Skip to content

खै त जीवनोपयोगी र व्यवहारिक शिक्षा ?


शिक्षार्जन भनेको सिकाइ हो र सिकाइ भनेको व्यवहारिक परिवर्तन हो । तर व्यवहारिक परिवर्तनको मापदण्ड र सीमा के अनि कति ? यही अनुत्तरित प्रश्नले म रन्थनिएको धेरै भयो । शिक्षार्जन गर्नु भनेको १००मा ३२, ३५ अथवा ४० अंक (त्यो भन्दामाथि पनि) ल्याएर उत्तीर्ण भै प्रमाणपत्र लिनु मात्र हो ? कि रुपैयाँमा रुपान्तरण गर्नु हो ? भौतिक शास्त्रमा स्नातकपछि शैक्षिक योजना तथा व्यवस्थापन विषयमा स्नातकोत्तर गरेर माध्यमिक शिक्षक (द्धितीय श्रेणी) को जागिर खाँदाको यो साँढे चारदशके उमेरमा पनि बुझ्न सकिन मैले – शिक्षाको परिभाषा र उपयोगिता ।

हाम्रा बाबु–बाजेहरूलाई गुरूहरूले घोकाए र रट्न सक्नेहरू विद्यान् कहलिए । हामीलाई गुरूहरूले पढाए र दीक्षित बनाए । हामीले पनि शिष्यहरूलाई पढायौँ र प्रमाणपत्रधारी बनायौँ । त्यसपछिका शिक्षकहरूले सिकाए र विद्यार्थीहरू सिकिरहेछन् । घोकाउने, पढाउने र सिकाउने समय सकिएर अब सहजिकरणको जमाना आयो रे ! गुरूबाट शिक्षक हुँदै सिकाउने मान्छे अब सहजकर्ता मात्र बनिसक्यो–भन्छ वर्तमान । सिकाउने मान्छे अब घिउबाट दही हुदै महीमा पुगिसक्यो । निकट भविष्यमै यो मान्छे महीबाट पानी पनि नबन्ला भन्न सकिन्न । समयको माग र प्रविधिको विकासले परिवर्तन त भई नै रहन्छ । तर मेरो अह म प्रश्न–यी बबुरा ! सिक्नेहरू के सिकिरहेछन् ?

पाँचकट्ठे एक टुक्रो जग्गा नाप्न नजानेर कखरा मात्र पढ्न जानेको एउटा जग्गादलाललाई गुहार्नु पर्छ । घरमा विजुली बिग्रँदा कोकोहोलो मच्चाउँदै प्राविधिक खोज्नु पर्छ । एउटा फुच्चे भाइ आएर टेस्टरले परीक्षण गर्दै फ्युज राखेर बल्ब बालिदिन्छ । त्यति जाबो फ्युज जलेको पनि थाहा नपाउने म के मान्छे ? एउटा सानो तारको टुक्रा जोड्न नसक्ने म कस्तो विज्ञान –शिक्षक ? पानी तान्ने कल बिग्रिएर बिहानको चुलो बल्दैन । दिनभरि व्रत बसेर धुइँधुइँति मिस्त्री खोज्छु । बेलुकी आएर मिस्त्रीले कलको जीव्री फेरिदिन्छ र मात्र मेरो भान्सामा बेलुकीको खाना पाक्छ । तीनसयको भित्तेघडी अचानक बन्द हुन्छ र मेकानिक्सकोमा छाडेर आउँछु । भोलिपल्ट गएर दुइसय तिरेर भित्तेघडी लिएर आउँछु र भित्तामा झुण्ड्याएर टिकटिक आवाज सुन्छु र मक्ख पर्छु । बिचरो मलाई के थाहा, भित्तेघडी साँच्चै बिग्रिएको थियो कि ब्याट्री सकिएको थियो ?

फलामको डल्लो लिएर लोहारकोमा जान्छु र छाडेर आउँछु । फलामको दाम जति नै ज्याला दिएर लोहारद्धारा पिटिएको कोदालो र बञ्चरो लिएर घर आउँछु । घरमा कोदालो र बञ्चरो राखेर खेत खन्ने र दाउरा चिर्ने खेतालो खोज्न गाउँतिर जान्छु । तीनदिन पर्खेर खेत खनाउँछु र दाउरा चिराउँछु । कपडा किनेर सीधै टेलरिङमा जान्छु र कपडाको मूल्यभन्दा दोब्बर मूल्य तिरेर सिलाएको कपडा घर लिएर आउँछु । हर्के साइँलो नभए हलो ताछिन्न र बारी जोतिन्न । महावीरे कान्छो नभए नाम्लो डोको बुनिन्न । अरु त के सिरकको खोल हाल्न पनि श्रीमती नभए नाङ्गो सिरक ओढ्न बाध्य हुनुपर्छ मैले । म पढेको मान्छे, नपढेका यस्ता कुरा कसरी जानूँ ?

मलाई मेरो पढाइले कुनचाहिँ सीप सिकायो त ? मलाई मेरो शिक्षाले श्रमको सम्मान सिकाएको खै ? किन मलाई ढाकर र डोको बोक्न लाज हुन्छ ? श्रमको पुजारी बन्ने शिक्षा मैले किन पाइनँ ? मेरो रुचि र क्षमतानुसारको शिक्षा खै ? मेरो अन्तरप्रतिभाको प्रस्फुटन खै ? देवकोटा र समलाई आई.एस्सी. पढाउँने हाम्रो देश । यदि विज्ञानकै पढाइलाई जवरजस्ती निरन्तरता दिएका भए साहित्यिक हस्तीद्धय महाकवि र नाट्यसम्राट बन्ने कुरै थिएन । एकाध वर्षको विज्ञान पढाइ (लादिएको)ले देवकोटा र सममा भएको साहित्यिक क्षतिको आकलन कसले गर्यो ? साहित्यिक मनले कसरी रट्न सक्छ विज्ञान र गणितका सूत्रहरू ? हाम्रो समाज, राष्ट्र र शिक्षानीतिले खै कुरा बुझेको ? छोराछोरीहरू खेल खेल्न चाहन्छन्, गीत गाउन चाहन्छन्, कविता–कथा लेख्न चाहन्छन् र अरु नै के के बन्न चाहन्छन् । हामी अभिभावक र बाबुआमाहरू भने आफ्ना सन्तानहरूलाई जबरजस्ती विज्ञान पढ्न लाउँछौ र डक्टर अनि इञ्जिनियर बनाउने स्वैरकल्पनाको दिवासपना देख्छौँ । तराईमा स्याउ र हिमालमा आँप फलाउने हाम्रो नेपाली मानसिकता । तराईमा चाँैरीगाई र हिमालमा हात्ती पाल्न खोज्ने हाम्रो पुरातन संस्कार । जापान, अमेरिका र चीनहरू त्यत्तिकै उन्नतिको शिखरमा पुगेका हैनन् । यी देशहरूमा बालबालिकाको मनोविज्ञान, रुचि र क्षमताको अध्ययन गरिन्छ र उपयुक्त क्षेत्रको शिक्षा दिइन्छ । तव पो ती बालबालिकाले आफ्नो एउटा क्षेत्रमा विशिष्टता हासिल गरेर सक्षम जनशक्ति बन्छन् र तुरून्त रोजगारी प्राप्त गर्छन् । आगामी दिनमा कुन क्षेत्रमा कति जनशक्ति चाहिन्छ – खै त हामीले पूर्वयोजना बनाएर आकलन गरेको ? पढाउने नाममा हाम्रा शैक्षिक संस्थाहरू अनुत्पादक र रित्ता मान्छेहरूको उत्पादन गर्ने यन्त्र भइरहेका छन् । बहुसंख्यक विद्यार्थीको उर्वर समय त्यत्तिकै खेर फालेर बालुवामा पानी लाइरहनु के यो राष्ट्रकै घाटा हैन र ?

आजको जमानामा कम्प्युटर नजान्ने हामी स्रोतव्यक्तिहरू अबचाहिँ साँच्चैका निरक्षर भयौँ है, साथी हो ! ( स्रोतव्यक्ति प्रतिमान राई (जालपा, खोटाङ) को कुरा सुनेर म झसङ्ग मात्र भइनँ छाँगाबाटै तल खसे । कम्प्युटर चालककोमा गएर तीनघण्टा पर्खेर प्रतिपृष्ठ रु.१००।– तिरेर टाइप गराउने यो जमानाको महामूर्ख म निरक्षर नभएर के हुँ त ? वि.एस्सी.र शिक्षाशास्त्रको स्नातकोत्तर म अवचाहिँ खाँटी निरक्षर भएको म स्वयंलाई अनुभूति भयो । लज्जित भएर हीनताबोधले पानी पानी भएको छु म । आर्जित प्रमाणपत्रहरूप्रति हुनसम्मको घृणा र वितृष्णा जागेको छ मलाई । सबै प्रमाणपत्रहरू भेला पारेर सलाई कोरेर बालूँ कि अब म के गरूँ ?

मेरो शिक्षाले मलाई के सिकायो ? मेरा सहस्र गुरूहरूले मलाई के सिकाए ? आजसम्मको शिक्षण कार्यमा मैले आफ्ना विद्यार्थीहरूलाई के सिकाएँ ? म स्वयं नै खाली, खाली र शून्य भएर एउटा महाशून्यमा गुज्रिरहेको रित्तो शिक्षक । कहिलेसम्म यसरी ढाँटिरहने मैले ? भविष्यका कर्णधारहरूको समय यसरी बरवाद गर्दै समयकटनी र मानोपचनीमा कति घुमिरहने उही मियो र एउटै जाँतो । आजको हाम्रो शिक्षा कति व्यवहारिक र कति जीवनोपयोगी ? सक्षमतामा आधारित पाठ्यक्रमको कुरा पनि आइरहेको छ । के सक्षमता ? कस्तो सक्षमता ? म त एउटै कुराले पिरोलिएको छु आजसम्म मैले के सिकेँ र विद्यार्थीलाई मैले के सिकाएँ ? विद्यार्थीलाई मैले कति सक्षम, सबल, सार्थक र व्यवहारिक बनाएँ ? शिक्षा क्षेत्रका सरोकार पक्षहरू ! के तपाईँहरूलाई यस कुराको चासो र चिन्ता अँझै छ कि छैन ?

आई.एस्सी. र बि. एस्सी.मा पढेका गणितका सूत्र र विज्ञानका सिद्धान्तहरू कहाँ, कति प्रयोग भए ? ज्यामिति, त्रिकोणमिति र क्यालकुलसको उपयोग मैले कहाँ गरे ? ती कुराहरू अहिले मेरो मस्तिष्कमा कति सेभ भएका छन् र कति डिलेट भए भन्ने कुराको हिसाब राख्ने तागत पनि मभित्र छैन । सेभ र डिलेटको प्रतिशत सायद क्रमश: १ र ९९ भएको अनुमानसम्म म अहिले गर्न सक्छु । यतिबेला म के उँधो बगाएर उँभो त खोजिरहेको छुइनँ ? खियाग्रस्त मेरो भुत्ते मस्तिष्कलाई कहाँ गएर अर्जापूँ ? कुन ढुङ्गामा कसरी उद्याऊँ ? के हो गुणस्तरीय शिक्षा ? कहाँ छ व्यवहारिक शिक्षा ? खै त दीगो, जीवनोपयोगी र रोजगारमूलक शिक्षा ? आजका विद्यार्थी, अभिभावक, शिक्षक, शैक्षिक प्रशासक, शिक्षाविद्, शिक्षामन्त्री, राजनीतिक दल र स्वयं सरकारले पनि यतातिर सोच्दै ध्यानाकर्षण गर्नु के अब अबेर भइसकेन र ?

रामविक्रम थापा
बालकन्या उमावि स्रोतकेन्द्र, फाक्टाङ, खोटाङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *