Skip to content


आफूलाई कहिले
आँखा बन्द गरेको अवस्थाको अन्धकार
अनि सुन्यतामा पाउँछु,
कहिले
मन भित्रको एकान्तता
अनि सालीनता व्यग्रतामा पाउँछु,
कहिले सपनाको सुन्दरता
अनि गहिराइमा हराइरहेको
बिचित्र अवस्थामा भेट्छु ।

फेरि घरपरिवार समाज साथी-संगी
अनि प्रकृतिको सुन्दरताको साथमा
रमिरहेको पनि पाउँछु ।

अनि आफैले आफैलाई प्रतिप्रश्न गर्छु-
आखिर के हो यो ?

प्रश्नवाचक चिन्हहरू
आँखा वरपर घुमिरहेको अवस्थामा
एक्कासि छेवैबाट कल्पना चिच्याउछ-
यही नै जीवनको यथार्थ हो मुर्ख !

अनि अर्को कुनाबाट
यथार्थले कराउदै भन्छ –
होइन होइन यो त केवल तेरो कल्पना मात्र हो ।
असली जीवन यो होइन !

यत्तिकैमा त्यहाँ यथार्थ र कल्पनाको बिचमा
घमासान युद्ध चर्किन्छ।

म छेवैमा थचक्क बसेर
त्यो युद्धलाई अँझै नजिकबाट नियाल्ने कोसिस गर्छु ।

तर,
न मैले त्यो युद्धमा हारपछिको
ग्लानि अनि उदासीनता पाउँछु ।
न जीतपछिको
उत्साह अनि उमङ्गनै भेट्छु ।

बरु आँखा अगाडि
दृष्य पनि होइन अदृस्य पनि होइन
अर्ध दृष्य छायाँहरू
मलाई नै गिज्याए झैँ गरी
थपडी मार्दै
मेरै वरिपरि हाँस्दै नाचिरहेझैँ पाउँछु ।
कोही भने चिच्याई चिच्याई,
छाती पिटी पिटी,
रोइरहेका देख्छु ।

फेरि प्रश्न उब्जिन्छ-
भोका अनि प्यासा प्रश्नवाचक चिन्हहरूले
मलाई लखेट्दछन् ।

फेरि यथार्थ र कल्पनाले युद्धविराम गरेर
मेरो प्रश्नको उत्तर दिन खोज्दछन् ।

फेरि युद्ध दोहोरीन्छ,
हो फेरि पनि,
बारम्बार,
अँझै पनि,
फेरि फेरि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *