Skip to content


प्रिन्टरले संकेतका भरमा
निर्देशन र सुचनाहरू चुपचाप छापिरहन्छ
प्रिन्टरले अक्षरहरू पढ्दैन अथवा वुझदैन
मात्र निर्देशन फटाफट छाप्छ
किनकि शव्दहरू सँग
उसको कुनै सम्वन्ध हुँदैन
उसका आफ्ना शब्दहरू पनि हुँदैनन्
त्यसैले प्रिन्टरको
शब्द प्रति कुनै मोह हुदैन
प्रिन्टर सँग छाप्न हुने वा नहुनेको
कुनै विवेक विन्दु हुदैन

आदेश पाए पछि कुनै डिजिटल कोडमा
मसी भए छाप्छ
नभए पनि
छपाईको अभिनय मात्र पनि गर्छ ।
प्रिन्टरको त्यो अभिनयमा
कला हुँदैन भाव पनि हुँदैन

रगत र फोहोर पानी ऊ त्यस्तै गरेर छाप्छ
मुर्ख वा विवेकी मान्छे ऊ उस्तै गरेर छाप्छ
जीबन वा मृत्यु ऊ एकै रंगमा छाप्छ
प्रिन्टरको कुनै संवेदना हुँदैन
प्रिन्टरमा कुनै कृतिम नै भए पनि चेतना हुदैन

अक्षरहरु सुन्दर भएकै आधारमा
प्रिन्टरहरूले हिजो निगाहाको तक्मा थाप्थे
हुकुम प्रमाङ्गीको ढेडु-पगरी गुत्थे
झुप्रावाट लुटिएको वाली थाप्थे
मरेका अक्षरहरुलाई क्तिगानले विउँताएको
धामीझाँक्री नाटक गर्थे
महलमा आगो झोस्ने वासका कलमको उपेक्षा गर्न
भद्दा प्रिन्टरहरूले सुनका कलमको वक्सिस् थाप्थे
ए ! टिके प्रिन्टरहरु हो
अव कहिले लेखक दावी नगर्नै गरी
हामीले खाल्टोमा पुर्र्नु पर्छ
किनकी प्राण नभएका थोत्रा प्रिन्टरहरु
कहिलै लेखक वन्न सक्दैनन्

प्रिन्टरहरू विकाउ हुन्छन्
विकाउ वस्तुहरू कहिलै लेखक हुन सक्तैनन्
अचेल प्रिन्टरले आफुलाई
रातारात लेखक भन्न थालेका छन्
ठुल्ठुला ठेली छाप्तैमा
श्रृजनशीलताहिन बाकसहरूले
लगाउंदैमा लेखकहरूले जस्तै कपडा
हिंडदैमा लेखकहरू जस्तै सडकमा
प्रिन्टरहरू कहिलै लेखक बन्न सक्तैनन्

साबधान,
आदेश र निर्देशन मात्र लेख्नेहरू
भजन मात्र गाउनेहरू
गांठी कुरा चपाउनेहरू
हिजो स्वयमले आफुलाई
प्रिन्टर घोषणा गर्नेहरू
आज आफुलाई लेखक घोषणा गर्दैछन्
तर,
हिजोका प्रिन्टरहरू कहिलै
लेखक हुन सक्तैनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *