Skip to content


छोरो एसएलसीमा फेल भएकोमा आमाचाहि‌ विद्यालयमा बडो आक्रोशित भएर पुगिन् र हेडमास्टरसका साथ कड्केर बोलिन्- “किन मेरो छोरो फेल गर्नु भो ? सँगैका धेरै पास भए मेरै चाहि‌ किन फेल भएको ?”

हेडसरले बडो स‌यमित भएर भने- “ऊ अलिक कमजोर नै हो । ऊ जस्तै केही कमजोर नानीहरू अरु पनि फेल भएका छन् । यसैले होला । अब मेहनत गरेर पढ्छ घरबाट पनि मद्दत हुनु पर्छ । अनि पास हुन्छ । हामीले उसलाई पर्याप्त मद्दत गरेकै हो तर के भयो हामीले जान्नै सकेनौ । हुन त फेल हुनु र पास हुनुमा हामीहरूको हात हुँदैन पनि ।”

“होइन तपाईंहरूले यसमा केही न केही गुल्च्याइँ फट्याइँ गरेकै हुनु पर्छ । मेरो छोरो मात्र किन फेल ।” हेडमास्टरको कुरा नसुनी उनी अँझै चर्किइन् ।

“होइन तपाईं के भनिरहनु भएको छ ? हामीले फट्याइँ के कुरामा गरेको देख्नु भो ” हेडसरले सोधे ।

“मेरो छोरो फेल हुनमा तपाईंहरूले केही न केही गुल्च्याइँ गरेकै हुनु पर्छ । यसै कसरी फेल भयो ?” फेरि भनिन् ।

सम्वादको क्रम लामै भयो । झण्डै तँतँ मम हुन खोज्यो । अभिभावक निकै उत्तेजित थिइन् तर हेड मास्टर स‌यमी थिए । विद्यालयका सबै मास्टरहरू मिलेर अनूनय गरे विनय गरे । तर उनको उत्तेजना कम हुनुको साटो झन् कडो हुँदै गयो । यसो गर्दा ता चूप लाग्नुको साटो झन् छारस्ट गर्न थालिन् । कसै गरेर पनिप उनी चुप लागिनन् तापनि अप्रिय घटना भने हुन पाएन । अन्तमा उनले सबैकासामु भनिन्- “सुविधा जागिर आदिका लागि ता आरक्षण पाइएकै हो अब हामीलाई एसएलसीमा पास गर्न पनि आरक्षण चाहियो आइए बिए एमएमा पास हुन पनि हामीलाई आरक्षण चाहियो । यसरी हामीलाई हेप्न पाइन्छ ? फेल गर्न पाइन्छ ? नत्र चक्काजाम गरिन्छ !!”

विद्यालका सबै मास्टरहरू उनका कुरा सुनेर हेरेको हेरेकै भए । उनी भने एसएलसी परीक्षामा पास हुन पनि आरक्षण चाहिने कुरामा टसका मस भइनन् नत्र हडताल चक्काजामको बाटो लिने उनको निधो थियो । सबै मास्टरहरू भने के जमाना आयो भन्दै जीव्रो टोक्न थाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *