Skip to content

कवि रण काफ्ले भारतमा पूर्वोत्तर हिन्दी एकादमीबाट सम्मानित


कवि रण काफ्ले भारतमा पूर्वोत्तर हिन्दी एकादमीबाट सम्मानित भएका छन् ।

जुन ५ देखि ७सम्म भारतको मेघालय राज्यको सिलोङ्गको गाडीखानास्थित राजस्थान विश्राम भवनमा पूर्वोत्तर हिन्दी एकादमीले आयोजना गरेको राष्ट्रिय हिन्दी विकास सम्मेलनमा उनलाई उक्त सम्मान दिइएको हो ।

यस कार्यक्रममा सहभागी हुन भारतको विभिन्न राज्यबाट १०० विशिष्ट साहित्यकार, कवि तथा पत्रपत्रिकाका सम्पादन उपस्थित भएका थिए ।

पूर्वोत्तर भारतमा आयोजना हुने यो सबैभन्दा ठूलो राष्ट्रिय हिन्दी विकास सम्मेलन हो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अम्बाला विश्वविद्यालय हरियानाकी हिन्दी कथा लेखनकि निर्देशक डा. उर्मी कृष्णले गरेकी थिइन् ।

सम्मेलनमा साहित्यिक छलफल, कवितावाचन, सांस्कृतिक कार्यक्रम, भ्रमण रहेको थियो । कार्यक्रममा ६६ साहित्यकारहरूलाई उनीहरूको योगदानको मूल्याङ्गकन गर्दै सम्मानित गरिएको थियो । ४८ कविहरूले कविता वाचन गरेका थिए भने विभिन्न राज्यबाट आएका कविहरूका ५ वटा पुस्तक विमोचन भएका थिए ।

नेपाली कवि रण काफ्लेको “भयवाद”मा आधारित हिन्दी कविता संग्रह “भय”को पनि विमोचन भएको थियो । यो उनको पहिलो हिन्दी कृति हो । यसभन्दा अगाडि काफ्लेको नेपालीमा कथा, उपन्यास, निबन्ध प्रकाशित भएका छन् ।

गैर हिन्दी भाषीले हिन्दीमा कविता संग्रह प्रकाशित गरेको र “भयवाद” नयाँ विषयलाई साहित्यमा प्रवेश गराएकोमा उनी प्रशंसनीय र मुख्य आकर्षा भएका थिए ।

काफ्लेलाई एकादमीले “श्री केशरदेव गिनिया देवी बजाज स्मृति” सम्मानले विभूषित गरिएको थियो । यस सम्मान ग्रहण र उनको पुस्तक विमोचनको बेला सिलोङ्गका नेपालीहरू उपस्थित भएका थिए । यो सम्मान पाउने उनी पहिलो नेपाली साहित्यकार हुन् ।

कार्यक्रममा पूर्वोत्तर भारतको सांस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत भएको थियो ।

पूर्वोत्तर भारतको ८ राज्यमा मात्र करिब एक करोड नेपालीको बसोबास छ । देश सुब्बाबाट प्रतिपादित दर्शन “भयवाद”लाई भारतमा पनि फैलाउने उद्देश्यले उनले “भय” कविता संग्रह लेखेका थिए । “फिलोसोफी अफ फियरिज्म” अंग्रेजीमा प्रकाशित भएपछि विश्वमा लोकप्रिय हुँदै गरेको “भयवाद” भारतमा पनि लोकप्रिय हुँदै गएको छ ।

कवितामा “भयवाद” प्रयोग भएको यो पहिलो हो ।

काफ्ले असम भारतकै बासिन्दा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *