Skip to content

आधुनिक ’सिन्ड्रेला’ र कल्पनाको ’राजकुमार’

केही हप्ता अगाडीको कुरो हो, सँधैको जस्तो हप्ताको एक दिन अस्पतालमा गर्ने स्वयँसेवाको जिम्मेवारी पूरा गर्न अस्पताल पुगेँ; सबैजना अफिसमा बसिरहेका थियौँ फोनको घन्टी बज्यो | अर्कोतर्फबाट खबर आयो, त्यहाँको फ्रन्ट-डेस्कमा करीव आधा घन्टाको लागि पालो दिनु पर्ने भयो | शिफ्ट क्याप्टेनले उता गएर मद्दत गर्न अह्राए; आज्ञा शिरोपर गर्दै लुरुलुरु त्यहाँ पुगेँ | सहकर्मी स्वयँसेविका एक आगन्तुकसँग ब्यस्त थिइन | डेस्कको पारिपट्टी दुई/तीन बिरामी र बिरामीका परिवारहरू बसिरहेका थिए |

मैले त्यहाँ पुगेर त्यो दिनको बिरामीको सूची हेरिसक्न पाएकी थिइन, न त सहकर्मीसँग बोल्न भ्याएकी थिएँ; पारिपट्टी मेचमा बसिरहेको ब्यक्ति उठेर आए | कम्मरमा दुई हात राख्दै, मेरो अनुहारमा हेरेर उनले भने, ’एल…ओ.. भि..इ ( L…O…V…E..) ! जिल्ल परेर उनको मुखमा हेरें | हैन यो मान्छेले बिहान बिहानै खोया बिर्के चढ़ाएर आएछ कि क्या हो ? आफ्नो मनले आफैसँग प्रश्न तेर्स्यायो उनको उमेर तीन बर्ष आधा जति अगाडी बित्नुभएको मेरो बुवाकै उमेरका देखिन्थे; मतलव करीव असी जतिका ! दाँत त सबै सग्लैनै थिए ! उँचाइ र शारीरिक बनोट पनि त्यो उमेरका मान्छेमा देखिने भन्दा राम्रै मान्नुपर्छ | तर पनि मेरो दिमागले भ्याएन ती बृद्दले के भन्न खोजेका हुन भनेर ! हुनत, पश्चिमा समाजमा त्यस्ता कुराहरुमा आश्चर्य मान्नै पर्ने त होइन ! तर पनि सोच्न थालेँ, देब्रे हातको औँलामा औँठी नदेखेर त्यसो भनेको भनौँ भने मेरो हात त डेस्कले छेकिएको छ ! फेरि पस्चिमाहरूको ब्यापारिक प्रेम देखाउने दिन ’भ्यालेटाइन डे या प्रेम दिवस’ आउन पनि केही हप्ता अझै बाँकी थियो ।

दिमागका तारहरु यस्तरि बज्न थाले, मानौं बेस्सरी हावा चलेको बेला मकै बारीको ढोडहरु नमिठो आवाज निकाल्दै एक अर्कासँग जुधेर पछारौंला जस्तै अभिनय गर्दछन। हुनत, हरेक दिन हुने बाहिरी दुनियासँगको हेल-मेलमा उनी पहिला ब्यक्ति पनि होइनन र अन्तीम पनि हुने छैनन भनेर दिमागले जनाउ पनि दिँदै थियो। तर पनि तुंग न तर्कका कुरो, त्यो पनि सोच्दै नसोचेको स्थान र समयमा सुन्नुपर्दा त जतिसुकै स्वस्थ्य मनस्थितिले पनि केनै लछारपाटो लगाउला र ? सोचदा सोच्दै दिमाग त कता उडेछ कता !

केही समय अगाडि अपार्टमेन्टमा बस्दा त्यही अपार्टमेन्टको माथिल्लो तल्लामा बस्नेले ढोकामा बेलून झुन्ड्याएर हैरान पारेको थियो। एक दिन त उसले बेलुनलाई ठूलो पारेर फुकेछ र त्यसभरि के के लेखेर ढोकामा झुन्ड्याइदिएछ। त्यो देखेपछि रिसको पाराले पैताला देखि तालुसम्मको रक्त प्रवाहको सीमा पहाडको टूप्पोबाट बेगले हुत्तिदैं झरेको झर्ना जस्तो बन्न पुगेको थियो। त्यो बेगलाई शान्त बनाउन त्यो बेलुनलाई ढोका खोल्न निकालेको साँचोले रवाम्म रोपें | शायद, कसैको मुटुमा त्यस्तरी घोपेको भए रगतको फोहोरा निकै परसम्म पुग्थ्यो।

हैन, माया र प्रेमलाई यिनीहरु किन यति सस्तो बनाउँछन् हँ ? साँच्चैको माया कस्तो हुन्छ भनेर जान्न चाहनेले एक पटक क्याप्टेन मार्क केलीलाई सोधि हेर ! दुई बर्ष अगाडि उनकी राजकुमारी ग्याब्रिएल (ग्याबि) गिफ्फर्ड, (एरिजोना राज्यकी भूतपूर्ब कङ्ग्रेस प्रतिनिधि) लाई गोली लागेर अस्पतालमा राख्दा उनी दिन रात नभनि अर्धमृत अबस्थाकि श्रीमतीको हात समातेर उनको बेडको छेउमा बसिरहे | त्यति बेला उनले न त गुलाफका फूलका बिछौना सजाए, न ’आई लभ यु!’ को नारा घन्काए। ग्याबीलाई त्यो स्थितिमा छाडेर हिंडनु पर्ने बाध्यताले उनले झन्डै अन्तरिक्षमा पुग्ने अन्तीम मिसन छाडेका थिए; जुन मिसनको लागि उनी बर्षौंदेखि प्रशिक्षित र तयार पारिएका थिए।

त्यतिखेर अस्पतालबाट संचार माध्यामलाई उपलब्ध गराईएको पहीलो तस्वीर अझै पनि यो मनमा अमिट छाप बनेर बसेको छ; उक्त तस्विरमा अस्पतालको बिछौनामा लडिरहेको ग्याबिको अर्धचेतन शरीरको छेउमै बसेका मार्कले ग्याबिको हात समातिरहेका थिए। त्यंहाँ उनीहरुको अनुहार थिएन; केवल दुई हातहरु, अझ भनौं मार्कले ग्याबिको हात समाएको दृश्य मात्र थियो। त्यो तस्वीरले हजारौं शब्दहरु बोलेको थियो, त्यहाँ एउटी महीलाले आफ्नो भनेर भरोसा गरेको ब्यक्तिले देखाएको असीमित प्रेम थियो; मार्क केलीको ग्याबी प्रतिको पूर्ण समर्पण थियो; त्यहाँ जस्तोसुकै परिस्थितीमा पनि एक अर्कालाई माया गर्ने बाचा थियो; ग्याबिको अबस्थाबाट मुर्झाएका मायालुको अनुहार थियो।

त्यसपछिका दिनहरुमा उनी ग्याबीकै स्याहार-सम्भारमा लागिपरेका छन। यसलाई भनिन्छ साँचो ’प्रेम-कथा’ ’मानवताको-कथा’, ’आधुनिक सिण्ड्रेलाको कथा’ , एक अर्का प्रतिको समर्पणको कथा ! हुनत, मार्कको ग्याबिसङ्गको विवाह पहीलो त होईन रहेछ| तर पनि उनले गरेको त्याग र सेवा देखेर आस्चर्य नमानि बस्न सक्दिन| त्यति धेरै बिचार पुर्‍याउने र माया गर्ने पति नभएको भए शायद, ग्याबी बाँच्ने पनिथिइन् कि थिइन् । धेरैलाई थाहा छ कि छैन, मेडिकल साइन्सको दृष्टिकोणमा पनि ग्याबीले पुनर्जीवन प्राप्त गर्नु चमत्कार जस्तै भएको छ | स्मरणीय छ, उनलाई गोली हानिएपछी अस्पताल पुर्‍याएर औषधोउपचार गर्ने क्रममा कति दिनसम्म उनको दिमागको एउटा भाग नै झिकेर रेफ्रिजिरेटरमा राखेको थियो र टाउको सुनिने क्रम रोकिएपछी फेरि भित्र हालेर औषधो-उपचार गरिएको थियो।

जब जब उनीहरुको बारेमा समाचार आऊंछ, यी आँखाहरु टेलिभिजनको पर्दाबाट हट्न मान्दैनन; अखबारका पानाहरू उल्टिन चाहँदैनन। उनीहरुको जीवन देख्दा लाग्छ, दन्त्य कथाकी पात्र आधुनिक ’सिन्ड्रेला’ र उनले कल्पना गरेको ’राजकुमार’ यस्तै हुन्छन होला !

मन र मष्तिष्क एकै साथमा बायू-पंखी घोड़ा जसरी उडिरहंदा ती बृद्द मेरो अगाडि नै उभिरहेका थिए; मेरो मुखबाट एक शब्द पनि निस्किएको थिएन तर दिमागी मेसिन भने चल्दै नै थियो, यसको लागि न त पैसा खर्चनु पर्दथ्यो, या एक्सरेको फिल्ममा जस्तो कसैले देख्न नै सक्तथ्यो !

दिमागले अर्को एक परिचित पुरुषको आकृति बारे सोच्न बाध्य बनायो, जो दश बर्ष देखि धुम-धडाकाका साथ आफ्नो लागि ’गर्ल- फ्रेण्ड’ खोजेको खोज्यै छ। उसको चाहना,’स्लीम’, ’ब्लन्ड’, कम उमेरकी गोरी रहेको छ; आफू भने तीन सय पाउन्ड भन्दा बढीकै होला ! बानी ब्यहोरा सोच्यो भने तलबाट बगाएर माथितिर खोज्न जानुपर्ने जस्तो लाग्छ। उसको बारेमा हामी साथी-साथी कुरा गर्छौं, ’यो मान्छेले गर्ल-फ्रेण्ड पाइहाल्यो भने पनि एक दिन त संगै बस्ली तर भोलिपल्ट सखारैमा पत्तै नदिइ घर छाडेर पनि हिंडी हाल्ली !’

तर अधिकांश पुरुषहरु एउटी प्रेमिका या पत्निले के चाह्न्छे भनेर गम्भीरतापूर्वक सोच्नै चाहँदैनन; उनीहरुको मनमा कि त यौनको भोक जागिरहेको हुन्छ, या बलको तुजुक वा आर्थिक सवलताको घमण्ड! उनीहरुलाई लाग्दछ त्यति कुरा भए पछि उनीहरु पूर्ण पुरुष हुन्छन र कुनै पनि युवती वा महिलाको नजरमा उनीहरु देवतूल्य ठहरीइहाल्छन! तर सिक्काको अर्को पाटामा अर्कै तस्वीर कुंदिएको हुन्छ भन्ने कुरा उनीहरुलाई के थाहा! किनकी, हिजोका दिनसम्म पुरुषलेनै नारी मनका परिपाठ लगाइदिने चलन बिद्यमान थियो नि त !

तर आज यसमा शनै: शनै: परिवर्तन आएको छ, नारीहरु पनि आफ्ना मनका कुरा ओकल्न सक्ने भएका छन। यस्ता कल्पनाले दिमाग भित्र खिचड़ी पकाउँदै थियो, अचानक ती बृद्द कड़किए,’के तिमीले म तिमीसँग जिस्किएको भन्ठानेको ? LOVE मेरो पारिवारीक नाम हो; मेरो पूरा नाम पिटर लभ !; म यहाँ ’डे-सर्जरी’को लागि आएको। मैले मेरो नाम एकैपटक भन्दा मानिसहरु जिस्किएको भन्ठान्छन; त्यसैले मैले त्यसरी भनेको !’

उनले मलाई खराब सपनाबाट झसँग पार्दै ब्युंझाई दिए; मेरो मुखबाट खित्का छुटेको मात्रै होइन, एक दशकको बसाई काटिसकेको समाजका बासिन्दाको ’थर’ सम्म पनि खुट्याउन नसकेर बातलाई बतंगड़ बनाउन पुगेकोमा थक्क थक्क समेत भयो |

हाम्रो कुराकानी सुनिरहेकी सहकर्मी स्वयंसेविकाले हँसाउँदै थपिन,’आई लभ योर नेम ’लभ’!’ यति भनेर हामीले उनलाई उनको गन्तब्यमा पुर्यायौं र मलाई भ्रमित स्थितिबाट छुटकारा मिल्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *