Skip to content

लाहुरेको दूरबिनबाट ‘मलाया एक्सप्रेस’लाई चिहाउँदा


सबैभन्दा पहिलो सन्दर्भचाहिँ नेपाली उपन्यास साहित्यमा रोचक, घोचक, सरल, सरस र समसामयिक यथार्थपरक शैलीमा विदेश जाने लाहुरेहरू र उनीहरूका आफन्तको अति करुण तथा मार्मिक कथामा आधारित मलाया एक्सप्रेस नामको सफल सामाजिक उपन्यास लेख्नुभएकोमा युवा उपन्यासकार अखण्ड भण्डारीलाई गाउँका सामान्य पाठकको हैसियतले म धेरैधेरै धन्यवाद् दिन चाहन्छु । अनि चाहन्छु म उनको कलमको नमन गर्न पनि । हामीजस्ता ‘घरकै लागि घरदेखि बाहिर बसेको छु’ भन्दै देशमै बस्ने सानु पेसामा पन्पिएका जन सामान्यलाई त उनको यो उपन्यासले यति गहिराइमा गएर छुन्छ भने विदेश जानुअघि घरपरिवारका करकापमा परेर अनिच्छुक भई बिहे गरेको पन्ध्रदिन पनि बित्न नपाई अँगालाभरिकी स्वास्नी, ससाना चिलिला भाइबहिनीहरू र डाँडामाथिका जून भैसकेका बाआमालाई धरधर्ती रुवाएर परदेशका बन्जर धर्तीमा आफ्नो सीप र ऊर्जालाई खन्याउन जाने ती तमाम आधुनिक मदनरूपि जितबहादुरहरू जसको रेमिट्यान्सले नेपाली अर्थतन्त्रको धुकधुकी धानिरहेको छ । उनीहरूलाई पनि सम्मान गर्दै यो आलेखको आरम्भ गर्न चाहन्छु ।

उपन्यासकार भण्डारीजी यसभन्दा अगाडि पनि समाचारको भाषा नामक पुस्तकबाट नेपाली आधुनिक छापा पत्रकारिता जगत्मा भाषिक पुस्तकका लेखकका रूपमा चर्चित भैसक्नुभएको थियो । अहिले त्यो भाषाको गहन पुस्तक वहाँको उपन्यासकार व्यक्तित्वको पाश्र्वमा रहे पनि मलाया एक्सप्रेस उपन्यासमा जून किसिमको पात्रीय कथ्य भाषाका बारेमा चर्चा चलेको छ । त्यो बास्तवमा भण्डारीजीको यसभन्दा अगाडि नै लेखिएको पुस्तक र सोही पुस्तकको अनुभवले खारेको भाषिक परिपाठ होभन्दा गल्ती अवश्य हुँदैन ।

पत्रकारितालाई हतारिएको साहित्य पनि भनिएको छ । वहाँको पेसागत चरित्रका कारण पनि यस्तो सूचनात्मक र विवरणात्मक कथानक बोकेको उपन्यास लेख्न अन्तरआत्माले वहाँलाई घच्घच्यायो होला ? योचाहिँ मेरो सरल बुझाइ र सोचाइ हो ।

मलाया एक्सप्रेसका बारेमा आफूले पढेर ज्ञान भएका केही अनुभूतिलाई यहाँ जस्ताकोतस्तै राख्ने जमर्को गरेको छु । ३२ परिच्छेद्का २९१ पृष्ठमा मूल कन्टेन्ट र बाँकी अघि र पछि गरी करिब १० पृष्ठमा आभार, भाषा–नोट र लेखक्यौलीलाई आधुनिक पाराले सेटिङ्गरी सजाइएको उपन्यासको शीर्षक मलाया एक्सप्रेस नै जनजीव्रोमा झुन्डिने खालको छ । विभिन्न कथा र उपकथालाई समेटेको यो उपन्यासले वैदेशिक रोजगारीका विभिन्न पाटाहरूलाई भित्रसम्म पुगेर केलाएको त छ नै । साथै यसले प्रत्यक्ष परोक्षरुपमा नेपाली समाजलाई पार्दै आएका असरहरू र तिनलाई पूर्णरूपमा नेपाली समाजले थेग्न नसकेको परिस्थितिलाई ‘लाइभ शैली’ (ज्यूँदोजाग्दो शैली)मा उठान गरेको छ । यो नै प्रस्तुत उपन्यासको सफलताको पूर्व सङ्केत पनि हो ।

बद्लिँदो नेपालको लागि यो नयाँ विषयवस्तु भएको नेपाली उपन्यास हो । जसले नेपाली समाजमा नजानिँदो गरी पारिवारिक विखण्डनका घटनाहरू वैदेशिक रोजगारी र रेमिट्यान्स मार्फत् आउन लागेको जानकारी समेत दिएको छ । अनि नेपाली समाजमा अहिले प्रयोग भएका फेसबुक, इमेल र इलेक्ट्रोनिक संस्कृति र त्यसको राम्रो नराम्रो दुवै पक्षको जानकारी दिएको छ । यो प्रविधि प्रयोग नै नेपाली उपन्यासका नयाँ पाठकका लागि प्रस्तुत उपन्यासको नयाँ कोसेली पनि हो ।

याम्बुरी बुक प्वाइन्टद्वारा २०७० भदौमा प्रकाशित यो उपन्यासको आवरण पनि सार्थक छ । जितबहादुर, प्रिया र आमालाई चट्ट आमुखमा समेटन् सफल उपन्यासभित्र पनि ती तीनवटै चरित्रहरू घडीका सुई घुमेझैँ घुमिरहन्छन् – अनवरत ।

स्वट एनालाइसिस पद्दतिअनुसार भन्नुपर्दा यो उपन्यासका केही राम्रा र सुधार गर्नुपर्ने पक्षका विशेषताहरू निम्नानुसार रहेका छन् –

राम्रा पक्षहरू :–
– वैदेशिक रोजगारका बारेमा यत्तिको रोचक र आधिकारिक कथावस्तु भएको उपन्यास नेपालीमा यसअघि आएको थिएन ।
– यो विदेश जाने विशेष गरी दुखीया र विदेश गएका नेपालीहरूका पत्नी, छोराछोरी साथै तिनीहरूको पारिवारिक वर्गलाई लक्षित गरेर लेखिएको उपन्यास हो ।
– यो उपन्यासले आफ्नो कथानकलाई पुष्टि गर्न यथार्थ वर्णनात्मक शैलीलाई अपनाएको छ ।
– यो उपन्यास नेपाली साहित्यमा यस किसिमको विषयवस्तु बोकेको जेठो र रहस्यमय कथा बोकेको पहिलो उपन्यास हो ।
– यो उपन्यास नेपाली बद्लिँदो समाजको ज्वलन्त चित्रण हो । नेपाली समाजमा सेक्सका बारेमा नयाँ र आधुनिक सोचलाई यसले बेधडक प्रस्तुत गरेको छ ।
– यो उपन्यासले विदेशिएका नेपाली युवालाई देशमा उनीहरूको रगत र पसिनाको खाँचो सप्रमाण औँल्याएको छ ।
– नेपाली लाहू््रे प्रवृत्तिमा केन्द्रित सफल उपन्यास हो –यो ।
– बेसिक निडका रूपमा मानिसका खाना, छाना, नाना, शिक्षा, ओखती र सुरक्षाजस्तै अत्यावश्यक मानिएको यौनको चित्रण पनि उपन्यासमा गरिएको छ ।
– उपन्यास शिष्ट र श्लील छ । जुन यौनका घटनाहरू जहाँ जसरी हुनु पर्ने हुन् । तिनीहरूलाई त्यहीँ ठिकठिक पाराले प्रस्तुत गरिएको छ ।
– उपन्यासले आमा र आमातत्वलाई अति नै आदर गरेको छ ।
– देशरूपि आमा र जन्मदिने आमालाई जुन रूपले आदर गरिएको छ त्यसको जति प्रशंसा गरे पनि कमि नै हुन्छ ।
– साहित्यले चेतनासहितको मनोरञ्जनात्मकता दिनुपर्छ भन्ने मान्यतालाई उपन्यासले सफल तरिकाले पुष्टि गरिदिएको छ ।
– उपन्यास पढ्ने पाठकपाठिका भविष्यमा वैदेशिक रोजगारीमा जाँदा तीनपटक सोचेर मात्र जान्छन् । या चेलीबेटी बेच्ने दलाललाई पनि चिन्ने सामर्थ्य राख्ने भएकाले बुझेर मात्र व्यवहार गर्छन् । यस मानेमा पुस्तकले आँखा खोलिदिएको छ ।
– लोग्ने विदेश गएका स्वास्नी र स्वास्नी विदेश गएका लोग्नेहरूलाई उपन्यासले रुवाउने शैलीको जोडदार प्रस्तुति गरेको छ ।
– पारिवारिक खुसी र सन्तृष्टि केवल पैसामा मात्र खोज्ने जितबहादुरजस्ता नेपाली युवालाई यसले स्वदेशमै कमाएर खान गतिलो शिक्षा दिएको छ ।
– विदेशमा कसरी नेपालीले नेपालीलाई बेबकुफ बनाउँछन् अनि कसरी गुलियो बचन देखाएर ठग्छन् भन्ने कुरा बुझ्न यो उपन्यास एकपल्ट नपढी हुँदैन ।
– विदेश जाने युवा र घरमा बस्ने पत्नीले यो उपन्यासलाई साथमा राखेर पढ्ने हो भने विदेश जाने र स्वदेशमा बस्ने परिवारका सदस्यहरूको बुद्धि भ्रष्ट हुँदैन ।
– उपन्यासले प्रविधि प्रयोगका सन्दर्भहरूलाई आवश्यक स्थानमा भरपूरमात्रामा उपयोग गरेको छ ।
– अहिलेको विकसित नेपाली चेतना र प्रविधिलाई उपन्यासले न्याय गर्न सकेको छ ।
– नेपाली इतिहासमा ‘जनयुद्ध’का नामले इङ्गित भएको माओवादी विद्रोहलाई त्यसको पक्ष विपक्षसहित वर्णनात्मक चित्रण गरिएको छ ।
– सन्तुलित भाषाशैली र पूर्वाग्रहरहित प्रस्तुति अपनाएरै उपन्यास आफ्नो सन्देश प्रशारणमा सफल छ ।
– यो तृतीय पुरुषशैलीमा लेखिएको वर्णनात्मक उपन्यास हो । यहाँ लेखक समाख्याताका रूपमा (घटना वर्णनकर्ताका रूपमा) आएका छन् । जसमा एउटै घर परिवारका तीन सदस्यहरू मुख्य पात्रका रूपमा आएका छन् । जितबहादुर उपन्यासको नायक, प्रिया नायिका, आमा सहनायिका र डेनिस खलनायक हो भने अन्यचाहिँ गौण पात्रहरू हुन् ।
– यो एकोन्मुख कथामा उपकथात्मक संयोजन भएको र रैखिक ढाँचामा कथावस्तुको विकास भएको उपन्यास हो । यसमा कहीँकहीँ पूर्वदीप्ति शैली (फ्ल्यासब्याक स्टायल) को पनि कुशल प्रयोग गरिएको छ ।
– घटित घटनाको फेहरिस्तलाई यथार्थपरक र रोचक पाराले तारतम्य मिलेको देखाइएको छ । जुन लेखकको सफल आख्यान लेखनकै सीप हो ।
– समलिङ्गी समन्धलाई पनि रोचक र सफल पारामा व्यक्त गरिएको छ –उपन्यासमा ।
माथिका राम्रा पक्षहरूका तुलनामा उपन्यासमा केही सुधार गर्नु पर्ने पक्षहरू पनि समेटिएका छन् ।

सुधारगर्नु पर्ने पक्षहरू :–
– उपन्यासमा हुनु पर्ने कलात्मक औपन्यासिक गुणवत्ताको यहाँ कमिरहेको छ ।
– उपन्यासले कुनैकुनै घटनाको अनावश्यक वर्णन गरेको छ । जस्तै : प्रिया र डेनिसको पहिलो र दोस्रो भेडेटार यात्रालाई आवश्यकताभन्दा निकै लामो चुइगमजस्तै गरी तन्काइएको छ ।
– ‘उपन्यासका पाठकमा निश्चित लक्षित वर्ग छन्’ भनेर लेखक पन्छन खोजे पनि भाषिक रुपमा अलि अकलात्मक शैलीको भाषिक प्रयोग छ । पुस्तकीय रूपमा आइसकेपछि जोसुकैले पनि पुस्तक पढ्ने भएकाले निश्चित लक्ष्य बनाउदा कहिलेकाहीँ कृति लोकप्रिय हुनाबाट अनावश्यक रूपले वञ्चित हुन जान्छ ।
– घटना वर्णनमा लेखक कहीँकहीँ अलिक हतारिएका छन् ।
– चरित्र वर्णनमा लेखक सिथिल देखिन्छन् ।
– समय र कालखण्डलाई पारिवेशिक रूपमा उपकथात्मक संयोजनमा कहीँ कहीँ ध्यान पुर्याउनु नसक्नु लेखकको लेखकीय कमजोरी हो ।

यी ६ वटा सुधार गर्नुपर्ने क्षेत्रहरूलाई लेखकले आफ्नो भविष्यका आख्यानात्मक पुस्तक लेख्दा न्यूनिकरण गर्न सके भने यिनी आगामी आख्यानमा जोडदार पहल गर्दै जवर्जस्त नेपाली साहित्यको आख्यानात्मक फाँटमा स्थापित नहोलान् भन्न सकिन्न ।

केही समयदेखि नेपाली आख्यान लेखनमा एकप्रकारले बाढी आएको छ । अब अलिअलि नाम चलेको सिकारू लेखक कनिकुथी होस् या सिद्धहस्त लेखक स्वत:फूर्त लेखनमा रमाउँदै उपन्यासमै हात हाल्न थालेका छन् । उपन्यास सबै किसिमका चरित्रहरूलाई न्याय गर्न सक्ने आख्यानात्मक रचना हो । यसले वृहत् प्रकारको परिवेशमा विभिन्न प्रकारका कथा र उपकथाहरूलाई पृथक् चरित्रहरूका सामुमा एकै पटकमा न्याय गर्न सक्छ । त्यसैले पनि विश्व साहित्यमा यसको प्रभाव आजका दिनमा झन्झन् बढ्दै गएको हो ।

विदेशिएका नेपालीहरूको करुण कथा व्यथालाई अत्यन्त मार्मिक, रोचक, सरल र रहस्यात्मक कथाको जालो बुन्ने काम गरेका छन् –युवा उपन्यासकार अखण्ड भण्डारीले मलाया एक्सप्रेसमा । उपन्यासकारले आफ्नो उपन्यासको समर्पणमा ‘युद्धले अलमल्याएका अनि, देश बनाउने चेत खुलेका तमाम जितबहादुर, प्रिया र आमाहरूलाई !’ भनेर भावना पोखेका छन् । उपन्यासले माओवादी विद्रोह, बेरोजगारहरूको युद्धमोह, वैदेशिक रोजगारीका तमाम पीडा र यावत् यातनाहरूलाई नढाँटीकन कथात्मक फेहरिस्त दिएको छ । यो उपन्यासले पारिवारिक विछोडका पीडालाई मार्मिक तर यथार्थ शैलीमा आफ्ना तथ्यात्मक कथालाई प्रस्तुत गरेको छ । नेपालीहरू विदेशमा खुनका आँसुले रोइरहेका छन् अनि घरपरिवारमा पनि त्यस्तै नूनिला आँसुका ढिकाहरू बर्बाद् नभएका होइनन् । लोग्ने विदेशमा ताता बालुवामा आफ्नो भाग्य र भविष्य खोज्दै हुन्छ भने यहाँ नेपालमा उसकी स्वास्नी घरगाउँबाट केटाकेटी पढाउने निउँमा सुुविधाका सदरमुकामहरूमा सर्दै अवैध यौनधन्दामा पनि फँस्न थालेका छन् । नेपाली समाज बिस्तारैबिस्तारै उदाङ्गो हुँदै जाँदो छ । यो अहिलेको कटु सत्य हो ।

मैले अहिले अध्ययन गरेका अधिकाँश नेपाली उपन्यासमा अनेक कथाहरू बोकेका उपन्यासहरूलाई पढेँ । तर यो उपन्यासले पक्डेका कथा र उपकथाहरूले नयाँ पुस्ताले पुरानो पुस्तालाई वास्ता नगर्ने, पहाडका डाँडा पाखाहरूमा सुन र लसुन फलाउन सकिने भए पनि त्यो नचाहेर वा नगरेर आमासाथै नेपाल आमालाई रुवाएर विदेश जान जुनसुकै अप्ठ्याराहरू पनि पार गर्ने र देश फिटिक्कै नबस्ने युवा सोचप्रति एकफेर सोच्नु पर्ने गरी चित्रण गरेको छ ।

नेपाललाई कुनै समयमा कृषिप्रधान देश भनेर चिनिन्थ्यो । समयान्तरमा त्यो अलिअलि गर्दै फेरिँदै गयो । माओवादीहरूको विद्रोहताका त्यो ‘सहिदप्रधान देश’मा गनिएको थियो भने अहिले नेपाललाई ‘विदेशी श्रमिकहरू उत्पादन गर्ने देश’ भनेर चिनिन्छ । प्रतिदिन करिब १३ सयको हाराहारीमा नेपाली युवा युवतीहरू अहिले विदेश गैरहेका छन् । यो तथ्य विकाराल मात्र होइन देशकै लागि गम्भीर चुनौती पनि हो । एक हिसाबले देशमा रेमिट्यान्स भित्रिन्छ त्यो राम्रै हो तर अहिले त्यो भित्रिएको रेमिट्यान्स उत्पादनमूलक काममा खर्च भएको छैन । त्यसले निम्न र निम्न मध्यमवर्गीय जीवनमा खान र खाउनमै खर्च भएको आँकडाले देखाइरहेको छ ।

अर्को कुरा नेपाली राजनीति सुनामीको शैलीमा हिँडिरेको छ । त्यसरी विदेश गएका ती विचराहरू देशले कुनै रूपले पनि आश्रय नदिएपछि देशै नछोडेर के गरून ? उपाय नास्ती भएपछि मानिस ‘मर्ता क्या नही कर्ता’ भनेझैँ भीरबाट पनि हाम्फाल्छ । नेपालीमा उखानै छ नि –‘मर्नुभन्दा बहुलाउनु निको ।’ मलाया एक्सप्रेसको कथ्य या भनूँ अन्तर्यले मलाई किन पनि निकै लामो गरी झिँगलेको हो, कोमल मन औ मुटुमा पीडा दिएको हो ।

यता देशमा भनेँ लाहुरे हुने या लाहुर प्रवृत्तिले नेपालमा जरो गाडेको निकै दसक भयो । नेपालमा विकासे योजना बन्न थालेको पनि लगभग ६० वर्ष जति भयो । वर्षेनि खरबौँखरब बजेट पढ्छन् –नेपालका अर्थमन्त्रीहरू तर १६ नाघेका र ५० ननाघेका नियतिले चुटिएका र व्यवहारको अगेनामा भुटिएका नेपाली युवाहरू अहिले विदेश र विदेशीका मुख ताक्न थालेका छन् । जागिरमा पशुपतिनाथ भाक्न थालेका छन् । यस्तो अवस्थाको रोचक चित्रणलाई मलाया एक्सप्रेसले आफ्नो रचना गर्भ बनाएको छ । यो हिसाबमा उपन्यास सफल छ । नेपाली उपन्यास साहित्यमा यस्तै खालका प्रभावोत्तेजक उपन्यासहरू आगामी दिनमा लेखियून । अहिलेलाई यही नै कामना गर्नु समिचीन देखिन्छ । सबैमा चेतना भया ।

पेशल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *