Skip to content

१,
च्यातिएको खुशीहरू टाल्नु किन पर्यो ?
जिउँदो यो लाशलाई फाल्नु किन पर्यो ?
धनी जस्तो चिन्ता पिर छैन मलाई त
कात्रोभित्र खल्ती मैले हाल्नु किन पर्यो ?
२,
कतिजना रिसाउँछन् बिना कारण नै
र सपनीमा आउँछन् बिना कारण नै
यस्तै रै’छ संसारको चलनहरू पनि
घायल पो बनाउँछन् बिना कारण नै?
३,
साँझ क्षेणिक रंगिएको क्षितिजको लाली जस्तो
शुन्यता छ जिन्दगीमा भित्र सबै खाली जस्तो
भाग्यरुपी कल्पनाको महलभित्र के के होलान्?
भएकोछु मन्दिर सामु घोप्टिएको थाली जस्तो ।
४,
आँसु पिउँनु पर्छ र आँसुले नुहाउँनु पर्छ
पीडा असैह्य हुन्छ र आँसु चुहाउँनु पर्छ
नत्र रोए झैं गरेर आँसुको बदनाम हुन्छ
रुने मान्छेलाई पनि आँसु सुहाउँनु पर्छ ।
५,
नयाँ पाइण्ट काटिन्छन् र कतै टालेको हुन्छ
कानमा मुन्द्रा लामो कपाल पनि पालेको हुन्छ
आधुनिक बन्ने असफल प्रयास होला शायद
गाँजा,भाँङ र चरेश पनि तान्न थालेको हुन्छ ।
६,
सग्लो घर भत्केपछि एकखोर हुन सक्छ
खोर भित्र माउ एक्लै कमजोर हुन सक्छ
कतै टाढा जाँदा खेरि बन्द गर ढोकालाई
छिमेकीका स्यालहरू धेरै चोर हुन सक्छ ।
७,
तिमीलाई आफ्नो परिचय चाहिएको छ
उसलाई चैं आत्मनिर्णय चाहिएको छ
देश बलियो हुन्छ भने कुनै आपत्ति छैन
सबैलाई नेपालीको विजय चाहिएको छ ।

दलबीर सिंह बराइली ‘घायल’
गुप्तेश्वर-३,रामेछाप
हाल:अलऐन,युएई
©घायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *