Skip to content


एक दिन कुनै लोकलबसमा घर तर्फ आउँदै थिएँ। अर्को स्टेशनमा हँसिलो अनुहार भएको एक अधबैँशे बसमा चढ्यो।
उसको हँसिलो अनुहार देखेर अनायास मेरो अधरबाट पनि मुस्कान निस्क्यो। ऊ मेरो छेवैको खाली सीटमा आएर बस्यो।

परिचयको आदान-प्रदान भयो। हरेक पल्ट बोल्दा ऊ मुस्कुराउँथ्यो। ऊ मुस्कुराउँदा लाग्थ्यो संसारकै सबैभन्दा खुसी व्यक्तिझैँ लाग्दथ्यो।

मलाई भने उसको मुस्कानको रहस्य जान्ने खुलदुली बढ्न थाल्यो। मन चञ्चल भइरह्यो।

एकछिन पछि हेरेँ, ऊ त मस्त आफ्नै धुनमा आँखा बन्द गरेर मुस्कुराईरहेको थियो।

केहीबेरपछि उसले आँखा खोल्यो र मैले सोधेँ- “तपाईँ असाध्यै खुसी देखिनुहुन्छ नि? यो खुसीको रहस्य के होला?”

उसले मुस्कुराउँदै भन्यो – “मेरो काम नै खुसी बाँडने हो। खुसी बाँडदा-बाँडदा म आफैँ यति धेरै मुस्कुराउन थालेँ कि मेरो अधरबाट मुस्कानले ठाउँ छोड्नै मानेन।”

उसको उत्तर मलाई अनौठो लाग्यो। उसको कुरालाई मनन गर्दै थिएँ ऊ भन्दै गयो – “तपाईँलाई थाहा छ, एउटा बालक किन जतिबेला पनि हाँसिरहेको हुन्छ?”

म उसले गरेको गहिरो प्रश्नको उत्तर खोज्न थालेँ ऊ भन्दै थियो – “उसलाई रिसाउन र रूनको लागि कारण चाहिन्छ तर हाँस्नको लागि कुनै कारण चाहिँदैन। एक युवा अथवा प्रौढ हाँस्न मन लागेर पनि हाँस्न सक्दैन। ऊ चिन्ता, रीस, आवेग तथा डरको जालोमा यसरी जेलिएको हुन्छ कि उसले हाँस्न बिर्सिसकेको हुन्छ।”

म भने एकटक उसलाई हेरेको हेऱ्यै भएछु ऊ भन्दै थियो – “म यही मुस्कानबाट निष्कपट, निश्छल बाल्यपनमै फर्कन चाहन्छु अनि यही मुस्कानको रहस्य मैले भेटेका मानिसलाई बाँडदै हिँडछु।”

मेरो मानसपटलमा अनेकानेक कुराहरू खेल्न थाले मेरो सामुन्नेको मानिसको उचाई बढ्दै गएझैँ लाग्यो। सायद उसको गन्तब्य आएछ क्यार, मुस्कुराउँदै उसले बिदा लियो र बसबाट ओर्ल्यो।

मेरो पछाडी उभीईरहेका मित्र मेरो नजिकको खाली सीटमा बसे र भन्न थाले – “थाहा छ अघि तपाईँसँग कुरा गर्ने मान्छे त खुस्केको छ नि। देख्नुभएन कस्तो अटपटे कुरा गर्थ्यो। अहिले त पुरै पागल भईसके जस्तो छ।”

मलाई मेरो अगाडि कुरा गरिरहने मित्रप्रति असाध्य रीस उठ्यो। तर रीस शान्त पार्दै ओठमा मुस्कान ल्याउँदै मैले भनेँ – “हो तपाईँ मान्छे पागल या सद्दे छुट्याउन त निकै सिपालु हुनुहुँदो रहेछ।”

उनको अनुहारको भाव बदलिँदै थियो म भने मेरो गन्तब्य आइसकेकोले बसको ढोकातर्फ लागेँ।

२६ भाद्र २०७२

Leave a Reply

Your email address will not be published. Required fields are marked *