एउटा दरबार बनाउन
शासकले प्रयोग गर्ने
गिट्टी र बालुवाजस्ता
मूल्यहीन मूल्य राखिएका
शब्दहरू बटुल्ने
जाँगर छैन मसँग ।
न त
त्यत्रो शाहस र आत्मबल नै छ
कि
म जाकट राखुँ
यो जिन्दगी
त्यो खोला किनारमा ।
जहाँ दैनिक मर्ने हातहरूले
बालुवा चालिरहँदा
हम्य हम्य पर्छ
एउटा जीवन बचाउनलाई,
त्यहाँ कसरी सक्नु
जिन्दगीभरको पसिनाले
देखाउन बाटो नयाँ सन्ततिलाई ।
हो
मसँग छैन सामर्थ्य
यत्रो जोखिम मोल्नलाई
फेरि
मसँग भद्रता कहाँ छ ?
कि
म हेरुँ
आफ्नो संसार उजाडेको
आफ्नै मेहनतले ।
जतिबेला
गिट्टि कुटेका हातहरूमा
ठेला थपिदै हुन्छन्
त्यतिबेला
दरबारका एक-एक कोठा
एक-एक तल्लाको
गिन्ती दोब्बर हुँदैहुन्छन् ।
माफ पाउँ
मलाई यो अन्याय मञ्जुर छैन,
हो साहेब
त्यहाँ निसंकोच हत्या गरिन्छ
हज्जारौँ सपनाहरूको
तर
म चाहन्छु –
चाहे चोरीउन मेरा सपनाहरू तर नतोडिउन कदापि पनि ।
म हुन चाहन्न पागल
बोलेर सत्य ब्रह्माण्डको
म हुन चाहन्न घिनलाग्दो
देखाएर फोहोरीपन यो युगको ।
अब म
हेरी दिन्न दृष्य त्यो पर्दा भित्रको
मलाई बन्नुछैन
भलो दुष्टबीचको
भो म साहित्यकार बन्दिन ।