Skip to content
HomSuvedi


आज भुराभुरी र बूढाबूढीहरूबाहेक अरु सबैको हातमा छ मोबायल । कुनै बेला यो मोबायलले बोक्ने मान्छेको हैसियत देखाउँथ्यो । त्यो मान्छे कुन तह र वर्गको रहेछ भन्ने कुराको जनाउ दिन्थ्यो । तर अहिले यसबाट त्यो पुरानो अर्थ हटिसकेको छ । जसको हातमा पनि देखिन्छ मोबायल, चाहिएन अब कुनै हैसियत यसलाई हातमा लिन । पहिले चोरहरूको चोरिने वस्तुका रुपमा पनि यो थियो । अहिले ता उनीहरूलाई पनि महत्वको मूल्यवान् कुरा भएन । गाउँ, सहर, बस्ती सबैतिर यसले छाएको छ । श्रमिक, किसान, मजदुरहरूमा पनि यसको पकड छ । युवायुवतीको हातको कुरै छाडौं, उनीहरूलाई ता यसले संसार नै देखाइदिन्छ । म हजुरबा भइसकेको मान्छेको हातमा पनि यो रहन्छ सधैं । कहिलेकाहीं यसले सारै ठुलो गुन पनि गर्छ । अनि बैगुन… ?

मलाई अस्तिसम्म मात्र पनि यसका धेरै फाइदा रहेका छन् भन्ने नै लाग्थ्यो । लागेको पनि हो । तर मोबायलबाट अरुले लाभ लिए पनि म भने विगत डेढ दुई महिनादेखि ठुलो तनावमा छु यसको बैगुनलाई भोगिरहेको छु । मानसिक हानी बेहोरिरहेको छु । धेरैपटक यसको सीम निकालेर फालूँ भन्ने विचार पनि मनमा आइसकेको छ । तर फेरि आफैं संयमित हुन्छु र यसको गुणात्मकताको बोध गर्छु । उसो भए यसले मलाई तनावमा कसरी पार्यो त ? मलाई यसले तनाबमा पुर्याउनुका बारेको कथा पाठकका साथ सुनाऊँ ? सुन्नुहुन्छ ? पढ्नुहुन्छ ? मलाई पढिहाल्नुहुन्छ भन्ने उति विश्वास ता छैन तैपनि अँझसम्म कोही ता पढ्ने पाठकहरू पनि हुनुहुन्छ कि भन्ने लागेको छ । भन्नोस् न त हामी सुन्छौं भनेर मलाई कथा भन्न प्रेरित गर्ने कोही नभए पनि भने है मेरो कथा । लौ त सुन्नोस् उसो भए—

यो कथा लेखिएको अवस्थाभन्दा करिब दुई महिना अघिको कुरा मात्र हो । मेरा हातको मोबालयमा एउटा अज्ञात व्यक्तिको अज्ञात नम्बरबाट कल आयो । यस्ता कलहरू अघिपछि पनि नआए र नआउने गरेका होइनन् तर त्यसले भने आउनासाथै झमेला र तनावमा पार्यो ।

“हजूर !” म फोन उठाउँदा यसै भन्छु । यो कुरा धेरै अघिदेखि नै सिकेको हुँ । हलो भन्न अलिक आउँदैन । त्यो फोन पनि यसै भनेर उठाएको थिएँ ।

“लौ बोली पनि पो परिवर्तन भाछ त !” मेरो बोलीमाथि टिप्पणी गर्दै उताबाट यस अघि मैले कहिल्यै नसुनेको कुनै नारीको आवाज आयो । “क्या हो यो ? पाँचै महिनामा यत्रो परिवर्तन ? के हो ?” फेरि त्यस आवाजले मलाई भन्यो । मलाई अलिकति अप्ठेरोको अनुभव भयो । कुरा स्पष्ट बुझिएन उसले भन्न खोजको के थियो ।
“मैले तपार्इंको कुरा बुझिनँ, कहाँबाट को बोल्नुभा हो ? नम्बर झुक्किनु भो कि ?” भन्दै सोधें ।

“आफूले होइन नम्बर झुक्याएको ? अँझ हेर मलाई नै झुक्किएको कुरा गर्ने ? मेरा लागि केको तपाई्र ? मलाई ता तपाईं पो अरे ? तिम्री प्यारी हुँ क्या म । अस्तिसम्म काली, लाटी, पोक्चीसम्म भन्ने मान्छेले आजै मलाई तपाईं ? बाह अमर काले !”

कुरा सुन्दा नजानिंदो गरी मलाई अलिकति रउस पनि चढ्दै गएको रहेछ । अनि फेरि किन रमाइलो नगरुँ भन्ने लागिसकेको रहेछ । त्यसपछि भनिदिएँ–“नकरा पोक्ची, काली, लाटी ।”

वास्तवमा मेरो गल्तीको मूल सुरुवात यहींबाट भयो भन्ने आज म ठानिरहेको छु, किनभने उसबाट सुनेका उसैले भनेका ती शब्दहरू उसैलाई जिस्किएर फर्काउनु नै गल्ती हुन पुगेछ । नभन्नु पर्थ्यो उसलाई मैले पोक्ची काली, लाटी शब्दहरू । न जान्नु, न सुन्नु, न बुझ्नु सबै जाने बुझेझैं गरी मैले भनिदिएँ । काली, लाटी, पोक्ची ।

“हेर न लाटाले त्यो आफ्नो आवाज चिन्ली भनेर फरक पो पार्या छ त ! ए कालु, मेरो काले ? याँ सुन त । तिमीसँग भेटघाटै नभई पाँँच पाँच महिना म कसरी बसें होला पापी ! के मलाई छोड्न खोजेको ता होइन ? केही पछुताउ भएन पापी ? यत्रो लामो अवस्थासम्म एकपटक पनि मेरो याद आएन ? यसरी मबाट भागुम्ला भन्ने ठान्या थियौ होला तर….. तिमीसँग नआई म कहाँ छोड्थें । अहिले कहाँ छौ कालु ?” उसले हकारेझैं गरी र मायालु आवाजले मलाई सोधी ।

“तेरो कानमा पोक्ची !” मैले यसै भनिदिएँ ।

उसले तुरुन्तै उत्तर फर्काई—“तिमी मेरो कानमा होइन, मेरो मुटुमा छौ कालु, हिँचिम ह्याँ माझै मुटुमा । यत्रो दिन मेरो याद आएन कालु ? लाटा ?”

उसको कुरा सुनेर म केही बेर अवाक भएँ । अनि संयमित भएर फेरि जिस्कँदै भनें—“छेस् पोक्ची मेरा मुटुमा ! अँ आयो तेरो खुब याद आयो, तेरो नआए कसको आओस् त ! रातदिन तेरै याद आइरह्यो !” मैले यसोभन्दा उसको मन्द मुस्कान पनि म सुनिरहेको थिएँ । उसको हाँसोमा अलिकति छिल्लिएको पन पनि मलाई बोध हुन खोजिरहेको थियो । म अज्ञात रुपमै गल्तीमाथि गल्ती गरिहेको थिएँ । अनि फेरि सोधें—“ए काली, कसरी थाहा पाइस् मेरो नम्बर ?”

“रोजीले भनेकी नि, आफू ता मेरा अघिबाट भागिहाल्यौ । अस्ति म लोटेर घोंडा फाक्चर भेर सुन्नियो र कस्तो दुख्यो । अस्पतालाँ गाथँें, रोजी ह्वइँ हैच्चे । रोजीले तिम्रो नम्बर दिई । अनि अहिले गर्या नि, किन ढाँट्नु पर्यो । पुरानो मुबाइल नम्बर किन हटाएको ? मबाट पर हट्न होला । पाइन्छ नि त्यसै मबाट हट्न ? आकास पताल खोजेर भए नि तिमीलाई छाडे ता के र ? अँझ पनि तिम्रो एउटा घ्वाँके छोरो पाउने मन छ ।”

मैले कुरा निकै माथि जाला भनेर अब वास्तविकता खोल्ने विचार गरिसकेको थिएँ । मनले अँझै पनि केही रमाइलो गरुँ कि भन्न पनि छोडेको थिएन । बूढोबूढो हुन लागे पनि आखिर म पनि ता लोग्ने मान्छे थिएँ । मलाई यसबाट कुनै पाप लाग्ने होइन क्यारे भन्ने सोच पनि आइरहेको थियो । यस्तै केही सोच्तै थिएँ, त्यसै बेला उसैले भनी— ‘भख्खरै आएँ अस्पतालाट घोँडाको एयाक्सरे (उसकै शब्द) गर्या छ । हिजो हेराउँदा भकल (??) देखियो । निकै दुखिराछ । मेरा छोराछोरीहरू इस्कुलाट आइसके, फेरि फेरि म कुरा गर्दै गरुम्ला । मबाट भाग्ने काम नगर है कालु, अहिलेलाई बाइ कालु । आइलभ यु कालु ।’

मैले केही बोल्नै नपाई उसले फोन राखी । उसको बोलीले र उसको कुराले ऊ कुनै अधवैंसे आइमाई बुझिन्थी । म भने उसको बाबुजत्तिकै थिएँ । तैपनि मेरै रउसले गर्दा अहिले म बडो दोधारको भुँवरीमा परिरहेको छु । होइन यो के हो, न जान्नु, न सुन्नु कालु भन्छे, अमर भन्छे अनि काले पनि भन्छे । मेरो तथानामका यस्तायस्ता बुट्टे नाम राख्ने को होली यो मान्छे ? कहाँबाट यसले यसरी मेरो नम्बर पाई होली ? रोजी भनेको को हो ? मेरो ता यसले नामै पनि फेरिदिई । कैले नभएको नाम अमर पो भन्छे, काले भन्छे, कालु भन्छे । उफ् ! मेरो ता यसले न्वारान पो गरिदिई ए !

फोनको यो वार्तालापले मेरो मन निकै रन्थनियो । तै सहरतिर कहिलेकाहीं यस्ता कुरा निकै हुने गरेको सुनेको थिएँ । मिसकल आएर मान्छेहरूलाई हत्तु पारेको सुनेको थिएँ । पत्रपत्रिकाहरूले पनि यस्ता कुरा निकै बाक्लै हुने गरेको खबर छापेका हुन्थे । त्यस्ता खबर पढेको पनि थिएँ । त्यो पनि सम्झें र कुनै त्यस्तै खेती गर्ने आइमाई होली भन्ने ठानेर अलिक आश्वस्त हुन खोजें ।

साँझ पर्न पाएको थिएन, एकै चोटि एसएमएस आयो उही नम्बरबाट । मेरो कालु, के खानुभो ? खाना भयो ? आजको तरकारी कस्तो भयो ? के थियो ? गीता भाउजूले के पकाउनुभो ? एसएमएसको विवरण यही प्रकृतिको थियो । म फोन गर्छु उठाउ है कालु आदि । यी सबै पढेर मलाई आफ्नै पत्नीको डर लागिसक्यो । यो थाहा भयो भने कस्तो सडल लोग्ने परेछ— बुढेस कालमा अफेयरमा लाग्ने भनेर उनले मलाई गाली गर्नु निश्चित थियो । घरेलु सम्बन्ध बिग्रन सक्थ्यो । हातमा मोबायल बोक्नुहुन्छ कसकससँग अफेयर चलाइसक्नु भएछ भनेर उनले मेरो हुर्मत लिन बेर लाउँँदिनन् यो सबैको सुइँको मात्र पनि पाइन् भने । अब मेरी यिनै पत्नीको समेत उसैले पो नामाकरण गरिसकेकी थिई । गीता अरे मेरी पत्नीको नाम उसका अनुसार । एकै छिनमा कल आयो मलाई थरहरी भो । मोबायलाई साइलेन्ट मोडमा नसुन्ने पारेर राखेको थिएँ कसैले सुनेन । धन्न बचें । यसपछि क्रमश: निकैपटक कल आयो । मैले उठाइनँ घरको तत्कालीन वातावरण फोन उठाउनलाई अनुकूल पनि थिएन । अन्तमा एउटा एसएमएस आयो धम्कीको गन्ध थियो– ‘फोन नउठाउने नै हो त कालु ?’

त्यस दिन मलाई निद्रा कम भयो । रातभरि जसो मिस कलहरू आइरहे । रात कसै गरी बिताएँ ।

यो क्रम अब बाक्लो हुँदै गयो ।

यसपछि पनि कलहरू आउँदै गए । सारै लामो कल गरी भने उठाउन पनि थालेको थिएँ । उसका कुराहरूको मैले अन्ठसन्ठ उत्तर पनि दिन थालेको थिएँ । माया लागेर हुरुक्कै भएको कुरा उसले बारम्बार भनिरही । मैले उसलाई लिन जानु पर्ने आग्रहको उरुङ नै उसले ममाथि खन्याई । मौका पारेर मैले आफ्नो वास्तविकता बेग्लै हो भनेरभन्दा उसले कसै गरेर पनि पत्याइन । उसका लागि उसको अमर म नै थिएँ । अँझ यसै क्रममा के पनि थाहा भो भने उसको र म अमरको पाँच महिना अघि सुर्खेतको ….. होटलमा निकै पटक शारीरिक सम्पर्क भइसकेको छ भन्ने कुरा पनि उसले सम्झाई । हे भगवान् अब मरिएछ । जिन्दगीमा सुर्खेत पुगेकै छैन म अनि कताबाट यो राजकुमारीसँग रसबस गर्नु त्यो सुर्खेतमा ? लौ हेर दैव ! म दङ्गदास भएको छु । आश्चर्यमा परेको छु । के गरौं र के नगरौं भन्ने दोधारले मलाई किचेको छ । कताको शारीरिक सम्पर्क ! कताको सुर्खेतको होटेल ! कताको अमर ! कताको गीता । मेरो मथिङ्गलले नथाम्ने भयो । उसलाई विश्वास दिलाउन नसके पनि उसको शरीर भोग गर्ने तथाकथित अमर कुनै अवस्थामा पनि म थिइन, उसलाई देख्नु ता कता हो कता उससँग पूर्वसम्पर्क ! असम्भव । म आफू उसको अमर होइन भन्नेमा विश्वस्त छु यद्यपि उसले पूर्णत: मलाई नै उसको अमर ठानेकी छे । सुर्खेत मैले सपनामा पनि देखेको छैन बिपनाको कुरा परै जाओस् । उसको कालु वा अमर म निश्चय नै होइन भन्ने कुराको ममाथि पक्का विश्वास छ । यो विश्वास भएपछि मलाई हिम्मत आयो ।

के डराएको यस्ता झ्यासदेखि ? आफू भला त जगत् भला । अलिकति साहस बटुलें ।

यसपछि ता उसका कलदेखि अलिक डर पनि भाग्यो । म पनि उसैको अमर भएर उसबाट कुरा दुहुन सकिन्छ कि भनेर परिपाठ पारेर कुराहरू गर्न थालें । कुनै सन्दर्भबाट उसको नाम राजकुमारी हो भन्ने मैले थाहा पाइसकेको थिएँ । एक दिन उसले छोरीसँग कुरा गराई । त्यसबाट मैले सूचना लिएँ । विदेशतिर गएका एक व्यापारीकी धर्मपत्निरहिछे । त्यो पनि थाहा भइसकेको थियो । यस बिचमा उसबाट अँझै धेरै कुरा थाहा भए । उसको पतिरहेछन् बम्बैमा दुई वर्षदेखि । नानीहरू रहेछन् चारओटा । माइतमा बसेकिरहिछे । साधारण गरिब किसानकी छोरिरहिछे । कसै गर्दा पनि उसको गाउँ ठाउँको जानकारी मैले लिन सकिनँ । एउटा मलाई गरेको एसएमएस नेपालको पश्चिमी प्रसिद्ध नगरमा दाजुकोमा गएर दिउसो भरी १४ ओटा मिस कल आएको र एसएमएस गरेकी थिई । यसबाट ऊ नेपालको पश्चिमी क्षेत्रकी बासिन्दा हो कि भन्ने अनुमान हुन्थ्यो । जम्मा ६ कक्षासम्म पढेकिरहिछे । एसएमएस लेख्ता नै उसको अवस्था र स्थानका बारेमा केही कुरा बुझिन्थ्यो । मलाई ‘टिन्सन’ नलिनु भन्थी । उसका सन्देशको ‘अमर म हजुरको साथमा आय भनी कति खुसी हुमला हैन ?’ भन्ने भाषिक वाक्यबाट पनि ऊ कुन स्थान र दिशाकी महिला हो भन्ने अनुमान हुन सक्थ्यो । एउटा सन्देशमा ता गीतै लेखी अहिले पनि सम्झन्छु– ‘तिमी उता म यता रुनी, सोचे जस्तो कहिले नहुनी’ । धेरै टिनसन नलिनु भनेर केही अंग्रेजीका शब्दहरूलाई पनि उसले प्रयोग गरेकी थिई । केही अश्लील कुराहरू पनि उसले लेख्न भुलेकी थिइन । उसका सन्देशमा ‘भकल’ शब्द आएको थियो । यसको अर्थ के थियो शब्दकोशले पनि दिएन । शायद कुनै शब्दलाई अशुद्ध लेखिछे क्यारे । कुरा यस्तै उस्तै थिए उसका सन्देशहरूमा । करीब १००० जति सन्देश त्यो महिना दिन भित्रमा आइसकेका थिए, मलाई अप्ठेरो पर्न सक्ने सोचेर धेरै सन्देशहरूलाई म मेटाइहाल्ने गर्दथें । मिस कल ता मोबायले गन्न पनि भ्याउन छाडेको थियो । कति हो कति । सन्देशबाट उसले मलाई पनि मिस कलको खुबै आशा गरेकी थिई म पनि निकै रउसे भएर मिस कल गर्दथे ।

यो क्रम लगभग एक महिना जति चल्यो ।

यसै बिच एउटा सन्देश आयो— ‘कालु, आइ लभ यु । तिमी मलाई लिन बुधबार बिहानै ……मा आऊ है । नआए म आत्महत्या गरेर मरिदिन्छु, हेर । मलाई मार्नेमा तिम्रो नाम लेखिदिएर आत्महत्या गरेर मरिदिन्छु ।’ पछिल्लो उसको यो सन्देशको प्रस्तावले मलाई भयानक डर लाग्न थालेको थियो । यस्ता सन्देशहरूबाट भित्रभित्रै अलिक त्रसित हुन थालेको थिएँ । यो कुरा कसैलाई भन्नुभएको छैन । कस्तो सडल मान्छे भनेर मैमाथि ठाडो हुन्छ समाजको औंलो । अब के गर्ने ? एसएमएस ता यो एक महिनाभित्र दिनको घटीमा १० र बढीमा ३९ ओटाका दरले आएका हुन्् तर यो जतिको कठोर अरु थिएनन् । यस किसिमको अपहत्ते नै गर्ने धम्की दिएका भने सन्देश आएका थिएनन् । त्यसैले मैले पनि ‘हुन्छ आउँछु’ भनेर लेखिदिएँ । मलाई उसका सन्देशहरू हेर्नु र पढ्नुभन्दा पनि मेट्न मुस्किल पर्न थालिसक्यो । साथसाथै अर्को म्यासेजमा भनेकी थिई–“तिमीलाई मेस (उसकै शब्द) गर्दा अहिलेसम्म ५६००।— रुपियाँ सकिएछ कालु ।”

राति आयो अर्को म्यासेज— ‘सरी कालु, अघिको मेसमा मैले भोलि आऊ भनेकी थिएँ, भोलि ता मेरो दुई दिन पो हुन्छ । मेरो पेट दुख्छ । भोलि ता ब्लोट (ब्लडका अर्थमा उसैको शब्द) पनि आउँछ । यस्तो बेलामा ता राम्रो हुँदैन । बरु शुकबार भेटम है । म फ्रिस भइसक्छु ।”

यस सन्देशले समस्या शुकबारसम्मलाई सर्यो । मलाई अलिकति हलुको भयो । हुन्छ भन्ने स्वीकृतिका लागि मिस कल नै गरिदिएँ ।

मैले सोचें । फोन ता त्यति बढी उससँग गरेकै छैन । यो एक महिनामा बढीमा हजार ओटा जति सन्देश पठाएको हुनु पर्थ्यो । नेपालकै टेलिफोन लाइन थियो । यसैले मलाई गरेका सन्देशहरूमा ५६०० सय रुपिया खर्च ता नहुनु पर्ने हो । यसैले यसको अमर भन्ने मान्छे कुनै अर्कै हुनु पर्ने हो भन्ने मैले सोचेर एक दिन श्रीमती नभएको बेलामा उसलाई फोन गरें र ‘म तिम्रो अमर काले हुँदै होइन, तिमी गल्तीमा छौ । हेर राजकुमारी म तिम्रो अमर होइन नि, मलाई फोन गरेर आइन्दा दु:ख नदिनू । म अर्कै मान्छे हुँ सन्देश पनि नपठाऊ मात्र के भनेको थिएँ उताबाट धरधरी रोएको आवाज आयो । मलाई यस आँसुले अलिकति भावुकै बनाइहाल्यो र नरोऊ भनेर फुल्याउनै पर्यो । हे दैव कस्तो फसाद ! कुन भाङ्लो भिरायौ नि मलाई भनेर आहत भइसकें । अन्तमा मैले फेरि पनि ‘म तिम्रो कालु वा अमर चाहिं होइन’ भनें । उसले पत्याओस् ता मर्नु । अँझ सन्देश ता कवितामय पो हुन थाले—

अमर नै हो आफ्नो मान्छे
जे भय नि आफ्नै हुन्छ
पराई मान्छे जति माया
दीय पनि पराई हुन्छ ।
कालु तिमी मेरो मान्छे । तिम्रो ओठ कति स्वादिलो ।
आइलभयुकालु ।

यो उसको एक सन्देश थियो । मलाई यस्ता सन्देशहरू देखेर अँझै बढी शङ्का लागेर आउन थाल्यो ।

अँझै अर्को पनि मन पर्दो थियो—
पागल म बन्न सक्छु
एक दिन तिमीलाई म छोड्न सक्तीन
म म्रितु रोज्न सक्छु
सक्तीन तिमीलाई भुल्न । कालु आइलभ यु ।

उसका सन्देशहरूलाई पढेर अब म पनि निकै भावुक हुने अवस्थामा पुगिसकेको थिएँ ।

को हो गीता, को हो राजकुमारी, को हो अमर, को हो काले यी सबै कुराले मेरो मथिङ्गल चक्कराउन थालिसकेको थियो । हरेक राति फोन आउन निश्चित थियो । श्रीमतीले थाहा पाउलिन् भनेर थरहरीमा छु । मोबायललाई साइलेन्ट मोडमा नराखेर धरै थिएन । मनमा जग्जगी थियो । कसै गरी समय बित्तै थियो ।

मैले उति वास्ता गरेको पनि थिइनँ । निकै दिनपछि एक रातभरिमा ३० ओटा म्यासेज आएका रहेछन् । खोलेर पढ्न पनि मलाई जग्जगी छ । श्रीमतीले थाहा पाउलिन्, छोराले थाहा पाउला, छोरी ज्वाइँले थाहा पाउलान् र अँझै बढी नातिनीले पनि पो थाहा पाउलिन् भन्ने जगजगीले म आधा मासु भइसकें । ‘एउटा मिसकल पनि नगर्नी हो भने ता मेरो छाती पट्ट फुट्छ केरे, मिस कल गर है कालु’ भन्ने सन्देश पाएपछि ता मै पनि पो मिस कलको धन्दामा लागेको रहेछु । अलिकति नलुकाई के भनूँ भने म पनि यी एसएमएस र मिसकलबाट निकै नै आकर्षित भइसकेको रहेछु । हुँदा हुँदा म पनि मिस कल बाक्लैसँग गर्न थालिसकेको रहेछु । ‘काली केटी, मलाई तिमी धेरै दुख नदेऊ’ भन्ने जस्ता केही एसएमएस मैले समेत पठाइसकेको रहेछु । नजानिदो गरी म उसको जालमा पर्नपर्न पो थालिसकेको रहेछु । समालिने बेला बित्न लागेको रहेछ । मौका हातबाट खुस्किने बेला हुन हुन पो लागिरहेको रहेछ । मलाई यस्तै लागिरहेको थियो ।

एक दिन बिहान उठेर हेर्छु ता रातभरि ३९ ओटा एसएमएस पो आएका छन् । कुनैमा मेरो कालु मलाई माया नमार ल, भनिएको छ । कुनैमा तिमीबिनाको रात कसरी एक्लै काट्ने हो, भनेर लेखिएको छ । कुनैमा मलाई चाँडै बोलाऊ, चाँडै लिन आऊ लेखिएको छ । कुनैमा कालु मिठो चुम्मासम्म पनि पो लेखिएको छ । कुनैमा निकै गालीका शब्दहरू छन् । मैले मिस कल नगरेकोमा मलाई गालीका केही शब्दहरू पनि छन् जस्तै : डणे, हरियो, हात्ती, भोटे, बरलोके, कुमाल, कालो हब्सी आदि । अन्तिममा सबै एसएमएसमा कालु आइ लभ यु लेखिन छुटेको छैन । मैले मेरा मोबायलको एसएम एस चोरले चोर्दाझैं गरी लुकेर हेरें बाथरुपमा पिसाप गर्ने बहानामा । सबै ता पढिसक्न पनि पाइएन । अब के गरुँ भनेर यसबारे सोच्तै थिएँ । त्यही बेला फेरि एसएसएस आयो रातभरि सुत्नै नसकेको कुरा उल्लेख गरेको । उसले सबै सुरक्षाको प्रबन्ध मिलाएकी, मैले उसले भनेको होटलमा पुगे मात्र हुने र उसको बुढाले भर्खर बम्बैबाट पैसा पठाएकोले पैसाको कुनै फिक्री नगर्नु पर्ने कुरा समेत पो रहेछ । अब परेछ मलाई फसाद ! लौ स्वदेशमा आफ्नी जवान पत्नीहरू छाडेर डलर कमाउन जाने लोग्नेहरूहो खाओ खुदो । भेट्छौ आफ्नी पत्नीहरूलाई जिउँका तिउँ । हेरि मात्र राख न यो क्रम कति बढेर जाँदो रहेछ भन्ने लाग्यो मलाई ।

तत्काल अर्को म्यासेज आयो—‘तिम्रो पो श्रीमती छिन् मेरो को छ ? मैले चैं जवानीलाई भड्खालामा हाल्नु पर्नि नै हो ? मैले के रिन खाएकी छु । कसैको रिन खाएकी छैन के रे । म सबै प्रबन्ध मिलाउँछु । पैसाको टिन्सन पनि नलेउ, र अरु कुनै टिन्सन नलिई आऊ । म तिम्रो अँगालोमा बेरिन आतुर छु ।” अब कसो गरुँ म सोचेर टाउको भारी भयो । यो क्रम आजसम्म पनि चलिरहेको छ । मलाई पनि यसलाई यसो कथाको रुप दिंदा टाउको हलुको होला कि भन्ने लागेर यसरी कीबोर्डं चलाएको हुँ । अलिकति हलुको पनि भएको छ । फेरि यता हेरौं न, यही कथा लेख्ता लेख्तै केही सन्देशहरू पनि आएका छन् । मरिएछ अब ! कुन दिनमा यसलाई तेरो अमर मै हुँ भनेछु कुन्नि !

कथा लेखिन्जेलको अन्तिम सन्देशलाई पनि यहाँ उद्धरण गरौं कि ? त्यो अहिलेसम्मको अन्तिम सन्देश यस्तो थियो–“अमर तिमी कति राम्रा छौ हैन ? समज्दार छौ तर धेरै कालो छौ काले । आइ लभ यु काले काला, अमर मायालु ।”

हे राम अब के गर्ने होला ! अब कसो गर्ने होला ! म बडो बिलखबन्दमा परिरहेको छु । कुरा जारी छ, यसको अन्त कसरी हुने हो म भविलाखमा परेको छु । म यसबाट अवतरणको आशा गर्छु । कसैले मलाई यसबाट सफल अवतरणको उपाय बताए पनि हुने ।

प्रथम पटक प्रकाशित – 2014-11-05 10:45:39 +0000

6 thoughts on “अपहत्ते”

  1. लौ, अपहत्ते नै परेछ 🙂
    यो

    लौ, अपहत्ते नै परेछ 🙂
    यो कथामा समाजको एउटा विकराल समस्या प्रतिविम्वित छ । पढियो है अन्तिमसम्मन्, पत्याउनुस्-नपत्याउनुस् ।

  2. यसलाइ फेस बुकतिरकाे समकालीन
    यसलाइ फेस बुकतिरकाे समकालीन साहित्यमा पनि पाेस्ट गरेकाे थिएँ पाेस्ट गरेकाे एक मिनेटमै लाइक अायाे । यसकाे अर्थ अवश्य नै बुझ्नु भाे हाेला । मान्छेहरुमा कुनै कुरा पढ्ने बानी हराएकाे छ ।

  3. हाहा, लाइक गर्नु र पढ्नु फरक
    हाहा, लाइक गर्नु र पढ्नु फरक काम हुन् 🙂

  4. नबुझि लाइक हुन सक्छ र मित्र ।
    नबुझि लाइक हुन सक्छ र मित्र ।

  5. सही अर्थमा त हुँदैन ।
    सही अर्थमा त हुँदैन । तर कुरा बुझेर लाइक गर्ने कति पो होलान् र?

  6. बुढेस कालामा के आइलाग्यो है
    बुढेस कालामा के आइलाग्यो है तपाईंलाई ? बिचरा…….

Leave a Reply

Your email address will not be published. Required fields are marked *