कोही नाँचे कोही हाँसे
कोही वनै थरकाउने गरी भाषण छाटे
कोही कापे कोही रापे
कोही आफैलाई छाडी सबैलाई व्यङात्मक चित्रण छाडे।
कोही लडे कोही ह्द्यको पाना पढे
कोही पकाउदा पकाउदै रिङ्गटा लागेर झन्डै लडे
कोही लजाएर भागे कोही रिसाएर जागे
कोही कुनामा बसी तास खेल्न लागे।
कोही शान्त थिए कोही क्लान्त थिए
कोही आफैलाई अलराउडर ठान्थे
कोही टेप वजाए कोहीले मादल वजाए
कोही कल्पनाको संसारमा वादलभित्र हराए।
कोहीले गुराँस टिपे कोहीले नैतिकताको पाठ सिके
कोहीले वनको मनमोहक वातावरणमा कविताको भाका झिके
कोही प्रशंसाले फुले, कोही व्यङ्गले लुरुक्क परे
कोही अरुलाई व्यङ्ग गरेको सुनेर आफै गजक्क परे।
धुलिखेलको त्यो मनोरम वनमा
सबैले केही न केही पाए
मैले त्यो सुन्दर रुखहरूको बीचमा
जीवनको अस्मरणीय आनन्द पाए।
धुलीखेलमा मिति: २०४७-१२-२३ (१९९१-४-७)