Skip to content


प्रिय देश
तिम्रो रातो कित्तामा
परेको मेरो एक गज
जमिन
आज पनि उत्तिकै
सम्झिरझेको छु,
क्षितिजमा बल्दै गरेको
एउटा शिखाको घाम
फोस्रो धरतीमा
उजाड उदाङ्ग
बुङ बुङ उडेको धुलोको
रंगमा आफै रुमलिदै
न कतै उन्मुक्त मनले खुलेको छ
न त अँझैसम्म हराउन नै सकेको छ,
मलाई थोरै सम्झना छ
जुन दिन मेरो एक टुक्रा
जमिनमा बारुद र बमको खेती
फस्टाएको थियो
त्यो दिन पछिका मेरा
गराहरू चर-चर चिरिन
थालेका थिए ।
अनि बिसालु काँडाहरू
झाँङगिन थालेपछि
साँढेहरूको रजाइले
एक छत्रे राज हुन आयो
हिजो बिहानीको किरणले
मोती झैँ टल्किएका सितले
झिलिमिली देखिन्थ्यो मेरो जमिन
त्यहाँ मृगशावका हुल
मुटुको स्पन्दन झैँ उफ्री उफ्री
झरना र कोइलिको संगीतमा
नाचेको
मेरो आँखा वरिपरि आजपनि
उत्तिकै घुमिरहन्छ /
प्रिय देश
तिमीलाई थाहा छैन होला
मेरा औलाहरू रातारात
चोरिएको,
अनि
तिम्रो रातो कित्तामा
परेको मेरो एक गज जमिनको
कागज खोसिएको
खै
अवसम्म त
भाग वण्डा गरिसके होलान्
अनि दलालहरू
मेरो जमिन टुक्राउन
सफल भएको महान
खुसीयालीमा
विजय उत्सव मनाउदै होलान्
प्रिय देश
यति बेला
तिम्रो रातो कित्तामा परेको
हिजोको मेरो
एक गज जमिनको माटो
सिरानीले च्यापेर
म यतिबेला
सुतिरहेको छु ।

रामकृष्ण पौडेल ‘अनायास’
कविडाँडा भरतपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *