“यस रिअली गुडवाई” काठमाडौं
म जाँदैछु तिमीबाट टाढा
तिम्रो स्मृतिबाट दूर
मेरो जन्म भूमिमा, मेरो कर्म भूमिमा
जसरी फर्किन्छ गौथली लाखैमाईल काटेर
जसरी फर्किन्छ हावा सुन्दर सपना बोकेर ।
तिम्रो यो कोलाहलबाट टाढा
तिम्रो यो अराजकताको शहरबाट टाढा
तिम्रो यो असभ्य संस्कृतिबाट टाढा
यो अह्मी व्यविचारी शहरबाट टाढा
यो समस्याको सगरमाथाबाट टाढा
मेरो आफ्नै सुन्दर सहरमा
एउटा अकल्पनीय सपना बोकेर
तर निश्चित बिपनामै ।
लाखैलाख सपनाहरू सजाएर
चाहनाका अनगिन्ती ठेलिहरू लिएर
उडेको चरी गुँडमा फर्के जसरीनै
म जादै छु मेरो सपनाको सहरमा
एउटा सुन्दर भविष्यको संकल्प लिएर
तिम्रो यो सहरबाट ज्ञानका ठेलीहरू लिएर जानेछु
जुन मेरो सपनाको शहरमा फृकाउनेछु
एक्काइशौं शताब्दीको विज्ञान र
पश्चिमेली संस्कृतिको फ्युजन लिएर जानेछु
असामान्य ती अनुभवहरू लिएर जानेछु
अतुलनीय साहस र जाँगर लिएर जानेछु
अनि मेरो यो सिंगो शरीर लिएर जानेछु
बस ! आज मेरो अन्तिम स्पर्श हुनेछ तिमीसँग ।
सायद तिमी रोक्न खोज्छौ होला मलाई
फूल्न फूलाउन खोज्छौ होला आफ्नै गर्भमा
सभ्यहीन र कोलाहलको बीचमा
समस्याको यो चङ्गुल भित्र, अँझैनी केही याम
तर म रुक्ने छैन
किनकि स्वर्णीम उदेश्य लिएर हिडेको मान्छेलाई
तिम्रो महत्वकांक्षाको कुनै अर्थ छैन ।
“डिएर” काठमाडौं
म सम्झिनेछु तिमीलाई
जब समस्या र बन्धनले मलाई बाँधिनेछ
जब असभ्य र ब्यविचारीले मलाई थिचिनेछ
जसरी तिमीलाई अहिले थिचिएको छ
जब मलाई छातीमा रोपिएको अनुभूति हुन्छ नि
तब तिमीलाई सम्झिनेछु ।
मेरो मनको कोमल फूलहरू
मेरो सपनाको शहरमा फूलाउनु छ
मेरो अधैर्य कोशिसहरूलाई
पूर्ण सफलतामा टुङ्ग्याउनु छ
उर्लदो त्यो बाढी जस्तो मेरो मनलाई
सागरसँग मेल गराउनु छ
अनि पग्लेरभन्दा जमेर
सगरमाथाभन्दा उच्च बन्नु छ
त्यसैले म जादैछु
“यस गुडवाई” काठमाडौं ।
जयदीप मगर
पिंखुरी–९, अदुवाबारी