कुनै समय तिमी थियौ, सबै मन समेट्न सक्ने भावनात्मक ‘एकता’
सबैले मान दिन्थे सम्बोधन गर्दै, ‘राष्ट्रनिर्माता’
तिम्रो छतरी मुनिको त्यो आत्मीयता
टहटह जुन लागेको बेला सागरमा देखिने
पूर्णचन्द्रको आकृति बोकेको सुन्दरता
खै कुन बेला, कुनै धूर्तले विजारोपण गरिदिएछ, स्वार्थान्धता
कालकूट बिषको घडा चुहिएर सुरु भएछ खन्डता
त्यसैले अवसरवादीहरूले खोज्न थाले विखन्डनता
कसैले बटुको डुबाएर तिम्रो छवीबाट झिक्न खोजे क्षेत्रीयता
कोही तिम्रो अँग टूक्रयाएर ल्याउन तत्पर छन, सँघीयता
केही पाखन्डपन भजाएर किन्न खोज्छन धार्मिकता!
हिजोसम्म नङ्ग र मासुको भूमिका निभाउनेहरू
पानी बाराबारको स्थितिमा पुगेर कुर्लिन्छन, ‘जातियता’!
तराईका हरियाली र पहाडका सौन्दर्यलाई गर्वका साथ सँरक्षण गर्दै,
विरलैले भन्ने भए,
हाम्रो गौरवको प्रतिक ‘भौगोलिक विविधता’!
तर हार नखाएका जमात अँझै सोध्दैछन, ‘ए …..कता?’
हामी भित्रको राष्ट्रियता,
हाम्रो अखन्डता?
तिमीले औँलो ठड्याउँदै स्मरण गराएको सतर्कता,
तिमीसँग जवाफ छ त ‘एकता’?
2015-01-11 07:16:08 +0545