Skip to content

लोककथाको संकलन र लेखनमा केदार सत्यालको बठ्याइँ


अलिखित रुपमा मान्छेका गलागलामा रहेको साधारणभन्दा भिन्न, केही बठ्याँइँले भरिएको, अलिकति कलात्मकतायुक्त कथन नै लोकसाहित्य हो र यो नै आधुनिक साहित्यको पुर्खा हो । आधुनिक साहित्यको जन्म यसैबाट भएको छ । यसैलाई विद्वानहरूले आधुनिक साहित्यको जन्मथलो मानेका छन् । लोकजीवनमा समाजभित्र गरिने मनोरञ्जन, उत्सव, चाडपर्व, मेलापात, जन्ममरण आदि अवस्थामा तत्तत्त् विषयलाई सुहाउँदा कुराहरू कथेर रचिने परम्परा आज पनि समाजमा रहेकै छ । यही पुरानो परम्पराबाट लोक साहित्यको सिर्जना भएको हो । यसैले यसलाई लोकजीवनको दर्पणका रुपमा लिइन्छ । यसले लोकजीवनको इतिहास, कला, धर्म, संस्कार, संस्कृति आदिको इतिहास बोकेको हुन्छ । नेपाली लोकसाहित्यको पनि यही विशेषता रहेको छ ।

यद्यपि नेपाली लोकसाहित्यको उच्चनिकाय वा राष्ट्रियस्तरबाट आधिकारिक रुपमा अनुसन्धान वा खोजतलास भएको देखिन्न । नेपाली साहित्यप्रति राष्ट्रको ध्यान नगएको यथार्थ जगजाहेरै छ । राष्ट्रले गम्भीरता पूर्वक चासो राख्नु पर्ने विषयमा सही रुपमा चासो नदेखाउँदा लोकजीवनभित्रको धरोहरका रुपमा रहेको लोकसामग्री हराउँदै र लोप हुँदै गएको तथ्य छर्लङ्गै हुन्छ । नेपाल भरि लोकसाहित्यको अनन्त सामग्री गाउँठाउँमा असरल्ल छ । यसलाई संकलन गर्ने काममा राष्ट्रकै चासो हुनु पर्ने हो । तथापि राष्ट्रको कर्तव्यलाई व्यक्ति व्यक्तिहरूले आफ्नो आन्तरिक सोख पुरा गर्ने हेतुले भए पनि त्यस्ता केही अमूल्य सामग्रीहरू संकलन गरेर जनसमक्ष ल्याउने काम गरेका छन् । त्यसरी लोकसाहित्यका केही स्थानीय प्रचलित सामग्रीलाई संकलन गर्ने विशिष्ट साधकहरू निकै छन् । हंसपुरे सुवेदी, धर्मराज थापा, शास्त्रदत्त पन्त लगायतका समीक्षक, साधक वा अनुसन्धाताहरूले नेपाली लोकसाहित्यका विभिन्न फाँटबाट केही सामग्री सुरक्षित गरेका छन् । यता नेपालका पूर्वी क्षेत्रको तराई निवासी केदार सत्यालले पनि यस काममा योगदान दिएको पाइन्छ । उनबाट पनि नेपाली दन्त्यकथा वा लोकथाको फाँटमा निकै उच्चस्तरीय योगदान दिने काम भएको छ भन्ने कुरा स्मरणीय छ । यहाँ म उनले संकलन गरेको ‘एक्काइस दन्त्यकथा’ नामक लोककथाको संकलनभित्र उनका लोककथाको संकलन गरेर लेख्ने परिपाठका बारेमा केही छलफल गर्न लागिरहेको छु ।

लोकसाहित्य भनेको समाजको सम्पत्ति हो । यो मौखिक परम्परामा अडेको हुन्छ । यसको सुरक्षा भनेको यसको भण्डारन वा ढुकुटी भनेको लोकजीवनका आदरणीय बुढापाकाहरू नै हुन् । अलिखित रुपमै रहेर एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जानु र जीवन्त रहनु यसको विशेषता हो । यसलाई लेख्ने काम ता आधुनिक युगको चलन मात्र हो । अलिखित भएर रहने हुँदा यसको मौलिक रुप तलमाथि पर्न सक्छ, अथवा हराउन पनि सक्छ । यसै कारणले यसको स्वरुपलाई तलमाथि नहुने गरी लेख्य रुप दिन वा लेख्य रुपमा रुपान्तरण गर्न थालिएको छ । यसको सुरक्षाका लागि यसलाई लेख्य रुपमा राखेर स्थायीत्व दिनु पर्ने पनि हाम्रो दायित्व भएको छ । यसरी लेखिएर राखिंदा यसको मौलिक पहिचान नगुमोस्, यसको प्रचलित स्थान नछुटोस् यसका अरु विशेषताहरू नहराउन् भन्ने ख्लाल पनि गरिनु पर्छ । कथनमा रहेको यसको मूल रुपलाई लेखनमा कायम गर्दा लेखकले सावधानी पनि अपनाउनुपर्छ । यसको मौलिक स्वरुप यथावत् रहोस् भनी विचार पुर्याउनु पर्छ ।

माथिको विषयलाई ध्यानमा राखेर एक्काइस दन्त्यकथाका कथासंकलनकर्ता केदार सत्याललाई नियाल्दा उनी एक विवेकशील लोककथाको संकलकको पहिचान भएका व्यक्तिका रुपमा देखिन सक्छन् । लोकथाको मर्मलाई उनले कतै पनि आफ्नो ज्ञानको ओज र पाण्डित्याइँले खज्मज्याएका छैनन् । दन्त्यकथाको मूल रुप जनस्तरमा जुन कुरा जसरी थियो त्यसको मूल मर्ममाथि उनले कुनै दाग नलगाई अँझ चहकिलो र स्वादिलो पार्ने काम गरेको देखिन्छ । तर लेख्तै जाँदा कताकता आफ्नो शब्दसामर्थ्य आइहाल्छ भन्ने कुरा पनि बिर्सनुहुन्न । आफ्ना शब्दसामर्थ्यलाई पनि उनले लोककथाको अन्तर्वस्तुको मूल पहिचानसँग खज्मजिन दिएका छैनन् । कथनलाई अत्यन्तै मिठासिलो बनाउन उनी सिपालु छन् । वर्णनमा पनि आफ्नो सिपलाई अँझै खिरिल्याएका छन् । सम्वादको सहज प्रयोगमा उनको चातुर्य तारिफ गर्न योग्य छ । लोकसम्वादमा लोकोक्तिहरू मिसाउँदाको मिठास भाषमा धुमधाम राम्रो हुन्छ । त्यसमाथि वर्णनमा कुशलता थपियो भने ता सुनमा सुगन्ध हुनु जस्तो सुन्दर हुन जान्छ । सम्वादमा लोककथालाई जसरी भनिन्छ उसै गरिरहन दिंदै त्यसको मर्ममाथि आघात नपारी अँझ मिही र मिठासिलो बनाउने काम जोकोहीले गरेको देखिन्न । बरु आफ्नो बुज्रुक्याइँ थपेर लोक भाकालाई पाण्डित्याइँको जलप लगाउने ध्याउन्नामा लागेका हुन्छन् तर सत्यालमा यो काम कुरालाई बुझेर बडो कुशलताका साथ परिपाठ पारेर प्रस्तुत गर्ने बठ्याइँ छ । तलका केही उदाहरणहरू यस भनाइका साक्षी हुन सक्छन्—

‘कुन दुखियाको चित्कार हो ?’ भन्दै भँगेराहरू सुन्नासाथ हुर्र उडेर त्यहाँ आएर भन्न लागे, “नानी, तिमी को हौ र किन रोएकी ?यहाँ बाघभालुहरू चहार्दै सारै उधुम मचाउँछन् । एकै गाँस पार्लान् । नबस, गाइहाल ।” (सात दाजुकी एक बहिनी पृ.१०)

‘तैंले मेरी कान्छी छोरीसँग बिहे गर्ने मन गरिछस्, राम्रै हो । तर मैले भनेबमोजिमका दुइटा काम पुरा गरिस् भने मात्र म छोरी तँलाई सुम्पन्छु, नत्र भने तँलाई फाँसी दिन्छु । (थेबे थाङ्नो पृ.३०)

चोरहरू लाचार भए । ‘होलाकिले बुलाकी । बुलाकीले नाक कान’ भनेजस्तै भयो उनीहरूका लागि । “अब अहिले यस चन्डाल्नीलाई जिस्क्याउनु भएन । ‘तातै खाऊँ जली मरुँ’ किन गर्ने ? बरु आजको तीन महिनापछि फेरि आएर यस राक्षस्नीलाई जो गर्नु गरौंला, अहिले आआफ्ना घर जाऔं ।” (नकटा चोरहरू पृ.६२)

माथि थोरैमा टिपिएको सत्यालका यसै कृतिभित्रबाट टिपिएको सम्वाद र वर्णनको उदाहरण हो । वर्णन र सम्वादको सहजताले सत्यालको वर्णन तथा सम्वादप्रयोग गर्ने सिपलाई झल्काउँछ भने तलका वर्णनले पनि उनका वर्णन कुशलतालाई अँझै राम्रो गरी देखाउँछ ।

बाघ डराएको र त्यता जान दुरीदुवाइ भएको देखेर स्यालले किसानले खेतमा छाडेका डोरीहरू भेला गरी बाघको र आफ्नो कम्मरमा नफुस्किने गरी बाँध्यो । अनि बाघलाई सँगसँगै लिएर ऊ टुङ्गामा गयो । त्यस बेला पनि बाघको मुटु काम्दै थियो ।’ (बाघ र बोकाको कथा पृ.६८)

यसको केही दिनपछि उर्मिलालाई आफ्ना ससुराले मर्ने बेलामा भनेको गाडधन सम्बन्धी गोप्य कुराको हेक्का आयो । उनले यसबारे पुरा जानकारी खसमलाई निदई सबै परिवारले मिलेर तलको तलो खोले । नभन्दै त्यहा अपार धनसपब्म्पत्तिरहेछ । त्यसै दिनदेखि राज्यको हेकम दाजुको हामा दिए भाइ मन्त्री बनी आनन्दपूर्वक बाँकी जीवन वयतित्ित गर्न थाले । द्यौरानी जेठानीधकका बीचम पनि उत्तिै सुमधुर सम्ब्न्ध कायम भइरहुन्यो सुन्नेलाई सुनको माला…….. (दुई दाजु भाइ पृ. ८४)

मानिस जहाँ बस्छ र जुन क्षेत्रको बोलीवचनलाई व्यवहारमा चलन नर्छ उसको लेखन पनि स्वाभाविक रुपमा त्यही क्षेत्रको बोलचालको भाषालाई प्रयोग गरेको हुन्छ । सत्याल पूर्वी नेपालको वासिन्दा भएको कारण उनी यसै क्षेत्रको भाषिक स्वरुपलाई प्रयोग गर्न रुचाउँछन् वा उनलाई पूर्वी नेपाली भाषिकाको पक्षमा विशेष मोह देखिन्छ । यसैले पूर्वतिरका अति मिठा र सितिमिति नचलेका तर झर्रा नेपाली शब्दहरूको धुमधामसँग प्रयोग गर्ने रुचिरहेको बुझिन्छ । उनी लेखनमा मात्र नभई आफ्नो दैनिक भाषिक व्यवहारमा पनि नेपाली भाषाको जनबोलीलाई उपयोग गर्न रुचाउने व्यक्ति हुन् । यो प्रभाव उनका सबै कृतिहरूले देखाउँछन् तापनि यो मोह उनका गद्य रचनाहरूमा झाँगिएको छ । एक्काइस दन्त्य कथाले ता यस भनाइलाई अँझै पुष्टि गर्दछ ।

2015-01-05 07:58:35 +0545

2 thoughts on “लोककथाको संकलन र लेखनमा केदार सत्यालको बठ्याइँ”

  1. केदार सत्यालको बठ्याइँ
    लेखले (व्यक्तिको) निश्चित पक्षलाई सूक्ष्मढंगले केलाएर हेरेको छ । व्यक्त गरिएका कुराहरू रोचक र सहमतियोग्य लाग्यो । पुस्तक भेटियो भने अवश्य पढ्ने सूचीमा थप्नेछु । यद्यपि लेखको ३०% शब्द विषयप्रवेशमै खर्च गरिएकोले, योभन्दा अलि बढी सन्तुलित बनाउन सकिन्थ्यो कि !

  2. लोककथाको भण्डारणमा यस्ता
    लोककथाको भण्डारणमा यस्ता कृतिहरू अवश्य पनि उपयोगी हुन्छन्। पुस्तक पठनीय नै लाग्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *