Skip to content


शहरबासीहरू,
कोही माटोका,
कोही फलामका,
कोही पितलका,
कोही तामाका,
त,
कोही सुन चाँदी रङ्गले पोतेका,
दियोमा तेल भरेर,
काँचो धागोको टुक्रालाई,
जतनले तेलमा डुबार,
घरका छतछतमा,
झ्याल झ्यालमा,
रेलीङरेलीङ्मा,
जतनले राख्दै गरेका
देखिन्थे।
चोकमा ठूलो पर्दामा,
मान्छेका टाउकाहरू,
लुगैलुगले ढाकिएका शरिरहरू,
महङ्गा कुर्सीमा बसेर,
कुन्नि के के भनिरहेकाथे,
बिचरा तामाङ दाइ,
त्यो केही पनि,
बुझ्न नसकेता पनि,
त्यही भीडको कुनै कुनामा,
दुई हातलाई पछाडि तन्काउँदै,
जोडजोडले आफ्नो नाम्लो समातिरहेका थिए,
किनकि,
भीडमा चोर लाग्छ,
गुण्डा लाग्छ,
ती चोर, गुण्डाहरू,
अरुको सम्पति चोर्छन,
त्यसैले उसलाई,
उसको सम्पतिको रक्षा गर्नु थियो,
त्यसैले त जोड जोडले,
नाम्लो समाइरहेका थिए,
बिचरा भरिया दाइ।

पर्दाको कुर्सीमा उभिएका,
एक टाउको,
अगाडि पँक्तिका,
सबै टाउकाहरूलाई सम्बोधन गर्दै,
कुन्नि के के भन्दै थिए,
बिचरा भरिया तामाङ दाइ,
बुझेनन् ती भाषाहरू,
ऊ,
बोक्ने र बोकाउने भाषा मात्रै बुझ्थ्यो,
बाँच्ने र बचाउने भाषा मात्रै बुझ्थ्यो,
दु:खैमा,
हाँस्ने र हँसाउने भाषा मात्र बुझ्थ्यो,
तर उसले,
त्यो टाउकोले बोलेको भाषा बुझेन,
तर सोच्यो,
पक्कै धेरै पढेको मान्छे रहेछ।

“‘नेपालको सँविधान -2072’ घोषणा भयो।”
उसको कानमा,
यो शब्दले ठूलै धक्का दिएर गयो,
सबै चिच्याए,
सबै कराए,
सबै उफ्रिए,
पर्दाका मान्छेहरू पनि तालि पिट्दै थिए,
सबै खुशी देखिन्थे,
तर कुन्नि केको खुसी थियो,
उसलाई थाहा थिएन,
तैपनि एक पटक,
ऊ पनि चिच्याई दिए,
‘उसले ठान्यो घोषणा भएछ।’
तर कुन्नि के हो घोषणा भएछ!
बिचरा भरिया दाइ,
क ख र पनि नजानेको,
एकै छिनमा सबै पार लागे,
ऊ पनि पाट्टितिर फर्के,
एकै छिनमा,
घर घरमा,
रङ्गि चङ्गि बति बल्न थाल्यो,
दियो जल्न र बल्न थाल्यो,
तर उसलाई,
किन? के? र कसका लागि?
थाहै थिएन,
पतै थिएन,
तैपनि एक चोटि,
शहरका चारैतिर आँखा घुमाए,
आँखाले भ्याएसम्म हेर,
मन नअघाएसम्म हेर,
उसले यस्तो शहर,
कहिल्यै देखेको थिएन,
त्यसैले उसले सोच्यो,
‘घोषणा भनेको यहीरहेछ।’
र उही पाट्टिको कुनामा,
गुटुमुटु परेर,
भोलि उही पुरानो दिनको निरन्तरताका लागि,
निद्रे आरमा गर्नतिर लागे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *