Skip to content

मेरो गाउँको खबर


एक पाइलो बारीको साँध मिचेको निहुँमा
वर्षौं देखि नबोल्नेहरू
पानी पधेंरोमा पालोको निहुँमा
कपाल लुछालुछ गर्नेहरू ।
हिजोआज एकै ठाउँमा बसी
सोमालियनहरूले जस्तै
आकाशमा उडेको हेलिकप्टरसँग
चामल र चिउराको आश गर्दैछन अरे
जहाँ जसले जे भेटे नि बाँडीचुँडी खाँदैछन् अरे ।

लोभ, लालचले स्वार्थी र घमण्डी बन्नेहरू
मृत्युलाई सयौं कोष पर छ भन्नेहरू
आफ्नै आँखा सामु मृत्युका विभत्स दृश्यहरू देखेर
हिजोआज निक्कै सहयोगी र मिलनसार बन्दैछन अरे ।

मेरो गाउँको ताजा खबर यस्तै यस्तै सुनेपछि
मानव बस्तीहरूमा प्रकृतिले गरेको यो
सशक्त भूकम्पीय आक्रमणको घोर निन्दा र भर्त्सना गर्ने
मेरो मस्तिष्कमा आज फेरि बिचारको पराकम्पन गएको छ
मेरो गाउँको खबर यस्तै यस्तै सुनेपछि ।

वसन्त दहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *