औंशीको कालो रातमा
जसलाई सम्झेर मन रुने गर्छ
जुनेली रातमा जुनको आँसु
जब शित बनेर धर्ती धुने गर्छ
तब औशी देखि पूर्ण चन्द्रसम्म
म देख्छु चन्द्रकार बदलिरहेको पल पल
अनि सोच्ने गर्छु
साच्चै दुनियाँमा हरेक कुराहरू
किन यसरी बदलिरहने गर्छ ।
तर एकनास हुन्न समय भन्दैमा
सपना देख्न छोडनु गाह्रो लाग्छ
मेरो स्मृतिपटमा बसेको उनको
त्यो कोमल तस्वीर तोडनु साह्रो लाग्छ
जो सङ्ग मेरो धड्कन एकाकार भयो
दिलमा बसेको त्यो निर्दोस मुहार
हर्दम प्यारो लाग्छ ।।
दुई वर्ष भयो उनी जस्तै
अरुपनी देखिरहेछु धेरै
अरुको लागि पनि
प्रेम पत्र लेखिरहेछु धेरै
तर त्यो हासो त्यो मुस्कान
त्यो लजालु मुहार
आँखाको त्यो सान
भेटिन कसैभित्र
प्रेमको त्यो अद्भुत प्रतिविम्ब
देखिन कसैभित्र
त्यसैले मेरो अन्तरआत्माले
उनैलाई रोजिरहेछ
मेरो श्वासको प्रत्येक कण कणले
उनैलाई खोजिरहेछ ।
म कसरी बयान गरुँ
के बितिरहेछ म भित्र
खै कस्तो आधी हुरिले
जितिरहेछ म भित्र
नदेखेको वर्षौ अनि
नबोलेको महिनौ भयेछ
बस कुनै नजानिदो त्रासले
पिटिरहेछ म भित्र ।
तर मलाई थाहा छ राम्ररी
रातपछि बिहानी जरुर आउँछ
मेरो जीवनमा खुशिका
अनगिनत कहानीहरू ल्याउछ
जब फर्केर आउनेछिन उनी
मेरो जीवनमा फेरि एक पटक
जब बस्नेछिन मेरो छेउमा पहिला जस्तै
दातले आफ्नो तल्लो ओठ टोक्दै
मेरो stupid कुराहरूमा
बल गरेर आफ्नो हासो रोक्दै
अनि गालामा प्याट्ट हिर्काउदैभन्नेछिन
चुप लाग्नु कति बोलिरा’को
अनि फेरि एउटा बच्चा जस्तै चुप लागेर
म हेर्न थाल्नेछु उनलाई
फेरि भन्नेछिन लजाउदै
छि कति एकोहोरो हेरि रा’को?
अनि फेरि जिस्काउदै मलाई भन्नेछिन
जसरी भन्थिन पहिला
बोल्नै पो छोड्यो मान्छे त थाकेछ
अनि फेरि चोरी औलोले घोच्दै मेरो भुडिमा
भन्नेछिन आदेशात्मक स्वरमा
अलि ठिक्क खाने गर्नु कति धेरै भुँडी लागेछ
घरी मुख बनाउदै घरी जीव्रो निकाल्दै
घरी कान बटार्दै घरी नाक समाउदै
जिस्किने र चल्नेछौ फेरि
जसरी चल्थियौ पहिला ।
त्यो केशराशिको मीठो सुगन्ध
सायद मेरो दिलले महसुस गर्न पाउला
डुब्दै आँखा भित्र एक अर्कामा
प्रेमको त्यो समर्पण
सायद फेरि पनि छाउला
म सोचिरहेछु यो बिहानी
हेर्दै जुनेली आकाशतिर
ती प्रेमका पुराना स्वर्निम दिनहरू
के साच्चै फर्किएर आउला ।