Skip to content


ऊ पेशाले स्वास्थ्य विषयको प्राध्यापक। स्वास्थ्य प्रति सँधै सचेत। मेरो पहिलो पटक उसँग जम्काभेट क्याम्पस गेट भन्दा बाहिरको एउटा रेस्टुरेण्टमा भएको थियो। रेस्टुरेण्टमा मित्र केशबलाई पर्खन चियाको अर्डर गरेर बसेको मात्र के थिएँ ऊ आइपुग्यो।

“अधिकारी मित्र नमस्कार।” – अभिवादनका साथ हात मतर्फ अगाडि बढायो। पुलुक्क हेरेँ चैतको गर्मीको बावजुद पातलो ज्याकेट, पञ्जा हातमा र मुखमा मास्क। अभिवादन गर्दै हात मिलाएँ। म अलमल्ल परेको देखेर उसैले अनुहारबाट मास्क निकाल्दै भन्यो – “के गर्ने स्वास्थ्यको ख्याल गर्नु पर्ने नै रहेछ।” धेरै पटक देखेको अनुहार तर परिचय मुखा-मुख परिचय भने भएको थिएन। भलाकुसारी सुरू भयो – “सुबेदी जी के छ त खबर? मैले मित्र केशबबाट यहाँको बारेमा सुनेको त थिएँ तर भेटघाट भने आजमात्र हुन पायो।”

मित्र केशब आउन अझै केही बेर लाग्ने भएकोले मलाई पनि केही कुरा गर्ने साथीको खाँचो थियो। उसले चना अर्डर गर्यो। रेस्टुरेण्ट सञ्चालकलाइ पानी राख्ने जगदेखि पानि पिउने गिलास सफा गर्ने सम्मको तरिकाहरू सिकाउँदै उसले केही समय उसलाई उपदेश दियो। स्वास्थ्य पढाउने शिक्षक स्वास्थ्य प्रति सचेत भएको म दङ्ग पर्दै हेर्दै थिएँ। केही बेरमै हामी खुलेर एक अर्कासँग कुरा गर्न थाल्यौँ। मित्र केशब पनि आइपुगे र केहीबेरमै हामी रेस्टुरेण्टबाट बाहिरिने बेला भयो।

रेस्टुरेण्टबाट बाहिरिने क्रममा उसले सञ्चालकलाई पैसा तिर्दै भन्यो – “ल साहुजी एउटा चुरोट दिनोस त।” अनि मास्क खल्तिमा राख्दै चुरोट तान्दै रेस्टुरेण्टबाट बाहिरियो।

२०७१ माघ १५

2 thoughts on “स्वास्थ्य (लघुकथा)”

  1. एकदेवजी यहाँ ता मेरै व‌शज पाे
    एकदेवजी यहाँ ता मेरै व‌शज पाे पात्रमा अाएछ । तर यसलाइ अझै दुरुङ पानी पनि पिलाउनु भएकाे भए असल हुने थियाे । चुरोट खैनी गुट्खा र बिजुली पानी नै तन्काएकाे देखखाउनु पर्ने थियो । तै जे भयाे ठिकै भयाे । कथाकाे दृष्टिबिन्दु च्वास्स हुने खालकाे रहेछ । खुसी लाग्याे ।

  2. धन्यवाद होम जी। मेरो चाहना
    धन्यवाद होम जी। मेरो चाहना पनि त्यस्तै थियो तर लघुकथाका लागि भनेर लेखेको हुनाले शब्दसीमाले बाँध्यो। कथा लेखेँ भने सबै पिलाउनेछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *