Skip to content


आज फेरि प्रणयसँग झगडा पर्यो । हुन त हाम्रो झगडा नपरेको दिन नै कुन छ र ? तैपनि उसको तुलनामा आज म अलि बढी आक्रमक भएँ कि ? उसले पनि गर्न र भन्न बाँकी त के नै राखेको छ र ? उसले केही नगरेको भए सके हाम्रो झगडा नै पर्ने थिएन होला । यदि त्यस्तो हुँदो हो त कति रमाइलो र सुखद् हुन्थ्यो होला हाम्रो दाम्पात्य जीवन । कति सम्झाएँ उसलाई, रोएँ, कराएँ, बिन्ती नै गरें, साथीभाइलाई पनि सम्झाउन लगाएँ उसलाई । तर मेरो केही शिप लागेन । उसले जम्मै कुरा बुझेको छ र पनि, नबुझेकोजस्तो किन गरेको होला ? के उसलाई हाम्रो दाम्पात्य जीवनरुपी घर भत्किन्छ कि भनेर अलिकित पनि डर लाग्दैन ? चिन्ता लाग्दैन ? पीर लाग्दैन ? हाम्रो सम्बन्धलाई के दुखाउछ ? केले बिसाउँछ ? जम्मैजम्मै कुरा उसलाई थाहा छभने उसका ती जम्मै कृयाकलाप के मलाई रुवाउन वा पीडित बनाउनका लागि मात्रै हो त ? दाम्पात्य जीवनको जग भत्किएला कि भनेर मैले मात्रै चिन्ता लिनुपर्ने हो त ? के उसको चाहिं कुनै पनि भूमिका र जिम्मेवारी छैनन् त ?

म मात्र तेह्र वर्षकी हुँदा उसले मलाई आफ्नो बनायो । त्यसबेला मलाई महिला र पुरुष बीचको सम्बन्धको बारेमा सामान्य जानकारी भए तापनि त्यस्तोविधि चासो चाहिं थिएन । त्यो केटाकेटी उमेरमा मलाई सम्बन्ध र साइनोको जिम्मेवारी र गम्भीरताको बारेमा पनि थाहा थिएन । त्यसबेला प्रणय हाम्रो कमाण्डर थियो । अनुशासित कार्यकताले सधैं आफ्नो कमाण्डरको आदेशको पालना गर्नुपर्छ भन्नेमात्र मैले बुझेकी थिएँ । त्यसैले उसले लाएअह्राएको जुनसुकै काम मेरो लागि कमाण्डरको आदेश थियो चाहे त्यो उसले मेरो शरीरको उपयोग गर्ने काम नै किन नहोस् । त्यसबेला यो लोग्नेस्वास्नीको खेल पनि मलाई कमाण्डरले लाएअह्राएको कामकै एउटा हिस्सा हो भन्ने लाग्थ्यो । त्यसैले यसमा मेरो इच्छा वा स्वीकृति उसले कहिल्यै खोजेन । उसले दिएको आदेश मैले बिना नाइनास्ती नियमित पालना गरिरहें ।

मीठो स्वर त उसलाई प्रकृतिले नै दिएको थियो । त्यसैले पार्टीभित्र उसको स्वरलाई मन नपराउने कोही थिएनन् । कुनै पनि ठाउँको दुश्मनमाथि आक्रमण गर्ने कार्यक्रमअघि हुने सांस्कृतिक कार्यक्रमहरूमा प्रणयको मीठो स्वरमा गुञ्जिने गीतहरूले क्रान्तिको अपरिहार्यता, यही क्रान्तिले नै निमुखाहरूको दिन फिर्ने र नयाँ नेपालको निर्माण गर्ने कुराले माहौल त्यसत्यसै जोशिलो बन्दथ्यो । पुरानो सत्ताको अन्त्य गरेर नयाँ सत्ता स्थापना गर्न घर, परिवार छाडेर र ज्यानको बाजी लगाएर हिंडेका क्रान्तिकारीहरू अहिल्यै लडाइँमा हिंडिंहाल्न तैयार भैहाल्थे । पार्टीप्रतिको समर्पण, निष्ठा, विचारप्रति आस्था र प्रकृति पदत्त गुण सुरिलो स्वरले गर्दा पनि प्रणय पार्टीमा सबैको हाइहाई थियो । म, नीलिमा, आरुषि र मान्याचाहिं प्रणयसँग कोरस गाउँथ्यौं र बेलाबेलामा हामी सामुहिक वा एकल नृत्यमा पनि सहभागी हुन्थ्यौं । पार्टीमा म पनि एउटा कलाकारकै हैसियतमा काम गरिरहेकी थिएँ । तर मेरो स्थिति प्रणयको जस्तो सबैले हाई हाई गर्ने खालको थिएन, ठिकठिकैमात्र थियोभन्दा पनि हुन्छ । तर पार्टीले अंगीकार गरेको विचारलाई जेजति बुझे तापनि म पार्टीप्रति समर्पित एउटी जिम्मेवार कार्यकर्ताचाहिं पक्कै थिएँ ।

प्रणयले नीलिमा, आरुषि र मान्यालाई नरोजेर किन मलाई रोज्यो ? मलाई आजसम्म थाहा छैन । किनभने यी तीनवटी केटीहरू प्रणयले एकपटक इनारमा हामफल भन्योभने तीनपटक हामफाल्न तैयार हुन्थे । तर किन प्रणयको रुझान उनीहरूतिर भएन ? यसको जवाफ मैले आजका दिनसम्म पाउन सकेकी छैन र यो विषयमा मलाई आज पनि आश्चर्य लाग्छ । पार्टी खुल्ला राजनीतिमा आउनुभन्दा एक वर्ष अगाडि प्रणय पक्राउ पर्यो । उसलाई सुर्खेतबाट विभिन्न झ्यालखानाहुँदै काठमाडौंस्थित भैरबगणमा राखिएको कुरा थाहा भयो । त्यहाँ राखिएका बन्दीहरूलाई दिइने अमानुषिक यातनाका बारेमा सुन्दै आङ जिरिङ्ग भएर आउथ्यो । कसैगरी प्रणयलाई छुटाउन पाए हुन्थ्यो भनेर मैले आफ्ना कमाण्डरहरूलाई हारगुहार गरे । तर कसैले चाहेर पनि उसलाई त्यसबेला छुटाउन सहज रहेनछ भनेर मैले धेरैपछि मात्र बुझेँ । त्यसैबेला मलाई मेरा आमाबाबाले पार्टीबाट छुटाएर घर लैजान भरमग्दूर प्रयत्न नगरेका होइनन् । तर पार्टी र प्रणयप्रतिको मोहको कारणले गर्दा मैले मेरा बृद्ध आमाबाबाको आँसुको पनि सम्मान गर्न सकिनँ ।

पार्टी खुल्ला राजनीतिमा आएको केही समयपछि नै प्रणय जेलबाट छुट्यो । म भन्न सक्दिन त्यसबेला मेरो मनमा कस्ता भावहरू सलबलाइरहेका थिए भनेर । किनभने घरि मलाई रुँदै हाँस्न मन लागिरहेको थियोभने घरि हाँस्दै रुन मन लागिरहेको थियो । मलाई घरिघरि प्रणयलाई हेरेर हाँस्न मन लागिरहेको थियो । उसलाई छुन मन लागिरहेको थियो । जेल जीवनको बारेमा उसँग कुरा गर्न मन लागिरहेको थियो । उसलाई मनपर्ने खानेकुरा बनाएर पेटभरि ख्वाउँन मन लागिरहेको थियो । तर उसले त मलाई फर्केर पनि हेरेन । के उसले मेरो मनोभाव बुझेन त ? मलाई उसँग रिसाउँदै लाडिएर ‘‘तिमी त कस्तो छुच्चा’ भन्न मन लागिरहेको थियो । तर मानिसको भीडभाडले गर्दा मैले मेरो मनको कुरा पोको पारेर थपक्क आफ्नै मनमै राखें । प्रणयले यो कुरा कहिल्यै थाहा पाएन होला त ?

पार्टीका लागि हामी दुवै जना पूर्णकालीन कार्यकर्ता भएकाले हामीसँग फुर्सदिला समय कमै हुन्थे । हामी दुवैजना जनसांस्कृतिक महासङ्घमा आवद्ध थियौं । हामी दुवै केन्द्रीय सदस्य भए तापनि हाम्रो जिम्मेवारी काठमाडौं जिल्लामा थियौ । तर प्रणयले आवश्यकताभन्दा बढी व्यवस्तता देखाउँथ्यो । यो अनावश्यक व्यवस्तताका बारेमा मैले उसलाई केही सोध्योभने ऊ रिसाएर झर्को र फर्को गर्न थाल्थ्यो । हामी एउटै कार्यक्रममा सरिक हुन जाने अवस्थामा पनि उसले मलाई बाइकमासँगै जाउँ कहिल्यै भनेन । मैले भनेका कुनै पनि कुरा उसले मान्न नहुने बाचा र किरिया खाएझैँ गर्थ्यो उसले । सेना समायोजनका सम्बन्धमा पनि मेरो कुरा उसले पटक्कै मानेन । नत्र त म पनि आर्मीमा गएर अझै पनि देशको सेवा गर्न चाहन्थें । तर उसले असहमति व्यक्त गरेपछि मेरो त्यो चाहना पनि पूर्ण हुन सकेन ।

उसका बारेमा मैले धेरै कुरा गाइँगाइँगुइँगुँ सुनिसकेकी थिएँ । तर मैले उसलाई सोध्न सकिरहेकी थिइन । किनकि केही सोधिहाल्योभने फेरि अर्को महाभारत वा रडाको नमच्चिने कुरै थिएन । पार्टी वा मोर्चाको कामको सन्दर्भमा हिंड्दा को पुरुष वा को महिलाभन्ने त्यस्तो अप्ठ्यारो, असजिलो वा भेदभावको ख्यालै हुन्थेन । तर उसको व्यवहार त्यत्तिमा मात्र सीमित थिएन । घरमा सासू, नन्द वा आमाजू भैदिएको भए यस्ता कुराकानी एकापसमा आदानप्रदान गरेर अलिकति भए पनि मन हल्का पारिन्थ्यो होला, केही समाधान पनि निस्किन्थ्यो होला । तर मेरा त नतः सासू, नतः नन्द नतः आमाजू नै छन् । कोसँग पोख्नु मनमा अटेशमटेश भइरहेका कुराहरू ? बुढा ससुरा र तन्नेरी तर लठ्यारौ देवरसँग यस्ता कुराको गन्थन के गर्नु ? देवर पोक्के लठ्यौरो नै भए पनि सहयोगी छ । म तीन बजे नै उठेर तरकारी लिन कालीमाटी गएपछि उसले नै घर बढारकुढार गर्ने, तरकारी काटेर ठिक्क पार्ने र पसल खोल्ने काम गर्छ । लठ्यौरो भए पनि मैले नभ्याएको बेलामा उसले नै त घरभरिका मान्छेको लुगा धुन्छ । जुलुस आदिमा गएर आएको दिन उसले नै त तेल तताएर गोडा मालिस गरिदिन्छ । बोली र हिंडाईले मात्र लठ्यारौ देखिने हो पोक्के नत्र त मान्छे निकै चलाख छ ।

तरकारी ल्याउन छ सात जनाको समूह मिलेर ओम्नी भ्यान रिजर्भ गरेर ल्याउनाले पनि निकै सहज भएको छ । छ बजेसम्ममा त तरकारी ल्याएर पसलमा बेच्न पनि थालिसकिन्छ । ससुरा ढुक्कैले पसलमा बस्छन् । त्यसैले पनि मलाई पसलको चिन्ता छैन । रातिको खाना खाइसकेपछि दिनभरिको बिक्रीको हिसाव किताव गर्नैपर्छ । किनभने भोलि फेरि कालीमाटी गएर तरकारी ल्याउन पैसा ठिक पार्नै पर्यो । प्रणयलाई त पसलको कुनै वास्ता नै छैन । पैसा चाहियो भने मलाई यत्ति पैसा चाहियो भनेर उसले त आदेश दिए पुगिहाल्यो । यही पसल थाप्न पनि आमाबाबाले चालीस हजार सहयोग गरेकोले दैनिक खर्च यसैले धानेकोछ । कहिलेकाहीं सांस्कृतिक कार्यक्रम र पार्टीबाट पनि दुईचार पैसा आउँदा सबैभन्दा पहिलो काम कोठाभाडा तिर्ने गर्नुपर्ने हुन्छ । तर प्रणयले त बाहिरी कमाई ल्याएको आजसम्म मलाई थाहा छैन ।

बाहिर सुनेको हल्ला सत्य बनेर अब घरसम्म आइसकेको थियो । एक दिन दुईृ त जिज्ञासालाई मनमै राखें । तर प्रणयको कृयाकलाप सहनै नसकेपछि एक दिन मैले बाध्य भएर सोध्नै पर्यो ।

‘प्रणय, यो सब के हो ? किन यसो गरिरा’ छौं ?’

‘जोधा, आफ्नो संकीर्ण सोंचबाट बाहिर निस्क । ती सबै पार्टीका साथी कमरेडहरू हुन् ।’—प्रणयले जंगिदै जवाफ दिएको थियो ।

‘होलान्, ती सबै पार्टीका कमरेड साथी होलान् । म हैन भन्दिन । तर मित्रताको पनि एउटा सीमा हुन्छ होला नि । हैनभने, म पनि पार्टीमा काम गर्छु । मेरा पुरुष कामरेड मित्रहरू पनि हाम्रो बिछ्यौनासम्म आएभने तिमीलाई आपत्ति नहोला त ? ’

‘वाइयात कुरा नगर । आफ्नो औकातमा बस ।’—प्रणय फेरि जंगियो ।

‘वाह ! तिम्रो सन्दर्भमा तेइ कुरा असल र स्तरको प्रतिक हुने ? तेई कुरा मेरो सन्दर्भमा भए त्यो वाइयात पनि हुने र म औकातमा पनि बस्नुपर्ने ? यइ हो तिम्रो क्रान्तिकारी सोंच ? यई सोंचको प्राप्तिका लागि हामीले युद्ध लडेका थियौ ? ……बाटो नबिराऊ प्रणय, तिमीले मलाई गरेको बेबहारबाट म सांच्चिकै मर्माहत छु । मलाई तिम्रो माया, तिम्रो साथ र तिम्रो सहयोग जीवनभरिलाई चाइएको छ । मनलाई चञ्चल बनाएर लोग्नेस्वास्नीको हाम्रो सम्बन्धलाई नधमिल्याऊ, प्रणय ।’— मेरो बिन्ती, अनूनय र बिनयलाई तिरस्कार र उपेक्षाको भावले लत्याएर ऊ बाइकमा आफ्नो कमरेड साथीलाई लिएर कतै हुइँकियो । मेरो सुँक्कसुँक्क रुवाईमा परिणत भएपछि ससुरा तोक्पे तामाङ्गले आएर मलाई सम्झाएभने देवर पोक्केले चाहिं मेरा आँखाबाट गालाको डिल हुदैँ बगेको आँसुलाई स्नेहपूर्वक पुछिदियो । प्राप्त भएका यी सहानुभूतिहरूको हात समातेर म कतिबेर रोइरहें, मलाई नै थाहा भएन ।

प्रणयको बाइकको पछाडि बस्ने प्रत्येक कमरेड साथीहरू फेरिंदा एकपटक घरमा महाभारत हुनु निश्चितप्राय भइसकेको थियो । तर उसले मेरो अनुरोधमाथि विचारगर्ने वा आफ्नो आचरणलाई सुधार्ने कुनै प्रयत्न गरिरहेको थिएन बरु मेरो विचारमा ऊ अँझ ढिठ र थेत्तरो भइरहेको थियो । त्यसैले त अचेल पार्टी वा मोर्चाले पनि उसलाई खासै महत्वपूर्ण जिम्मेवारी दिइरहेको थिएन । तैपनि मैले उसलाई सही बाटो देखाउन वा सम्झाउँन छाडिनँ । तर कमरेड साथीहरूलाई घुमाउन र मोज गराउनका लागि खर्चने पैसा दिन चाहि र्मैले बन्द गरिसकेकी थिएँ र ससुरालाई पनि नदिन भनिसकेकी थिएँ । यही विषयमा पनि हाम्रो धेरैपटक झगडा भइसकेको थियो । पैसा नपाएपछि उृm झनै उग्र हुन थालेको थियो । तर उसको उग्रताको मेरो लागि धेरै अर्थ भए पनि अब कुनै अर्थ थिएन । किनभने उमेर, पढाई अनुभव र साइनोमा पनि ऊ मभन्दा जेठो थियो । तर व्यवहारिकतामा म जेठो बनेर उसलाई सही बाटो देखाउँदा पनि उसले व्यर्थैको उग्रता देखाइरहन्छभने उसको उग्रता मैले कहिलेसम्म सहिरहने ? कति र कुन हदसम्म सहिरहने ? अग्रगामी विचार मार्पmत संसारलाई नै बदल्छुभन्दै संसारलाई समानताको पाठ पढाउने एउटा क्रान्तिकारीले रातदिन समानता शव्दकै हाँसो र खिल्ली उडाइरहन्छभने म कहिलेसम्म पीडित बनेर सहिरहनु ? कतिपय कमरेड साथीहरूले प्रणयका विरुद्धमा पार्टीमा उजुरी दिन नसुझाएका पनि हैनन् तर जसका लागि आफ्नै जन्मदिने आमाबाबाको मैले आँसुको पनि कदर गरिन त्यही व्यक्तिका विरुद्धमा म कसरी जान सक्थें र ? तर सहनु पनि त अब धेरै गाह्रो भइरहेको थियो ।

तेह्र वर्षको उमेरमा जब मलाई लोग्ने, स्वास्नी र सम्बन्धका बारेमा केही थाहा थिएन तब उसले आफ्नो स्वेच्छालेमात्र मलाई स्वास्नी बनाएको मैले बिर्सेकी थिइन । त्यसैले म जत्तिसुकै क्रान्तिकारी विचारको भए तापनि मभित्र एउटी परंपरागत नारी बाँचिरहेकी थिई । त्यसैले प्रणयमा हजार अवगुण भए पनि ऊ नै मेरो लागि सर्वस्व थियो । मेरो संसार नै प्रणय थियो । उसको परिधिभन्दा बाहिरको संसारको त मैले कहिल्यै कल्पनासमेत गरेकी थिइनँ । हिजोदेखि उसलाई अलि सञ्चो थिएन । एक त माघ महिना त्यसमाथि काठमाडौंको जाडो । जत्ति न्यानो लुगा लगाए पनि न्यानोको अभाव नै खडकिन्छ । त्यसैले उसलाई आफ्नो मायाको न्यानोले अझै तातो बनाई दिने प्रयत्न गरें ।

‘शरमछाडा आइमाई ।’— प्रणयले मलाई लात्तले हानेर खाटबाट तल झारेर अति तुच्छ शैलीमा गालीगर्दै भन्यो । —‘लोग्नेसामुँ आफ्नो तिर्खा देखाउँदा तँलाई लाज लागेन, नकचरी ? आगोले तेसरी नै तँलाई भतभती पोलेको भए जा उता कोठामा लठ्यौरो पोक्के छ । जा जा जा, लबस्तरी, गैहाल । तेरो स्तर तेइसँग ठ्याक्क मिल्छ । ’

मलाई मेरो आफ्नै कानमाथि विश्वास लागेन कुनैदिन प्रणयको मुखबाट मैले यस्ता तुच्छ शव्दहरू सुन्नुपर्नेछ भनेर । यस्तो लाञ्छनायुक्त घृणित वाक्य सुन्नुभन्दा पहिला नै मेरा कानहरू बन्द भएका भए हुने नि ।—‘प्रणय, बरु मलाई मार, तर मेरो बिन्ती छ, यस्ता मनै जलाउने शव्दहरू प्रयोगगरेर मलाई ज्युँदै नमार ।’ —तर मेरो आँसु र पीडासँग उसलाई कुनै सरोकार थिएन । ऊ एकैक्षणमा निश्फिक्रीका साथ घुरघुरगर्दै निदाइसकेको थियो । उफ ! मैले आफ्नो लोग्नेको सन्निधि, स्नेह र विश्वास खोजें त के विराएँ ? प्रणयको नजरमा म योविधि मन नपरेकीभए मलाई सिधै भनेको भए पनि बरु मलाई त्यत्तिविध्न चोट लाग्ने थिएन होला । तर आज त उसले हदै गर्यो । जब लोग्नेले स्वास्नीको स्तर देखाउँदै अर्को पुरुषसँग जोडी बाँधिदिन्छभने त्यस्ता लोग्ने र स्वास्नीको बीचमा बाँकी नै के रहन्छ र ? प्रणयको मनमा मेरो लागि अलिकति पनि ठाउँ रहेनछ र पो उसले मैले जत्ति भने पनि उसले नतः हाम्रो विवाह दर्ता गर्ने सुरसार नै गर्यो नतः उसको नामबाट मेरो नागरिकता बनाउने चासो नै देखायो । हो, अब उसले मेरो स्तर र हैसियत बताइसकेपछि अब मैले पनि आफ्नो बारेमा गम्भीरतापूर्वक सोंच्नैपर्छ । जनतालाई मुक्तिपथमा डोर्याउन अग्रसर भएकी एउटी योद्धा मैले कति दिन यसरी निरीह भएर आँसु बहाउँदै बसिरहनु ?

त्यसदिनपछि नचाहँदानचाहँदै मैले पनि प्रणयलाई वास्ता गर्न छाडिदिएँ । उसले खाए खाओस्, नखाए नखाओस्, सद्धे होओस्, विरामी परोस् मैले कुनै चासो राखिन । तैपनि ऊ सुधृयोस्, सही बाटोमा आवोस् भन्ने कामनाभने मैले निरन्तर गरिरहें । मेरा अनुरोध र कामनालाई उसले के सुन्थ्यो र ? बरु ऊ बेलाबेलामा मलाई प्रत्यक्ष अप्रत्यक्ष विभिन्न आदेश दिन्थ्यो तर मैले पनि उसको आदेशलाई टेरपुच्छर लाइनँ । उसको बिछ्यौना भइूँमा फाल्दिएर खाटमा म एक्लै सुत्न थालें । मैले पार्टी र मोर्चाको कामबाट केही दिनको लागि औपचारिक रुपमै बिदा लिएकोले पसलमा म ढुक्कैले बस्न थालें । त्यसैले मबाट अब उसले सुकामोहर पनि भेट्न छाडेको थियो । किन दिनु उसलाई मैले दुःखले कमाएको पैसा ? एउटी स्वास्नी पाल्न नसक्ने नाथेले बाहिर तरुणी घुमाउने रहर गर्छभने त्यो रहर पूरागर्ने क्षमता पनि उसमा हुनुपर्यो नि । नैतिकतको खोल ओढेर अनैतिक आचरण गर्नेलाई मैले पाल्नुर्छ भन्ने कुन कानूनमा लेखेको छ र ? पैसा नपाएको झोंकमा उसले ममाथि हात उठाउँन खोज्दा उसले उठाएको हात दृढतापूर्वक समाउँदै मैले भनें —‘ प्रणय, अब उप्रान्त ममाथि हात उठाउने भूल नगर, किनभने बन्दूक चलाउन हामी दुवैले एकैचोटि सिकेका हौ भने र अन्यायको विरुद्धमा लड्ने प्रण पनि हामीले एकैचोटि गरेका हौभने अनाहकमा अत्याचारगर्दै ममाथि उठ्ने हात काटेर फालिदिने आँट र हिम्मत ममा अँझैँ पनि बाँकी छ । तिमीलाईृ सम्झना रहोस् । ’

अब ऊ झन बढी उन्मुक्त भएको थियो । तैपनि मैले कुनै वास्ता गरिनँ । आम्दानी अलिकति बढोस् भनेर तरकारी पसलकै एउटा कुनामा मैले चिया पनि पकाएर बेच्न थालें । चियासँगै पाउरोटी, बिस्कुट पनि राम्रैसँग बिक्री हुन थाल्यो । देवर र ससुराको सहयोगले गर्दा पसल चलाउन मलाई कुनै गाह्रो भएको थिएन । जबकि आक्कलझुक्कल कोठामा आइ हाले तापनि ऊ मसँग निहुँ खोज्ने बहाना खोजिरहन्थ्यो । आज त उसले हदै गर्यो । कमरेड साथीको नाममा एउटी महिला ल्याएर मेरै बिछ्यौनामा बसायो । पोक्केले दुवैलाई खाना लगेर बिछ्यौनामै टक्रयायो । रातिको खाना खाइसकेपछि अब त जालान् छैन, अब त जालान् छैन । अति नै भएपछि मैले प्रणयलाई ती महिलालाई तुरुन्त उनको बासस्थानमा लगेर छाड्न आग्रह गरें । तर उसले मैले भनेको पटक्कै सुनेन । रक्सीको सुरमा उसले ममाथि नै हात उठायो । तैपनि मैले धेरै संयम अपनाएँ । अझै पनि उसलाई सम्झाएँ । तर ऊ र उसकी महिलामित्र समेत ममाथि हातपातमा ओर्लिएपछि मैले आफ्नो बचाव त गर्नैपर्यो । द्वन्द्वकालमा सिकेको द्वन्द्वकला मैले बिर्सेकी थिइनँ । त्यसैले दुवैलाई रामै्रसँग धुलाई दिएर ढोकाबाहिर फ्याँकी दिएँ ।

‘प्रणय म आफ्नो रक्षा गर्न पनि सक्छु र मलाई मेरो सीमा र स्तर पनि राम्रोसँग थाहा छ । त्यसैले हिजोमात्र मैले पोक्केलाई भाइटिकालाई दिएर देवरबाट आफ्नो भाइ बनाएँ । अनि तिम्रो बाबुलाई जिन्दगीभरि छोरो बनेर पाल्नेछु भनेर पनि मैले वचन दिएँ । आजको मिति देखि म तिमीलाइृ चिन्दिन तिमी को होै ? किनभने बिहेको नाममामा नत तिमीले मलाई सिन्दुर दियो नतः पोते नै । त्यो पनि छाडौं, तिमीले त मलाई एकमुठी माया पनि दिएनौ जबकि आजका दिनसम्म एक गाँस भात पनि मैले तिमीलाई मेरै कमाईले ख्वाईरकी छु । तिमीले लाएको धरो पनि मेरै कमाइले हो । तर तिमीले त मलाई एउटा बस्तुभन्दा बढी केइ ठानेनौ त्यसैले त तिमीले मैले जत्ति अनुरोध गरे पनि हाम्रो बिहेको कुनै प्रमाण बनाउनैे चाहनौभने अब तेसको आवश्यकता पनिरहेन । तेसलै अब उप्रान्त याँ’ बिर्सेर नि नआउनु । किनभने कानूनी रुपमा र भावनात्मक रुपमा तिमी र मबीच कुनै साइनो र सम्बन्ध नै छैनभने तिमी मेरो कोही होइनौ र म पनि तिम्रो कोही हैन । बरु पोक्के मेरो साख्खे भाइ हो र तोक्पे तामाङ्ग मेरो साख्खै बाबु हो । ’

ढोका बाहिर लम्पसार परिरहेको प्रणय र उसकी महिला मित्रलाई हेरिरहें मैले । मेरो रिस अझै मरेको थिएन । एक बाल्टिन पानी ल्याएर दुवै जनालाई छ्यापी दिएँ र कहिल्यै नखोल्नेगरी उनीहरूको मुखमा बजारेझैं ढ्याम्म आवाजा आउनेगरी ढोका लगाएँ ।

इन्द्रकुमार श्रेष्ठ ‘सरित्’
हाँसपोसा — २, तरहरा (सुन्सरी),
हाल : काठमाडौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *