Skip to content

‘साईड ईफेक्ट’ (लघुकथा)

यौटा गैह्र सरकारी संस्थानको आयोजन, स्वदेशी बिद्धानहरुको संयोजन र बिदेशी दाताको प्रायोजनमा त्यो गाँउमा बालश्रमको बिषय लाई लिएर यौटा बिचार गोष्ठि भयो ।

बालहितको नारा, अविभावकले लिनु पर्ने अविभारा र अन्तराष्ट्रिय बिचारधारालाई दृष्टिगत गर्दा बालबालीकालाई श्रममा लगाउन नमिल्ने देखिएकोले गोष्ठिको अन्तिम दिन अब उप्रान्त त्यस गाँउमा बालबालीकाहरुलाई कुनैपनि किसीमको श्रममा नलगाउने र लाग्न नदिने निर्णय भयो ।

खर्च जुर्टाईदिने दाता, समाज सुधारक भनेर चिनीएका नेता र आयोजक कार्यकर्ताले करतल ध्वनीका साथ सो निर्णयको स्वागत गरे ।

भारी बोकेर गुजारा गर्ने हर्के, गिट्टी कुटेर जिबन धान्ने बिर्खे र उन कातेर हातमुख जोर्ने जितेका परिबार यो निर्णय सुनेर अकमक्क परे ।

उक्त कार्यको ‘सफलता’ पछि शहर फर्केका संयोजकहरु प्रायोजकको गुण गाउन थाले, प्रायोजकहरुले समाजसेवीको दर्जा पाउन थाले भने आयोजकहरु त्यो भन्न्दा पनि शसक्त अर्को योजना बनाउन थाले ।

उता गाँउमा, दिनभरि गिट्टी कुटेर रातीको पाठशालामा पढने बिर्खेको छोरा बालश्रम उन्मुलन भई काम खोसीएकोले पैसा तिर्न नसक्दा कक्षाबाट निकालीयो । गलैंचाको धागो कातेर बाबुआमा पाल्ने जितेकी छोरी बेकम्मा भई बरालीएर हिडन थाली भने बिरामी आमाको उपचार खर्च जुटाउन अरु कुनै श्रोत नभए पछि हर्केको छोराले पाकेट मार्ने पेशा अपनाउन थाल्यो ।

यता आयोजकहरुले दातालाई दिएको प्रतिबेदनले गाँउमा बालश्रमको अन्त्य भएको देखाँउदै थियो । उता गाँउमा रोजगार खोसीएकोले बाल अपराध मौलांउदै थियो ।

http://dacharya.blogspot.com/2009/03/blog-post.html

1 thought on “‘साईड ईफेक्ट’ (लघुकथा)”

  1. दिलिपजीको अन्य लघुकथा झैं
    दिलिपजीको अन्य लघुकथा झैं ससक्त सन्देश बोकेको लघुकथा! अहिलेको नेपाली समाजको दुरुस्त चित्रण!

    — कुमार

Leave a Reply

Your email address will not be published. Required fields are marked *