Skip to content

प्यारो छ रे गोरखा


सेता स्वच्छ हिमाल उत्तर भयो, देखाउँदै वैभव ।
अग्ला छन् सब टाकुरा गगन झैं, नेपालकै गौरव ।।
डाँफेनाच्छ हिमाल मुन्तिर यतै, जोडी बनी जोडका ।
माया लाग्दछ धेर प्राणसरिको, प्यारो छ रे गोरखा ।।१।।

राम्रो फुल्छ गुराँस भीर पहरा, देख्दै अहा सुन्दर ।
छाँगोभै जसरी झर्छ छहरा, कल्कल् वगी तल्तिर ।।
माथीबाट रंगीन खस्छ झरना, देखिन्छ क्या फोहरा ।
मेरो जन्म भयो सखे अघि यहीँ, प्यारो छ रे गोरखा ।।२।।

डाँडा पर्वत छन् सबै तरहका, होचा र अग्ला धरा ।
खोज्छन् दाँजिननै हिमाल चुचुरा, जस्तै यहाँ टाकुरा ।।
लार्केपास सवार तिव्वत तिरै, जाने थलो भोटका ।
राम्रो लाग्छ सदैव वर्णन गरौँ, प्यारो छ रे गोरखा ।।३।।

यार्सा टिप्छ पहाड घुमेर चुचुरो, भोटे र शेर्पा जन ।
भेँडी चर्छ नि खर्कका चरनमा, चौरीं र याकै झन ।।
जाडो झर्दछ गोठ सर्छ तल पो, ती भोटका छेउका ।
हाँसी खेल्दछ मित्र साथ बटुली, प्यारो छ रे गोरखा ।।४।।

राम्रा मध्य पहाडको समथरै, गाऊँ र वेशी भए ।
थुम्का टार उपत्यका नजरमा, स्वर्गै सरीका रहे ।।
मान्छे जान पहाडका ति चतुरा, ज्ञानी झनै गाउँका ।
मेलापात गरी निकाल्छ पसिना, प्यारो छ रे गोरखा ।।५।।

डाँडा पर्वतमा छ स्याउ अमला, ज्यामीर लप्सी मिठा ।
केरा दारिम भोगटे र निवुवा, अम्वा तथा सुन्तला ।।
कोदो फापर धान मास मसुरो , तोरी मकैको मजा ।
मानो खान्छ मुरी फलाउँछ यही, प्यारो छ रे गोरखा ।।६।।

तर्कारी फलफूल उमार हरियो, उव्जन्छ टन्नै गरे ।
चल्दा जाँगर वन्दछन् सुनहरा, भेटिन्छ सुख्खै भरे ।।
खोस्रीएर सजाउँछन् सबमिली , माटो यसै ठाउँका ।
मौलाई विरुवा पलाँउछ जहाँ, प्यारो छ रे गोरखा ।।७।।

माथी हेर्छु हिमाल चट्ट हंसिलो, खैल्दैछ डाँफे चरी ।
उड्दै रम्दछ हाँस पौडियर गै, सुन्दर् तलाऊ परी ।।
मर्स्यांग्दी जहाँ वहन्छ तलनै , खोजी अनेकौ सखा ।
माझैबाट दरौंदि बग्छ गहिरो, प्यारो छ यो गोरखा ।।८।।

बग्छन् कल्कल गण्डकी खुश भई , चेपे दरौंदीहरु ।
मर्स्याङ्दी पनि दिन्छ गर्जन मिठो, झारेर शेखीहरु ।।
कस्तो सुन्दरता अहा गजवको , देखिन्छ त्यै मोहका ।
ज्यादा वर्णन के गरौं अजवको, प्यारो छ रे गोरखा ।।९।।

यो नेपाल गरी एकीकरण जो, वाँधेर राख्दो भयो ।
जन्माएर ति विश्वमा विरहरु, गोर्खा भनी चिन्छ पो ।।
यस्को शान र मानले शिर उँचो, देखिन्छ नेपालमा ।
हामी गौरव गर्दछौं अझ कती, प्यारो छ रे गोरखा ।।१०।।

1 thought on “प्यारो छ रे गोरखा”

  1. waवाह कति राम्रो कविता ।
    waवाह कति राम्रो कविता । गोर्खा प्यारो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *