ । ओल्टे कोल्टे फर्किदा ढाड बिझाउँछ । हावा चले पनि तातो हावा चल्दै थियो । त्यसले झनै उकुस मुकुस बढाउँथ्यो ।

ऊ उत्तानो पल्टिरहेको थियो । काठको दलिनमा माउसुलि खेल्दै थिए । आज पनि पसिनाले जिउ चिसो हुन थालेपछि निद्रा आउला भन्ने उसले सोचेको थियो । तर त्यसो भएन । निद्रा आएन । कति ओल्टे कोल्ट फर्किनु । गर्धन दुखिसक्यो । ऊ खाटमा पलेटि कसेर बस्यो । एउटा माउसुलि झुल माथि खस्यो । चिम्टाले त्यसलाई समायो र अंगेनामा हालिदियो । माउसुलि छटपटाउँदै मर्यो ।

ऊ अर्को माउसुलि झुल माथि खस्ने प्रतिक्षामा छ । निकै बेर पछि अर्को माउसुलि पनि खस्यो । त्यसलाई पनि चिम्टाले समायो र अंगेनामा हालिदियो । बाँसको झाँगमा आगो लाग्दा निस्कने पट्ट पट्ट पट्ट आवाज जस्तो आयो र त्यो पनि सल्कियो । त्यति खेरको गन्ध ठ्याक्कै मसान घाटमा लास पोल्दा निस्कने गन्ध जस्तै थियो । आजकाल ऊ त्यस गन्ध प्रति परिचित भइसकेको थियो । आज उसले तीन चार ओटा लास सल्काएको ठाउँबाट दाउरा बटुलेर ल्याएको थियो । अस्ति ल्याएको दाउरा सुकेकोले आज त्यसमा उसले भात पकाएर खायो । गर्मी भएकाले दाउरा छिट्टै सुक्छ । ऊ आफू अराजक हुदैं गइरहेको छु भन्नेमा विश्वासै गर्दैन ।

उसले दुई ओटै मृतक माउसुलिलाई अंगेनाबाट निकाल्यो र भुईमा पसार्यो । त्यसलाई चिम्टाले घोचि हेर्यो । मरिसकेका थिए । माउसुलिको लास पहिचान गर्न गाह्रो थियो । ती डढेर निकै काला भएका थिए । तर ऊ विश्वस्त थियो । ती उसैले पोलेका माउसुलि हुन् ।

उसले अब समारोह को तयारी गर्यो । क्लोसेटबाट वाइन निकाल्यो । वाइन उसले उपहार पाएको हो कुनै मृतकको मतियारबाट । ऊ धेरै कुरा संझिन पनि खोज्दैन । नत्र ऊ प्रायजसो लोकल रक्सी खान रुचाउँथ्यो । सँगसँगै गिटार झिक्यो । र माउसुलिहरूको आत्मा को चिर शान्तिको कामाना गर्दै वाइन खादै गिटार बजाउन थल्यो ।
ऊ गाउँदा आशुँ झारेको जस्तो नक्कल पनि गरिरहेको थियो ।

Sundown, sundown
They’re taking all the tents down.
Where have you gone my handsome Billy?

Sundown, sundown
The carnival train’s leaving town.
Where are ya now my darlin’ Billy?

कसैले उसको ढोका ढकढकायो । ढोका उघारिदियो । पुलिसहरू रहेछन् । उसले घटनाको हुबहु बयान गर्यो ।
‘लास चिनिन सकिने अवस्थामा छैन, साप’ । त्यहाँ मध्यको एउटाले भन्यो ।

लास पोष्टमार्टमको लागि पुलिसहरूले लिएर गए । उसलाई हतकडि लगाईयो । ऊ बिस्तारै काँपिरहेकै स्वरमा गाउँदै थियो ।
Sundown, sundown

ऊ भनिरहेको थियो ‘मैले माउसुलि जलाएको हुँ श्रीमती होइन ।’
तर न्यायधिसले ऊ बिरुद्ध फैसला सुनायो । ‘अभियुक्तलाई जिउँदै जलाइदिनु ।’

*कथा बाँकी छ । पात्रले आफुलाई निर्दोश साबित गर्न अर्को कथा लेख्छ ।

http://writingnepal.com/user/119184

Leave a Reply

Your email address will not be published. Required fields are marked *