Skip to content

त्यो बेलाको पत्रमित्रता


त्यो बेला (३५वर्षपूर्व) आजको जस्तो सञ्चारको सुविधा थिएन । मोबाइलको त के कुरा टेलिफोन (सेट) पनि सदरमुकामको दूर सञ्चार (हालको टेलिकम)मा मात्र थियो । अति जरूरी पर्दा मात्र अक्षरगन्तीले पैसा तिरेर आकाशवाणी गर्नु पर्थ्यो । फेसबुक, इमेल र इन्टर्नेटको कुरा त सपनामा पनि सोचिएकै थिएन । सञ्चार माध्यमको एक मात्र सहारा हुलाक नै थियो । हुलाकबाटै चिठी र पत्रपत्रिकाहरू आदानप्रदान हुन्थे । दूरीका आधारमा हुलाकबाट चिठी पुग्न स्वदेशमै पनि १५ दिनदेखि एक महिनासम्म लाग्ने गर्थ्यो । यो कुरा आजका भाइ–बैनीहरूलाई एकादेशको, उहिलेको कथा जस्तो लाग्ला ! तर यो हाम्रै देशको कथा मात्र होइन, यथार्थ कुरा हो ।

हेमन्त, खोटाङ जिल्लाको सदरमुकामको स्कुलमा पढ्थ्यो । ऊ अनुशासित र जेहेन्दार विद्यार्थी थियो । पढाइमा अब्बल हेमन्त कक्षामा सधैँ प्रथम हुन्थ्यो । साहित्यिक पत्रिका खोजी–खोजी पढ्थ्यो र कविता पनि लेख्थ्यो । स्कुलको साप्ताहिक कविता र निबन्ध प्रतियोगितामा उसले कहिल्यै पनि दोस्रो हुनु परेन । रेडियो नेपालको बाल कार्यक्रममा हेमन्तका बालकविताहरू प्रशारण हुन्थे भने गोरखापत्रका शनिवारीय परिशिष्टाङ्कमा पनि छापिएर आउँथे ।

गोरखापत्रको शनिवारीय परिशिष्टाङ्कमा ‘पत्रमित्र’ स्तम्भ थियो । अहिलेको ‘मुना’को “साथी बनाऔँ”मा जस्तो फोटो त होइन, त्यसमा नाम, कक्षा, उमेर, ठेगाना र रुचि जस्ता विवरणहरू रहन्थे । रुचि मिल्ने साथीहरू छानेर पत्रमित्रताका लागि आग्रह गर्दै हेमन्त चिठी लेख्थ्यो । अनि ५० पैसाको टिकट टाँसेर हुलाकको चिठी–बाकसमा खसाउँथ्यो । पछि, उताबाट सफोटो प्रत्युत्तर आउँथ्यो र पत्रमित्रता कायम हुन्थ्यो । कोही घनिष्ठ भएर धेरैवर्ष पत्राचार चलिरहन्थ्यो भने कसैसित बिचैमा सम्बन्धबिच्छेद हुन्थ्यो । कहिले हेमन्तको नाम गोरखापत्रको पत्रमित्र स्तम्भमा छापिन्थ्यो र अरुले छानेर उसलाई पत्र पठाउँथे । काठमाडौँ, गोरखा, लमजुङ, सोलुखुम्बु, …..आदि र उता भारतको दार्जिलिङ तथा सिक्किमका साथीहरूसित हेमन्तले पत्रमित्र गरेको थियो । चिठी मार्फत् विचार र भावनाको आदानप्रदान गर्न हेमन्तलाई निकै मजा लाग्थ्यो । यसबाट उसले मनोरञ्जनका अतिरिक्त लाभदायक ज्ञानार्जन पनि गरेको थियो ।

पछि, राजधानी पुगेर सोध्दै र खोज्दै पत्रमित्रको घर पत्ता लगाएर पुगेको पनि थियो हेमन्त । साथीको घरमा बास बसेर रमाइलोसित गफिएको थियो ऊ । कतिपय साथीका बाबु–आमा राजधानी उपत्यकामै पनि नेपाली भाषा नबुझ्ने थिए । बाबु–आमा र हेमन्तका बिचमा पत्रमित्र साथीले दोभासेको भूमिका निर्वाह गरेर कुराकानी गराएका थिए । यसरी कुरा गर्दा हेमन्तलाई बहुतै रमाइलो लागेको थियो । हेमन्तलाई हेरेर हाँस्दै साथीका बाबु–आमाले आफ्नै मातृभाषामा कुरा गरेको सुन्दा र देख्दा उसलाई अनेक आशङ्का जागेर असहज पनि नलागेको होइन । “कि मेरो वारेमा नराम्रो कुरा पो गर्दैछन् कि ?” डर पनि लाग्थ्यो हेमन्तलाई, कोहीबेला । गोरखाका पत्रमित्र जुजुराम थापालाई काठमाडौंमा भेटेरसँगै खाना खाएको क्षण हेमन्तलाई निकै रमाइलो लागेको थियो ।

“तपाईँहरू मध्ये कोही श्रीजीवनज्योति मा.वि. नेलेका हेमकर्ण खडकालाई चिन्नुहुन्छ ?” सोलुखुम्बु जिल्लाबाट दिक्तेलमा बुढानीलकण्ठ स्कुलको प्रवेश–परीक्षा दिन आएका विद्यार्थीहरूलाई सोधेको थियो हेमन्तले । “अँ, म चिन्छु त हेमकर्ण खडकालाई !”—एउटा कालो, कालो सिकुटे केटाले भन्यो । “ए ! त्यसो भए मेरो पत्रमित्र साथी हेमकर्ण खडकालाई यो मेरो चिठी लगिदिनु है !” –हेमन्तले चिठी थमाएको थियो ।

एक महिनापछि, नेलेबाट हेमन्तलाई हेमकर्ण खडकाको चिठी आयो –“ दिक्तेलमा हेमकर्णलाई चिन्छु भनेर तपाईँको हातबाट चिठी लिने त्यो फुचे केटो म नै हेमकर्ण खडका थिएँ !”

“हेमकर्ण खडका म स्वय म हुँ भनेर परिचय गरेको भए त्यतिबेलै एकाध घण्टा बसेर मजाले कुराकानी गर्नुहुन्थ्यो । किन ढाँट्नुभएको मित्रजी ?” हेमन्तले भारी दुःख प्रकट गर्दै साथी हेमकर्णलाई चिठी लेख्यो । हेमकर्णसित आजपर्यन्त भेट भएको छैन हेमन्तको ।

करिब एक सयजति पत्रमित्र बनाएको हेमन्तको आजकाल ४—५जनासित मात्र कहिलेकाहीँ फोनमा कुराकानी हुन्छ । अरु त को कहाँ के गर्दैछन् ? —थाहा पनि छैन उसलाई । हेमन्त स्वय म र उसका पत्रमित्र एव म अरु साथीहरू सबै हाल पचासको छेउछाउ (उमेरमा) पुगेका छन् ।

रामविक्रम थापा
मो.नं.९७५३००४३६०, खोटाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *