Skip to content


सुरु त्यहाँबाट हुन्छ जहाँ कुनै सुरुवातको सम्भावना थिएन, केही थिएन तर उनीहरू धेरै कुरा भएर पनि केही नभएको झैँ नदीका दुई किनारमा बगर बनेर बसेका थिए । आजसम्म उनीहरूको भेट भएको थिएन, तैपनि दिनका हरेक पलमा भेटघाट हुन्थ्यो- शब्दका लहरहरू मार्फत । भन्न बाँकी केही थिएन चिन्न बाँकी केही थिएन,एक अर्काको अघि किताबका पाना झैँ पल्टाएका थिए । आफ्ना मनमनले मनलाई चिन्न बाँकी थिएन तर पनि अन्जान नै थिए उनीहरू यो समाजको परिभाषाबाट केलाउदा । न कैले भेटेको छ न कैले देखेको छ, दिनभर च्याट गर्दैमा कसरी चिन्न सकिन्छ कसैलाई ।

आज अचानक प्रेमले भन्यो – “नग्मा,म तिमीलाई माया गर्ने अनुमति चाहन्छु !”

“गर न त माया गर्न कस्ले रोक्या छ र ?”भन्दै जिस्केको स्माइली पठाइ उसले पनि । तर प्रेम गम्भीर थियो,

” म अब तिमीसग साथीको यो सम्बन्ध अघि बढाउन सक्दिन,तिमी मेरि बन या त सधैंका लागि मलाई बिसिर्देउ,प्रेम नाम गरेको एउटा केटा थियो भन्ने कुरा नै भुलिदेऊ !
प्रेमको कुरा सुनेर उसको सातोपुत्लो उड्यो । मनको घाँटी थिचेर कसैले मार्न लागे झैँ गरी उसको मन निसास्सियो । प्रेमका शब्दहरू काडा बनेर उसलाई घोच्न थाले । बल्लतल्ल उसका शब्द निस्किए र प्रश्न गरे प्रेमलाई –

” के हामी बेस्ट फ्रेण्ड भएर यसरी नै रहदाँ हुन ?”

प्रेमले (भन्यो)-“यो असम्भव छ, तिमी मेरि बन वा सधैंका लागि बाई भन, तिमी स्वीकार्छौ भने मलाई मिस्कल गर,यदि तिम्रो मिस्कल आएन भने यो कुराकानी नै हामी बीचको अन्तिम कुराकानी हुनेछ,गुडबाई ।”

सुन नभन्दा भन्दै ऊ अफलाइन गइसक्छ । एक्कासि यस्तो प्रस्ताव राखेर नग्मालाई आफ्ना कुरा राख्ने मौका नै नदिई अफलाइन गयो तर नग्माको मनमा भने हरबखत अनलाइन बस्न थाल्यो । उसकै बारेमा सोचिरहन्थि,मनभरि उसकै कुराहरू खेलाइरहन्थि । उसका बातहरू बोझिला यादहरू बनेर मन थिचिरहन्थ्यो । प्रेमले भनेका कुराहरू दोहोर्‍याएर पढिरहन्थी । प्रेम दाजिर्लिङको एक हिन्दू परिवारमा जन्मेर,हुर्कि बढेको थियो । सानैमा पिता गुमाएको भए पनि आमाले पिताको कमि महसुस हुन नदिइ हुर्काइ,बढाइ,पढाइ इन्जिनियरिङ गराएकी थिइन । यता म वीरगन्जको एक मुस्लिम परिवारकी छोरी । बेग्लै संस्कार,बेग्लै परिवेश उसले देखेको संसार र म बाँचिरहेको संसारमा आकास जमिनको अन्तर छ । यति धेरै असमानताका बीच कसरी सम्भव होला र हामो मिलन रु हाम्रो मिलन हामी दुई बीचको मिलन मात्र नभएर दुई धर्म,दुई संस्कार,दुई संसारको संगम ।

‘ओई किन टोलाइरहेकि तँ ? सामियाको स्वरले झसङग हुदै सोचाइको भुमरबाट बाहिर निस्कन्छे नग्मा । भन न,आजकल के भको छ तँलाई,क्लासमा नि टोलाइराँको मात्र देख्छु ? मनमा कुराको भेल बग्छ नग्माको तर आँखा भने मात्र टिल्पिलाउछन । सामिया उसको हात समाएर क्यान्टिनको कुर्सीमा बसाउदै, ल अब आरामसँग भन सबै कुरा । नग्मा प्रेम र उसग भएका सारा कुरा बेलिविस्तार लगाउछे । ‘कतै तँ पनि प्रेमलाई प्रेम गर्न त थालिनस् ’? सामियाको प्रश्न सुनेर नग्मालाई झट्का लाग्छ । सारा पिर पोखेर एक क्षणअघि शान्त तलाउ जस्तो भएको मनमा सामियाको प्रश्न ढुङगा बनेर खस्छ, तरङग ल्याइदिन्छ मनभरि । नग्माका आँखाबाट बर्रर आँसु खस्छन । खसेका आँसुका थोपा सँगसँगै उसका ओठहरू बर्बराउछन, हो हो, म प्रेमलाई प्रेम गर्छु । म प्रेमलाई मात्र होइन आफ्नो देशलाई,आफ्नो संस्कारलाई,आफ्नो धर्मलाई,परिवारलाई पनि प्रेम गर्छु । यही कारणले म उसलाई चाहेर पनि वास्ता गर्न सक्दिन । मेरो बेवास्ताले उसको जिन्दगी बर्वाद हुँदैछ,उ हरेक दिन आसुमा डुबेर बाँचिरहेछ । मेरो कारणले उसको भविष्य बर्वाद नहोस् भनेर उसका बर्तमानका खुसीहरू टुक्राटुक्रा भएको टुलुटुलु हेर्दैछु । चाहेर पनि म सक्दिन म उसका खुसीलाई बचाउन । उसलाई दुखी बनाउनु मेरो चाहना होइन,बाध्यताले मेरो मन भित्रको प्रेम र भावनाहरू लुकाएर उसको प्रेमको अपमान गर्दैछु । नग्माको आँसु,प्रेम र बाध्यता देखेर सामियाका आँखा पनि थाहै नपाइ रसाउछन पुग्छन । यति धेरै माया गर्दिरछेस् हेर, आट गरेर घरमा कुरा गर । सुरुमा रिसाउनु होला,झकिर्नुहोला हुदै हुन्न भन्नू होला,एकपटक राम्रोसँग कुरा गरेर सम्झाएर त हेर तेरो बाबा समझदार हुनुहुन्छ तेरो खुसीका लागि पक्का पनि मान्नुहुन्छ । तर योभन्दा अगाडि प्रेमसग कुरा गर,कति तड्पाउछेस उसलाई है,लु अब आँसु पुछ,उठ घर जा म । बाटोभरि नग्माको मन उडिरहन्छ,सायद उडेर प्रेम भएको ठाउँ पुग्न खोजिरहेछ । कैयौं दिन धुम्मिएर खुलेको आकाश जस्तो भएको उसको मनभरि नौला भावनाका चङगाहरूसँगै खुसीका टुक्राटुक्रि बालहरू लुकामारी खेल्दैछन । मान्छेको मन कहिलेकाहीँ यति कमजोर भइदिन्छ कि के गर्ने के नगर्ने,कुन सही कुन गलत छुट्याउनै सक्दैनस बाटो आँखा अगाडि नै हुन्छ तर ठम्याउन सकिदैन । आज सामियाका दुईचार शब्दले नग्माको आँखाको पट्टी खोलियो,उसले आफ्नो भविष्यको बाटो,प्रेम प्राप्तिको बाटो देख्न थाल्छे । हुरिदै कोठा पुगेर चुकुल लगाउछे अनि झोला ओछयानमा फालेर प्रेमको नम्बरमा कल गर्छे एक रिङ जान्छ,दुई रिङ जान्छ, पहिलोपटक जीवनमा उसलाई रिङहरू यति लामा लाग्दैछन् । फोन उठेन, रु सायद बिजि होला,मेरो मिसकल देख्ने बितिकै अनलाइन आउनेछ । रु आफैलाई सुनाउछे । मन भरि फुट्न लागेको ज्वालामुखि जस्तो अटेसमटेस कुराको पोको छ तर सुनिदिने मान्छे नहुदा भित्रभित्रै उम्लिरहन्छ उसको मन।प्रतिक्षका पलहरूले दिने छट्पटी र जलन सहदै दिनभर कुरिरहन्छे । अहँ,प्रेम अनलाइन आएन न त कलब्याक नै गर्यो । झिसमिसे साँझ पछि छाएको अँध्यारो नग्माको मनमा पनि छाउँछ । आसाको सानो धिपधिपे दियोले मनको कुनामा अलि अलि उज्यालो दिए पनि उसले हिड्न खोजेको बाटो स्पष्ट देखिन छाडेको छ । तैपनि आसाको दियो निभ्न दिदैन उसको सोचले,पक्कै भाउ खोज्या होला,म अब कल गदिर्न हेर्छु कतिन्जेल यसरी बस्न सक्छ । दिनहरू बितिरहन्छन,उसको प्रतीक्षा बितिरहेका दिनसगै लम्बिदै जान्छ । हरेक साँझ प्रतीक्षा असफल भएको सूचना लिएर आउँछ,रातभर अन्धकारले मौन साथ दिएर जान्छ । बिहान घामसगै उसका आँखामा उदाउछन आसाका किरण अनि प्रतिक्षाको अर्को दिन । क्यालेन्डरतिर आँखा लान्छे,दुई हप्ता बितिसकेको देख्छे । कसरी बित्यो दुई हप्ता रु उसलाई केही याद छैन,आँखा र कान त खुल्लै थिए तर ऊ प्रेमको प्रतिक्षामा अन्धी र बहिरि जस्ती बनेकि थिई । यतिका दिन बितिसकेछन्,उसलाई भने केही थाहा छैन के के घटनाहरू घटे । प्रेममा मान्छे अन्धो हुन्छ भन्ने सुनेकि थिई तर आज आफैले महसुस गरी प्रेमले मान्छेलाई अन्धो मात्र होइन बहिरो पनि बनाउदो रहेछ । बितिसकेका दिन सम्झेर छट्पटिदै प्रेमलाई कल गर्छे,धेरैवटा कल पछि फोन उठ्छ । उताबाट मलिन स्वरमा प्रेमकि आमा बोल्नुहुन्छः

हेलो,को बोल्नुभयो ?

आन्टि,म नग्मा, प्रेम छैनन् ? प्रेमलाई फोन दिनु न !

उताबाट रोएको आवाज आउँछ।

आन्टि के भयो ? किन रुनु भको ? प्रेम ठिक त छ ?

भक्कानिदै, २० दिन भयो प्रेम-गयो उसको बाबुले झैँ मलाई एक्लो बेसहारा बनाएर?

नग्माले बाँकी कुरा सुन्नै सकिन । फोन सगसगै उसको मन पनि भुँईमा पछारियो । आँखाबाट भेल बनेर पीडा बगिरह्यो । पछिसम्म कोठामा एक्लै हुदा प्रेमले पठाएका शब्दहरू पढेर रुन छाडिन उसले । समय बित्दै जादा आँसुले उसको साथ दिन छाडे,आँसुहरू झर्न छाडे तर फूलबाट हरायो सुगन्ध झैँ नग्माको मनबाट हराएको खुसी फर्किएन । सायद,प्रेम नग्माको जीवनमा खुसीलाई जीवित राख्ने अमृत झैँ बन्न पुगेको थियो । अमृत हराए पछि उसका हाँसोहरू क्षणिक बन्न पुगे,फिस्स हाँसेर छिनमै बिलाइहाल्थे । प्रेमले आफ्नो मन नग्मालाई छाडेर गयो,उसले पनि आफ्नो मन प्रेमलाई दिएकि थिई तर मनको भित्ता भरि टाँसिंएका प्रेमका तस्विरलाई चिहाउने मौका दिइन। बोझ बनेको छ उसको एक गल्ती अनि प्रेमसगको एक गुनासो । प्रेमले उसलाई प्रेम गर्न सिकायो तर प्रेमकथा भने अधुरै छाडेर गयो,कहिल्यै नफकिर्ने गरी ।

2015, रातो पाटी online. February 18

Leave a Reply

Your email address will not be published. Required fields are marked *