Skip to content

लिम्बू समुदायले सिङ्गापुरमा पनि चासोक तङनाम मनाए


प्रकृति पुजक लिम्बूहरूको महान चाड २०७१ सालको चासोक तङनाम ( उधौली पर्व ) सिंगापुरमा पनि भव्यताको साथ सम्पन्न भयो ।

सिङ्गापुरमा रहेका प्रवासी लिम्बू समुदायले पनि चासोक तङनामको साँस्कृतिक उत्सवलाई पहिलो चोटि नै भव्यता र सफलताको साथ मनाएर एउटा ऐतिहासिक यात्रा तय गरेको छ । उनीहरूको यो यात्रा त्यसै सुरु भएको छैन। आफ्नो मौलिक पहिचान र अस्तित्वलाई जीवन्तता दिने चेतनाको विकासले सुरु भएको एकदमै सार्थक यात्रा हो यो। यो यात्रा सिङ्गापुरमा भएका सम्पूर्ण याक्थुङ्बा नु याक्थुङ्माहरूले मिलेर सामुहिक रुपमा निरन्तर गरिरहन जरुरी छ। किनभने सबै मिलेरसँगै यात्रा गरियो भने मात्र गन्तव्यमा पुगिन्छ र त्यो जीवन अस्तित्वको निम्ति सहयात्रा गरिने बाटो पनि फराकिलो हुन्छ।

“चासोक तङनाम सिंगापुर” को सक्रिय सदस्यहरूबाट आयोजित उक्त कार्यक्रममा लिम्बू जातिको पहिरनमा सजिएका लिम्बू समुदायको उल्लेखनीय उपस्थितिले उनीहरूमा भएको आफ्नो संस्कार एवं संस्कृति प्रतिको मोह प्रष्ट झल्काइरहेको थियो। सबै लिम्बूलिम्बूनीहरूले देब्रे पट्टि छातीमा सिलाम साक्मा ( मृत्यु छेक्ने प्रतिक ) झुन्ड्याएका थिए। कार्यक्रमको उद्घाटन च्याब्रुङहरू सजाएर सारिकलशमा दियो बालेर गरियो।उक्त कार्यक्रममा लिम्बू जातिको केही मौलिक बाजाहरू च्याब्रुङ (के) र यलम्बर बाजाको प्रदर्शन गरियो। लिम्बू जातिको ऐतिहासिक महत्व बोकेको यो चासोक तङनामको अवसरमा उपस्थित लिम्बूलिम्बूनीहरूले आफ्नो संस्कृतिजन्य मनोरञ्जनात्मक कार्यक्रमहरू ( केलाङ/च्याब्रुङ नाच,माङ्लाङ, पालाम, हाक्पारे, ख्याली, याक्थुङ साम्लो ) प्रस्तुत गरे। उक्त कार्यक्रममा उपस्थित याक्थुङ्बा नु याक्थुङ्माहरूले चासोक तङनाम२०७१ सालको पावन अवसरमा उन्नति, प्रगति, सुख, शान्ति एवं सम्वृद्धिको शुभकामना कार्यक्रम अवधिभर एकआपसमा व्यक्त गरे।

हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ।
लिम्बू जातिहरू आफ्नो सभ्यतासँगै खेतीपाती गर्ने गर्दछन्। खेतबारिमा पाकेको नयाँ अन्नबालीलाई घरमा भित्र्याउनु र खानुभन्दा अगाडि तागेरा निङ्वाफुमाङ र पितृलाई फेदाङमा वा तुम्याहाङद्वारा अर्पण गरी चासोक (न्वागी पूजा) गर्ने गर्दछन। यसरी चासोक गरिसकेपछि मात्र नयाँ अन्नबालीहरू खाने चलन लिम्बू जातिमा कायम रहेको छ। लिम्बूवान क्षेत्रका गाउँघरमा प्रत्येक लिम्बूको घर घरमा धुमधामसँग चासोक गर्ने गर्दछन भने सहरबजारतिर सामुहिक रुपमा गर्न थालिएको छ।

चासोक तङनाम भनेको केवल मनोरञ्जनको लागि मात्र मनाइने उत्सव होइन। यो चाड लिम्बू जातिको मुन्धुमसँग जोडिएको छ; लिम्बू जातिको इतिहाससँग जोडिएको छ। समग्रमा लिम्बू जातिको अस्तित्वसँग जोडिएको छ। त्यस कारण जीवन यात्रामा हामी जो – जो जहाँ – जहाँ पुगे पनि हाम्रो मौलिक संस्कार र संस्कृतिहरू बिर्सनु हुँदैन। नयाँ पुस्तालाई पनि आफ्नो मौलिक संस्कार र संस्कृतिहरूसँग परिचित गराउँदै उनीहरूलाई पनि सार्थक जीवन ज्युँनको लागि अनुकुल वातावरणको सिर्जना गरिदिन बेलैमा अभिभावक एवं सचेत वर्गले प्रमुख भूमिका खेल्नु पर्दछ।

नोगेन! / धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *