Skip to content

आमा ! यसपाली तीजमा ब्रत नबस !


आमा ! यसपाली तीजमा ब्रत नबस !
नबस आमा, यसपालिको तीजमा ब्रत
आखिर यतिका वर्ष केही भएन तिम्रो ब्रतले,
न गरिबीको झुप्रो बलियो बन्यो
न जंड्याहाको बोत्तल रित्तियो,
न रहरले मन भरियो,

उस्तै छ तिम्रो चोलीको रुप
उस्तै छ तिम्रो दैनिकी,
उस्तै छ मनको बह
उस्तै छ पिठ्यूँको भारी
अनि बस्तुको गोठहरू,

तिम्रो बिना पानीको ब्रतले पनि
त्यो पत्थरको भगवान बोलेन
बाउको रक्सीको लत छुटेन
तिम्रो छोराको बानी सुधृएन
सासू र नन्दको मन फेरिएन,

हर साँझ तिमीले बाल्ने अगरबत्तीसँगै
एउटा बोत्तल हल्लिंदै आउँछ,
तिमीले बजाउने घन्टीसँगै
कसैको गाली तरंगित हुन्छ
तिमीले लगाउने टीकासँगै
बाताबरण कलंकित हुन्छ,

त्यसैले आमा भो यसपालि
दर खाऊ, गीत गाउ र रमाउ
तर तीजमा ब्रत नबस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *