Skip to content


सुन्दर, शान्त, सम्पन्न गाउँ । गाउँ नजिकै सल्लेनी वन । वनमा जिजुका पालाका बडाबडा सल्लाका रुख । वन पनि बाक्लै रुखले ढाकेको थियो । रुखका टुप्पा र हाँगामा काग, चिल, सुइके, सिकारीलगाएत मांसाहारी चराका गुँड थिए । तल भुँइमा खरायो, कालिज, मृग आदि पशुपंक्षीको बास थियो । प्रसस्तै बाँदरको टोली त्यसमा राता र सेता ढेँडु पनि थिए ।

नजिकै मिलेको बस्ती जसमा माख्लो क्षेत्रमा जग्गा बीचको क्षेत्रमा लहरै घरहरू, घरका माथिमुनि मिलेका ठूलाठूला बारीका पाटा पनि थिए । उब्जनी पनि साह्रै राम्रो हुने जग्गा जमिन । मानिसहरू पनि मिलेर बसेका विभिन्न जातका भैकन । गतिलो उब्जनी हुने बारी, माथि हरियाली जंगल, खानेपानी, सडक, विद्यालय, स्वास्थ्य चौकी नजिकै, केही तल खेत । जे होस त्यस बस्तीमा समस्या कमै थियो ।

सुविधा सबै कुराको भए पनि त्यस बस्तीका जनता खुसी र सुखी थिएनन् । न रातमा निद्रा थियो, न दिनमा भोक । न घरमा बास, न बालबच्चा विद्यालय । न आमा साथमा न बुबासँग भेटघाट । छरछिमेकीको काजभोज पनि नरमाइलो । यस्तो विचित्र अवस्थाको सृजना गरेको थियो नजिकैको जंगलले वा जंगलमा बस्ने राते र सेते बाँदरले । समय अनुसारको दुःख, पसिना, श्रम, आशा एकै छिनमा स्वाहा पारिदिन्थ्यो हुलका हुल बाँदरको बथानले । दिग्दार थिए, चैन थिएन त्यस बस्तीका मानिसमा । बाली लगायो, गोडमेल गर्यो, मलजल गर्यो जब होला (फल्लाफल्ला) जस्तो हुन्थ्यो कुन बेला कताबाट आएर खतम पारिदिन्थ्यो बाँदरले । सारा किसानका सपना एकै छिनमा स्वाहा हुन्थ्यो ।

धेरै प्रयास गरे बाली जोगाउन । कोही छाप्रो हालेर बाली नजिकै बसे । कोहीले ठूला र छुचा कुकुर पाले । कसैले जागिर छाडे । कसैले त बाँदर हेर्न बच्चा नै जन्माए । कसैको केही लागेन । वाक्क भएका गाउँले रामका दुत धपाउन धेरै प्रयास गरे । गुलेली देखाए, बन्दुक पड्काए, लखेटे, कोसी तारे, बार बारे, सीमाना कटाए तर केही सीप चलेन गाउँलेहरूको । रीसको झोकमा २/४ बाँदरको हत्या पनि भयो । तितर बितरपारि समूह छुट्याइयो पनि । बच्चाको बिजोक पनि पारियो । पासो थापियो, विषसमेत हालियो तर न परयो न खाएर मरे न मासियो न भागे, असत्ती बाँदरहरू ।

मान्छे समस्याबाट मुक्त हुन अनेक जुक्ति निकाल्छ । भएभरको बल लगाउँछ । श्रोत र साधानको अधिकतक प्रयोग गर्छ केही नलागेपछि वाक्क भएर भाग्यलाई दोष दिन्छ । प्रकृतिलाई सराप्छ । आफैबाट भाग्छ र अन्तमा मर्छ । त्यस गाउँका मान्छेले पनि बाँदरबाट बाली जोगाउन अनेक प्रयास गरे । उत्तर र दक्षिणका छिमेकी बोलाए तर कसैको केही लागेन ।

समस्यासँगै केही उपाय पनि हुन्छ भन्छन् । एक दिन भैंसी चराउन गएका कप्तान बालाई एक्कासि एउटा जुक्ति निस्केछ । कप्तान बा बहालवाला रहँदा नाइकेसँगको बसाईमा सिकेका थिए क्यारे । शक्तिशाली समूह, वर्ग, जात, पेसा, धर्म, संघठन आदिका बीचमा अनेक प्रपन्च रची फुट गराइ तितर वितर पार्ने र खतम पार्ने । कताबाट त्यो बुद्धि सम्झेछन् ।

घर फर्केपछि छिमेकीसँगको सहयोगमा बाँदर समाइ त्यसलाई कालो, सेतो, टाटेपाटे आदि रंगिविरंगी पार्ने र जंगलमा छाड्ने जसबाट समस्या समाधान पो भइहाल्छ कि । कतिले त पत्याएनन्, कतिले भूपू मान्छेका कुरा भनी हावामा उडाए । कोहीले मन नलागि नलागि सहयोग गरे ।

बाका योजना र कार्यक्रमबमोजिम त्यस बाघ जस्तो देखिने बाँदरलाई लगि जंगलमा छोडियो । जंगलमा छाड्ने बित्तिकै कहिल्यै समूह नछाडेको बाँदर साथी भेट्न गयो । हेर्दा शत्रुजस्तो लाग्ने आफ्नै साथी आउको देखी बथानको भागाभाग हुन्छ । अरु बाँदर रुखमा चड्छन् ऊ पनि रुखमै चड्छ, पहरा, छहरा, पहाड, खोला, रुख, लहरा सारासँगै दौड्छ, साथीसँग हिड्ने, बस्ने इच्छाले । तर सबै बाँदरका फौजको भागाभाग मच्कियो । जति टाढा गए पनि जहाँ गए पनि छोडेन रंगिन बाँदरले । बाँदर त त्यस क्षेत्रबाट पत्तासाप भए तर बाँदरको बथानमा भने शान्ति भएन । संघठित भएर बस्ने बाँदर तितर वितर भए । क्रमभंग भयो । बास सर्यो । साथ र गाँस छुट्यो । आतंक फैलियो तर रंगिन बाँदर बाघ थिएन । उसको त्यस्तो अवस्था बनाउन दोष पनि थिएन । ऊ साथीसँग बस्न चाहन्थ्यो, हिड्न चाहन्थ्यो, भेटन चाहन्थ्यो तर संभव थिएन उसदेखि नै बाँदर भाग्थे ।

यता गाउँमा खुसी मनाइयो । भोज गरियो । कप्तान बालाई सम्मान गरियो । उता प्रकृतिमा रमाउने, जीविका नै बाली खाई चलाउने बाँदरहरूको … भयो ।

–तिलक कार्की
रामेछाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *