Skip to content

कृष्ण प्रधान : देउराली भाकेर पानी जोखाना

KumarYatru


कवि कृष्ण प्रधानको जीवन र काव्ययात्रामा विरोधाभाषपूर्ण स्थितिबाट अगाढि बढिरहेको छ । एकातिर प्रशासनिक संयन्त्रको विशिष्ठ जिम्मेवारी अर्कोतिर स्वतन्त्र, स्वायत्त सिर्जनात्मक क्रिया आफैमा नदीका दुई भँगाला छन् । तथापि कवि प्रधानको पहिचान, व्यक्तित्वको सगरमाथा लेखकीय फाँटमा नै चुलिएको छ । राष्ट्रिय ढुकुटीको व्यवस्थापन गर्ने विशिष्ठ प्रशासनिक पदको सामाजिक मर्यादाभन्दा दीगो भएर साहित्यिक कित्तामा उनको नाम, सुवास फैलिएको छ ।

कृष्ण प्रधान उनै पाँचथरेली सिर्जनाकर्मी हुन् । जसले सुसाइरहेको तमोरको सुसेलीसँगै तोतेबोली सिकेको थियो । यसोकको काफ्लेपानीमा अलिकति हिलो खेलेको थियो । त्रिसाली डाँडामा सुसेली मार्दै साँवा अक्षर छिचोलेको थियो । कर्म खोज्दै पेरुङ्गेको खोंचैखोंच दमक झरेपछि अलकित आधुनिकता भेटाएको थियो । देउराली भाकेर चारखोलातिर लम्किएपछि इलाममा केही साथीसँग जुटेको थियो । र, राजधानीको चारढोका छिरेपछि थातवासको टुंगो लागेको थियो । तिनै प्रधान सम्वेदनशील भएर नेपाली साहित्यको क्षेत्रमा अवतरित छन् । राम्रा हस्ताक्षरमा गनिएका छन् ।
पहिलो कविता प्रकाशित हुँदा उनी उमेरले पन्ध्रमात्र टेकेका थिए । लुम्बिनीको साँस्कृतिक र राजनीतिक जागरणको दृष्टिकोणले अगुवा मानिएको यासोकामा रहँदै लेखनाथ, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटाको कृति पढेर/पढाइएर सिर्जनाप्रति स्वाद गाडेका प्रधानले झापा झरेपछि युगज्ञानमा (वि.सं. २०२७)मा आफ्नो कविता छपाउने मौका पाएका थिए । तर, त्यो कविताकर्म एउटा रहर थियो । त्यस रहरलाई उच्चशिक्षा लिने क्रममा भएको इलाम प्रवासले केही उन्नत र खँदिलो बनायो । प्रधान आफै भन्छन्–‘इलाममा विष्णु नवनीहरूले प्रकाशित गर्ने गरेको सौगात र इलामको साहित्यिक वातावरणको सिर्जनाको लागि मलिलो थियो ।’

झण्डै एकदशक अगाडि कवि प्रधानले कवितालाई मृत्युदण्ड सुनाएका थिए । कवितालाई फाँसीको फैसला दिने घोषणा गरिँदासम्म उनको चिन्तन यात्राले निकै लामो फड्को मारिसकेको थियो । कवि ईश्वर बल्लभले भनेझै सार्वभौम हुने क्रममा जीवन र अनूभूतिका यात्रा हिँडिसकेका थिए ।

हो ! त्यही यात्राले प्रधानलाई पानीको जलक्रिडासम्म ल्याइपुर्याएको छ । तर, प्रधानकै स्वीकारोक्तिजस्तो हरेक कविता रक्तवीज भएर विचारको प्रजनन गरिरहेका छन् मृत्यु विजय गरेर कालजयी बनेका छन् ।

यहाँ दोहोर्याइरहन पर्दैन उनको सिर्जना यात्रा साँघुरो राजनीतिक वातावरणको पृष्ठभूमिमा शुरु भएको थियो । त्यसैले उनको कविता प्रजातन्त्रप्रति धेरै आसावदी स्वरले भरिएको छ । मूलत: मौन महाड (कविता संग्रह २०४८) यसखाले सिर्जनामा पर्दछ । तर, उनले भोगेको विश्व, समकालीन परिवेश र महत्वकांक्षाको क्षितिजसँग तालमेल नमिल्दा उनीसित गुनासो असन्तुष्टि र छटपटीको ठूलो मौज्दात बाँकिरहेको थाहा हुन्छ ।

समालोचकहरूले कवि कृष्ण प्रधानका कवितामा बढी समसामयिकता देखेका छन् । राष्ट्रिय कविता महोत्सव २०४८मा पानी शीर्षकको कविता सर्वोत्कृष्ट बनेपछि समालोचकहरूले यस्तो धारणा बनाएको हुन सक्छन् । किनभने तत्कालीन राजनीतिक परिवृत्त पानी बाँडफाँडको विषयले लछप्रै भिजेको थियो । तर, स्वयं कविले यस्तो आमधारणालाई चुनौती दिँदै पानीसम्बन्धी सिँगै पुस्तक पानीको जलक्रिडाा निकालेका छन् । शृंखलावबद्ध कविता नाम दिइएको यो कृति एउटा प्रयोग नै हो । कवि आफै भन्छन् – पानी प्राणीको यात्राको विम्ब हो । सूर्योदयदेखि सूर्यास्तसम्म र जन्मदेखि मृत्युसम्म, सिर्जनादेखि ध्वंशसम्म चाहिने पानी जसरी पिएर सकिँदैन, त्यसरी नै लेखेर पनि सकिँदैन ।

पानीमा नेपाली सामाजिक सत्व र साँस्कृतिक प्रतिष्ठा पनि छ कवि प्रधान आफ्नो कविताबारे व्याख्या गर्दै भन्छन् । गाउँमा पानी बाराबार गर्ने चलन छ । यो विशुद्ध नेपाली चलन हो । पानी चल्ने भनाइ छ । त्यसैले पानी शब्दको मिथकले धेरै अर्थ राख्दछ । पानी राजनीति, पानी जोखाना, पानी कूटनीति आदि विषय समेटेको हुँ ।

विचारधाराको कोणबाट कवि प्रधान आफ्नो मूल मान्यता राष्ट्रवाद र प्रजातन्त्र भएको बताउँछन । आएन ? टाइम्स अफ इण्डिया आएन ? जस्तो सशक्त राष्ट्रिय चेतनाका प्रसारक प्रधान अहिले भने हत्या, हिंसाको कोलाहलले सिर्जना पनि त्रासदीयात्रामा बढेको अनुभूति व्यक्त गर्दछन् । आफू बाँचेको युगले स्रष्टाहरू ऋनुभूत त हुन्छन नै समयको त्रासदीले प्रताडित पनि गराएँछ । मानवीय सम्वेदना नै हराएर सामयिकता प्रतिकूल भएको याममा निष्पट्ट अन्धार पनि उनले देखेका छन् । लामो सुस्केर तान्दै प्रधान आफ्नो उज्यालो आकाश एकैपटक धमिलिएकोमा अचम्म मान्दै भन्छन् –

कहाँबाट आएछ यो अलच्छिनी रात
मुसाहरूले सुरुङ बनाएछन
उज्यालोको खोजीमा निस्केको
सूर्यक रथहरू थामिएछन
द्यौरालीमा किरणहरू प्छारिएछन्
उज्यालो गाउँबेसीबाट जागेछ ।

प्रविधिको दृष्टिकोणले कृष्ण प्रधानमा नयाँ प्रयोगको शिल्प लोभलाग्दो छ । सुरुामा मौन पहाडमा उनको लेखकीय शिल्प र पानीको जलक्रिडासम्म आइपुग्दा प्रयोगको आयमिक क्षेत्रफल निकै झाङिएको छ । आत्मवाद (चिन्तन काव्य) र म भग्नावशेष बुढो : भीमसेन थापाको दरबार (कविता र काव्य) यस्तै बेगल प्रयोगका कृति हुन् । आत्मवादमा कवि आफै पात्र भएका छन् र कविको बेगल यात्रा वर्णित छ । उनले कविपात्रको मृत्युदेखि खुशीसम्म र जीवन भोगाइको साङ्गोपाङ्गो चौबाटोमा आफैलाई उभ्याएका छन् । यो दार्शनिक विषय हो, जो ती प्रयोगमा प्रयोग भएका छन् प्रधानको भनाई छ ।

त्यसो त कृष्ण प्रधानको लेखकीय जीवन बहुआयामिक फाँटमा फिँजिएको छ । समालोचना उनको विशिष्ठ क्षेत्र हो । समकालीन समालोचना प्रधानको अर्को चर्चित पुस्तक हो । प्रा. घटराज भट्टराईले पनि यो प्रयोगलाई एक पुस्तकमा प्रमुखता दिएका छन् । समसामयिक चिन्तनलाई कलात्मकरुपमा गद्यमा अभिव्यक्ति दिन सिपालु भनेर टिप्पणी गरेका छन् । डा. वासुदेव त्रिपाठीको भनाइमा कृष्ण प्रधानको कविता साधनाले समसामयिकताबाट शाश्वतातर्फ तान्दै चुलिन र अग्लिन रहर गर्दैछ ।

इसबाहेक कृष्ण प्रधानको व्यक्तित्वको अर्को पाटो आर्थिक लेखन हो । अर्थशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका हुनाले पनि उनको लेखकीय आलोक आर्थिक लेखनमा प्रकाशमय बनेको छ । नेपालमा वाणिज्य बैकिङ: उपलब्धि तथा चुनौती र नेपालमा ग्रामीण वित्तीय प्रणाली जस्ता पुस्तक यसैको प्रमाण हो । स्रष्टा प्रधानका अनुसार बिक्री र पाठक संख्याको मापन गर्ने हो भने कविता कृतिभन्दा यी पुस्तकले निकै आर्थिक टेवा दिएको छ । प्रधान भन्छन एउटा किताबले त रोयल्टी पनि मनग्गे दियो । यस बाहेक नेपाल राष्ट्र बैंकको विशिष्ठ कार्यकारी अधिकृत बन्नका लागि भरथेग गर्यो ।

स्रष्टा प्रधानसँग विषय, सूचना र ज्ञानको क्षेत्रमा अथाह अनुभवको भण्डार छ । व्यस्थ जागिरे जीवनमा बाबजूद बाँचको सीमित समयलाई सिर्जनामा खर्च गरेर उत्कृष्ठ रचनालाई प्रजनन गर्नु सामान्य कुरा होइन । उनीसँग थुप्रै योजना छन् । हाल गीत लेखिरहेका छन् । शृंखलाबद्ध कविता, समालोचना, निबन्धसंग्रह, कथासंग्रह प्रकाशनको पर्खाइमा छन् । यसबाहेक आफ्नै जीवनमाथि स्मरणको पाना पनि थपिदो छ । परिवर्तित समाजको मूल्य मान्यताको आकास भरिलो हुँदै आएमा कृष्ण प्रधानको सिर्जनाले नेपाली साहित्यका पाठकलाई आफै खरिलो सामग्री पस्कने अपेक्षा गर्न सकिन्छ । उनको पनि त्यही योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *