Skip to content

महिला विरुद्धका उखान

केहि बर्ष अगाडी यो पँक्तिकारले कसैले लेखेको कुरामा प्रतिक्रिया जनाउँदै एउटा नेपाली उखान लेखेँ,लुटको धन फुपुको श्राद्ध भनेको यही होला ! बर्षौँ बर्षा देखि महीला बिरुध्द हुने ज्यादती,हिँशा र भेदभावको बिरुध्दमा कलम र आवाज दुबै माध्यमबाट सर्वसाधारण सामू आवाज उथाउँदै आएको यो दिमागमा उक्त आख्यानले पनि महिला बिरुध्द भेदभाव गर्दै आईरहेकोछ भन्ने तथ्य त दिमागमा घुसेकै रहेनछ । त्यसबाट आँखा उघारिदिनुभयो इन्जिनियर/साहित्यकार बसन्त गौतमले – उँहाले शालिन शब्दमा सचेत गराउँदै लेख्नुभयो,दिदी, हामिले यस्ता उखान टूक्काहरूलाई हटाउँदै जानुपर्छ्र । यसले पनि महीला माथि बिभेद गरेको छ किनभने एउटै आमा बाबुको सन्तान काका र बाबुहरूको श्राध्द गर्न हुने फुपुहरूको नहुने किन ?

यो प्रसँगलाई कोट्याउनुको कारण, हामीले हाम्रो दैनीक जीवनमा जानि नजानि कति बिभेद्कारी भाषा, उखान र टूक्काहरूको प्रयोग गर्दारहेछौँ भन्ने प्रमाण ।

तर हामीले दिनहुँ भेट्ने, पढ्ने र व्यबहार गर्ने ब्यक्तिहरू बसन्त गौतमको सोच भएका एकदमै कम मात्र पाउँछौँ । र जतासुकै होस्,पढेलेखेका अर्थात आफूलाई शिक्षितको श्रेणीमा राख्ने हुन या सडकका भाषा बोल्ने ब्यक्तिहरुनै किन नहुन उनिहरु त्यति धेरै मात्रामा बिभेदकारी भाषाहरूको प्रयोग गर्दछन कि, कहीलेकाँही त ती आफूलाई शिक्षित भन्न रुचाउनेहरूले साँच्चै शिक्षाको महत्व पनि बुझेका होलान त भन्ने प्रश्न उठाउन मन लाग्दछ ।
यसै क्रममा यहाँ एक दुईवटा उदाहरणहरू पेश गर्न चाहन्छु् – आजको अति लोकप्रिय सामाजिक सन्जालमा महीलालाई होच्याउने या अपमान गर्ने यस्ता वाक्यहरू बग्रेल्ती देखिन्छन ।आश्चर्य त तव हुन्छ, जव त्यस्ता वाक्यहरूको बिरोध गर्नुको सट्टा धमाधम लाइकु अर्थात मन पराएको अभिब्यक्ति पोख्ने गर्ने मात्रै होईन, अझै अपमानजन्य शब्दहरूको बर्षा गरिन्छन ।

केही दिन अगाडी नेपाल आमा भनेर आफूलाई चिनाउन चाहने ब्यक्तिले लेखेको पढ्न पाईयो-भ्रष्टाचारीको बुढी बहुलाओस ! अनी प्यारी छोरी पोइला जाओस !!

सामाजिक सन्जाल मार्फत सूचना प्रबाह गर्न चाहने र जान्ने ब्यक्तिलाई अ-शिक्षितको कोटिमा पक्कै पनि राख्न सकिँदैन्र तर यदि ती ब्यक्ति शिक्षित हुन भने शिक्षाले के यस्तै ज्ञान प्रदान गर्दछ त ? त्यो पनि नेपाल आमा जस्तो नाम बाट ? कुनै आमाले आफ्ना सन्तानलाई बहुलाओस या छोरि पोइला जाओस भन्ने कामना गर्लीन ?! त्यो त पछिल्लो चरणमा उठ्ने कुरो । पहीले त कुनै भ्रष्टाचारीले गरेको गलत कामको परिणाममा उसको श्रीमती र छोरिलाई किन सँलग्न गराउने ? के अधिकाँश पुरुषहरूले घुस खानु भन्दा अगाडी म घुस खाउँ कि, नखाउँ भनेर घर सल्लाह गरेका हुन्छन र ?

अर्को अत्यन्तै आपत्तिजनक वाक्य जताततै देख्न सकिन्छ,सँबिधान नबनाउने सभासदका छोरी बहिष्कार गरौँ !
फेरि पनि महीलाकै अपमान ? यस्ता कुराहरू लेख्दा र बोल्दा किन ती ब्यक्तिहरूले बिर्सिन्छन की ती छोरीहरूको अपमान गर्नु भनेको आदीमकालीन समाजको सोच हो । पढेलेखेका भनिने यी दिमागमा कसरी स्वच्छ बिचारहरू भित्र्याउन सकिन्छ ? अझ यतिले नपुगेर एक सुन्दर युवतिको पछाडि फर्किएको फोटो राखेर अर्को ब्यक्तिले जवाफ दिन्छ-पछाडिबाट देख्दा त यति राम्री छ, कसले बहिष्कार गर्ला ? यस्ता अपमान जनक र विभेदपूर्ण नीच र कुत्सित बीचारहरुसित कहीलेसम्म जोरी खोज्दै हिँड्नुपर्ने ? नपढेका ब्यक्तिहरूलाई त शब्द र वाक्यको अर्थ सम्झाएर सकारात्मक सोच भर्न सकिएला तर महिलाहरु आफ्नै आमा र छोरीहरु पनि हुन् भनेर बिचार गर्न नसक्ने पढेलेखेकाहरूलाई के भनेर त्यस भित्रको फरक सम्झाउने ?

आख्यान र उक्तिकै प्रसँग उठाउँदा नेपाली भाषामा त्यस्ता थूप्रै उखान – टूक्का देखि लिएर अपमानजनक/अश्लिल बोल्नेहरूको सँख्या पनि कम छैन । सबैभन्दा आस्चर्य त त्यस बेला हुन्छ जव कुनै ब्यक्तिले अरुलाई गाली गर्नुपर्दा आफूलाई जन्माउने आमाको हदैसम्म नीच भाषामा अपमान गरिरहेको हुन्छ ।
ती बाहेक यहाँ त्यस्ता केही उखान- टूक्काहरूको उल्लेख गर्न चाहन्छु, जुन आजको समय र परिप्रेक्षमा महीलाको आत्मसन्मानमा ठेश पुर्‍याउने खालका छन –

त्यसै मध्धेको पहीलो उदाहरण – छोरीको जन्म हारेको कर्म ।
आजको समयमा छोरीहरूले बिपरित लिँगीसँगै काँधमा काँध मीलाई घर्, समाज, राष्ट्र र अन्तरराष्ट्रिय स्तरमा समेत बिद्वता हासील गरिरहेको परिप्रेक्षमा यो आख्यानको उपादेयता कति ?

त्यस्तै अर्को उदाहरण -खुटटा भए जुत्ता कति कतिस मर्दको हजारवटी ।
जुनवेला नेपालमा बहुविवाहको प्रचलन थियो, शायद, त्यति बेलै यो कथनको शुरुवात भएको थियो होला ? तर कानूनी रुपमा नै बहुविवाहलाई बन्देज लगाईसकिएको तीन दशक बितिसक्दा पनि महीलाहरूलाई नीच देखाउन उनीहरुको अस्तित्वनै नकारेर खुट्टामा लगाउने जुत्ताको रुपमा मात्रै होइन, बहुविवाह या बहुसम्बन्ध स्थापित गराउन प्रोत्साहित गर्ने खालका कुत्सीत बिचारहरू लड्नको लागि ठाउँ-कुठाउँमा प्रयोग गरिने यस्ता प्रसँगहरूलाई सभ्य भनीने समाजमा कतिसम्म स्थान दिइरहने ?

त्यस्तै, छोरी हुनेले कहिले तुजुक गर्नु हुँदैनु ।
भन्न के खोजेको ? छोरी र छोरा भनेका एउटै कोखका सन्तान होइनन र ? बढ्ने हुर्कने क्रममा केही साना ठूला गल्ति गरिहाले पनि छोराले चाँही छूट पाउने, छोरीको कारणले भने मानमर्दन खप्नुपर्ने ? यही हो समाजको न्याय र या मानवताको धर्म ?

आईमाईको रुद्रघन्टी हुँदैनु ।
यो उखान लेख्ने एकजना पुरुषलाई केही दिन अगाडी प्रश्न राखेँ- यो कुरा लेख्दा दिदी, बहिनी, आमा कसैको पनि बिचार आएन ? जवाफ आयो, ती बाहेक भनेर लेखेको छू । वाह !! क्याबात सज्जन ? महिला भन्ने बित्तिकै घर बाहिरकालाई जे भने पनि हुन्छ, जे लेखे पनि हुन्छ । अनि रुद्रघन्टी कै प्रश्न उठाउने हो भने पुरुषहरू कम बाचाल हुन्छन र ? यदि त्यसो होभने, वकील, पत्रकार, शिक्षक आदी पेशामा पनि पुरुषको सँख्या शून्यनै हुनुपर्ने ? किनभने, रुद्रघन्टिु नभएको भन्न खोजिएको आशय मनमा कुरा नरहने वा धेरै बोल्ने हो र यहाँ उल्लेखित पेशाहरुमा त जति धेरै बोल्यो,त्यति धेरै दक्ष/विज्ञ ठहरिन्छ । त्यो कुरो साँचो हो भने त्यस्ता पुरुषको पनि रुद्रघन्टी नभएकै ठान्नु पर्‍यो त हैन ?

पुरुषको भाग्य र नारीको चरित्र दैबले पनि जान्दैन ।
पुरुषको चरित्र मात्रै कसैले बुझेको हुन्छ ? स्वास्नी मारेर प्रमाण लुकाउन गरिने तिकडम देखि लिएर यता फर्कियो एउटा कुरो, अर्कोतर्फ फर्कियो अर्को कुरा गरेर जालझेलमा अरुको जिन्दगी चौपट पारिदिने ब्यक्तिहरूको पनि कमि नदेखिएको होईन दिनानुदिनको ब्यबहारमा । चरित्र भन्ने कुरा त ब्यक्ति ब्यक्ति पिच्छे फरक हुने कुरा हो । यस्तो कुरालाई गाई गँगा बराबर गरेर आरोपित गरिरहन पाईन्छ ?

ढीलो होस, छोरो होस ।
छोरो जन्मे खसी खाउंला, छोरी जन्मे फर्सी ।
यस्ता उखानहरूको प्रयोग बारम्बार गर्दा अन्तरराष्ट्रिय स्तरमै बिभेदकारी समाज नीर्माण प्रक्रियामा गरिएको लगानि, सोच र मीहिनेतको धज्जी उडाउन खोजिएको होईन ? दाता सँस्थाले पैसा दिँदा हात थापेर जे भन्छौ, त्यही मान्छु भन्ने त्यसपछि व्यबहारमा लत्याईदिने ?

पोथी बासेको अलक्षण हुन्छु ।
पोथी बासेको घर ।
आदी आदी भनेर महीलालाई गिराउनेहरूले मार्गरेट थ्याचर, इन्दीरा गान्धि, बेनजीर भुट्टो, एन्जेला मार्केल, सोनीया गान्धी, हिल्यारी क्लिन्टन जस्ता पोथीहरू बासेरै त भालेहरूको भलो भएको छ नि हैन र ? यति हुँदाहुँदै पनि त्यस्ता पूरातनवादी टूक्काहरूको उपादेयता बाँकी होला ?

तीन गोरूको हल बलियो, दुई स्वास्नीको घर बलियो ।
फेरी बहुबिवाहलाई प्रश्रय दिने कुरो । नीयम कानून भन्ने कुराहरू पालन गर्न बनाएको कि देउतालाई राख्ने खोपी जस्तै खोपिमा राख्न बनाएको ? यसको जवाफ कोसँग माग्ने ।

राँडिलाई लान्छु नभन्नु, गरीवलाई दिन्छु नभन्नु ।
एकल महीलामाथि कति हेय द्रिष्टी राखेको ? पुनर्बिवाहको प्रतियोगिता गराउने हो भने बिधवाहरू भन्दा बढी बिधुरहरु नै दोश्रो बिवाह गर्नमा दक्षता हासील गरेका उदाहरण पाइन्छन । तर पनि महिलाकै धज्जी उडाउने ?

आईमाईको सिप रछ्यानमा ।
यो उखान पढे भने ठूला ठूला पदमा बस्ने महीलाहरूले के सोच्दा होलान ? तर के गर्नु र अहँ र पुरुषत्वको घमण्डले भरिएको पुरुष चाहे स्वास्निकै कमाई खाएर जिन्दगी किन नबिताओस सबैभन्दा पहीले उसैको मुखबाट त्यस्ता आख्यानहरू सुन्न पाईन्छ ।

समाजमा बिहान बेलुकीको दालभात खाएझैँ सहज रुपमा लिएर बोलिने, लेखिने र मजाकका बिषय बनाईने यस्ता नकारात्मक शब्द,बाक्य र आख्यानहरु कोट्याउन थाल्ने हो भने एउटा ठेली नै तयार हुन्छ । एउटा लेखमा ती सबै कुराहरू अटाउनै सकिन्न . यहाँ त महीला दिवसको सन्दर्भ पारेर अब आइन्दा यस्ता कुराहरुमा पनि ध्यान दिन सकिन्छ कि भनेर समाजका नकारात्मक सोच भएका ब्यक्तिहरूलाई सावधान गराउन मात्र खोजिएको हो । समाजका नकारात्मक सोच भएकाहरुलाई साबधान वा उनीहरुमा सकारात्मक सोचको विकाश गराउने प्रयास महिलाहरुको मात्र होईन,सकारात्मक सोच भएका पुरुषहरुबाट पनि हुन थालोस। यो पँक्तिकारको आशय हो – रश लिम्बो र डन आइमस जस्ता प्रब्रित्तिका मानिसहरूलाई परिवर्तन गराउन सकिन्छ भन्ने पक्कै होईन ।

निष्कर्षमा भन्नुपर्दा, हरेक बर्ष अँग्रेजी शब्द-कोशहरुमा कतिपय शब्दहरुमाथी प्रतिबन्ध लगाइन्छ,आख्यानकै कुरा गर्दा केही समय अगाडिसम्म बेलायतमा प्रचलनमा आएको आख्यान – आइरिश,ब्ल्याक एन्ड डग्स आर नट एलावुडु या अमेरिकामा प्रयोग मा आउने -कालेहरू यस्ता या उस्ता, भनेर ठाडै गरिने टिप्पणी आजको समयमा कसैले मुखबाट निकाल्यो भने त्यो ब्यक्ति ठूलो समस्यामा पार्न सक्छ । त्यसैले समय अनुसार आफ्नो बिचारलाई पनि सभ्य बनाउँदै लाने कि सुट टाईमा ठँटिएर मुखबाट क्षुद्र भाषाको सदाबहार बर्षात गर्न नहिचकिचाउने भलाद्मी बन्ने निर्क्यौल गर्ने जिम्मा यहाँहरुकै हातमा !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *