Skip to content


परदेश अनुभव, मनमा गढेका सुक्ष्म अवलोकनका दृश्यपट अनि प्रेमिल तरङ्गहरुको तीव्र अनुभूति मिसाएर स्रष्टा दामोदर पुडासैनी किशोरले एउटा कृति ल्याएका छन्- ‘यात्राका प्रेमिल तरङ्गहरु ।’

दामोदर कवि हुन् भन्ने मात्र थाहा थियो । तर उनको यो गद्य साहित्य पढिसकेपछि उनी राम्रै गद्य पनि लेख्छन् भन्ने लाग्छ । जुन-जुन मुलुक घुमे ती मुलुकहरुमा उनले धेरै कुरा देखे र भोगे पनि । नयाँ अनुभवहरु बटुले । तिनै घटना र अनुभव र कृतिमा उतारेका छन् दामोदरले ।

पुस्तकका प्रत्येक प्रसंगमा लेखक भेटिन्छन् । हरेक ठाउँ, चरित्र र समाजका विशेषतामाझ । लेखक प्रकृति र त्यसका सौन्दर्यसँग खेल्छन् । सबै रहनसहनमा रमाउँछन् । तिनलाई प्रेमिलतामा जोडेर रोचक बनाउँछन् ।

धेरै क्षण र प्रसंगमा लेखक भावुक र संवेदनशील बनेका छन् । अघि लर्ड बाइनर सुतेको ठाउँमा पुग्न पाएनन् उनी, आज उनको भित्री इच्छा थियो लिओ टाल्सटायको गाउँ पुग्न सकौं । तर अन्य मित्रमनमा भने साहित्यप्रति संवेदनशीलता थिएन । उनीहरुले भने- ‘हामी त साहित्यकारको गाउँ जानुभन्दा ओछ्यान लगाएर सुत्छौं बरु ।’ पुस्किनको घरनजिकै पुगेका थिए उनी ।

परदेशमा अनौठो संसार जन्मिरहेछ, एउटा नेपाली संसार । लाखौं पुगे परदेश । ती सबै डायस्पोरिक चेतना बोकेर बसेका छन्- अमेरिका, प|mान्स, बेलायत कहाँकहाँ । झन्डै पचास लाखभन्दा बढी नेपाली परदेशमा छन् भनिन्छ । पुस्तकमा ती पनि भेटिन्छन् ।

यात्रा अनुभूतिहरु आख्यानात्मक हुनसक्छन्, वणर्ानात्मक र विवरणात्मक पनि हुनसक्छन् । यात्रा अनुभव कुन शैलीमा प्रस्तुत गर्ने र कतिसम्म प्रभावशाली बनाउने भन्ने लेखकमै भरपर्छ । यो लेखकको सिर्जनात्मक क्षमता र शैली पनि हो । दामोदरले यसलाई पनि देखाएका छन् ।

लेखाइ शैलीमा जर्नल -दैनिकी) कै तरिका अपनाएका छन् । प्रत्येक दिनको घटना, त्यही दिन वा रात लिपिवद्ध गरेको अनुभव हुन्छ । उनका रचनामा लामो समयकालागि परदेश लाग्नेबेलाको भावुकता र केही बिदाइका क्षण पनि छन् । उनले ट्रान्जिट कन्ट्रीको पनि ख्याल राखेका छन्, बाटामा भेटिएका हितैषीको पनि सम्झेका छन् ।

निजात्मकता र निर्वैयक्तिकताको पनि राम्रैसँग प्रयोग गरिएको कृतिमा । लेखकको मात्रै एकालाप पाठकलाई मन पर्दैन भने लेखकको उपस्थिति बिनाको सामाजिक वर्णनले पनि यात्रा साहित्यको विशिष्टतालाई कमजोर बनाउँछ । लेखक यी दुवैमा सचेत छन् । कृति मोडर्न बुक्सले बजारमा ल्याएको हो ।

यात्रालेखनमा अनुभूति पक्ष नै ठूलो शक्ति हो । दामोदरको लेखनमा त्यो पाइन्छ । जस्तो कि उनले जेनेभा तालको किनारमा लेखेको एउटा हाइकु पनि पुस्तकमा छ-

दर्कंदो झरी
डुब्न लागेको घाम
मनमा तिमी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *