Skip to content

प्रवासको तितो मिठो मेरा भोगाइहरू


प्रकृतिको एक अभिन्न अंग नारी जो बिना यो संसारले कुनै रुपमा फड्को मार्न सक्दैन, यो कुराहरू जान्दा जान्दै पनि बिभिन्न कारणले गर्दा हामी नारी पछि नै छौ, एकाईशौ शताब्दीको आगमनसँगै परिवर्तनका धेरै बिगुलहरू फ़ुकिए ता पनि त्यसको ध्वनि निश्चित र सही ठाउँमा पुग्न सकेको छैन, सायद यसको कारणहरूमा शिक्षा, अन्धोसमाज, अस्थिर राजनीति, संकुचित सोच र गरिबी नै हुन। अँझ हाम्रो जस्तो विकासोन्मुख राष्ट्रको लागि, तथापि समयको प्रभाव र परिवर्तनसँगै जुध्ने हामी नेपालीको बानी र आँट भएकोले नै अरुले गर्न सक्ने काम हामी पनि गर्न सक्छौ र गरेर देखाउने आँट र अभिलाषाहरू बोकेर घर, परिवार, देशसम्म परेलीबाट ओझेल पार्दै सात समुद्र पारि तर्न र तारिन थाली सक्यौ, हामी महिलाहरू पनि, बिडम्बना यस्तो परि दिन्छ कि सोचेको र आफूले गरेको बिपरित भइदिन्छ, ……… ।

यसै क्रममा म स्वयम बैदेशिक रोजगारको सिलसिलामा eps प्रणाली अन्तर्गत कोरियन भाषा उतिर्ण लगायत सम्पूर्ण नियम पालन गर्दै सन २००९ नोभेम्बर १७तारिख कोरियाको भूमिमा आफ्नो पाइला टेकेकी थिएँ, त्यो पल एकातिर देश र परिवार छोडेको पीडा थियो भने अर्कोतिर नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ मान्छेहरू र कठांग्रिएको हिउका डल्लाहरू भित्र सपना र आवश्यकता परिपूर्तिको एउटै साधन अर्थ आर्जन गर्नु थियो, अत हामी जो कोही पनि eps प्रणाली अन्तर्गत कोरिया आउदा कोरियाको काम, संस्कृति, जीवन सैली, खान पिन ईत्यदिको जानकारी गराउन इन्छनस्थित ट्रेनिंग सेन्टरमा ३ दिने ट्रेनिंग दिइन्छ, हाम्रो निम्ति जुन अति नै लाभ दयाक हुन्छ, यसै सिलसिलामा एउटा घटना जोड्न मन लाग्यो।

त्यो दिनको कुरा हो, जुन दिन हामी नेपालीको लागि मार्गनिर्देश गर्ने एक जाना लामा सरले कक्षा लिनु हुदै थियो। त्यही बेला कोही केटा साथीले सर तपाईंको फोन नम्बर दिनुस न, यदि हामीलाई अफ्ठ्यारो परेको खण्डमा तपाईलाई कल गर्छौ। तर, सरको जवाब यस्तो आयो”मैले कसैलाई नम्बर दिदीन, पहिला एक पल्ट आफ्नो न.बाडेको थिएँ, र त्यसको केही दिनमै एक जाना केटी को फोन आयो, रिसिभ गरें, उताबाट अतालिदै सर मलाई गाह्रो भयो काम गर्न, काम त जे जसरी नि गर्छु तर म एक्लो नेपाली केटी छु, दिउसो काम गर्छु राती साहु रक्सी खाएर आएर ढोका खोल कि खोल भनेर बेसरी ढोका हान्छ म के गरु सर? मलाई मदत गर्नु पर्यो सर, ………”यस्तो बिलौना युक्त आवाज सुनेपछि जो कोही नेपालीको मन पग्लिन्छ नै यदि उसको छाती भित्र नेपाली मन छ भने तर हाम्रो सर भनाउदाले यस्तो उत्तर दिनु भयो अरे, जो निकै मुस्काउदै भन्नुभएको थियो, जुन आज पनि मेरो मानसपटलमा बिझिरहन्छ।

अनि त्यो हाम्रो दोभाषे सरले भन्नुभयो रे, “ए!उसो भए डबल डिउटी गरे भैहाल्यो नि” धेरै पुरुष मित्रहरू गलल हाँस्नुभयो तर त्यो दिन म नौलो र अपरिचित छोरी मान्छे एक चिम्टी डर नमानी त्यो सर भनाउदोसँग प्रतिवाद गरे, त्यही विषयलाई लिएर, अन्तमा उहाको सफाई थियो कि उहालाई आफ्नी कोरियन श्रीमतीको अगाडि अफ्ठ्यारो भएको थियो रे, कोही समस्यामा परेको नेपाली चेलीको फोन उठाउदा अफ्ठ्यारो हुन्छ यो कस्तो मानसिकता?यो कस्तो मानवता? यो कस्तो परिबेस हो?यही कुराहरूले सोचमग्न हुँदै त्यही बेला देखि आफूलाई अँझ बलियो र स्वालाम्बी बनाएँ किनकि यहा कोरियामा। प्रवाशमा कोही आफ्नो नहुदो रहेछ।

तीन दिने ट्रेनिंगपश्चात मेरो कम्पनी इन्छनभन्दा टाढा रहेकोले भोलि पल्ट यानी कि २००९-११-२१मा आफ्नो कार्य स्थल पुगें, कामका पहिलो दिनहरू हप्काई, दप्काई, गालीबाट सुरु भयो कारण थियो भाषा नबुझ्नु। नेपालमा जुन भाषा उतिर्ण गरी छाती फुल्लाउछौ त्यो व्यर्थ साबित भयो, याहाको बोलाई र हाम्रो सिकाईमा आकाश जमीनको फरक थियो, जसलाई सहर्ष स्वीकार्नुको अरु बिकल्प थिएन। जसो तसो काम सिक्ने र गर्ने क्रममा २०१० फेब्रअरी २४ तारिख नाइट काम गर्ने क्रममा एक कोरियन आजुमा(आईमाई)को गल्तीले मेरो देब्रे हातको साइली औला भाचिन पुग्यो, सायद जिन्दगीको पहिलो दुखद र पीडादायी क्षण थियो। साहु बोलाएर औला सिलाइयो स्टिल राखियो, डाक्टरको सल्लाह बमोजिन औला ठिक नहुन्जेल काम नगर्नु तर याहाको कोरियन भित्र हरि, माया र दया केही नहुदो रैछ, हप्ता दिनको रेस्ट पछि दिनहु म बस्ने कोठामा पालै पालो साहु, साहुनी मेनेजर आउदै किचकिच र गाली गर्न थाल्यो, तर मेरो स्थिति काम गर्न सक्ने थिएन।

तिनीहरूको अपशब्द र तुच्छ व्यवहार भोग्नु र आशुंले सिरानी भिजाउनु बाहेक म केही गर्न सक्दिन थिएँ। त्यसमा सबैभन्दा ठुलो समस्या स्थानीय भाषा नबुझ्नु थियो र परि आएको खण्डमा काहा र कसरी सम्पर्क गर्ने कुराबाट अनभिग्य थिएँ । जसकारण शारीरिक पीडा, मानसिक तनाब, बिचाल्लित मन आफैले सम्हालेर गुम्सिनु बाहेक अरु उपाय थिएन।

यो त मेरो व्यक्तिगत भोगाई यस्ता र योभन्दा बढी दर्दनाक कहाली लाग्दो कथा व्यथा कोरियामा महिला कामदार माथि दिन कै भै रहन्छ, जसको आवाज भित्र भित्र दबाईएको छ, ईज्जत र अज्ञानताले, हामी epsबाट आउनेलाई यस्तो छ भने म्यारिज बिउरोबाट विवाह गरेर आउनेको समस्या झन जटिल र कारुणिक छ, जुन प्राय जसो समाचार बनेर हाम्रो टेलिभिजन र रेडियोमा गुन्जिरहेको हुन्छ, केही वर्ष अघि मात्र नक्कली विवाह गरेर भित्रिएकी एक जाना चेलीले आत्महत्या गर्नुभयो, त्यसरी नै आउनु भएको एक जाना लक्ष्मीजी आफ्नो जड्यहा कोरियन श्रीमान र उनको परिवारको अमानवीय व्यवहार र कुटपिटले अपाङ्ग हुनु भयो, साथै यस्ता घट्ना धेरैभन्दा धेरै कृषी क्षेत्रका दिदी बहिनीले भोग्नु परेको छ।

कोरियामा बिदेशीहरूले गर्नु पर्ने काम 3D भित्र पर्दछ, डिफिकल्ट, डेन्जर र डर्टी र महिलाहरूको लागि प्राय डर्टीमा पर्दछ, कम्पनी अनुसार सुरक्षाको साधनहरू पनि उपलब्ध गराईएको हुन्छ, त्यसमा पनि महिलाहरूले मन पराउने कामहरू, कपडा उद्योगमा धागो काट्ने, टंक राख्ने, प्याक गर्ने, कागज उद्योगमा कागज काट्ने, टास्ने, प्याक गर्ने, कलर गर्ने, पलास्टिक उद्योगमा, फलामको काममा पनि केही सजिला कामहरू महिलाले गर्ने गर्छन, …………काम जस्तै भए पनि भौतिक शक्ति, विवेकको सामर्थ्य र शान्त मन लिएर गाह्रो हुन्न। तर एउटा काम गर्नको लागि शारीरिक स्फुर्ति, लगनसिलता, मेहनत, स्वच्छ बातावरण, मनको शान्ति हुन अति आवश्यक हुन्छ। जसको जिम्मेवार काम गर्ने कम्पनी र आफू दुवैमा भर पर्छ। किन कि काम गर्ने बातावरण सबै ठिक छ भने पनि आफ्नो मन मष्तिस्कमा परिवारको सम्झना अत्यधिक गरेर home s। ck बनायौ भने, हामी छोरी मान्छेलाई गाह्रो हुन्छ, यसै पनि हामी छोरी मान्छे आफ्नो परिवार बालबच्चा छोडेर प्रदेशिएका छौ भने निकै कठिन हुन्छ तथापी आफूलाई सम्हाल्नु पर्छ। घडीको सुईले हरेक कठिन समयलाई उधिनेर फालिरहेको महसुस गर्नु पर्दछ, केही हदसम्म त हामीले नेपालबाटै मानसिक तयारी गरिसकेका हुन्छौ मात्र यहा आएर व्यवहारमा उतार्नु पर्ने हुन्छ ।

अब यदि आफूले काम गरेको ठाउँमा आफूले राम्रो काम गर्दा गर्दै पनि साहुले अथवा अन्य व्यक्तिले आफू माथि अन्याय अभद्र व्यवहार, लेनदेन हरहिसाब, र आफूले सम्झौता गरेको सुख सुबिधाबाट कटौती गर्दैछ भने त्यसको लागि धेरै संघ संस्था छन, त्यसमा सम्पर्क गर्ने जुन सम्पर्क नम्बरहरू नेपालको पन्ध्र दिने शिपमुलक तालिममा उपलब्ध गराएको हुन्छ। यदि त्यहाँ ती नम्बरहरू उपलब्ध नभए पनि साथीभाइहरूसँग आफ्नो समस्या सेयर गर्ने, परिआएको समस्यालाई कसरी र कुन तरिकाले सुल्झाउन सकिन्छ छलफल गर्ने सबैभन्दा ठुलो कुरा त फोन र सामाजिक संजालसँग एकदम नजिक हुनु पर्छ। एक्लो छु भनेर मन दुखेर पिर बोकेर कहिल्यै बस्नु हुन्न, आफ्नो सबैभन्दा नजिक को छ, उसैलाई बताउने गर्नु पर्छ। हिजोआज प्रवाशीहरूको सारो गाह्रोलाई ध्यानमा राखेर हरेक देशमा बिभिन्न संघ संस्थाहरू खुलेका छन र कोरियामा पनि त्यसको कमि छैन। जस्तै:-आफ्नो समस्या लिएर नोदंबू जान सकिन्छ। आफ्नो सुविधाहरू कटौती हुँदैछ भने, महिला हिँसा हुन खोज्दैछ भने वोमेन फर वोमेनमा सम्पर्क गर्न सकिन्छ, NRNमा सम्पर्क गर्न सकिन्छ । यस्ता धेरै संघ संस्था छन जसले अफ्ठ्यारो सारो गारोमा पिडितको समस्या समाधान गर्ने प्रयास गर्छ।

हुन त पिडित जसरी पनि पिडितै छ, पिडितको पीडामा सहयोग गर्ने संघ संस्था भनेर जति नै खुले पनि प्रभावकारी रुपमा त्यसले के कति काम गरेको छ भन्ने कुरा त आउदो समयमा पिडितको संख्या हेरेर पनि अनुमान लगाउन सकिन्छ। यसको अर्थ यो होइन कि संघ संस्थाहरूले कामै गरेको छैन भन्ने तर पनि मेरो आफ्नो व्यक्तिगत मूल्यांकन हो, किन कि यस्तो कुनै प्रकारको सहयोग चाहिएमा यो नम्बरमा सम्पर्क गरेर जुनसुकै समयमा सहयोग लिन सक्नु हुनेछ, भनेर सामाजिक संजालतिर सेयर गरेको हुन्छ तर वास्तविक समस्या परेको बेला केही सल्लाह सुझाब लिन फोन गर्यो मरेकाटे उठ्ने होइन, यस्तो स्थिति भोग्नु परेकोले फोन नम्बर बाड्नु हुने सम्पूर्ण संघ संस्था होस या व्यक्ति बिशेस यदि तपाईहरू साच्चै नै एउटा पिडितको लागि केही सहयोगी भावना बोकेर अघि बढ्नुभएको छ भने बोले बमोजिम कार्य गरिदिनु होस, न कि नाम कमाउन सामाजिक संजाल होस कि सस्तो अनलाइन मिडियामा अनेक आश देखाएर परेको बखत अँझ बढी पीडा बढाउनु होस। फेरी कोही यस्ता व्यक्ति पनि हुनुहुन्छ जो पिडितको सानो केसलाई पनि सहज र सरल तरिकाले सुल्झाएर सान्तवना दिनुहुन्छ, उहाहरू प्रति नतमस्तक छु।

अन्त्यमा, हरेक नारी हामी सक्षम, सबल, आत्मविश्वासी, साहसी, निडर छौ तर यो सब हामी आफू भित्रै कैद छ किनकि यी सब गुण प्रस्फुटन गर्न पाउने हाम्रो नेपाली समाज त्यो बेला थिएन तर अब नौ डाँडा काटेर सात समुद्र तरेर हामी जुन ठाउँमा छौ, त्यो ठाउँमा यदि हामी सही र सत्य छौ भने हाम्रो काम र सोचाइलाई कदर नगर्ने कुरै छैन। त्यसैले प्रवाशको यो छोटो बसाइलाई उपलब्धि मुलक बनाउन, आफू स्वास्थ्य रही आर्थिक आर्जन गरौ, याहाको कला सिप आफ्नो ठाउमा कसरी प्रयोग गर्न सकिन्छ त्यो सोचौ र भोलि आफ्नो मातृभूमिमा सुखी, खुशी, सम्पन्न र स्वतन्त्र तरिकाले बाँच्न सकौ, र हामी पछि हाम्रो छोरीले श्रम गर्न प्रवाश छिर्न नपरोस।

कल्पना राई “खुशी”
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *