एकदिन म सपनामा सुतिरहेको थिएँ । सपनाको सपनामा मलाई पातले भन्यो – “म पात ! जीवनको सुरुवात । मनलाई आनन्दित बनाउने, घामबाट खाना लिएर विरुवालाई खुवाउने । फेरि हेर ! मेरो अर्को आयाम ‘म पात, जीवनको मध्ये । पानको पात वसन्त । मायाको सारा संसार बनाउन चाहने त्यसकारण यो मेरो प्रेमको टोकन ।’ फेरि मेरो अको आयाम हेर ‘ म पात । जीवनको अन्त्य । सुख्खा शिशिर । तरै पनि मलाई नै बाल्न दिई सबैको भोजन पाक गराई मिठ्याइ दिने ।’ फेरि हेर म पातको अर्को आयाम । ‘म पात । जति पनि म सृष्टि भएँ सबैमा म फरक । सृष्टिका यसलाई तुलना गरेर हेर । सबैका लागि यो एक उदाहरण । दैवको सिर्जनाभित्र सबै जीव भिन्न । कस्तो सबै आएब्स्ट्राक्ट कला । सबै जीवमा पनि छ । सबै मनुवामा पनि छ । तिमी मनुवामा पनि छ । सबै सृष्टि विभिन्नता तर एकता । त्यसैले सबै पात हुन् । मनन गर यो बात । कति राम्रो म पात । पात, पात, पात कति राम्रो मेरो बात ।”
फेरि सररर काव्यरुपी वतास, हावा, वायु, पवन, उछ्छिटिँदै गयो यो सानो अनन्त काव्य ।
फेरि सपनाको सपनामा मलाई नै मैले पछ्यायो र भन्यो – प्राविधिक त्रूटि जीवनसाथीकै कारण । इलेक्ट्रोनीक्स सामानको त्रूटि जीवनसाथीकै कारण बाटोमा वाधा, जहाँ पनि नीलकाँडा जीवनसाथीकै कारण । यो यो कारणले भनेर जीवनसाथीलाई सम्झाएँ तैपनि जीवनसाथीकै अभिसप्त । जीवनसाथीकै अधिपत्य । नगर बिहे कोही पनि म त यही भन्छु । सपनाको सपनामा पनि चैन छैन । फेरि मेरो म विलय भयो ।
फेरि सपनाको सपनामा नेपालभक्त आएर छाती ठोकेर भन्न थाल्यो – “ विकास ! मेरो विकास ! कहाँ छौ तिमी ? आज मलाई नेपालीभन्दा विदेशी मन परेको छ । मलाई आफ्नै सन्तान प्यारो छैन । नाता वंशले होइन रगतले होइन्छ । विदेशीले जति नेपालीलाई माया गरेको छ नि ! त्यत्ति मात्रै भए नि नेपालीले माया गरिदिए त पुग्ने नि ! नेपालीभन्दा मलाई विदेशी प्यारो । किनकि प्राणभन्दा मलाई नेपाली माटो प्यारो । ”
फेरि सपनाको सपनामा खिन्द्रिङमिन्द्रिङ गर्दै पैसाले भन्न थाल्यो – “ मलाई कसैलाई पनि दास बनाउनु मनपर्दैन । तर बिडम्बना ! मकहाँ सबै नोकर बन्न आउँछन् । आतूर छन् सबैजना । हेर ! मलाई मेरो सामु कोही पनि झुकेको मनपर्दैन । स्वाभिमानी मलाई मनपर्छ । आजकाल स्वाभिमानी खोज्नु कोइलाको थुप्रोमा हीरा खोज्नुजस्तै भएको छ । इमान बेचेर मलाई ढुकुटी भनाउँदोमा पाल्छौ ! यो पटक्कै मलाई रुची छैन । जति पनि सेभेन स्टार होटल बनाए, सबैले इमान बेचेर बनाए । म साह्रै दुःखी भइरहेको छु । मेरो पछि नलाग । तिमीहरू जो कोहीसँग पनि पैसासम्पत्ति होइन एउटा ठूलो सम्पत्ति छ । त्यो हो इमानसम्पत्ति । त्यसको सदुपयोग गर । भोकभोकै मर्नुपर्ला भन्ने डर छोडिदेऊ । अहँ कदापि केही पनि हुँदैन । एउटा इमानदारको जोशिलो उदाहरणीय सम्वाद सुन ।
भोकभोकै मर्छस् तँ
अहिलेसम्म त मरेको छुइँन । सोच्नु नै के छ र ! जे हुन्छ हेरिन्छ ।
किन पैसाको पछि लाग्दैनस् ?
सीप छ मसँग । हे सीप ! म पैसाको दास होइन । तिमी पैसा मसँग जोरि नखोज । म सधैं सीप तिखारिरहन्छु । पैसा नाठे त दास बनी आइरहन्छ ।
फेरि पैसाले मलाई भन्यो – “ सुनिस् मनुवा । उसले इमान बेचे सेभेन स्टार होटल उसको हुन्थ्यो तर ऊ इमानदार हो । यो मलाई मनपर्छ । मैले धेरैलाई दास बनाएँ भन्ने यमराजकहाँ आरोप छ तर त्यसो होइन तराजुको सन्तुलन मिलाउन म सीपालुको दास बन्न चाहन्छु । आऊ सीपालुहरू आऊ । तिम्रो धर्तीमा पनि सबैलाई यही सूचना देऊ । ”
फेरि म सपनाको सपनाबाट कत्लाकत्ला फुकाल्दै ४ पटक विउँझिएँ । आफ्नो संसारमा सपनाबाट एउटा ढाडसिलो शिक्षा लिएर फर्कें । फेरि नियमित काममा लागेँ । आज मलाई पूरैदिन टहटह सपनाहरूले ‘मथिंगल खियाऊ बाबु ! मथिंगल ’ भनेझैं लागिरह्यो ।
२०७१ कार्तिक २४
विजु सुवेदी ‘विजय’
कुलेश्वर, काठमाडौं
[email protected]
www.bijusubedibijay.blogspot.com