Skip to content

मङ्गलेको भाग्य


मङ्गले धनमाथिको राती गेडी भनेझैँ थियो । अँझ भुँइमा राखे कमिलाले टोक्छ, काखमा राखे जुम्राले टोक्छ भनेजस्तै पनि थियो मङ्गले उनको बाबुआमाको लागि । सानो र सम्पन्न परिवार थियो उसको । बाबु गाउँमा नै व्यापार गरेर बसेका थिए । मिजासिलो स्वभावका कारण उनको व्यापार निकै फस्टाएको थियो । आमा भने घरकै काम गर्थिन् ।

मङ्गले भरखर कक्षा ५मा पढ्न थालेको थियो । बाबुआमाको प्रशस्त माया पाएर मख्ख थियो । स्कुलको गेटसम्म आमाले उनलाई सधैँ नपुर्याई नहुने । मायाको मात्र होइन मङ्गलेलाई कुनै पनि सामानको कमी हुन दिएका थिएनन् उनका बाबुआमाले ।

विद्यालयबाट फर्केर आउँदा उसको आमाले घरमा भएको मध्ये सबैभन्दा मीठो खाने कुराको खाजा बनाएर रखिदिनुभएको हुन्थ्यो । ऊ मीठो मानी मानी खाजा खाँदै दिनभरिको विद्यालयमा भएको घटना आफ्नो आमालाई सुनाउँथ्यो ।

बाबु साँझ पसलबाट फर्किर छोरासँग रमाउँदै आफ्नो दिनभरिको अनुभव सुनाउँथे । आमा मख्ख पर्दै बाबुछोराको कुरामा रमाउँथिन् । मनमनै उनी सोच्थिन, “म कति भाग्यमानी, समझदार श्रीमान् अनि भनेजस्तै असल छोरो मेरो साथमा छन् । भगवान् ! हामीहरूलाई कहिल्यै सङ्कट नआओस् र योभन्दा बढी आनन्द पनि… ।”

दैव दशा बाजा बजाएर आउँदैन भनेझैँ मङ्गलेको परिवारमा पनि अनायस दुखद दिन आएझैँ भयो । मङ्गलेकी आमा एक्कासि बिरामी परेर थला परी । मङ्गलेका बुबाले अनेक औषधी उपचार गरे तर बिराम बीसको उन्नाइस भएन । उनी आफ्नोभन्दा पनि मङ्गलेको भने खुब चिन्ता गर्थिन् ।
बिस्तारै बिस्तारै उनको होस नै हराउन थाल्यो । भगवानलाई उनले गरेको पुकार ठिक विपरित भएको थियो । दैवको लिला… अन्ततः मङ्गलेकी आमाले यस संसार छोडिन् ।

आफ्नो अन्तिम सास जानुभन्दा केहीसमय अघिसम्म पनि घरिघरि मङ्गलेलाई सुमसुम्याउने गर्थिन् । मङ्गलेलाई आफ्नो अङगालोमा बेर्न खोज्थिन् । तर, उनको शरीरले आफ्नो मुटुुको टुक्रालाई अङ्गालोमा बेर्ने शक्ति दिँदैनथ्यो ।

“अब मङ्गले हजुरको जिम्मा भयो; दया, माया, आड, भरोसा जे भए पनि हजुरले नै यसको ख्याल गर्नुहोला ।” भनेर अन्तिम वाक्य भनेकी थिइन् । यसरी आफ्नो आँखाको नानीलाई श्रीमान्को जिम्मा लगाएर उनी सदाको लागि बिदा भइन् ।

श्रीमतीको मृत्यु भएको केही दिन, महिना त आमा बाबुकै माया दिए मङ्गलेलाई उनको बाबुले । यसरी मङ्गलेलाई मात्र समय दिँदा व्यापार भने चौपट हुने भयो । घरको सुसेधन्दा पनि उत्तिकै । छोरालाई स्कुल पुर्याउने, लिन जाने अनि व्यापारको काम उनलाई निकै चटारो नै भयो ।

मङ्गलेको बाबुलाई आइपरेको यस्तो समस्या देखेर छरछिमेकले पनि दोस्रो विवाहका लागि दवाव दिए । पहिले त हुन्न भन्दै थिए तर अलिक पछि त नगरी नहुने अवस्था आएको महसुस आफैले गर्न थाले । अनि, गरे पनि ।

दोस्रो विवाह गरेर ल्याएको कान्छी श्रीमतीले सुरूसुरूमा त मङ्गलेलाई आफ्नै छोराजत्तिकै माया गरिन् । मङ्गले पनि सौतेनी आमाको माया पाएर दङ्ग पर्यो ।

समय बित्दै गएपछि सौतेनी आमाको कोखबाट पनि छोराको जन्म भयो । अब भने उनले मङ्गलेमाथि गर्ने व्यवहार अलिक फकर देखिन थाल्यो । मङ्गलेले सानो केही गल्ती गरे पनि उनी चर्को स्वरमा मङ्गलेलाई गाली गर्दै भन्थिन्, “अर्काको बाछा चाटी मुखभरि रौँ भनेको यही हो । यस अलच्छिनलाई त भनेको केही लाग्दैन ।”

सौतेनी आमाले आफ्नो छोरोलाई भने असाध्यै माया गर्दै गइन् । मङ्गलेमाथि भने उनले उग्र रुप देखाउन थालिन् । गाली गर्ने मात्र नभएर कुटपिट गर्नेजस्ता कार्य पनि गर्न थालिन् । यो क्रम निकै तीब्र भयो । मङ्गलेले चाडपर्वको रमाइलो समेत अनुभव गर्न पाउन छाड्यो ।

कान्छी श्रीमतीको अगाडि मङ्गलेको बुबाको केही चल्दैनथ्यो । उनी कहिलेकाहीँ मङ्गलेमाथि भएको दुव्र्यवहारको प्रतिकार गर्न खोज्थे तर श्रीमतीको उग्र रुप देखेपछि उनी चुप हुन्थे । यहीकारण सब कुरा उनलाई चित्त नबुझे पनि उनी टुलुटुलु हेरिरहन विवश थिए ।

सौतेनी आमाको सौतेलो व्यवहार पाएकै कारण मङ्गले दिनदिनै बिग्रँदै गयो । विद्यालय जान छोड्यो । बिस्तारै बिस्तारै घर आउन छाड्यो । टोलछिमेकका बिग्रेका केटाहरूको सङ्गत गर्न थाल्यो । उनको बाबुले बेलाबेलामा पसलमा लगेर सम्झाउँथे । आमाको माया पनि दिन खोज्थे तर त्यसले उसलाई झन् तड्पाउँथ्यो ।

मङ्गलेले आमाको काखमा रमाउने समयमा सौतेनी आमाको कठोर तिरस्कार पायो । यही तिरस्कारको कारण ऊ कुलतमा फस्यो । धेरै दिनसम्म घर आएन । सौतेनी आमाले खोजी गर्ने केही सुर निकालीनन् । बाबु भने पसलबाट आएर यताउता छरछिमेकमा सोधिहेर्यो । तर, मङ्गले कहाँ गयो ? उसले केही भेउ पाएन । श्रीमतीले सुइँको नपाउने गरी भित्रभित्रै खोजी गरिहेर्यो तर…… ।

ओम श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *