Skip to content

पाल्पालीका गजलहरूमा प्रवेश गर्दा


परिचय

युसुफदिन मियाँ ‘पाल्पाली’को यस गजलसङ्ग्रहलाई मैले पल्लव साहित्य प्रतिष्ठानको बार्षिक कार्यक्रममा विमोचन हुँदा प्राप्त गरेको थिएँ तर पढ्ने काम भए पनि यस सम्बन्धमा समालोचना गर्ने काम भने भएको थिएन । आज ममा पाल्पालीजीका सबै कृतिहरूलाई पढ्ने र विवेचना गर्ने विचार पलाएको छ । बास्तवमा उहाँसँग मेरो परिचय सोही कार्यक्रममा भएको थियो । झट्ट हेर्दा, आकर्षक शाँरीरिक संरचना,सरल व्यक्तित्व, सहयोगी भावनामा उच्च, बोलीबचनमा मीठास र दृढता, व्यवहारमा समतामुखी भावना भएको एक सामाजिक, गीतकार र गजलकारको रूपमा, देखिनुहुन्छ उहाँ । उहासँग आजकाल पल्लव साहित्य प्रतिष्ठान र चितवनमा आयोजना गरेका कार्यकर्ममा भेट हुन्छ । उहाँको र मेरो उमेरको हिसावले हेर्दा पनि, पाल्पालीजी मेरो समकालीन हुनुहुन्छ र करिब ८० दिनले उहाँ मेरो आदरणीय दाज्यूमा पर्नुहुन्छ । युसुफदिन मियाँ पाल्पालीको जन्म पाल्पा, तानसेन वडा नं १३, पश्चिम गाउँमा वि.सं २००३ साल बैशाख १२ गते भएको हो । उहाँ, पिता मरहूम अब्दुल गफूर मियाँ र माता मरहूम बिबीरन मियाँको सुपुत्र हुनुहुन्छ । पाल्पामा जन्मे पनि हाल उहाँको बसोबास नारायणगढ चितवनमा छ । उहाँको यो कृति २०६६मा पाल्पालीका गजल (गजलसङ्ग्रह)को नाममा पल्लव साहित्य प्रतिष्ठानले प्रकाशन गरी बजारमा ल्याइसकेको छ ।

गजलको संरचना

आवरणा पृष्ठमा एउटा महल र घर वरिपरि प्राकृतिक सुन्दरताले भरिएको जमिनको चित्र अङ्कित गरी सजाइएको छ भनेपछिल्लो आवरण पृष्ठमा स्रष्टा परिचय दिइएको छ । यस गजलसङ्ग्रहमा १०२ गजलका शेरहरू समावेश गरिएका छन् । कृतिको आकार १२२ पृष्ठको छ । स्व. लोककवि अलिमियामा समर्पण गरिएको यस कृतिमा पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष गोर्खे साइँलो (ऋषिप्रसाद लामिछानेको प्रकाशकीय, बरिष्ट साहित्यकार गोविन्दराज विनोदीको भूमिका, डा. नारायणप्रसाद खनालको शुभकामना, पल्लव साहित्य प्रतिष्ठानका संस्थापक सदस्य हुसेन खाँको शुभाशंसा र स्वयम पाल्पालीजीका मेरा मनका कुराहरूले सजिएको छ । शब्द समायोजनले यस कृतिको सारलाई सहजै आत्मसात गर्न सकिन्छ । गजलहरूलाई शीर्षकीकरण गरिएको छ । पहिलो गजल मुस्किल मुस्किलमा २०४७/१/१७ भनी मिति लेखिएको पाइन्छ र मारुनी, फन्को ५, २०५०, मारुनी फन्को ८, २०५६ पनि लेखेको पाइन्छ । मूल्य १०१/–रुपियाँ राखिएको छ ।

साहित्यकारहरूले कृतिप्रति राखेका धारणहरू

गोर्खे साइँलो (ऋषिप्रसाद लामिछाने)ले प्रकाशकीयमा लेख्नुहुन्छ–‘केही रङ्गीबिरङ्गी केही मनमोहक, केही आफ्नो पुरानै परम्परामा प्रचलित शब्द–शैलीमा गजलपुष्पलाई अति सरल र तरल हिसाबले रचना गर्न खप्पिस देखिनु भएको छ गजलकार पाल्पाली’ ।

गोविन्दराज विनोदीलेयस कृतिको भूमिका लेखन गर्नुभएको छ । भूमिकामा गोविन्दराज विनोदीले लेख्नुहुन्छ– ‘काव्यिक प्रतिभा ‘युसुफदिन मियाँ पाल्पाली’मा छँदै थियो । अहिले गजलसाहित्यको अध्ययन र गजल सृजनाको अभ्यासले गर्दा, स्वानुभूत सत्यको प्रकटीकरणमा उहाँको कलम सशक्तरूपमा प्रस्तुत भएको छ ।

त्रिवेणी साहित्य परिषदका अध्यक्ष डा. नारायणप्रसाद खनालले शुभकामना शीर्षकमा युसुफदिन मिया पाल्पालीले सानै उमेरदेखि लोकगित गाउँदा गाउँदै रमाउँदा रमाउँदै पाल्पा, अर्घाखाँची, गुल्मी र प्यूठानका उकाली ओरालीसँग मितेरी लाउँदै बुटवल, भैरहवा र नौतुनवा धाउँदा धाउँदै नारायणघाट, पिचतवनसँग नजर लगाउँदा लगाउँदै पाल्पालीको जीवन यो अवस्थामा आइपुगेको, मुस्किल मुस्किल गीत र बरु मारे मार गजलसँग पाल्पालीलाई चिनेको, उनको रचना गरेको गीत अरुले नै गाएर नाम कमाएको र अत्यान्त ठूलो प्रसव वेदनापश्चात पाल्पालीका गजल नाम लिएर गजलकृति झुल्किएको र यो उनको यो प्रस्तुत गजलसङ्ग्रह उनको जातीय वर्गको पनि प्रतिनीधिमूलक रचना बन्न सक्ने धारणा राख्दै पाल्पालीको साहित्यिक, सामाजिक, राजनीतिक र व्यवसायिक जीवनलाई प्रष्ट पार्दै कृति प्रकाशनमा आएकोमा हृदयदेखि नै हर्षले विभोर भएको धारणा राख्नुभएको छ ।

पल्लव साहित्य प्रतिष्ठानका संस्थापक सदस्य हुसैन खाँले शुभांशंसाको तरङ्गमा ….शीर्षक दिएर लेख्नुहुन्छ – ‘पाल्पालीज्यू, प्रायजसो अक्षरको एकरूपतालाई आधारमानी सरल र सहज शब्दको प्रयोग गरी आफ्नै शैलीमा भावपूर्ण गजल सिर्जना गर्ने सर्जक हुन् । नेपाली मुस्लिम समुदायबाट गजल विधमा कृति प्रकाशन गर्ने सम्भवत ः पहिलो गजलकार हुन् युसुफदिन मियाँ पाल्पाली नै हुनुहुन्छ ।’

मेरा मनका कुराहरू शीर्षक दिएर युसुफदिन मियाँ ‘पाल्पाली’ले सानै उमेरदेखि गीत लेख्ने गाउने गरेको, लेख्ने गाउने रहर भएको, रहरकै कारणले गजल पनि लेख्ने र गाउने गरेको, एउटा गजल अभिन्न मित्र डा. नारायणप्रसाद खनाललाई सुनाएको र डा. नारायण प्रसाद खनालज्यूबाट किताब छपाउने सुझाव पाएको र यो कृति बजारमा आउन सफल भएको धारणा राख्नुभएको छ ।

सम्लग्नता
– अध्यक्ष बरकाती मदरसा सञ्चालक समिति
– पूर्व अध्यक्ष लायन्स क्लव अफ चितवन (हाल सदस्य)
– उपाध्यक्ष फेन्सी व्यवशायी सङ्घ नारायणगढ
– पूर्व उपाध्यक्ष नारायणी कलामन्दिर चितवन (हाल आजीवन सदस्य)
– आजीवन सदस्य नेपाल रेडक्रस सोसाइटी, नारमायणगढ चितवन
– आजीवन सदस्य नेपाल परिवार नियोजन सङ्घ, भरतपुर चितवन
– आजीवन सदस्य नेत्रज्योति सङ्घ चितवन
– आजीवन सदस्य हृदयरोग निवारण सङ्घ, नारायणगढ चितवन
– आजीवन सदस्य बालमन्दिर, भरतपुर चितवन
– आजीवन सदस्य अर्बुद्ध रोग निवारण सङ्घ भरतपुर, चितवन
माथिका धार्मिक सामजिक र व्यवसायिक संस्थाहरूमा आवद्धरही मानव कल्याणकारी काममा उहाँको दैनिकी वितिरहेको हामीले पाउँछौं ।

कृतिभित्र पस्दा

१०२ गजलले सुसज्जित छ यो गजलसङ्ग्रह । मुस्किल मुस्किल– पहिलो गजलमा पाल्पालीजीले हिड्न मुस्किल भएको, दुनियामा आफ्नो मान्छे चिन्न मुस्किल भएको,चोर बढे डाँका बढे, यात्रा गाह्रो भयो, आफ्नो पराई चिन्न नै मुस्किल भो, महंगीले नेटो काटेको, मदिरा र मङ्स विना होटेल नचल्ने भो, शाकाहारीलाई सबैसँग भिज्न गाह्रो भो, घरै पिच्छे नेता र चोकचोकमा भाषण भएको आजको विसङ्गत युगसँग भीड्न गाह्रो भो भनी आज हामीले भोगेका यथार्थतालाई प्रष्ट्याउने प्रयास गर्नुभएको छ । यसलाई यथार्थवादी गजलको रूपमा हेर्न सकिन्छ ।

बरु मारे मार, बरु मारे मार, माया अन्तै नसार, फूल थरि थरिका हुन्छन् तिनलाई ओइली झर्ने पार्न हुँदैन, तिर्खालुलाई पिउन दिंदा सागरको जल कति घट्ला त्यसो हुँदा तिर्खालुलाई जल छैन भनी नटार, अर्को जुनीलाई भाका नसार, भन्दै गजलकारले मायालाई महत्व दिनु भएको छ । प्रेमप्रणयलाई टिपेर लेखिएका यी गजले प्रेमको व्याख्यालाई अनन्त रूप दिएको देखिन्छ । प्रेम जति बाँडे पनि सकिदैन, मानवीय जीवनमा मायाले नै संसारलाई प्रभाव पारेको छ अपनत्वलाई अघि सारेको छ जीवनलाई सार्थक पारेको छ ।

फुर्सद मिलेन–फुर्सद मिलेन हेर्न किन ? आँखा रुँदारुँदा, जीवन बित्ने हो कि दाग धुँदाधुँदा भन्ने आशङ्कमा, मुटुमा दाग लाग्दा जिउको बुँदाबुँदामा आगो दन्किरहेका हुँदा, भएजतिको खजना खुसीले सबै लुटाएर आज गहिरो व्यथा बोकेर कुनाकुनामा रोइबसेको छु । तब पनि अतितका घटना छाडेर जानेलाई सास हुँदासम्म खुसीको स्वागत गरियोस् तर म भने लास भनुभने लास होइन,किनकि म कालले छुँदा पनि सास चलिरहेको अवस्थाम बाँचिरहेको छु भन्ने धारणा छ गजलमा । मानव जीवनमा प्रेम अमूल्य रत्न हो र यो रत्न प्राप्तिको लागि मानिसले आफ्नो जीवनमा आइपर्ने सबै चिजलाई त्याग्न सक्छ र जीवनभर रुन सक्छ सर्बस्व नै लुटाउन सक्छ हुन्छ आदि धारणा पाल्पालीका गजलले बोलिरहेका छन् ।

हुन्छ मात्र भन मानवजीवनमा प्रेमले ठूलो प्रभाव पार्दछ । यहाँ गजलकारले आफ्नी प्रेमिकासँग प्रेममा स्वीकृति खोजेका छन् । प्रणय बन्धनमा बाँधिनुभन्दा पहिला सहज वातावरणको सिर्जना गर्न चाहान्छन् । ‘हुन्छ मात्र भन म सारा ल्याइदिउँला,तिम्रोलागि जून र तार ल्याइदिउँला’ भन्दै यी अमूल्य बस्तु ल्याउनको लागि आफू बलमा क्षमतावान रहेको, कुबिचार चिर्नको लागि आपश्यक परेमा आरा ल्याइदिने, साथ दिएमा विकासको नौलो नारा ल्यादिने, उनको चाहनाको लक्ष्य पूर्तिको लागि प्रेमिले तनमन खियाएर चारा ल्याइदिने र प्रेमिीकाको मन प्यासी हुन गएमा प्रेमसुधाको धारा नै ल्याइदिने बचनबद्ध छन् गजलकार । प्रेम प्राप्तिको लागि सर्बस्व नै त्याग्ने अठोटका साथ खडा भएका छन् गथजलकार । बस्तवमा संसार मायामा नै त अडिएको छ । माया/ प्रेम बिनाको मानिसमा मानवताको स्थान कहाँ हुन्छ होला ?

बाँधे मायाको डोरी– जब कोही कसैसँग मायको डोरीमा बाँधिन्छ भने त्यो डोरी अतिनै बलियो हुन्छ त्यसलाई कसैले टुटाउन सक्दैन र शत्रु हजार लागे पनि छुटाउन सक्दैन, लाठी र तरबार लिएर कसैले कुटाउन सक्दैन, मायालाई घनले पनि फुटाउन नसक्ने, प्रेममा कलह गर्ने मानिस कोही भएर हजार भेला गराए पनि मायाको डोरीलाई टुटाउन सक्दैन, त्यसो हुँदा ‘बुझ्नेहरूले सारा लुटाए मायाप्रीति, अबुझ कञ्जुसले लुटाउन सक्दैनन्’ । बास्तवमा मायाप्रीति दिनको र लिनको लागि जो कोही पनि दिलदार हुनुपर्छ र मात्र चोखो मायाको आदान प्रदान हुन सक्छ । स्वार्थहीन माया अमिट हुन्छ र दीगो रूप लिन सक्छ ।

कहिले हुने हो भेट –बिछोडको समय दुःखदाइ हुन्छ, बिदा लिएर प्रदेश जाँदा गजलकारले भन्छन् कहिले हुने हो भेट आफै भनेर जाऊ, सुखी जीवन बित्ने निधो गरेर जाऊ’ मिलन र बिछोडले सुख दुःखको अनुभूति गराउँछ । यहाँ गजलकारले दिन अँध्यारो लाग्ने, एक्लै विरक्त लाग्ने, हुनाले दिन बिताउने तथा भुल्ने चिनोको माग, विछोडमा हुने वेदनामा दुःख भरेका खोला तरेर अर्थात वेदनालाई पार गर्दै, कष्टबाट पार पाउन पीडालाई यहीं छरेर जाने सुझाव दिन्छन् साथै आफूले ‘थामिरहेछु भारी गाँठो दिलैमा पारी, खालिरहेको मनमा मायाँ भरेर जाऊ’ भन्ने आग्रह गरेका छन् । बास्तवमा मानव जीवनमा प्रेमबाट सुखी जीवनको परिकल्पना गर्न सकिन्छ । स्वार्थरहित प्रेमले मानव जीवनमा प्रगतिको सोपान खडा गर्दछ र मानव जीवनलाई उच्चाइमा पुर्याउँछ ।

पिरती नै सम्पत्ति– यस गजलमा गजलकारले पिरतीलाई उच्चता दिंदै लेख्छन् –पिरती नै सम्पत्ति हो धनलाई के् गरूँ म, बिरूवा त सारि दिन्थे मनलाई के गरू म ’ । पिरतीको अघिल्तिर सबै धन दौलत तुच्छ हुन्छ । लक्ष्मीप्रसाद देवकोटाले भनेका छन् ‘हातको मैला सुनको थैला के गनु धनले, साग र सिस्नु खाएको बेस आनन्दि मनले ।बास्तबमा पाल्पालीजीका धारणा पनि प्रेममा उच्चछन् । बिरूवालाई सार्न सके पनि मनलाई सार्न सकिदैन । आत्मामा गएर बसेको बस्तु त मानव जीवनको एक अभिन्न मित्र हो न त यसलाई मेटाएर मेटिन्छ न त यसलाई धोएर पखालिन्छ, न त बगाएर बग्दछ, तनसँग आवद्ध छ, तनमा दुःखदायीकाँडाहरूको वन नै भएर भरिएको छ, । यी दुःखदायीमा दानव नै आवश्यक प्रदैनन् मानिस भए पुग्छ भन्दै गजलकारले कारुणिक यथार्थता पोख्नुभएको छ । आजका मानवको कृयाकलाप दानवीय प्रबृत्तिको छ र यस दानवीय प्रवृतिबाट मुक्तहुन आवश्यक छ । माया पिरतीको उच्चाइसँग धनको उच्चाईलाई तुलना गर्न सकिदैन भन्ने धारणा आएको छ ।

जून हैन –‘जून है न तिमीलाई घाम सम्झिएँ छु, मानिसमा तिमीलाई राम सम्भिएछु’ गजलकारले प्रकाशमय जीवनको खोजी गरिरहेका छन् । शितलतालाई झनै प्रकाशिलो बनाउन जूनमात्र नभै घामको चाहना गरेका छन् गजलकारले । मानिसमा पनि सर्ब श्रेष्ठ पुरुष तथा भगवान रामको स्थानमा स्मरण गरेको कुरा यहाँ प्रष्ट पार्न खोजिएको छ । जीवनको मन्दिरमा तिम्रो मूर्ति राखेर त्यैलाई दिव्यधाम सम्झिएको, माला पनि उनकै जपेको, त्यसैलाई दैनिकी सम्झिएको, यसैबाट चाहेजति माया मिल्छ भनी जिन्दगी नै बास बस्ने ठाम सम्झिएको माइतलाई टाढा बनाएर गोत्र फेरेर आफूसँग मिल्ने नाम सम्झिएको धारण राखिएको छ गजलमा । प्रेममय संसारमा मानवीय जीवनमा एकले अर्कालाई उच्च आदरका साथ ग्रहण गर्नु र त्यसैलाई ईश्वरीय तत्वसँग लगेर जोड्नु र दिव्यधामको संज्ञा दिनु भनेको मायाप्रेमको स्थान गजलकारमा अतिउच्च भएको ठान्नै पर्छ ।

जति भिज्न लागेँ– ‘जति भिज्न लागें त्यति रुझ्न लागे, जति बुझ्न लागें त्यति डुब्न लागें’ । बस्तवमा प्रेमको गहिराईमा डुबुल्की मार्नको लागि त्यसमा भिज्नु पर्दछ, त्यसमा रुझ्न पनि सकिन्छ र आनन्दमय अनुभूति पनि गर्न सकिन्छ ।बुझ्दै जाँदा रसदार आनन्दको अनुभूति हुँदै जान्छ र मानिस त्यसैमा डुब्न थाल्दछ । निस्वार्थ प्रेमको डुबाइले निश्चय नै दुवै पक्षलाई हितकारी फल प्राप्त हुन सक्छ तर स्वार्थी डुबाइमा डुब्न थालियो भने जगतको नजरमा पनि खसिन्छ र आफै शर्ममा परेर लुकी लुकी हिड्न पर्ने अवस्थाको सिर्जना पनि हुन्छ । यो अवस्थाको सिर्जना त आफ्नै अहम्तारूपी कारणबाट हुन जान्छ । यो‘ मै हुँ भन्ने बानी मेरै शत्रु मानी, आँखा खुलेपछि सारै सुक्न लागे’ । अहम्भावना निश्चय नै मानिसको ठूलो शत्रु हो यसबाट मुक्तिप्राप्त गर्दा मानवले सुमार्गको अवलम्वन गर्छ । यस्तो अर्ती प्राप्त गर्दा केही बोझिलो पनि हुन्छ । यही बोझिलो कारणले गर्दा मानव श्वभाव नम्रतामा झर्छ भन्ने सन्देश दिंदै गजलकार भन्छन् –अन्त्यसम्म पनि पूर्ण देखिदैन मेरो बुद्धिले त यही बुझ्न थालें’ । प्रकृतिको सिर्जनामा सबै चिजमा पूर्णता कोहीं पनि हुँदैन । यो कटुसत्य पनि हो ।

मीठा ती नजर–
नजर थरिथरिका तर मीठा ती नजर जमाएर, रहरलाई समाएर दिललाई उघारेर, मायाको सहर बनाएर, फुलाएको स।तरङ्गी फूल केशमा गुँथेर रमाएर, पिरतीको पसल खोलेको छ, साझेदारीमा कमाएर, अकबरी सुनहुँ कसी लगाएर जँचाएर आऊ, कथम्कदाचित मुटुको तार छिन्न गए असर देखाई रसाएर आऊ भन्ने आग्रह गरिएको छ । कसैलाई ग्रहण गरिन्छ भने अवश्य पनि त्यसको बारेमा जानकारी हुनु पर्दछ अकबरी सुन किन नहोस् त्यसमा कसी लाउनै पर्छ । सुद्धताको पहिचान गरेरमात्र त्यसलाई ग्रहण गर्नु पर्दछ । दगजलकार शुद्धतामा प्रष्टछन् ।

मायालु ती आशा–
मायालु ती आशा बिलाउन सकिनँ
लजालु ती आँखा मिलाउन सकिनँ

तर तस्वीर तिम्रा दिलमा सजाएँ, रसाएका ओठ सिलाउन सकिन, मनरूपी दहलाई पिलाउन सकिन, पौरख गरे पनि निर्मोहीको माया जिलाउन सकिन हेराइले छवि नै विग्रो तर असल कुरालाई दिलाउन सकिन भन्ने भावनालाई पोखिएको छ । याद आउँछ दिलमा सजिन्छ, भावनालाई पोख्न सक्नुपर्र्छ र बुझ्न पजि सक्नुपर्छ अनि मात्र सफल भइन्छ ।

दैवको वरदान–
दैवको वरदान बराबर छैन
गाह्रो छ नियम सरासर छैन

संसार विषमताले भरिएको छ, नारा थरिथरिका फलाकिन्छन्, कसैको भरोसा मान्न सकिदैन, कसम खानेहरूको कुरा पनि मान्न पर्ने कर र्छैन रूप पनि पहेंला उजेला देखिन्छन् र इमान र व्यवहारमा पनि समानता छैन तर लेखेको नभोगी कहाँ सुख मिल्ला, रीतमा नडुबी चराचर छैन भन्ने धारणा राखिएको छ । लेखेको पाइन्छ देखेको पाइदैन तर पनि इमान र व्यवहारलाई त्याग्न भने हुँदैन । असमताले भरिएको संसार भए पनि समनताको चाहना भने राख्नै पर्छ ।

सानो छ घाँटी–
यो गजल द्वन्द्वसँग गाँसिएको छ र आशंकाले भरिएको छ । पढौं तलका शेरहरू

सानोछ घाँटी मेरो छप्काइदिने त हैनौ,
ओतिलो घर मेरो भत्काइदिने त हैनौ ?

तिम्रो चालचलन हेर्दा, बन्दुक भरेको देख्दा पड्कादिने हौ कि ? तिम्रो अभद्र व्यवहार देख्दा भर लाग्दैन, अहंकारी भएर मुटुको पिरतीलाई लप्काइदिने त हौ कि आदि प्रश्नको साथै गजलकारले भन्छन् –

उमारे थोरै आशा मनको किनारभित्र,
चम्काएर खुकुरीझैं चप्काइदिने त है नौ
भन्ने धारणा राखिएको छ

भत्किदैछ गाह्रो–
भक्तिँदैछ गाह्रो दरबार बन्दा बन्दा
तर्किदैछ माया घरबार बन्दा बन्दा

मानव जीवनमा यस्तो समय पनि आउँछ विकास पथलाई निरन्तरता दिन चाहँदा चाहँदै पनि सवलता छाड्दै दुर्बलमार्गतिर धकेलिन्छ । मनका आशाका पाथीलाई चुल्याउन चाहे पनि, त्यो चुलिन सक्दैन, मिनार बन्न सक्दैन, फूलका वाग सजाएर गुल्जार बनाउन चाहे पनि, गुल्जार बनाउन सकिदैन बरु सुक्न थाल्दछन् र स्नेहका मूलहरू फुटाएर माझधार बनाउन चाहे पनि सुक्न थाल्दछन् । गजलकारले चाहेको निर्माण संसारको अनुभूति अल्झिदै जान्छ र सकिदै जान्छ –

अल्झिदै छ किन कञ्चन पारो मेरो
सर्किदै छ माया संसार बन्दा बन्दा

जीवनमार्ग सधैं एक नासको रहँदैन, प्रगतिको मार्गमा पनि अवरोध आउँछ भन्ने धारणा आएको छ । यो सत्य तीतो हो भन्न सकिन्छ ।

निर्मोहीको मुहार–

प्रेममा आधारित यो गजलमा गजलकारको धारणा छ –

निर्मोहीको मुहार भुल्न सकिएन
ईश्वरको विचार बुझ्न सकिएन

प्रेम भनेको मेरो बिचारमा दुई व्याक्ति बीचको भावनात्मक आकर्षण हो । प्रेमको परिभाषा व्यापक छ । विविध खाले प्रेमका प्रकार पनि छन् । एकोहोरो प्रेममा एक व्याक्ति अर्को व्यक्तिसँग आकर्षण हुन्छ तर अर्को व्याक्तिलाई त्यो आकर्षणले छुँदैन त्यति वेला माया गर्न गल्ती गरेको भान हुन सक्छ, मानव स्वाभीमानी पनि हुन्छ, ऊ झुक्न पनि त सक्दैन, वेसहारा जस्तो भएर खुल्न पनि सक्दैन, पीरवाधाहरू सहन सक्छ तर काँचो धागोसरि टुट्न पनि सक्दैन हराभरा जीवन पनि वैलिएझै लाग्न जान्छ पाकेको इमली सरह पाकेर पनि सुक्न सकिदैन भन्दै गजलकारको मार्मिक धारणा यसरी प्रष्टिन्छ–

उनी अति अनमोल मूल्य नभएकी
बराबरी उहाँको पुग्न सकिएन

यो प्रकृतिले प्रदत्त चिजहरूमा कोही पनि कसैको तुल्य हुँदैन । र्इैश्वर भन्नु भावनाको अनुभूति हो । यो अनुभूतिमा ईश्वरको बिचारलाई जसरी ग्रहण गर्न सकिन्छ त्यसरी नै गर्ने हो ।

सुख शान्ति दिने

सुख शान्ति दिने मेला कहिले आउला
आफैलाई चिन्ने बेला कहिले आउला

विषमताले भरिएको यो संसारमा समताको खोजीमा गजलकार छटपटाउन थाल्दछन् र उनले प्रश्न राख्छन्– सुख शान्ति दिने मेला कहिले आउला, मानवले आफूलाई चिन्ने बेला, ठूलो सानो जातभात आदि भेद समाप्त भै बराबरी हुने बेला देशमा झुटको आडछोडेर सत्यतथ्य खेल खेलेर देश विकास गर्ने वेला कोही महलमा बस्ने र कोही पाखा पखेरामा बस्न पर्ने विषमताको अन्त हुने बेला कहिले आउला भन्दै गजलकनारको धारणा यसरी झल्किन्छ –

कोही रुन्छ भोकले कतै व्यञ्जन मीठो
प्राण धान्न पुग्ने जेला कहिले आउला

शित हुन सकिनँ

यस गजलमा गजलकारले आजको मानव प्रबृतिलाई केलाउने प्रयास गरेका छन् ।

शित हुन सकिन पातहरूमा बस्न
मित हुन सकिन हातहरूमा बस्न

शीतलता कोमलताको अभाव, मित भएर हित गर्न नसकेपछि जालहरूमा प्रवेश गरेर कालोलाई पचाउन सक्षम देखिए पछि, साम दामको प्रयोग कर्ता भए पछि आँखामा बिझ्ने भएर सबैलाई डराउने बनाए पछि रातमा बास बस्न पनि नपाइने समाजमा मीठो हुन पनि नसकिने भन्दै गजलकार लेख्छन् –

कार्य मेरा नूतन हुन नसकी होला
मीठो हुन सकिनँ वातहरूमा बस्न

अक्षुत त होइन म

प्रेममा समिपता खोज्दै गजलकारले भन्छन् –

अक्षुत त होइन म छोइदिएर जाऊ
पिरतीको दाग मेरो धोइदिएर जाऊ

प्रेममको यादको अग्नि ज्वालाले जलाउँदा प्रेमको मोइको शीतलताको आवश्यकता पर्दछ, जीवन साथीको लागि कुरेर बस्दा मनको ग्रन्थी बाँधिन जान्छ,, त्यसलाई फुकाउन पर्छ, समिपताको खाँचो पर्दछ, प्रेममा विहोल भई रोइ बस्दा साथै रोइदिनेको आवश्यक पर्दछ भन्ने धारणा आएको छ । बास्तवमा साँचो प्रेम नै सफलताको कडी हो । सामजिक बन्धनले बाँधिएको मानिसलाई एक्लो महसूस हुनदिन हुँदैन भन्ने धारणा छ गजलमा ।

ती आँखाको सगरमा

ती आँखाको सगरमा डुवाइरहेछौ
आजभोलि मलाई पनि भुलाइरहेछौ

बास्तवमा यी नयनरूपी प्रेमसागरमा जति पौडी खेले पनि तृप्त भइदैन । समय गएको पत्तै लाग्दैन, जति हेरो त्यति राम्रै देखिन्छ त्यसैमा मन डुलिरहन्छ, सुर ध्यानहरू हुरी बनी उडाइरहन्छ, नयनका ती प्यालामा कमल फुलेको देखिन्छ र लाग्छ –

निराशाका दिन अब अपेक्षा गर्दैछन्
कोपिला झै मन मेरो फुलाइरहेछौ

फूलै फक्रिएको–

प्रेममा आधारित यो गजलमा फूल र प्रेमीलाई तुलनात्मक चित्रणा गर्दै आशालाग्दा भावनालाई छर्दै गजलकारले प्रश्न राख्छन् –

फूलै फक्रिएको बास छर्न हो कि ?
तिमी हुर्किएको आस भर्न हो कि ?

कोपिला फक्रिएर सुवासले युक्त हुन्छ फूल । यौवनताले भरिए पछि आश लाग्दि हुन्छिन् प्रेमिका । ज्योतिपूर्ण भएर, माथि इन्द्रेणीसँग लतासँग झुल्दै तल ओर्लनु, मनको बगैंचामा सर्न साथै मन चोर्न आएको हो किजस्तो लाग्नु प्रेमसागरमा दुवैसँगै सँगै तर्नलाई हो कि भन्दै गजलकारले प्रश्न राख्दै भन्छन् –

बन्द कोठाभित्र ओठ चले तिम्रा
मनमा गुम्सिएका कुरा गर्न हो कि ?

मनको बह कतै नकह भनिन्छ तर कहिले काहीँ पोखेर हलुको बनाउन पर्ने हुन्छ ।

बाजी त मारिएन

बाजी त मारिएन सफाइ कम भयो कि
माया त नारिएन फकाइए कम भयो कि

बाजी मार्नको लागि सफाइको आवश्यक्ता र माया नार्नको लागि फकाइको प्रचुरता, कर्मको नाउलाई पारितार्न खियाइको आवश्यक्ता, रोगका खरखजनालाई झार्न उच्चाइको आवश्यक्ता र जीवनलाई सुन झै झलल पार्न खारेर गलाउनु पर्ने आवश्यक्ताको साथै कुनै चिज टार्नको लागि सुनाइको आवश्यक्ता पर्ने हुन्छ भन्ने ठहर छ गजलमा ।

महङ्गीले

महगाइले गरिब जनस्तरमा पारेको असरलाई गजकारले प्रष्ट्याउने प्रयास गरेका छन् ।

महगीले शासन चलाइरहेछ
गरिबको खुबी गलाइरहेछ

आज देशका गरिब जनतालाई महगीको मार सहन बाध्यता छ र गरिबीले गरिबी जनतालाई गलाइरहेको छ । रोज गारिबको अनौलताले दुखियाको पेट दुखाइरहेको छ । आजको फेसनले क्यान्सरको रूप धारण गरेकोले घरघरमा रोग बढ्दो क्रममा छ । यस्तो पीडाबाट निकास हुन आवश्यक छ तर गरिबले कहिले निकास पाएर विकास होला भन्ने आशा पनि हराइरहेको छ । यी सबै पीडाबाट मुक्ति प्राप्त गर्नको लागि जानकारी पाउने अधिकार हो र आवश्यकता पनि तर त्यो पनि आज निदाइरहेको छ भन्नुहुन्छ गजलकार

दिएका चोटहरू

प्रेमीकाले दिएका चोटहरू लिएर, मिलेका खोटहरू सिएर, छातीभित्रको सानो मुटुमा प्रेमिकाका फोटाहरू सजाएर राखेको तर दिनहुँ दुःख दिने मायाको रित रहेछ । त्यो प्रेमको रित विषालु हुँदो रहेछ विष भए पनि पिएर जिएर बसेको छु । फलाम सरिको बलियो ज्यान प्रेमको खियाइबाट खिएर गएको छ । तर पनि गजलकारले भन्छन् –

हजार कष्टहरू समेटी बसेको छु
पानी झै रोगहरू पिएर राखेको छु

प्रेमको यो रोग अति कष्टकर हुँदाहुँदै पनि जब मानिसमा यो रोगले समाउँछ मुक्ति प्राप्त गर्न कठीन हुन्छ, मानिस अल्झिदै जान्छ बल्झिदै जान्छ र अति कष्टहरूलाई अङ्गाल्दै जान्छ ।

सबैसँग–

प्रेममा आधारित यो गजलमा गजलकारले भन्छन् –

प्रगतिको पथ मायाप्रीति रैछ
दुःख दिने बाटो छोडू छोडू लाग्छ

यसको लागि गजलकारले सबैसँग हात जोड्ने, हृदयमा भएको पत्थर फोड्ने, चारै दिशा घुम्नलाई छेक्ने बार/ अबरोधलाई तोड्दै शान्ति प्राप्त गर्ने बाटोको अबलम्बन् गर्ने आवश्यक छभन्दछन् । शान्ति मार्ग अवलम्बन गर्न आपसमा मेल मिलाप हुनु पर्दछ । यस्तो शान्तिप्रिय मार्गमा हिड्दा कसैले खलल पुर्याउँछ भने त्यो विषालु झार हो त्यसलाई गोड्नु पर्छ तथा फाल्नु पर्छ र मीठो मायाको मार्ग अबलम्बन गर्नु पर्छ भन्दै गजलकारले लेख्नुहुन्छ–

यो जगतभरि छाया दिन सक्ने
यही मीठो माया ओढूओढू लाग्छ

जगतभरीलाई मायले ढाक्ने चीज मीठो मायालाई आत्मसात गर्नु पर्दछ र शान्ति प्राप्त हुन्छ भन्ने ठहर छ गजलकारको ।

थोपाथोपा पसिनाको

श्रमको खोजीमा लागेका गजलकारले थोपाथोपा पसिनाको काम आउनु पर्ने, काम ठूलोहोस् या मसिनो होस् त्यसबाट दाम आउनु पर्ने, जाडोले काप्दो शरीरलाई न्यानो दिन घाम लाउनु पर्ने, कसैले काम दह्रो बनाएर अघि बढ्छ भने तुल्य तुल्यसरीको माम आउनु पर्ने, प्रगति होस् भनेर झण्डा बोकेर हिड्दा नाम आउन पर्ने र जता गए पनि अँध्यारो भएर बाटो रोकिन्छ भने बाटो खोल्न राम आउनु पर्ने तरत्यसो हुन सकेको छैन/ त्यस्तो समय आन सकेको छैन भन्दै गजलकार भन्छन् –

तन मन लगाएर कति जोहो गरें
तर पनि सुख दिने ठाम आइदिएन

गजलकारले पसिनाको मूल्य खोजेका छन् र यथास्थानबाट प्राप्त हुने सहयोगको अपेक्षा राख्दा पनि आजको यो संसारबाट प्राप्त हुनपर्ने तर प्राप्त हुन नसकेको यथार्थता परक धारणालाई यहाँ पस्केका छन् ।

हाम्रो हित

मातृभूमिमा शान्ति र सबैलाई हित हुने प्रीतको खोजीमा छन् गजलकार–

हाम्रो हित हुने हित माग्दैछु
देशमा शान्ति हुने प्रीत माग्दैछु

देशमा रहेका भीर पाखा सबै ठाउँमा एकै सुर दिने गीतको खोजीमा, आमालाई हँसाउने मीतको खोजीमा, आमाले न्यानो माया दिएर यो प्राणलाई थामेको हुँदा आमाको मान राख्ने् रीतिथिति बसाल्नु पर्ने आवश्यक रहेको र आमाको लागि जीवनै कुर्वानी गर्न परे कुर्वानी दिएर भए पनि सधैं आमाको जित हुन आवश्यक छ भन्ने धारणा आएको छ गजलमा । जननी र जन्म भूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ भन्ने धारणा आएको छ गजलमा ।

सजाएर राख –

यो पनि प्रेमीकालाई आफ्नो चोखो मायालाई जे जसरी राख्ने हो राख भन्ने सुझाव दिंदै गजलकार लेख्छन् –

सजाएर राख बचाएर राख
दिएँ चोखो माया जोगाएर राख

कमल फूल हिलोमा फुल्छ तर यसलाई शीरमा सिउरेर लगाएर राख्न सकिन्छ । प्रेम पनि आदरताको साथमा बचाएर तथा जोगाएर राख्नु पर्दछ । प्रेम भनेको सनातन हैन यो बराबर हो । त्यसो हुँदा गलाएर होस् या दलाएर होस्, सारा पसिनाको धारा तिर्मै लागि झारिदिएको हुँदा चिस्याएर होस् या उमालेर होस्, यदि कसैले जान्दछ भने माया जीवनमा फुल्ने वसन्त हो यसलाई विझाएर होस् या रिझाएरहोस् राख्नु पर्दछ भन्दै गजलकारल यस्तो आग्रह गरेका छन् –

यो जुनी त मैले तिमीलाइदिएँ
हँसाएर राख रुवाएर राख

बास्तवमा प्रेमिले प्रदान गरेको चोखो प्रेमलाई प्रेमिकाले हँसाएर सुखमय जीवनको परिकल्पनामा राख्नु दायित्व पनि हो । गजलमा भावनात्मकरूपमा यथार्थ प्रेमलाई प्रदान गरिएको छ । यसको ग्रहणा गर्ने या नगर्ने त्यो त प्रेमिकामा भर पर्ने कुरा हो ।

प्रकृतिको यस्तो रित

प्रकृतिको यस्तो रित नहुँदो हो
मेरो पनि यस्तो प्रीत नहुँदो हो

प्रकृतिले सजाएको प्रकृतिले चलाएको यो रीतलाई कसैले पनि बदल्न सक्दैन । प्रकृतिको जस्तै अकाट्य हुन जान्छ प्रेम पनि । प्रीतको सुमधुर गीतको धुनको अगि सबै साजबाज फिका पर्दछन् । जिन्दगीमा मिल्ने मीतको अभावमा पनि जीवन उराठिलो र काँडासरी हुन जान्छ । यो सारा संसार नै मायामोहतिर लाग्नुको कारण पनि पिरतीले सबको हित गर्दछ र युग युगसम्म मायाको जय जय हुन्छ र जित हुन्छ भन्ने कारणले नै हो । गजलकारको धारणा स्पष्ट छ । मायाले यो संसारमा आफ्नो जरो दर्बिलो रूपमा गाडेको छ र मायाबाटै यो संसार चलेको छ ।

निर्मोहीले–

जब मानिस एकोहोरो मायामा फस्छ दोहोरो मायाको अनुभूति हुँदैन उसले ठानेको मोही नै निर्मोहीमा परिणत हुन्छ । निर्मोहीका नयन चलाईबाटै हृदयमा आगो जल्न थाल्दछ । हृष्टपुष्ट हट्टाकट्टा मानिस पनि थलापर्न जान्छ हिउँसरी गल्न थाल्छ, निर्मोहीमा कुनै असर देखिदैन बरु लहलह हुँदै जाने तर प्रेमी भने मध्यान्नको घामबाट सुकेर मरणासन्न हुन जान्छ भन्दै गजलकारको यो गजलको अन्तिम शेरबाट मार्मिक वेदनालाई आत्मसात गरौं–

आकाशमा उडेँ पातालमा गुडेँ
कस्तो नशा फ्याँकी ढलाएर मारिन्

जति गाह्रो –

जति गाह्रो हुँदोरैछ गीत चिन्नलाई
त्यति गाह्रो हुँदो रैछ मित चिन्नलाई

सुनको शुद्धता पहिचान्को लागि कसी लगाए सरह हरेक चिजको पहिचान गर्नु पर्दछ । खास बस्तुको यथार्थता बुझ्न गाह्रो पर्दछ । मानिसले मानिसलाई चिन्न सर्बप्रथम उसको व्यवहारलाई चिन्न सक्नु पर्द छ । व्यवहारमा शुद्धता बिनाको मानिसलाई कसरी राम्रो ठान्नु ? गीतको भावलाई र मीतको व्यवहारलाई चिन्न गाह्रो हुन्छ । प्रकृतिको रित आफ्नो मार्गमा छ तर मानवको रित तथा कर्मशैली चिन्न गाह्रो छ किनकि यो आफ्नो मार्गमा चल्दैन । यसरी नै सामानको प्रयोगको हीतकारिता, प्रेम पहिचानको लागि सुमार्गको पहिचान, युद्धमा हुने तलमाथि र त्यसको जीतलाई पहिचान गर्न गाह्रो हुन्छ तथा सहज र सुलभ तरिकाबाट कुनै चिज प्राप्त गर्न सकिदैन यस्को लागि प्रयत्नको खाँचो पर्छ भन्ने धारणा छ यस गजलमा ।

सक्रिय उहाँलाई –

सक्रिय उहाँलाई बनाउँ कसरी ?
जीवनभरिलाई मनाउँ कसरी ?

गजलकार।ले जीवनभरको साथ खोजेका छन् र जीवन भरलाई मनाउने प्रयासमा छन् । मयाका कहानी खात भएर बसेका, डेरा जमाएर वेदना बसेका धर्तीभरि अनेक रहरहरू रुमलिएर बसेका छन, यी मार्मिक यथार्थताहरूबाट उनलाई कसरी आश्वस्त पार्ने र उनको जीवनभरको साथ कसरी लिने भन्ने मार्ग खोजिरहेका छन् गजलकारले ।

छातीको डहन यो –

कहिले छातीमा बज्र पर्छ कहिले छातीमा डहन हुन्छ मायालाई प्राप्त गर्न मायाका सोपानहरू चढ्न सक्नु पर्छ । मानिस सानो भएर के भो हिम्मत सानो हुनुहुन्न, प्रेमका शत्रुलाई बीचबाटोमै छेक्न सब्क्नु पर्छ चोटलाई फर्काउन सकिन्छ कायर भएर बाँच्न हुँदैन, निर्दयी घातीसङ्गबाट कुनै चिज प्राप्त गर्न सकिदैन, सारा पीर बाधा खेप्नलाई र न्यानो मायाको रोगलाई दिलमा सेक्न देऊ भन्दै गजलकारले यसरी आग्रह गरेका छन्–

बहिरङ्ग किन धाउँ ओखती किन खाऊँ
न्यानो मायाको दिलमा यो रोग सेक्न देऊ

प्रेमिकाका सारा दर्द आत्मसात गर्न खोजिएको छ । माया सफल भएमा सारा दर्द औषधी विना नै रोग मुक्त हुन सकिन्छ ।

हुनुपर्ने–

हुनुपर्ने भाकिरैछौ बैंस भरेर हो कि त
जति हेरें त्यति राम्ररी मन पारेर हो कि त

जवानीले मानिसको शारिरिक सौन्दर्यताको संरचना नै आकर्षणयुक्त परिवर्तित भएको जस्तो देखाइ दिन्छ । बास्तवमा मानिसको रूपरङ्गलेभन्दा पनि प्रेमको आकर्षणबाट नजिकिन जब थाल्द छ जति कुरूप भए पनि नयनमा सुन्दरताले ढाक्दछ । मन तरल भएर बग्छ ।आँखाले एक टकले हेरिरहन्छ मानिस टोलाउन थाल्छ, दुब्क्लाएर जान्छ,, यो कर्म एकतर्फि र दुवै तर्फ लागु हुनसक्छ तर यहाँ भने –

आजभोलि बोल्दा पनि किन हिड्यौ नबोली
तिम्रो मन अन्तैतिर बास सरेर हो कि त

एकोहोरो प्रेमको कारणले मानव जीवनमा पर्ने असर त परेको नै छ प्रैमिका आज भोलि बोल्न पनि छाडेकी छन् ।

दिन काट्नलाई–

दिन काट्नलाइरहर भएन
माया गरी हेर्ने नजर भएन

भावुकताले भरिएका यी शब्दले महत्वपूर्ण काम नगरी दिन बिताउने रहर नभएको. माया गरेर पनि हेर्ने नजर नभएको, गहना सरिका महत्वपूर्ण कामहरू बोकी बोकी हिड्दा पनि कुनै असर नदेखिएको, वर्षाबाट जोगिनको लागि बास नभएको, सबको सेवा गर्दा गर्दा शरीर घट्दा पनि कदर नभएको र मुद्दाहरू बोकिरहँदा पनि न्याय दिने धर्म सदर नभएको भन्दै कर्मको फलको खोजीमा लागेका छन् गजलकार । हुन त गीताले कर्म गर्दै जानु पर्छ फलको पछि लाग्नु हुँदैन भन्ने धारणा राखेको पाइन्छ ।

जाँच्दा जाँदा –

यो पनि प्रेममा आधारित गजल हो । यस गजलमा

जाँदा जाँदा मुसुमुसु हाँसिदिए हुनेथ्यो
यो मनको ढुकढुकी मासिदिए हेुनेथ्यो

भन्ने धारणा बोक्दै पिरतीको जलनले मनलाई पोलिरहेको, विरहको रापलाई नास गरिदिए हुने, माइत बस्दा पनि फोटोलाई दिलमा टाँसेर गइदिए हुने, प्रेमको भोकले साह्रै सताउँदा ताजा ताजा माया नभए पनि बासी मायाले भोक मेटिदिए हुन्थयो, सम्झनाले तानेको अवस्थामा माया गाँसिदिए हुन्थ्यो भन्दै पाल्पालीजीले प्रेमिकाबाट टाढारहँदाको असहजताको अनुभूतिलाई सहजरूपमा पस्कनु भएको छ ।

सानधरी आँखाभरि

सानधरी आँखाभरि धार किन बनायौ
मुटुभरि मार हानी चार किन बनायौ

गजलकारले भावनाले भरिएको मुटुलाई बोकेर, प्रश्न राखेका छन् । चन्द्रज्योतिसरिको नयनज्योतिको चाहना छ । गजलकारले मुटुमा मार हैन, प्यारको मल्हम खोजेका छन् । विषालु तीरको धार प्राप्त हुन गएको छ ।उनी प्रश्न गर्दछन् – तर फूल छाडेर काँडामा जाने रहर कसरी पलायो, मार किन बनाएको, फूललाई झारमा परिणत किन गरेको, तिमीमा परेको घाउमा मलम दल्न जाने बाटोमा काँडा लगाइएको आदि किन भयो भन्दै गजलकारले प्रेममा देखिएका वेवधानका सारा प्रश्नको उत्तर खोजेका छन् ।

पिरतीको आश –

पिरतीको आश बिलाएको छैन
प्रेमसुधा कसैले पिलाएको छैन

प्रेम गर्नेले निश्चय नै आश गर्दछ र प्रेमसुधा पिउने चाहना हुन्छ तर गजलकारले सो अनुभूति गर्न पाएका छैनन् । पैरो जान सक्छ तर बाटो मेटिदैन, अपेक्षा राख्नेले अपेक्षाको थैलो सिलाएको हुँदैन, जब कसैसँग प्रेममा नयनमा नयन मिल्छन् अन्त नयन मिलाउने प्रयास हुँदैन अर्थात भएको छैन, तिमीमा नै मन जमाएर राखेको र मन कतै हिलाएको छैन भन्दै गजलकारले प्रेमीकालाई प्राप्त गर्नको लागि देवतासँग माग गरेका छन् ।

मायालुको मनभित्र–

यस गजलमा गजलकारले प्रेम त भयो तर यसबाट प्राप्त उपब्धी केही हुन नसक्ने ठहर गरेका छन् –

हीरामोती सुनचाँदी जति जोडे पनि ।
मेरो नाम लेखिएको घुर आइदिएन

मायालुको मनभित्र सुर नआएकोमा लगानी डुब्ने भयो,मनलाई छाती खोलेर दिंदा पनि उपलब्धी नहुने भयो, चाडपर्व दशै तिहारमा मायाँसँग घुम्ने फिर्ने दिन नआएको, हीरा मोती सुन चाँदी जति जोडे पनि स्वनाम अंकित घुर नआएको, सारा ऋतुलाई लुटाएर सके पनि आठै प्रहर पर्खि बसे पनि कुनै चीज प्राप्त गर्न सकिएन भन्ने धारणा आएको छ गजलमा ।

खुसीलाई उम्काएर–

खुसीलाई उम्काएर पाइने हो कि होइन
दुनियामा जन्मि फेरि आइने हो कि होइन

प्राप्त खुसीयालीलाई उपभोग गर्नु पर्दर्छ, । आएको खुसीलाई उम्काउनु नहुने किनकि पुन जन्मेर आइन्छ या आइदैन अर्थात पुनर्जन्म हुने कुरा प्रमाणित छैन । रमाइला दिनहरू टिकेर धेरै दिन बस्दैनन्, यो पनि निश्चित छैन कि पछि पुनः यस जगतमा छाइन्छ या छाइदैन, कञ्जुस्याइँ गरेको सम्पत्ति प्राण छँदै खाइने हो कि होइन, चार दिनको जिन्दगी कतिसम्म टिक्छ र पिरतीको जुवामा नारिएर दाइने हो कि हैन, अहम्ताले गर्दा सन्तोष पाउन गाह्रो छ र जिउँदासम्म पुग्ने माया चाहिने हो कि होइन भन्ने धारणा मार्फत गजलकारले संसारमा निश्चितता कुनै चिजमा पनि नभएको हुँदा प्राप्त उपलब्धीलाई सहस्र उपभोगमा ल्याउनु पर्छ भन्ने धारणा प्रस्तुत गर्नुभएको छ ।

डराएर बसूँ भने

डराएर बसूँ भने हराएझैँ लाग्छ
बढाएर बोलूँ भने कराएझैं लाग्छ

गजलकारको धारणामा न त डराएर बस्नु नै ठिक हो न बढी बोल्नु नै ठिक हो । मूक रहन हुँदैन बोल्न बोल्नै पर्छ । निमुखाझै धम्की सहन हुँदैन । शिरैमाथि लगेर कसैलाई राख्न पनि हुँदैन । प्रकृतिले बराबरी बनाएर राख्न पनि दिएको छै्रन । मानव जीवन समय सापेक्ष तलमाथि भै नै रहन्छ । आजको जमनामा मानिसले पिशाचले गर्ने काम पनि गर्न थालेका छन् र मान्छेले मान्छेलाई नै चराउन थालेको भान हुन्छ । अधिकारको खोजी गर्दा पनि पहूँचवालाको नै बोलबाल देखिन्छ र गरिबले पाउने हकहित पनि सहज छैन आजको थिचोमिचोबाट जोगिनको लागि भनिएको छ गजलमा ।

छातीको भित्र

छातीको भित्र पोल्ने मनलाई के गरुँ म
धोका दिएर हिड्ने जनलाई के गरुँ म

जीवन सङ्घर्ष हो । जीवनमा छातीभित्र पोल्ने दर्द पनि हुन्छ धोका दिएर हिड्ने प्रिया पनि हुन्छिन् । मीठा रसिला बाचाबन्धन नै फुकाएर के नै गर्छु भन्ने यो जीवन नै च्याट्ट छाडेर जान्छ, कतिले थाम्नै नसकिने कष्ट दिएर जान्छन् तर गजलकारले उनले दिएको दुःख बोक्न पनि गाह्रो भएको र भक्कानु छुटी रुनु पर्ने अवस्था तथा प्राप्त धोकालाई बोकीनलाई के भन्ने भन्दै प्रश्न राख्छन्–

सम्पत्ति पिरतीको कमाउँदै के थुपारौं
साँपले झैं डसिदिने धनलाई के गरूँ म

के हुने हो

के हुने हो माया छाडी जानपर्दा
जीवनको पिँजडा फोडी जानपर्दा

जीवनको पिँजडा फोडी जान पर्दा, के हुने हो माया छाडी जाँद, फूलको माला तोडेर जाँदा पसिना र खुनले हुर्काएको बाली गोडेर छोडी जाँदा, कामकाज अर्धअलपत्र पार्दै यमराजको काम्लो ओडी जान पर्दा बगैंचाका बिरुवालाई कोपिलामा छोडी जानुपर्दा के होला भन्दै आशंका दर्शाइएको छ । यो् धु्रब सत्य हो कि मानिस जन्मेपछि एक दिन मर्नै पर्छ । कहिले मरिन्छ त्यो भने कसैलाई थाहा हुँदैन । मर्नु निरंतर प्रकृया हो । यो प्रकृयामा के हुने हो भन्नुभन्दा मर्नुभन्दा पहिले गरिने कर्मलाई गर्दै जानु नै उपयुक्त हुन्छ ।

मोहनी रूपको

मोहनी रूपको जालमा परेर
जिउँदै मरेनी चालमा परेर

सिङ्गारिक रसमा सिर्जित यो गजलमा मोहनीरूपको जालमा जब परिन्छ तव के नै हुँदैन र चालमा पर्न सकिन्छ, गालमा पर्न सकिन्छ, परेर आँखाको तालमा मजाले डुबिन सकिन्छ र सुनौला बालमा पर्न सकिन्छ, मायाको रमाइलो खालमा परेर जीवनलाई नचाउन सकिन्छ भन्ने भावनाले सजिएको छ गजल ।

गल्ती भयो

गल्ती भयो केही कुरा गर्न जानिएन
भष्म भई पिरतीमा मर्न जानिएन

पिरती गर्दा गल्ती भएमा भष्म भएर मर्न सकिएन, दुनियाँका फूलबारीमा धेरै फूलहरू थिए ती मध्ये एउटालाई हृदयमा बेर्न सकिएन, कार्य ठीकैसँग चल्दा पनि गाउँबाट सहर सर्न सकिएन, अग्रसर भएका पाउ धूरीबाट तल झर्न सकिएन निर्मोहीको जालभित्र पर्न नसक्नु, धेर थोर हातमुख जोड्ने बस्तु आफै्रसँग भएकोले लोभमा फसी वनपाखा चर्न सकिएन, दिलको कुरा सुनेर मगजले नसोचेर वारि छाडी पारीतिर तर्न जानिएन भन्ने धारणा आएको छ गजलमा । विकासमा लम्कनको लागि धेरै कुराहरूको ख्याल गर्नु पर्छ र मात्र आफू अघि बढ्न सकिन्छ भन्ने धारणा छ गजलमा ।

घुमेर सिद्धिदैन

घुमेर सिद्धिदैन बाटो यो मेरो देशको
चुमेर सिद्धिदैन माटो यो मेरो देशको

राष्ट्रप्रति समर्पित यो गजलमा देशको बाटो घुमेर देशको माटो चुमेर आमाका गर्भ भित्रका अमूल्य खजनालाई बुझेर सकिदैन, प्राण धान्नको लागि खाइने आटो खाएर नसकिने, मायाको खानी अखण्ड र अटल हुन्छ यसलाई चुड्न चाहेर चुड्न नसकिने, शत्रु आएर हाँगा भाच्न लागे भने भाटो नै खुकुरी बनेर फाँडिदिनु पर्छ छ र आमाको माया जान्नको लागि आमा मरेर गए पनि हरेक जुनी आमाप्रतिको खाटो रहिरहन्छ भन्ने धारणा आएको छ गजलमा ।

जता जहाँ जाऊँ

जता जहाँ जाऊँ सुनेँ तिम्रो् चर्चा
म कल्लाई बताऊँ सुने तिम्रो चर्चा

एक युवतीको सुन्दरताको चर्चा सानो पथदेखि ठूलो पथसम्म, लेकबेसी, गाउँ, सबै ठाउँ राजा रङ्कदेखि सबै तिम्रा लोभिरहेका र तिमीलाई परि हुन्भन्दा रहेछन् भन्ने चर्चा सुनेको बर्णन पाइन्छ । संसार यस्तै छ कि राम्रो चीजको चर्चा हुन्छ कि नराम्रो चीजको ।

अमृतसरी बोली

अमृतसरी बोली बोलेर जान पाऊँ
पिरती सर्बतझै घोलेर जान पाऊँ

गजलकारले बोली अमृतसरी बोल्न सकियोस्,पिरती सर्बत झै घोलेर जान सकियोस् भएको जिउँदो वजनलाई यही दुनियामा मोलेर जान सकिओस्, भए गरिएका गल्तीजति पोलेर जान सकिओस्, थोरै भए पनि जिउँदाका साथी भाइ मरेका मलामीको हूल जोडेर जान र रूँदै जन्मिन्छ रूवाउँदै जाँदाखेरि बन्द गरेको हात खोलेर जान सकियोस् भन्ने धारणा आएको छ । दुनियामा आएर सबैसँग मेलमिलाप सहित आफ्नो मूल्य र मान्यतालाई राख्दै उदार भएर जानसकिओस् भन्ने धारणा आएको छ गजलमा ।

दुखियाको जिन्दगीमा

दुखियाको जिन्दगीमा बाहार आइदेऊ
माया र पिरतीको सरकार आइदेऊ

यो गजलमा गजल कारले दीन दुखीको बहार, माया र पिरतीको सरकार, दुःखदाइ पीडा झेल्दा खाना रहित भएकोले सशक्त जीविकाको घरवार, पथ छोडेर नगइ दिलमा आइदेऊ डुँगा तार्न पतबार बनेर मझधारमा आइदेऊ, मन उदासिएको अवस्थामा बतासि भएर हरेक समय आइदेऊ भन्ने धारणा पस्किएको छ गजलमा ।

कलम समाति

कलम समाती उसले तक्दिर फेरिदिएमा
लाग्दैन केहीबेर मालिकले हेरिदिएमा

ईश्वरप्रति लक्षित गरेर लेखिदिएको यो गजलमा गजलकारले तक्दिर उसले केरिदिएमा र हेरिदिएमा भएका रोगबाट मुक्त हुन पाइन्छ, उसैप्रति शिर नुगाऊँ, जसले सबैको सुन्छ, मायाले घेरिदिएमा जे पनि हुन सक्ने या गराइदिन सक्छ, उसैले सबैलाई हेर्छ र नसिब बद्ली गरिदिन्छ, कुदिनलाई कोरिदिन्छ र सुदिन आउन सक्छ भन्ने धारणा राखिएको छ ।

यो मनको गोरेटोमा

यो मनको गोरेटोमा हिन्ने कोही भएन
गरिबको मायालाई चिन्ने कोही भएन

धनको बोलाबाला भएको यो ससारमा गरिबको मनको गोरेटोमा नकोही हिड्छ, न कसैले चिन्छ, बजारमा सजाएर राखे पनि किन्ने कोही हुँदैन, गोरेटोमा बटुवाको कमी नभए पनि जीवनका काँडाहरू छान्ने कोही हुँदैन, मौसम फेरिए पनि, प्रेमरोगलाई धुलोपारी पिन्ने कोही हुँदैन, हरेक चिजमा छिनाझपटी भए पनि पिरतीको सम्पत्तीलाई छिन्ने कोही हुँदैन भन्ने धारणा गजलकारले पस्किएका छन् ।

हरबार हार खाएँ

हरबार हार खाएँ दिल्दार खोजीखोजी
जोडदार मार खाएँ मिल्दार खोजी खोजी

यहाँ गजलकारले् दिल्दारको खोजी मिल्दारको खोजी, बढ्दो रोगबाट बच्नको लागि उपचारको खोजी, मूलधारको खोजी सपनामा नभै विपनामा गुल्जारको खोजी, फूलको काँडा पाले पनि रोप्दा त खोजीदो रैछ मनभित्र प्वाल पारेर पनि फूलदारको खोजी गर्नु पर्छ अर्थात। असल चीजको खोजी गर्नु पर्छ भन्ने धारणा आएको छ गजलमा ।

आशा खेर नजाओस्

आशाखेर नजाओस् बाचा खेर नजाओस्
हाम्ले मिली बुनेका ढाँचा खेर नजाओस्

यस गजलमा गजलकारले आशा, बाचा, ढाँचा, रगत पसिनाका खाचा, अङ्कुर फलहरू वैलेर काँचा, लुटेराबाट हृदय जोडेर लगाइएको लाहाछापको टाँचा, हुर्केर माया छर्दा जोडिएको अमूल्य कमाइको चाचा खेर नजाओस् भन्ने धारणा आएका छन् । भएका गरिएका सबै चीज खेर जान भएन सही सदुपयोग हुनु पर्दछ भन्ने अभिव्यक्ति पनि आएको छ ।

दुःखदर्द खाई

दुःखदर्द खाई कमाएँ पसिना
माया लाउनलाई बगाएँ पसिना

पसिनाको कमाइ अमूल्य हुन्छ । यो अमूल्य पसिनालाई गजलकारले उपलब्धी प्राप्त गर्नको लागि बगाएका छन् । माया लाउनलाई दहझै अथाह बिरक्तका कथाहरूलाई छातीमुनी लुकाएर, जीवनका दमनहरू सहेर अँझै पीर थप्नको लागि, ज्यान धुनको लागि, भएभरको खर्च गरेर उनैतिर मेरो पसिना गुमाएँ भन्ने धारणा पोखिएको छ गजलमा ।

यो दिमाग

यो दिमाग शान्त राख्न सकिएन
कुरा खेलाउँदा थाम्न सकिएन

शान्त दिमाको साथमा काम गरेमा मात्र कामको उपलब्धी हात पर्दछ अर्थात कुनै काम गर्दा दिमाको उपयोग राम्रोसँग गर्नु पर्छ । दिमागको सही् ठाउँमा सही प्रयोग भएन भने सही नतिजा हात लाग्दैन दिमाग शान्त राखेर दिमागलाई थामेर, सबै रोगमा निको हुने रोगलाई छानेर, झाऊ हात लागेमा त्यसलाई अन्त फालेर, रन्को मार्ने फन्को मार्ने दिमागको चाललाई च्यातेर, विरहका खातबाट मुक्ति प्राप्त गर्नु सक्नु पर्छ भन्ने धारणा यहाँ पोखिएको छ ।

पहाड मानेर

पहाड मानेर के गरुँ म एक मुठी माटो दिन सकिनौ
सागर मानेर कमे गरुँ म अलिकति बाटो दिन सकिनौ

माटो र बाटोको खोजीमा लागेका गजलकारले समयको चिसो हावाले थरथरी काप्दा अलिकति तातोको खोजी, दुनियाको मीठो फल तिमी मिठासको उच्चो भण्डार तिमी भए पनि पेटभरी आटो दिन नसकेको भन्दै आटोको खोजी वनरानीबाट एउटा मन बाँध्ने भाटोको खोजी जमिनदारसँग झरीमा ओतको खोजी गरेका छन् गजलकारले ।

दुख दिएर

दुःख दिएर सस्तै नाम लिन लगाउँछन्
चोट दिएर त्यस्तै माया पनि सताउँछन्

दुख र चोटको मारमा परेका गजलकारले घायल बन्दछन्, कसम र बाचाहरू टुक्रापारी बेहोस बन्दछन्, दर्द दबाउँछन्, घात भएको दर्द केलाउँछन् संसार छोडेका धेरै बैगुनीको पहिला भए, गरिएका याद सम्झन्छन् ।

एकदुई गर्दागर्दै

एकदुई गर्दागर्दै बात बढ्न लागे
बिरहका आजभोलि रात बढ्न लागे

स्वभाविक हो बात एककान दुईकान मैदान हुनु हृदयमा बिरहका पोका बढ्दै जाँदा रातहरू बढ्दै जानु, मन सानो बन्दै जानु, दुनियामा बास घट्दै जानु, मित्रहरू शत्रु बनी घाँटी अँठ्याउँदै काँध चढ्नु डहनका ज्वालाहरू मनमा हुर्किएर हृदयका कुना काप्चा सबै डढ्न लाग्नु, सीपको चोरी गरी सीपकार बनेर इज्जत जोड्न थाल्नु जस्ता धारणाहरू आएका छन् गजलमा ।

उनी यता आउँदा

उनी यता आउँदा हुरी आएझै भो
थोरै आशा पाउँदा मुरी आएझै भो

प्रेमरसले भरिएको यस गजलमा गजलकारले प्रेमका उपलब्धीहरू हात पारेजस्तो महसूस भएको देखिन्छ । प्रीतिको घर बनाएर छाउन न सकेको बेला उनको छाया आउँदा धुरी आएको भान हुनु न्याय नपाएर झोक्राएर बस्दा दयामाया पाएर जुरी आएको भान हुनु यसरी नै रोगहरू घटेर जान थालेकोले सारा रोग काटीदिने छुरी आएको जस्तो र कुबाटोको पाइला ठाउँमा पर्दा वियोगको पथको घट्दै संयोगमुखजस्तो भएको महसूस गर्नु जस्ता धारणा आएको छ गजलमा ।

पिउन देऊ मलाई

पिउन देऊ मलाई फुल्न देऊ मलाई
आज आफ्नो सुरमा भुल्न देऊ मलाई

आफ्नो सुरमा भुल्न चाहने गजलकारले प्रेमरस पीउन चाहेका छन्, त्यही प्रेमरस मातमा परिणत भएर जुलुम भएका छन् र प्रेमिकाको छेउछाउमा झुल्न चाहान्छन् । देउराली नगएर मन्दिर नघुमेर मायाको वरिपरि घुम्न चाहान्छन् । तीनलोक मान्दैनन् र नन्दन चाहादैनन् तर उनको इच्छ्या निर्मोहीको बारीमा डुल्ने छ र बादलको गाउँभित्र छोपिएर बसेका अवस्थाबाट उदाइ उनको दिलमा प्रकाशमय भएर खुल्न चाहान्छन् ।

ऋतुले

ऋतुले बितेको खबर ल्याइदिन्छ
पुरानो वेलाको रहर ल्याइदिन्छ

दिन गतेबार ऋतु यी निरन्तर दोहोरीने क्रममा देखिन्छन् । पुरानो यादलाई, ताजगी बनाउँछन्, दिलको कुनामा जमेर बसेको खाटा बसिसकेको घाउलाई खाटा उप्काएर कहर ल्याइदिनु, हटाउन चाहेर पनि नहटेको पखाल्न चाहेर पनि नपखालिएको यादलाई ताजगी गरेर नजर ल्याइदिनु, सपना देखेको जस्तो विपना नहुने र यसले ढलेको पहर ल्याइदिन्छ, र जता गए पनि उनकै झझल्को ल्यादिन्छ भन्ने ठहर छ गजलकारको ।

लोभ्याएर मलाई

लोभ्याएर मलाई सताउन छोडीदेऊ
खालि तिम्रो यादले रुवाउन छोडिदेऊ

लोभले लाभ लाभले विलाप भनेजस्तै गजलकारले लोभ्याएर सताउन, यादबाट रुबाउन, गलत कुराहरू कमाउन, मुटुलाई कब्जागरेर जोतेर दुखाउन, मुटुमा चिरापर्ने डहनका कुरा सुनाउन, अचानो सरि मार खाएर बसेकोलाई दुख दिने औजार जुटाउन छाडी देऊ भन्ने आग्रह पोखिएको छ गजलमा ।

दुःख दिन्छ

दुःख दिन्छ माया सुख दिन्छ माया
बन्धनमा बाँधेर बाँधिन्छ माया

यत्रतत्र सर्बत्र माया नै माया भएको पाउने गजलकारले मायाको महत्त्वलाई यस गजलमा दर्शाउका छन् । भनिन्छ यो संसार अडेको तथा चलेको मायाले हो । मायाले सुख दुख, बन्धनयुक्त बन्धनमुक्त, रोदन, हाँसो, पहरामा लहरिने, बाँच्दा पनि नाच्दा पनि सारा कार्यसँग टहलिने, ज्योति बनी डुल्ने, जगभरि पुग्ने, रातदिन टल्किने, जगबाट मानिस छिनिए पनि माया छिन्दैन । माया अटुट रहन्छ भन्ने धारणा आएको छ ।

दौडिएर जाँदा

दौडिएर जाँदा कता ठोकिएँ छु
कहाँ पुग्नु थियो कहाँ रोकिएँ छु

यो गजल समय सापेक्ष यर्थाथपरक देखिन्छ । लक्षलाई ताकेर होसियार पूर्वक हिड्नु पर्छ । किनकि आफ्नो शरीर पनि आफ्नो काबुमा(बसमा) हुँदैन, यसैकारणले आफैमा रिस उठ्छ,, आफैले आँफूलाई धुरंधर ठानिन्छ तर समयको मारमा परिन्छ,, ढाडै सेक्ने ग्रहको पीठमा नचाहेर पनि बोकिइन्छ र अमर असल काम गर्छुभन्दा पनि मरिजाने मानिसमा परिन्छ । सबल र मरेर जाने भए पनि असल मार्गमा हिड्ने सन्देश दिएको छ गजलले ।

सधैं गुन्गुनाउन

सधैं गुनगुनाउन एउटा गीत मागे
जीवन बिताउन एउटा मित मागे

जीवनलाई रसमय बनाउन गीत र जीवनलाई साथ दिने मीतको चाहना राख्ने गजलकारले, सादा जीवनलाई रङ्ग्याउन मीठो रीतको माग, मेघ नभएर सागर नभएर प्यास मेटाउन शीतको थोपाको माग यात्रामा साइत हेरेर गरे पनि दिन कटाउन एउटा हीतको माग अन्तिममा मायाको लडाइ नहारौँ भनेर अमर बनाउन जीतैजित मागे भन्दै जीवनमार्गलाई रसमय प्रेममय र न्यूनतम आवश्यक्ताको आपूर्तिमय बनाउन गजलकारले धारणा राखेका छन् ।

ज्यानै डुबाउने

ज्यानै डुबाउने भेल धेरैले तर्दैनन्
मैले गरेको माया अरुले गर्दैनन्

कठीनकार्य गर्न निश्चय नै साहसको आवश्यक्ता पर्छ । जस्ले पनि आफ्नो माया प्रदान गर्ने काम आफ्नो अधिक भएको महसूस गर्नु अस्वभाविक होइन । यहाँ पनि गजलकारले दुनियाँमा शान दिने मान दिने, दुनिया अगाडि सर्दैनन् । गजनलकारको भनाइ छ ताछेर हेर्न सकिन्छ चाखेर हेर्न सकिन्छ यसैबाट सिद्ध हुन्छ कि उन्ले गरे जस्तो समर्पण अरुले गर्न सक्दैनन् । जेजस्तो कुरूप भए पनि तिमीलाई रुचाएको र रूपभन्दा ठूलो दिलको नाता हुन्छ त्यसो हुँदा बुझ्नेले मात्र छर्छ माया अरुले छर्दैनन् भन्ने धारणा पोखिएको छ गजलमा ।

आँखा मिलेर जुझ्दा

आँखामा आँखा जुझ्दा हल्ला जताततै भो
थोरै बिचार बुझ्दा हल्ला जताततै भो

यहाँ गजलकारले प्रेमको हल्ला जताततै फैलिएको धारणा राख्दै भन्छन् – आँखामा आँखा जुझ्दा, थोरै बिचार बुझ्दा, गुलाबी ओठ चल्दा मोती दन्त देखिए र नाम सोच्दा, मनलाई थाम्न नसकी भेट्ने रहर भो र ठेगाना सोद्धा, पाउजु बजाएर तिमी छेउमा आई अडिँदा, कर्के नजरले हेर्दा हल्ला जताततै भएको धारणा पोखिएको छ गजलमा । समाजमा कुनै घटना घट्दा हल्ला अति तीब्ररूपमा फैलिने कुरा यथार्थ परक नै छ ।

प्रकृतिको रस

प्रकृतिको रस चोरी कमाल बनायौ
दुखादिको मन चोरी कङ्गाल बनायौ

संसार प्रकृतिले सिङ्गारेको छ, यसको रस चोरेर कमाल गराउनु दुःखादिको मन चोरेर कङ्गाल बनाउनु, जस्ता धारणा पोख्दै गजलकारले त्यसै राम्रो मुहारमा सिङ्गार गरेर लोभ्याइ मनलाई वेहाल बनाएको कपडाको कुनाकानी काटी रुमाल बनाएको, नजरले तीर हानेर माललाई कुमाल बनाएको, पिरतीको नशाको कारणबाट बेहालभई जहाँकहाँ लड्दा सुरताललाई वेतालमा परिण गरेको धारणा आएको छ गजलमा ।

रातरानी फूलसरी

रातरानी फूल सरी बास आयो तिमो
पिरतीलाई रसाउन सास आयो तिम्रो

बासानाले युक्त र रातरानी फूलसरी पिरती रसाउन सास आएको, भोको पेटलाई पुष्ट्याउन गास आएको, वर्षा भेलबाट बच्न बास आएको, प्रकाशमय भएर सबै प्रकारमा सुख दिनको लागि आएर तिम्रो हकमा भएजति सिङ्गारिनको लागि हक अधिकार दिंदै सिन्दुरले सजाउन दास आएको धारणा पस्किएको छ गजलमा ।

माछा हैन

माछा हैन जाल भित्र माया पार्न मन छ
पिरतीको रोगलाई त्यता सार्न मन छ

प्रेमभावमा पूर्ण यो गजलमा माछा मार्ने जालमा मायालाई नै पार्ने, पिरत्ीको रोगलाई मायामा नै सार्ने, वारीतिर पर्खेर धेरै बस्नुभन्दा मनको नाउ खियाएर पारि तर्ने मन भएको, मायालाई नजरको नानी भित्रबाट अब हृदएको तालभित्र झार्ने मन भएकोले यो जीवनलाई च्याँखे थापेर धन पैसा हार्न नभएर मन नै हार्न आएकोले सक्छा्यौ भने दाउले मार भन्ने धारणा आएको छ ।

विचित्रको मेल

विचित्रको मेल वित्रिको माया
विचित्रको खेल वित्रिको माया

माया विचित्रको हुन्छ, क्षणमै मेल हुन्छ, विचित्रको खेल हुन्छ, कति घर जल्छन्, विचित्रको भेल आउन सक्छ, कति घर ढल्छन् बल पनि दिने सल पनि दिने विचित्रको जेल पनि दिने झेल पनि दिने हँसाउने पनि रुवाउने पनि धारणा राख्दै गजलकारले लेख्छन्–

कहाँदेखि कहाँ पुर्याउन सक्छ
विचित्रको रेल विचित्रको माया

भन्ने धारणा आएको छ गजलमा ।

मन टुक्रा पारी

मन टुक्रा पारी जमाउन डरायौ
दिएँथे पिरती समाउन डरायौ

केही पाउनको लागि केही गर्नु पर्दछ । मनलाई टुत्र्mयाउन हुँदैन टुक्रिएको मायालाई जमाउन सक्नु पर्छ । प्राप्त भएको पिरतीलाई समाउन सक्नुपर्छ । कसैले दिल दियो भने त्यसलाई अङ्गाल्न सक्नु पर्छ र आफ्नो बनाउनु पर्छ । खेलौना बनाएर खेल्न हुँदैन प्राप्त चिजलाई जीवनभरीलाई सजाउनु पर्छ, जीवनका धारा बगाउँला भनेपछि बगाउनु पर्छ, खुम्चयाएर राख्न हुँदैन । कसम र वाचा हराउनु हुँदैन, जीवनलाई अँध्यारो मनमा उदाउन तथा प्रकाशमय पार्न डराउन हुँदैन भन्ने धारणा पोखिएको छ गजलमा । डरपोक भए पछि केही हात लाग्दैन ।

गीत नमीठो भो

गीत नमीठो भो धुन नभएर
दिन अँधेरो भो जून नभएर

कति गहनताले भरिएको छ गजल । धुन विनाको गीतको मीठास कहाँ प्राप्त हुन्छ र उज्यलताको अनुभूति शीतलता विना कसरी सम्भव ? दिनमा त स्वय म सूर्य नै उदाएका हुन्छन् तब पनि दिन उज्यालो हुन जूनको खोजी भएको छ । माया पिरतीको पीरबाट ज्यान सुक्दै जाँदा, खूनको कमीहुनु, अकबरी सुनजस्तो शुद्धता नभए पछि आँफू बिक्री नभएको, रोगीलाई सेवा उपचार गर्नु पर्नेमा गुणहीन भएर छि छि दूर दूर गर्नु, घर पनि उज्यालो पार्न लिपपोत गर्न तथा चमक थपिदिन चुनको आवश्यक्ता पर्छ । कुनै पनि बस्तुको अस्तित्वलाई चम्काइ दिनको लागि सहयोगी गुणहरूको आवश्यक्ता पर्दछ भन्ने धारणा आएको छ गजलमा ।

सम्पतिमा आगो

सम्पतिमा आगो लगाउन छाडीदिएँ
रक्सी र धुम्रपान मगाउन छोडिदिएँ

राम्रो कामको ग्रहण र नराम्रो कामको त्यज्यता हुनै पर्छ । गजलकारले सम्पतिमा आगो लगाउन छाडेको, रक्सी र धुम्रपान मगाउन छाडेको, लोभ पापिरहेछ लोभले इज्जत जान सक्छ, अर्काको धनमा आँखा लगाउन हुँदैन, अपराधीलाई सगाउन हुँदैन लेखेको मात्र पाइने देखेको नपाइने भएर नै मनलाई अन्त बगाउन छाडेको र राम्रो बुद्धि पनि लिए पो दिनु रैछ आँखाले सुत्नेलाई जगाउन छोडिदिएँ भन्दै गजलकारले असल कर्मको ग्रहण गर्नु पर्छ अर्थात सही सत्य कर्म गर्नु पर्छ भन्ने सन्देश दिएका छन् ।

मर्न बाँच्न

मर्न बाँच्नसँगै पाए अरू चाहिंदैन
जिन्दगीको स्वर्ग पनि बरू चाहिंदैन

प्रेममा निरन्तरता र साथ पाएमा स्वर्ग पनि चाहिंदैन भन्ने उच्चता प्रदान गरिएको छ प्रेमलाई । स्वर्ग भन्ने अनुभूति हो स्वर्ग न कसैले देखेको छ, कसैले स्वर्ग भोगेको छु भन्दै फर्केर आएर यस्को बारेमा बताउन नै सकेको छ । गुलाबी ओठ खोलेर मुस्कान छरेमा हेमन्त र वसन्तको सुरु नचाहिने, तिमी (प्रेमिका) जीवनकी पुस्तक भएकी र माया प्रेम पढाउनको लागि गुरुको आवश्यक्ता नपर्ने, दुनियाको ठूलो धन भन्नु नै तिमी हौ त्यसोहुँदा तिमीलाई पाउन सके हीरामोती सुनचाँदी केही नचाहिने, भन्ने उद्गार पोख्दै गजलकार भन्छन् –

आस्तिक हुँ नास्तिकझैं भए के गरुँ म
गण्डकी नै सिङ्गो पाए रूरू चाहिंदैन

छैन केही रहर
छैन केही रहर नाउँ पनि चाहिँदेन
मर्दा कसैको अब छाउँ पनि चाहिदैन

मानिस जब चारैतिरबाट आजित हुन्छ उसमा तिरस्कारले जन्म लिन्छ ।उसलाई कुनै चिजको रहर हुँदैन । उसलाई नाउ पनि चाहिंदैन छाउँ पनि चाहिदैन पैराले लाने ठाउँ पनि चाहिंदैन, अघोर दुःख दिने सम्पत्ति पनि व्यर्थ भएकोले व्याज मात्र नभएर साउँ पनि चाहिंदैन, निदानको खोजी गर्द दाग मिल्ने भए पछि त्यस्तो गाउँ पनि चाहिंदैन, चल्ला चिलेर खाने माउँ पनि चाहिंदैन भन्ने धारणा आएको छ गजलमा । यस गजलले राम्रो उपलब्धीको चाहना राखेको छ ।

आँखाबाट

आँखाबाट अन्त बिलाउन सकिनौ
मुटुसँग मन त मिलाउन सकिनौ

गजलकारले यहाँ आँखामा बसिसकेऊ त्यसो हुँदा बिलाउन सकिनौ र मुटुसँग मन पनि मिलाउन सकिनौ । पिरतीका मुद्दा धेरै बोक्दा पनि न्याय दिलाउन नसकेको, सागर हौ भन्ने भानमा रहेंछु किनकि मनको तिर्सना मिटाउन सकिनौ, नयन मधुमासप्यालाले भरिएका रहेछन् तब पनि अलिकति पिलाउन सकिनौ र मनलाई उखालेर बिस्कुन झै सुकायौ तर अङ्कुर हालेर जिलाउन सकिनौ भन्ने धारणा पोखिएका छन् गजलमा । सामिपत्य हुँदाहुँदै पनि त्यसबाट प्राप्त गर्न सकिने उपलब्धी हाँसिल हुन नसकेको भावना पोखिएको छ ।

उनको सवारी

उनको सवारी चल्दा हलचल बढेर आउँछ
कोर्के नजर पर्दा सलबल चलेर आउँछ

यो गजल पनि सिङ्गारिक रसमा नै बगेको छ । उनको सवारी चल्दा हलचल बढ्नु, कोर्के नजर पर्दा सलबल हुनु, बञ्जर सुख्खा मन हरियो बन्न जानु, हावाले छुँदा मन हुर्केर आउनु, उहाँको उदयमा रातले बिदा लिनु किरण पर्दा ज्योति बल्नु, रक्सी नपिउँदा नपिउँदै पनि नशा नलिंदा नलिदै उनी नजिक आउँदा नशा चढेर आउनु, थाम्न सजिलो छैन चञ्चल मनलाई उनको सुवास भेट्दा मन फुलेर आउनुजस्ता गहन आकर्षणले आकर्षित पारेको छ गजलकारलाई । प्रेमिकाको प्रभाव अति गाढा भएको धारणा ।

सुकाएँ शरीर

सुकाएँ शरीर पहल गर्दागर्दा
मायाको समस्या हल गर्दागर्दा

यो गजलमा गजलकारले मायाको समस्या हल गर्नको लागि पहल गर्दागर्दा शरीर सुकेर जाने भएको रूप फेरीफेरी आँतर लिएर छलगर्दा सुकाएको, प्रेम जालीसँग कल गदागर्दा सुनौला पहर खेर गएको जिन्दगीलाई सफल पार्न ठूलै पहल गर्दा पनि ठूलै हार खानु परेको र बल गर्दागर्दा थकित भएर भन्छन् –

जीवनका मिलेका पलहरू मेरा
खेर जाने भए सल गर्दागर्दा

आवश्यक्ता भनेको दोहोरो हुनु पर्दछ । एकतर्फि प्रयासबाट सफलता प्राप्त गर्न कठनि पर्दछ भन्ने धारणा पाइन्छ गजलमा ।

रातदिन मिलाएर

तिमीसङ्ग जिन्दगी यो जिउन मन लाग्यो
मायालाई मिलाएरर पिउन मन लाग्यो

मायासँग जिन्दगी जिउन र मायालाई मिलाएर पिउन मन लागेका गजलकारले मायासँग माया गाँसी सिउन पाएमा आकाशका जूनतारा केही नचाहिने र मायालाई पथ छोडीजान नदिने तथा फर्काएर ल्याउन र पिउनमन लागेको धारणा आएको छ गजलमा ।

गाउँ घटे पनि

गाउँ घटे पनि सहर कम भएन
बूढो भए पनिरहर कम भएन

उखान नै छ तन बूढो भए पनि मन बूढो हुँदैन । यहाँ गजलकारले पनि बूढो भए पनिरहर बुढो नभएको भनेर मनोभावलाई प्रकट गर्नुभएको छ । समुद्रमा पानी कम भए पनि लहर कम नहुने,,नयनको डसाईले अवश्य मन पोलेको, ओठ खोले पनि जहर कम नभएको यस्तो समस्या भोग गर्दा र धेरै कहर भोग गर्न परेकोले बहिरो देवतालाई हात जोड्दा पनि केही पनि नभएको इच्छा पालिन्छ भने पलाउँछ नै त्यसो हुँदा जति कुरे पनि पहर कम भएन भन्ने धारणा पोखेका छन् गजलकारले । मानव रहरहरू अनगिन्ती हुन्छन् जस्लाई प्राप्त गर्न सहज हुँदैन । यस्ता इच्छ्या पूर्ति भगवानले पनि गरिदिदैनन् भन्ने धारणा यहाँ आएको छ ।

विग्रेको पगरी

विग्रेको पगरी बुनाऊँ कसरी
दुखेको कहानी सुनाऊँ कसरी

प्रेममा तल्लिन भए पछि प्रेयसीलाई खुुसी राख्न उनको इच्छ्या अनुकुल काम गर्नु पर्ने हुन्छ । पगरी बिग्रन सक्छ दुःखको कहानी बन्न सक्छ, कोपिला बटुली बुनेको पिरती टुटेर जान सक्छ,रहर पुर्याउन नसकेपछि प्रियसी रिसाउन सक्छिन् र फुल्याउन कठीन हुन सक्छ, धनको अभावमा वित्तीय संस्थामा गएर उजुरी गर्दा नसुनेपछि दुःखको खजना पुर्याउन कठीन पर्न सक्छ र अथक प्रयासमा लाग्दा पनि सामान नजुट्न सक्छ र प्रेमको भवन उभ्याउन सकिदैन भन्ने धारणा पोखिएको छ गजलमा । प्रेमको भवन ठड्याउन सहज छैन अवश्य पनि ।

स्वर्गको बाटो

स्वर्गको बाटो हिड्दा फर्कन सकिएन
प्रिएको लागि धेरै पर्खिन सकिएन

मानव जीवन सधैं जीवित रहने हैन । एक दिन प्रेम प्रेयसी सबै सबै चिजहरू छाडेर जानै पर्दछ, पर्खेर बस्न सकिदैन । याचना गरे पनि यमको लाठीसँग तर्किन सकिदैन, चाहना नहुँदा नहुँदै पनि करैले जानु पर्ने यो मियादी रोगबाट कोही पनि तर्किन र सर्किन सक्दैन तर प्रेमको याद जगत छाड्दा पनि नछुट्ने र बिर्सन नसकिने हुँदो रहेछ त्यसो हुँदा भाग्य भएमा अर्को जन्मलिएर भेट होला अरू त तिमीभन्दा सम्झिन सकिएन भन्ने धारणा आएको छ गजलमा ।

माया लिन्छु

माया लिन्छु भन्थे महगो भएछ
दया बोक्छु भन्थेँ गह्रुङ्गो भएछ

धनमा पल्केको जमानामा माया पनि महगो हुन पुगेको छ र आजको जमानामा दयाको भारी पनि गह्रुङ्गो हुन पुगेको छ । दयामाया पाउन पनि कठीन छ । भित्री अवयव कटाएर र्दिदा मन अपाङ्ग हुनसक्छ, जिन्दगीको आगोमा मन जलेर अग्निसँग बस्ने फिलिङ्गो बन्न सक्छ, इज्जत इमान थाम्ने प्रयास अति गर्दा गर्दै पनि बैगुनीले लुट्दा घर नाङ्गो हुन सक्छ । त्यसो हुँदा गजलकार भन्छन् –

के फैलाउँ हात भिखारीहरूमा
जमाना यो सारै हलुङ्गो भएछ

मारेर मेरो माया

मारेर मेरो माया छोड्न किन सकिनौ
पारेर दिल टुक्रा जोड्न किन सकिनौ

माया न मारेर नै मर्छ न जोड्न चाहेर नै जोडिन्छ । भावनात्मक आकर्षण हो यो । भनिन्छ यो आकर्षण कसैले कसैलाई घृणा गर्छ भने पनिरहिरहन्छ । यहाँ माया मारेर छो्ड्न नसक्नु, दिललाई टुक्रा पारेर जोड्न नसक्नु, पानी पर्दा रुझ्न पनि नछोड्नु, खोलेर मेरो छाता ओढ्न पनि नसक्नु, रोपेर मायाप्रीति पानी पनि नदिनु, दिलमा झ्याउ उमारेर गोडन नसक्नु, जेलेर बसेको मायाको जालाको सानो डोरीलाई तोड्न पनि नसक्नु र दिलैमा बस्ने याद फोड्न पनि नसक्नु किन भन्ने प्रश्न राखेका छन् गजलकारले । त्यज्य गरिनु छ भने किन रोकी राख्ने ?

थुङ्गैथुङ्गा

थुङ्गैथुङ्गा फुलेकै हो हाम्रो जिन्दगानी
मायाप्रीति झुलेकै हो हाम्रो जिन्दगानी

जीवन जगतसँग सम्बन्धी यो गजलमा जिन्दगानी थुङ्गैथुङ्गाझै फुल्छ, मायापीति झुल्छ, बादको मुस्लो भित्र कुराकानी गर्छ, कहिले तल कहिले माथि भएर झुल्छ, सागरझैं बग्छ, जहाँ पनि खुल्छ, देश विदेश जहाँ पनि पुग्ने र जहाँतहाँ घुलेको यो हाम्रो जिन्दगानी हो भन्ने ठहर छ गजलकारको ।

पाप–धर्म पसेको छ

पाप–धर्म पसेको छ मस्जिद मन्दिरमा
संसार झुलेको छ मस्जिद मन्दिरमा

धर्ममा आधारित रहेर लेखिएको यो गजलमा मस्जिद मन्दिरबाट नै भगवान्ले हेरेका छन् र मस्जिद मन्दिर नै सुखशान्ति मिल्ने ठाऊँ हो,यहाँबाटै भगवानले सबैलाई हेर्दछन् र कसैबाट हेपिन पर्दैन भन्ने धारणा पोखिएको छ ।

साइत परदेशको

साइत परदेशको गर्न परिरहेछ
माया त लाग्छ देशको सर्न परिरहेछ

वेरोजगारीको समस्याले गर्दा युवाहरू विदेशी भूमिमा जान बाध्य हुनुपरेको यथार्थमा रहेर लेखिएको यस गजलमा साइत परदेशको गर्न परिरहेको, माया देशको लागे पनि सर्न परिरहेको, अघोर माया देशको लागे पनि पेट भर्न प्रदेशी बन्नु परेको, आमको चाराले तन्नेरी हुन पुगियो, यही देशमा बगाउनु पर्ने पसिना अरूको देशमा बगाउनु परेको, अमृतले भरिएको देशलाई छाडेर बन्जर भूमिमका विषले भरिएका काँडा चर्न बाध्य भइएको र ऋणको भारलाई मुक्त पार्नको लागि चर्को नूनको समुद्र तर्न परिरहेको धारणा पोखिएको छ गजलमा । गजल यथार्थमा आधारित छ । आज देशका युवा–युवतीले भोगेको सत्यतथ्य घटनालाई यहाँ प्रस्तुत गरिएको छ ।

मुटुमा बिजाउने

मुटुमा बिजाउने नजर ताक्न छाडे
जिउँदै जलाउने जहर ताक्न छोडे

गजलमा गजलकारले अप्रिय तथा घातक चिजहरूको सङ्गत गर्न छाडेको धारणा राख्नुभएको छ । मुटुमा विजाउने नजर ताक्न छाड्नु नै राम्रो हो । जिउनै लिने तथा जलाउने जहर पनि त सेवन गर्न भएन । नदेखिने चोटको डहनबाट बच्न र अपाङ्ग बनाउने कहरबाट बच्नु पर्ने, निर्मोही काँडाको डहर हिड्दा पाउनसम्म दुःख भोगेको, अर्धरातमा निद्रा नलागे हुन्थ्यो किनकि सहरमा बास बस्न कठीन हुने र समुदलाई चिन्न अति बेर लागेको र समुद्रको पानी पिएर प्यास बढ्ने भएकोले यस्ता लहर ताक्न छाडेको धारणा यहाँ प्रष्टिएको छ ।

धमिलो हावाको

धमिलो हावाको तर लाग्दैछ
अमिलो चलेको डर लाग्दैछ

हावा स्वच्छ हुनु पर्दछ तर आजको हावा धमिलो भएर गाढा हुँदै, गएको छ । अमिलो चलेको डर लाग्दछ । स्वार्थ बढ्दै गएको सभ्यता –इमान पर लाग्दैछ, मन्दिरतिर जानु पर्ने तर नरहरू रक्सी घरतिर लाग्नु, कुमतीतिर लाग्नु, मानवको सिकार मानवबाटै हुनुहुन्न भन्ने धारणा को साथमा गजलकार भन्छन् –

सडिजान लागे ठूलो रुखहरू
बिरुवाहरूको भर लाग्दैछ

अग्रजहरूबाट राम्रो काम हुनुपर्दछ र मात्र नयाँ तथा बालबालिकाले राम्रो मार्ग समाउन/सिक्न सक्छन् ।

आफ्नो भनी बोल्दा

आफ्नो भनी बोल्दा अत्याएर मारिन्
माया प्रीति दिंदा हटाएर मारिन्

बैगुनीलाई गुनले मार्नु भनिन्छ तर यहाँ त गुन दिंदा पनि गुनको बदला अत्याएर हटाएर पवनपुत्रसरी छाती खोली दिंदा आरा चलाएर, प्यास मेट्न तालतिर धाउँदा प्यासोलाई डुबाएर र विष भरिएका काँडा तीखापारेर थलाएर मृत्युशैयातिर लगेर र भित्र भित्र मन धुक्काई तेल थपेर जलाएर मारेको धारणा पोखिएको छ ।

गुमाउनु गुमाएँ

गुमाउनु गुमाएँ कमउँछु भनेर
बैगुनीलाई आफ्नो बनाउँछु भनेर

केही प्राप्त गर्न केही गुमाउनु पर्छ भन्ने लोकोक्ति छ तर यहाँ गजलकारले कमाउने धारणाले गुमाउनु गुमाएका छन् । बैगुनीलाई पनि आफ्नो बनाउन सकेका छैनन् ।उर्जा लगाएका छन् हावालाई लुछेर समाउन खोजेका छन्, उहाँलाई फकाउन भनेर दिमागलाई लगाएका छन्, पत्थरको मनलाई पलाउन कोसिस गरेका छन् र आसामी बनाउने रहर गरेर जीवनलाई उठाउँछुभन्दा जीवन नै डुवाई दिएको धारणा पस्किएको छ ।

मनका खाल्टाहरू

मनका खाल्टाहरू सम्मयाउन मन लाग्यो
बाँकीका दिनहरू लम्ब्याउन मन लाग्यो

मनलाई एकैनासको बनाउन र बाँकी जीवनका क्षण (आयुलाई ) लम्ब्याउन चाहना राखेका छन् गजलकारले । मन सुरिलो छ यसलाई पिरतीले नुगाएर मायाको घरतिर बङ्ग्याउन, जोडेका मीठा पलहरूलाई एक मुष्टबनाएर कसैको दिलभित्र थन्क्याउन, मायाप्रीतिलाई दिलभित्र थुनेर राखेकोलाई स्वतन्त्र (बन्धनमुक्त) गराएर नङ्ग्याउन मन लागेको धारणा राख्दै गजलकारले भन्छन्–

खोजेर सात रङ्ग संसारमाझ अब
जिन्दगी चार दिन्को रङ्ग्याउन मन लाग्यो

रुखदेखि पात टुटेर

रुखदेखि पात टुटेर गएको
नजोडिने रैछ फुटेर गएको

गजलकारले टुटेर, फुटेर, नसिब छुटेर, प्राण उडेर इज्जत लुटेर गएको फर्केर आउँदैन र पापी समयले कुटेर गएको पनि बिर्सिन सकिदैन भन्ने धारणा राखेका छन् ।

नशालु नजर

नशालु नजर मिलाएर जाऊ
मायाको असर पिलाएर जाऊ

गजलकारले यहाँ प्रेमीकालाई नशालु नजर मिलाएर जान, मायाको असर पिलाएर जान, अमृत पिएर पनि भोक मेटिएन त्यसो हुँदा मायाको आहार खिलाएर जान, हतार नगरी हृदय मिलाउन ढिलाएर जान, अन्याय भरेको धेरै चोटहरू खाएकोले पिरतीको न्याय दिलाएर जान र अमूल्य जीवन पर्खाइमा बितेको हुँदा फाटेको दिललाई सिलाएर जान आग्रह गरेका छन् ।

सङ्गित हजुरको

सङ्गित हजुरको तराना हजुरको
दुनिया हजुरको जमाना हजुरको

यस गजलमा गजलकारले यो संसारमा निर्मित सबै बस्तु हजुर(ईश्वर) को हो भन्ने सारमा गजल लेख्नुभएको छ । यो संसारबाट एक्लै पार लाउन कुनै उपाए देखिदैन, नाउँ मेरो भए पनि गबाना हजुरको, अचेत गराउने चोट खाँदापनि हजुरको बहाना नमीठो लाग्दैन, आकाश र धर्ती सबै लोक भरी हजुरकै निशाना लाग्दछ त्यसो हुँदा तपाईंको सराहना गर्न सकिदैन र जति गरे पनि नपुग नै हुन्छ भन्ने धारणा आएको छ ।

पिएर पनि हेरेँ

पिएर पनि हेरेँ जिएर पनि हेरेँ
निर्मल मेरो माया दिएर पनि हेरेँ

गजलकारले यस गजलमा सबै चिज प्रदान गरेका छन् तर उपलब्धी हात पर्यो या परेन त्यो भने प्रष्टिएको छैन । सेवा नै धर्म भनी दुःख कष्ट सहेर अरुले झार्ने आँसु पिएर पनि, कुदेर जाने मायालाई पर्काइ ल्याउनलाई फाटेको दिललाई सिएर, अरुकै लागि सबै चिज गर्दा सियोसरी खिएर र दयामाया दिन पछाडि परिएन साथै अरुको रोग लिएर पनि हेरिएको धारणा आएको छ गजलमा ।

उकालीमा कुलो

उकालीमा कुलो चलाएर थाकेँ
निर्मोहीलाई धेरै फकाएर थाकेँ

गजलकारले प्रेममा गरिने कर्ममा भगिरथ प्रयत्न गरेर थाकेको महसूसलाई प्रस्तुत गरेका छन् । उकालीमा कुलो चलाएर थाक्नु, निर्मोहीलाई फकाएर थाक्नु, चखेवाको जस्तो आकाशमा ताकी नजरलाई जमाएर थाक्नु, नहुनेलाई आफ्नो बनाएर थाक्नु, हृदय खोलेर सबै निखारी लुटाएर आफैले आफैलाई सताएर थाक्नु, ओराली झरेको खोला फर्काउनको लागि बल लगाएर थाकेँ भन्ने धारणा आएका छन् गजलमा । बास्तवमा सफल नहुने कामलाई जानी जानी प्रयास गर्न हुँदैन भन्ने सुझाव आएको छ गजलमा ।

रुखदेखि टुटिजाने

रुखदेखि टुटिजाने पात हुँ म
जगबाट छुटी जाने जात हुँ म

यो यस कृतिको अन्तिम गजल हो । रुखदेखि पात टूट्छ,जगैबाट जात छुट्छ, जूनलाई भेट्न सूर्य घुमेकै छ,, ज्योति नभेटेर रात रोएकै छ, भूmटो हुनलाई घातैघात बोकेर बीचमा छुटिजाने बाचा गर्न हुँदैन, समाउनलाई समय चाहिन्छ मुखबाट बात छुटेर जान्छ, र आश छाडेर परलागे हुन्छ किनकि छुनदेखि पर जाने यी हात हुन् मेरा भन्ने धारणा आएको छ ।

भाषाशैली

गजलमा सरल भाषा प्रयोगमा ल्याइएको छ । गजललाई गाउन सकिन्छ, लययुक्त गजलमा हिन्दीलाई पनि काफियामा समावेश गरेको पाइन्छ । कहीँ कह्ी हिन्दीले स्थान लिएको पाइन्छ । कतिपय ठाउँमा काफियामा प्रयोग गरिएका शब्दहरू ल्किष्ट पनि छन् । प्रेममा प्रयोग गरिएका शब्द शिष्ट पनि छन् । समग्रमाभन्दा भाषा शैली, राम्रो छ । लेखनकर्म जारी छ । लेखकीय धर्ममा गजलकार सजग, सहज, निष्ठवान, अनुशासित देखिन्छन् । आफ्नो लेखन कर्ममा कहीं पनि विचलन भएको पाइँदैन ।

शीर्षकीकरण

पाल्पालीले सिर्जना गरेका गजलहरूको नामा करण पाल्पालीका गजल लेख्नु स्वभाविक नै हो । शिर्षक सार्थक छ भन्न सकिन्छ ।

गजलमा विविधता

गजलले भन्न चाहेका भावना, धारणा, यथार्थतालाई मैले उहाँका हरेक गजलको साधारण अर्थलाई सरलरूपमा माथि प्रस्तुत गरेको छु । गजलकारले पोख्न चाहेका विश्लेषणात्मक भावनामा विविधताले छाएको छ । विविध भावपूर्णताले भरिएका गजलहरू पाल्पालीजीले सरल र सहजरूपमा पस्कनु भएको छ । प्रेमको विविधताले भरिएका गजलका अभिव्यक्ति आत्मियताले भरिएका छन् र यिनले सबैको अन्तरमनलाई र मुटुलाई सहजै छुन सक्दछन् । माथिका पोखाईलाई ्केलाउँदा प्रेममय यो कृतिले राष्ट्र, राष्ट्रियता, देश, मातृभूमि, जन्म दिने आमा सबैलाई समेट्ने प्रयास हुँदाहुँदै पनि यो प्रेमको गीता हो । यस कृतिले प्रेमदर्शनलाई विविध दृष्णिकोणले विश्लेषण गर्ने प्रयास गरेको छ । सांसारिक बस्तुलाई तुच्छ ठानिएको छ । प्रेम/मायालाई सर्बोच्च ठानिएको छ, प्रेम/मायापूर्ण हृदय उदार छ एव म विशाल छ,। मायामा हित छ महत्तावोधका धारणाले सजिएको छ,, मायामा समर्पण छ हाँसो छ, रोदन छ, बोलीमा अमृतको खोजी र मिठासको खोजी छ धन दौलत प्रेमको अघि तुच्छ छ, माया र पिरतीको बहार र सरकारको खोजी छ,मायामा वेइमानी पनि हुन्छ, प्रेममा विवशता पनि छ । गजलमा प्रेमलाई देवताभन्दा पनि ठूलो ठानिएको छ । यसरी गजलकारले गजलमा विविधता दर्शाउँदै आफ्ना धारलाई उच्चाइमा पुर्याएका छन् ।

अन्तमा पाल्पालीजीलाई सुस्वास्थ, दीर्धायुको साथै साहित्यिक सफलताको कामना गर्दछु ।

सदानन्द अभागी
मिति २०७२ साल जेष्ठ ६ गते,
शान्तिचोक कावासोती नगरपालिका वडा नं ७,
नवलपरासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *