Skip to content

द्वन्द्व र जैविक आवश्यक्ता


जीवित बस्तुमा आवश्यकता अनगिन्ती छन् । ती आवश्यक्ता पूर्तिको लागि मानिसमात्र नभएर पशुपंक्षी लता–वृक्ष सबै प्रयत्नशील रहेको पाइन्छ । एकाधिकारको लागि पनि सबै लडिरहेका हुन्छन् । आन्तरिक र बाह्य द्वन्द्वले पनि अधिकार नै खोजिरहेको हुन्छ र आफ्नै आवश्यक्तालाई प्राथमिकता दिइरहेको हुन्छ । अधिकारको लागि एकले अर्काको नाश पनि चाहेको हुन्छ । बास्तवमा अधिकारको खोजी गर्दा आफ्नो अधिकार लिंदा अर्काको अधिकारको हनन् हुन हुँदैन तर यो संसारमा यी वाक्य भने केवल दर्शन दिंदामात्र लागु हुन्छन् व्यवहारमा हैन ।

कुरा रह्यो यहाँ द्वन्द्व र जैविक आवश्यक्ता । मैले एउटी काली बिरालीको क्रियाकलापलाई करिब दुई वर्षदेखि नजिकबाट हेरिरहेको छु । यी काली बिराली मेरो घरको नजिकको घरमा बस्छिन् । ती बिरालीको काम मुसा मार्ने, ओल्ला र पल्लाघरमा मौका पाए दुध चोर्ने र बच्चा जन्माउने साथै ती बच्चालाई पालनपोषण गर्ने रहेको छ । यी सबै कामको लागि बिराली धेरै प्रयत्नशील रहेको मैले देख्छु ।

मेरो घरमा पनि एउटा ढाडे बिरालो थियो र आज अर्को ढाडे बिरालो पनि छ । पहिलेको ढाडे बिरालो पनि धेरै लाछी थियो । ऊ डराउँथ्यो । काली विरालेको नजिक जान सक्दैनथ्यो । तर जेहोस् ऊ २४सै घण्टा मानिसको सामिप्यतां तथा संरक्षणको खोजीमा रहन्थ्यो । चोर्न पाए दुध चोर्ने नपाए खाने वेलामा कराउने काम गर्दथ्यो । खान दिएपछि खाने गर्दथ्यो ।
दुर्भाग्य एक दिन ऊ हरायो । बिरालो हरायो भनेर खोज्दै हिड्ने काम पनि भएन । घरको नजिकै उसको लास भेटियो । शंका काटियो काली बिरालीले त्यो लाछी बिरालाको हत्या गरिदिई ।

केही दिनपछि एउटा मरणासन् अवस्थाको बिरालो मेरो घरको बरण्डामा फालिएको एउटा कपडामा सुतिरहेको मैले देखें । घायल थियो बिरालो । मलाई दया लाग्यो दुधभात खान्छ कि भनेर दुधभात एउटा कचौरामा राखेर खान दिएँ । मुस्किलले खायो । तर हिडडुल गर्न भने सक्दैनथ्यो । खाना दिंदै गएँ, बिरालो उठेर हिड्न सक्ने अवस्थामा आयो । अब यो बिरालो मानिसको नजिकमा रहन थाल्यो । ऊ एक्लै एक छिन पनि बस्न सक्दैनथ्यो । खाना खाँदा पनि निकै डरसँग खाने गर्दथ्यो ।

म अचम्ममा थिएँ । मलाई पत्तालाग्यो काली बिरालीले उसलाई देख्यो कि नराम्रोसँग आक्रमण गर्दिरहिछ । मैले त्यो आक्रमण गर्न आएकी काली बिरालीलाई धपाउन थालें । काली बिराली र मेरो घरको ढाडे बिरालोको बीचको द्वन्द्व निकै ठूलो थियो ।

यो दुष्मनी हुँदाहुँदै पनि एक दिन काली बिराली मेरो घरको एक किरनारमा आएर उभिई र मेरो घरको ढाडे बिरालोलाई आकर्षकरूपमा हेर्न थाली । मेरो घरको ढाडे बिरालो पनि काली बिरालीलाई देख्ने बित्तिकै पुच्छर लुकाएर भाग्ने काम गरेन बरू बडो मायालु आँखाँले हेर्न थाल्यो । दुवैले घाँटी तन्काए र आफ्नो भाषामा आफ्नो भावनालाई मौनरूपमा आदान प्रदान गरे । दुवै नजिकिंदै गए । काली बिरालीले आफूलाई ढाडे बिरालोलाई समर्पण गरी ।

डरपोक ढाडे बिरालोले पनि उनको समर्पणलाई सहस्र स्वीकारेर काली बिरालीको जैविक आवश्यक्तालाई पुरा गरिदियो र दिनभरि दुवै मायालु वातावरणमा बिताए । त्यतिवेला कुनै द्वन्द्व थिएन । आपसमा राम्रो मिलन थियो के अब दुवैको प्रेम विहारले दीगोरूप लेला त ममा प्रश्न उठ्यो, मैले भोलिपल्टै देखें दुवैको द्वन्द्व यथावत नै कायम थियो र ममा पुन प्रश्न जन्मायो के जैविक आवश्यक्ता द्वन्द्व र दुष्मनीभन्दा ठूलो हो ?

सदानन्द अभागी

1 thought on “द्वन्द्व र जैविक आवश्यक्ता”

  1. लाै तपाइँ ता कथाकार पनि
    लाै तपाइँ ता कथाकार पनि हुनुहुँदाे रहेछ त । मलाइ किन यत्राे दिन अँधेराेमा राखेकाे हँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *