विनासकारी भूकम्पले देशको साँच्चै बेहाल भयो
हजारौंले ज्यान गुमाउदा लासै लासको खाल भयो
कसलाई के थाहा कठै बरै यो प्रलय होला भन्ने
बैशाख १२ इतिहासनै रहने कालो साल भयो
भूकम्पले सातै लग्यो थर्कियो मन जगतको
जनता पर्दा बिचल्लीमा चर्कियो मन जगतको
देशैभरि लासै लास छन् रगतको खोलो बग्यो
यस्तो हालत देखेपछि दर्कियो मन जगतको
दैवीप्रकोपले देश लुट्यो कसरी म हाँस्न सक्छु ?
चिरा पर्दै त्यो धर्ती फुट्यो कसरी म हाँस्न सक्छु ?
अति भयो हे दैव रोकी देऊ न यो बिनास अब
सारा जनताको दिल टुट्यो कसरी म हाँस्न सक्छु
-कल्पना पौडेल “जिज्ञासु”
गैडाकोट-४, नवलपरासी
हाल: इजरायल