Skip to content

कविता कवि र कविता


हिमाल हाँस्यो कविको कलाले
मुनाल नाच्यो कविकै गलाले
नदी र खोला पहरा रसायो
रचेर राम्रो दिल यो बसायो

पुगेछ टाढा कवि कल्पनामा
रमेर आफ्नै नव सिर्जनामा
छ फूल राम्रो अनि यो सुवास
छ घाम जस्तै प्रखरै प्रकाश

दुधालु गाई सरि कामधेनु
छ भाव तातो कविको अगेनु
वसन्त डाक्ने कवि नै धरामा
फुलेछ फूलै छ गरा—गरामा

मरेर मात्रै तब नाम हुन्छ
महान यस्तो भन काम कुन् छ ?
नदी बगेको सललै सुछन्द
छ छन्दभित्रै कविता सुगन्ध

छ देशभक्ती अनि कर्मयोगी
पवित्र आत्मा कवि धर्मयोगी
छ ज्ञान विज्ञान सबै उठान
र दिव्य द्रष्टा कवि नै मुहान

पसेर धर्ती कवि भित्र—भित्रै
खिचेर फोटो कविता सचित्रै
उडेर अग्लो नभमा पुगेछ
झरेर तल्लो जलमा डुबेछ

छ तेज उस्को रविकै समान
त्रिनेत्र हेर्दा कवि नै महान
अमूल्य मोती थलमै भएको
अपार स्रष्टा कवि नै रहेको

पगाल्छ ढुङ्गो कवि सिर्जनाले
छ मख्ख सारा कविकै कलाले
अभाव मात्रै कविका खलामा
छ फूल—माला अरुकै गलामा ।

रामविक्रम थापा
फाक्टाङ—२, कृष्णगर्त,खोटाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *