Skip to content

‘अस्तित्व’को लडाँई जीवनै भरी लड्दै


”नमस्कार !” एउटा सार्वजनिक जमघटमा धेरै वर्ष अगाडि देखिको परिचित अनुहार देखेपछि आफू बसेको स्थानबाट उठेर गई उँहालाई आफ्नो जुम्ले हात जोर्दै आफ्नो पुरानो पहिचानलाई नवीकरण गर्ने प्रयास गरें ।

ऊहाले शीरदेखि पाउसम्म यसरी आफ्नो नयनलाई दौडाउनुभयो कि, मानौ म अन्तरिक्षबाट झरेकी उदेक लाग्दो ’जन्तु’ परें।

मैले फेरि एकपटक साहशका साथ आफ्नो नाम र थर भनेर उहाँको स्मरण शक्तिलाई ताजा बनाउने कोशिसमा लागें। त्यसपछि बल्ल ऊँहाले आफ्नो अमूल्य बाणीले सिन्चित गर्दै भन्नुभयो, ’तपाईंको नाम त अमृता बास्कोटा थियो होइन र ? अहिले अमृता लम्साल भनेपछि मैले कसरी चिन्नु त ?’

मैले मजाक गर्दै ऊँहालाई जवाफ फर्काएँ,” बीस वर्ष अगाडि मेरो अनुहारमा रहेका नाक, कान, आँखा फरक स्थानमा सरेछन र ? मैले कुनै प्लाष्टिक सर्जरी त गरेकी छैन !”
तर मेरो अवचेतन मनले मलाई मेरो आँखा, नाक र कान एकपटक सरसर्ती छाम्ने आदेश दियो; सोचें, बिहान घरबाट निस्कंदा त ऐना हेरेर निस्केको हो । शरीरका सबै अङ्ग प्रत्यंगहरू यथा स्थानमै थिए । तैपनि यो ’ग्लोबल वार्मिङ्ग’ को हावा चलिरहेको बेला के थाहा, दिनभरिको थकान र पसिनाले कतै केही पगालिदिएछ कि ? वा कतै ठूलै ’भ्वाङ्ग’ पारिदिएछ कि ?

मनै मनले सबै कुरो सुम्सुम्याइसकेपछि बल्ल ढुक्क भयो; अनुहारमा आएका केही चाऊरी र शरीरले धर्तीलाई बोकाएको भार बाहेक अरु केही पनि त बदलिएको रहेनछ ! तर यो त नितान्त व्यक्तिगत सोचभन्दा एक पाइला पनि अगाडि नसर्ने सिद्धान्त/मनोबल र व्यवहार मात्रै रहेछ।

यहाँ यो भ्रम नरहोस, यो मेरो मात्रै आत्मबिनोद या मनोबिनोद हो; यो त म जस्ता धेरै महिलाहरूको नियति हो जस्ले, आफ्नो ’अस्तित्व’को लडाँईलाई जीवनै भरी लड्दै हिंडनु परेको छ/ खप्दै पाइला सार्नु परेको छ। हुनत, जीवनलाई सजीलैसँग अरुको सिध्दान्त/व्यवहार र सोचमा सुम्पिदिने हो भने साह्रै सजीलो गरी पो कट्छ त ! यहाँ संघर्ष गर्नुपरेको कारण त बाँधै बाँधेर किन नहोस, वर्षौंदेखि सलल बग्दै गरेको नदीलाई बिपरित दिशामा फ़र्काउँदै हामी जस्ता धेरैको जीवन हराभरा होस भनेर नै हो।

हो, म जस्ताको जीवनमा ’थर’ परिवर्तन गरेकै कारणले धेरै ’भ्वाङ्ग’ पारिदिएको छ । हुनत, त्यो भ्वाङ्गले झरीबाट ओत्ने छत वा गन्हाउने डकार आउने गरी पेट भरने अधिकारलाई रोकेको छैन। किनकि, जसले जतिसुकै ठूलो ’थर’ प्रदान गरे पनि आफ्ना दश नङ्ग्रा नखियाई ती भौतिक उपलब्धि हात पर्दैनन। यहाँ कुरो त केवल चेतनाको भोकको हो; अस्तित्वको सवालको हो।

मेरो अस्तित्वमा भ्वाङ्ग बनाउन सक्ने त्यो मायामयीकालजयी ’थर’ राख्ने अधिकार ’म’ व्यक्तिलाई कहिल्यै प्रदान गरिएको थिएन। जब ’म’ आमाको कोखबाट कंकला शब्द गर्दै झरें, त्यसपछि मैले पूरा नाम र थर पाउन एघार दिन कुर्नुपर्यो। एघारौं दिनको दिनमा बल्ल पुरेहतज्युको सम्मानजनक उपस्थितिमा मेरो बाबुले मलाई आफ्नो थरमा रहने शौभाग्य प्रदान गर्नुभयो । त्यसपछिका पन्ध्र वर्ष चानचुन कसैको रोकटोक बिना मेरो बाबुकै थरमा डुबुल्कि मार्दै/तैरँदै यात्रामा सामेल भएँ। हुनत, त्यहाँ मेरो अस्तित्व, मेरो उपस्थिति या ’मेरोपन’ को मूल्यनै के थियो र ? थियो त केवल एउटै पहिचान ’फलानाकी छोरी (केवल, बाबुकी छोरी !, मैले मेरो मामाघरका नातेदार बाहेक कतै पनि आमाको नामबाट पहिचान पाएको सम्झना छैन)’बाट हुन्थ्यो र ’म’ त्यही ’गर्व’ को आत्मरतिमा प्रफुल्ल थिएँ। त्यो जीवनको पहिलो ’थर’ वा अस्तित्व (?) थियो, जसलाई अँगाल्न नपाएको भए जीवनको कुनै ’इज्जतीलो’ पाटो रहने थिएन।

त्यसपछि पन्ध्र वर्ष चानचुन कटाएपश्चात दानको बस्तु भइयो, ’मारे पाप, पाले पूण्य’ को श्लोक भट्याउँदै ’पराई’ कि हातमा सुम्पिईएपश्चात जीवनको अर्को पाटो भोग्न प्रस्थान गरियो। त्यो सन्दर्भमा वासस्थान, लवाई, खवाई मात्रै परिवर्तन भएन; जन्मिएको एघारौं दिनमा हासील गरेको पारिवारिक ’थर’ अर्थात त्यही थरको आधारमा प्राप्त गरेको ’अस्तित्व’ नै परिवर्तन भयो। त्यसपछिको चौंतीस वर्ष मैले कसैको अनुग्रहले पाएको ’थर’ को पछि लाग्दै हिंड्नुपर्यो; जतिसुकै ’स्व-अस्तित्वको फूर्ती लगाए पनि थर त बोक्नुपरेकै छ’ भन्ने पनि सुन्नुपर्यो।

त्यही अबधिमा ’मेरो स्व-अस्तित्व’ को जन्म भयो; समाजले पहिचान दियो। सोचें, ’मेरो स्व-अस्तित्व’ को प्रादुर्भाव भयो; समाजले दिने नाम र कानूनले दिने पहिचानको सदुपयोग गरें; एक थोपा पानी या एउटा ’रौं’ जत्तिकै भए पनि चेतनाको बीज छरें ! यस्तै यस्तै सोचले फूलेको मेरो ’स्व-अस्तित्व’ त लेखको शुरुमा उल्लेख गरिएका परीचितको हेराईले ऐनामा ढुंगाले हानेर चर्ल्याम-चुर्लूम बनाए जस्तै पो पारिदिन्छ वा !

त्यस्ता घडीहरू मैले ’अस्तित्व’ रूपी ’थर’ परिवर्तन गरे मार्फ़त धेरै पटक सामना गरेकी मात्रै होइन, मलाई त्यसले सोच्न बाध्य पारिदिएको छ; के मेरो दिमाग, मेरो शरीर, मेरो चेतना, मेरो अस्तित्व भनेको मैले चाहेर वा नचाहेर, मैले बोक्दै हिड्नु पर्ने ’थर’ मात्रै हो त? मेरो मान्यता सामाजिक संस्कार नमान्नु या नमानौं भन्ने पनि होइन, तर मेरे परीचितहरू पनि ’थर’ बाहेकको मेरो ’अस्तित्व’लाई कति सजीलै अस्तित्व बिहीन बनाइदिन्छ्न; मेरो गुनासो यति मात्रै हो।

को-सँग के र कति मात्रै गुनासो गर्नु ? पल पल ’म’ र म जस्ताहरू माथि अर्काले दिएको ’थर’बाट भएको अन्यायको तथ्याङ्क कति राख्नु ? केही समय अगाडि मेरो छोरा र मलाई भिन्दा भिन्दै प्रशंगले जान्ने एक सज्जनले प्रश्न गर्नुभयो,’तपाईंको छोरा बास्कोटा, तपाई लम्साल त्यसैले झुक्किएको !’ त्यतिखेर मेरो छातीमा कसैले लात्ताले बजारे जस्तो अनुभूति भयो। मेरो छोरा जसलाई पूर्ण मानवको आकृति प्रदान गर्न नौ महिना मेरो कोखभित्र राखें, मेरो रगत र प्राणवायुले सिंचन गरेर यो धर्तीमा पदार्पण गराएँ तर उसँग पनि त ’थर’ कै कारणले संसारको आँखामा मेरो अस्तित्व जोडिने वा नजोडिने रहेछ ! (यहाँ छोराको उदाहरण दिनुको तात्पर्य उसलाई छोरीभन्दा बढी महत्व दिएर होइन, मेरी छोरीको अस्तित्व पनि ’मेरो जस्तै’ गरी ’थर’सँग जोडिएर आउने भएकोले हो।)

शायद, म रामायण कालमा जन्मिएकी भए मैले ’थर’ को चिन्ता गरिरहनु पर्ने थिएन; कुन्ती, गान्धारी, द्रौपदी आदि कुनै नारीहरूले पनि त ’थर’ को चक्करमा आफ्नो अस्तित्व खोज्दै/गुमाउँदै हिड्नुपरेको कथा भेटिएका छैनन त ! बरु उनीहरूले आफ्ना सन्तानलाई समेत आफ्नै नामले परीचित गराएका छन।

करीव एक/डेढ वर्ष अगाडिको समाचार होला नेपालको म्याग्दी जिल्लाबाट आएको एउटा समाचार पढेकी थिएँ, जसमा भनिएको थियो ’यहाँका एक सय ४१ जना मगरहरूको नागरिकतामा एकै दिन सामुहिक रुपमा थर पविर्तन भएका छन् । जिल्ला प्रशासन कार्यालयले बुधवार र विहिवार दग्नाम गाविसमा बृहत घुम्ती सेवा लगी पाँच पुस्तादेखि ’प्राविधिक कारणले’ नामको पछाडि थापा थर लेख्दै आएका मगरहरूको थर परिवर्तनगरी गर्वुजा बनाई दिएको हो ।……..

नागरिकतामा थरको समस्या छानविन गर्दा उनीहरू वर्षौंदेखि पहिचानको समस्यामा परेको भेटियो । त्यसैले पुरानो नागरिकता खिचेर थर संशोधन गरी नयाँ नागरिकता दिएका हौं’ प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए । नागरिकता ऐन ०६३ अनुसार आवश्यकता अनुसार नागरिकले माग गरेअनुरुप थर परिवर्तन गर्न पाइने ब्यवस्था गरेको छ ।’

यसरी पुरुषहरूले गरेको ’थर’ परिवर्तनमा उनीहरूको ’अस्तित्व’ मेटिँदैन न त कसैले ’तेरो छोराको थर र तेरो थर मिल्दैन, त्यसैले प्रश्न गरेको’ भनेर अविस्वास जनाइहाल्दछ ! वा वर्षौदेखिको परीचित अनुहारलाई ’तेरो अस्तित्व त्यही थरसँग मात्रै सम्बध्द रहन सक्छ’ भनेर खानामाथि भन्किएको भुसुनालाई किचिमिची बनाइदिएको जस्तो बनाइदिन्छ ! यहाँनिर मैले फेरि ’म, महिला’ भएको वास्तविकतालाई समाजले दिने घाउबाट चहरयाएको अनुभूति गर्दै साहशको मल्हम लगाउने कोशीश गरें।

त्यसभन्दा अलिक अगाडि पनि ( अगस्त ९, २००९)मा अर्को समाचारमा आँखा परेको थियो, संखुवासभाका राईहरूले आफू लिम्बू भएको भन्दै धमाधम थर परिवर्तन गराउन थालेका थिए रे ! उनीहरूको अनुसार आफूहरू पहिले लिम्बू नै भएको र १८३१ (इस्वी सम्वत हो कि, बिक्रम सम्वत थाहा भएन) ताका सरकारले राम्रो काम गर्नेलाई दिएको पदवीको आधारमा लिम्बू थर परिवर्तन गरी राई भएका थिए रे ! र त्यो समाचार सार्वजनिक भएताका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र सिग्देलकोनेतृत्वमा संखुवासभाको बाह्रबिसे गाबिसमा ५० राई थरका परिवारलाई लिम्बू बनाइएको थियो । त्यस समयमा राई थरबाट लिम्बू हुने पहीलो व्यक्ति ९० वर्षीय केशबप्रसाद राइरहेछन।

त्यो समाचार पढेपछि पनि यो मनमा आफ्नै दिमागले प्रश्नको न्यौछावर गरेको थियो, के उनीहरूको बिगतको सम्पूर्ण अस्तित्व, उनीहरूले तत्कालीन समयसम्म आर्जन गरेको सामाजिक प्रतिष्ठा ’थर’ परिवर्तनसँगै लुप्त भएर जाने होलान त ? या उनीहरूसँग वर्षौदेखि परिचित साथी/सँगी, मानवीय आधारमा जोडिएका नाता/सम्बन्ध सबै लुप्त हुने हुन ?

मैले त्यस बारेमा आजसम्म जानकारी पाएकी पनि छैन र पाउने चाहना पनि छैन। प्रश्न केवल एउटै मात्र छ, के मेरो चेतना, उपलब्धि, साथी/सँगी, मानवीय व्यवहार सबैको अस्तित्व मेरो ’थर’सँग मात्रै जोडिनु पर्ने हो त ?

यी हरफहरू लेख्दालेख्दै मनमा एउटै इच्छा मात्रै सल्बलाइरहेछ; काश, मैले आफूलाई कसैको ’थर’ को भारी नबोकि ’नेपाली’ को नामबाट मात्रै पहिचान गराउन मिलेको भए !

First published : 2014-11-18 12:17:34 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *