Skip to content

मात्र एउटा अवकाश पत्र


मानिस जन्मेपछि मर्छ यो शाश्वत सत्यसँग कसैको दुई मत हुनै सक्दैन । तर एक दिन मरिन्छ भन्ने जान्दाजान्दै पनि मानिसले आफूले आफूलाई माया गर्छ आफ्नो कायालाई माया गर्छ, आफ्नो छायाँलाई समेत स्नेह गर्छ जबकि उसलाई थाहा छ जीवनमा एक दिन काया, छायाँ, माया, धन, दौलत, प्रियजन सबै छाडेर अनन्त यात्रामा निस्किनै पर्छ तैपनि मृत्युपर्यन्त ऊ लोभ, मोह र क्रोधबाट पृथक रहन सक्दैन । किनभने संसार मायावी छ र मायावी संसारको मोहबाट जोगीहरूले मुक्त हुने भरमग्दूर प्रयत्न गरे तापनि भोगीहरू मुक्त हुन के सक्थे र यही मायावी समुद्रको म पनि एक थोपा हुँ । म पनि परम्पराबाट हटेर पृथक हुन कसरी सक्थें र ? कसरी सक्नु र ?

आज २०६८।८।२९ गते विहीवारको दिन । आङमा न्यानो घाम लाग्ने खालको दिन घमाइलो भए पनि विहानैदेखि मन एकतमासले धुम्मिएको छ । नसोंचु भन्दाभन्दै पनि म चिन्तित भएको छ । सधैंको मेनुमा पाकेको पकवान पनि आज घाँटीबाट छिर्नै मानेन । मलाई अचम्म लाग्छ, मन व्यथित भएपछि, मस्तिष्क चिन्तित भएपछि पेटको भोक किन हराएर जान्छ ? यो हराएर कहाँ गएर थपक्क बस्छ होला ? अन्यमनस्कभावमै कार्यालयको पोशाक लगाएर म घरबाट निस्किएँ । आज स्कुटरमा नगएर मैले गन्तव्यसम्मका लागि माइक्रोबस रोजें ।

यही ठाउँमा मैले तीस वर्ष बिताएँ । तर किन आज यो ठाउँ मलाई पराईजस्तै लागिरहेछ ? सधैं मलाई हेर्ने परिचित अनुहारहरू पनि मलाई किन पराईझैँ लागिरहेछन् ? मलाई हेरिरहेका आँखाहरूमा मप्रति अपनत्व, उपेक्षा वा व्यंग्य के कस्तो भाव हो ? मलाई शङ्का लाग्छ । तर यो के भ्रममात्र हो त ? अथा वास्तविकता के हो ? निर्क्यौल गर्न नसक्दा हाजिरी गरिसकेपछि पनि मन छटपट छटपट भइरहेको थियो । मलाई थाहा थियो, कार्यालयभरि चर्चा मेरै छ, चिया गफ होस् वा अवबार पन्छ्याएर नै किन नहोस् कुराकानीको मुख्य विषय र पात्र त म नै हुँ ।

कसैले जिज्ञासामा सोधे, कसैले जानकारीका लागि सोधे त कसैले पूर्ण विराम लगाउनका लागि पनि सोधे— के साँच्चै कार्यालयमा आज मेरो अन्तिम दिन हो ? हो, मैले भुलेको छैन, कार्यालयमा आज मेरो अन्तिम दिन हो । २०३८।०९।०१ गते जागीरका लागि स्थायी नियुक्ति लिंदा नै मलाई थाहा थियो भविष्यमा आजको यो दिन पक्कापक्की आउँछ भनेर । तर यो दिनको सामना गर्न म मानसिक रुपले तैयार भए पनि हार्दिक रुपले म तैयार रहिनछु ।कति गाढा माया बसेछ यो संस्थासँग मेरो । यसको आलिङ्गनबाट छुट्टिनै पर्ने वास्तविकताले उफ ! कस्तरी मेरो मन छियाछिया भएर तडपिरहेछ, दुखिरहेछ, पोलिरहेछ ।

हुन त म कार्यरत संस्थाले चाहेको भए म अरु दुई चार वर्ष संस्थामा बस्न नसक्ने थिइन । तर मेरो दूर्भाग्य । मेरो कमजोरी । अठार वर्षको अल्लारे उमेरबाट स्थायी जागीर सुरु गरेको मैले तीस वर्ष जागीर खाएर अडचालीस वर्षको परिपक्व उमेरको हुँदा पनि म पूर्णतः कर्मचारी मानसिकताको कर्मचारी कहिल्यै हुन सकिन । मुखमा रामराम बगलीमा छुरा गर्न कहिल्यै जानिन । कालोलाई सेतो र सेतालाई कालो मान्न सक्ने चाकरीपन मैले ममा कहिल्यै विकास गर्न सकिन । कसैको आँखालाई रिझाउँने निकृष्टतामा म कहिल्यै ओर्लिन सकिन । बरु मेरो जागीरे व्यक्तित्वलाई सधैंसधैं मेरो साहित्यिक व्यक्तित्वले थिचिरह्यो, जितिरह्यो ।

जागीरे जीवनमा मैले व्यक्तिगत रुपमा कसैलाई फाइदा पुर्याउन सकिन होला तर मैले कसैप्रति कुभलो चिताइन र बेफाइदा अनि कुभलो पनि गरिन । किनभने जागीर मेरो लागि तलब आउने माध्यममात्र नभएर परिचय र प्रतिष्ठा पनि हो भन्ने मैले कहिल्यै भुलिन । तर भुल्नेहरूले सहयोग, सद्भाव र गुण नै पनि बिर्सिंदा रहेछन् जसको प्रमुख उदाहरण मेरो सामु पर्न नसकेर संस्था प्रमुख (हुती नै नभएको हरूवाको मैले यहाँ नाम उल्लेख गरिन) मैले अनिवार्य अवकाश पत्र नबुझुञ्जेल कार्यालयमै देखा परेन ।

मंसीर, २९ गते आज एक बज्नै लागेको छ, निमित्त प्रशासक ओमकारनिधि तिवारी, प्रशासन प्रमुख शालिग्राम पराजुली र सह-व्यवस्थापक मुकुन्द उपाध्यायले प्रशासकको कार्यकक्षमा मलाईृ बोलाए । ओमकार सर शालिग्राम सरले लामो भूमिका बाँध्नुभयो मलाई चिठी बुझाउनु अघि । मलाई थाहा छैन, यो उहाँहरूले औपचारिकतामात्र निर्वाह गरिरहनु भएको थियो वा साँच्चै नै उहाँहरूको मन बोलिरहेको थियो भन्ने कुरा उहाँहरू बाहेक अरुलाई थाहा हुने कुरै भएन । उहाँहरूको कुरा सुनिरहँदा मैले बलैले मुटुमा गाँठो बाँधेर रोकेको मनको बाँध छताछुल्ल भएर पोखिने हो कि भन्ने भयले सताइरह्यो । जे जस्तो भए तापनि त्यसबेलाको उहाँहरूको अभिव्यक्तिमा मैले सत्यता र इमान्दारिता नै पाएँ । त्यसैले कसो कसो मेरो मन नै हुँडलिएर आइरहेको थियो, बोल्न खोज्दा घाँटी अवरुद्ध भइरहेको थियो । यो अवकाश अनिवार्य अवकाश त नियमित आकस्मिकता हो भन्ने जान्दाजान्दै पनि कसोकसो मनमा परेको गाँठो आँखाबाट छचल्किन खोज्दा मैले बलैले रोकिरहेको पाएँ ।

जीवन नै अस्थायी हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि स्थायी जागीर खाएको भ्रम एउटा अवकाश पत्रले यसरी झर्याझुरुम पारेर फुटाउँदा जतिसुकै दह्रो भए पनि मन चर्किँदो नै रहेछ । ओमकार सर, शालिग्राम सर र मुकुन्दजीको सान्त्वनाले मन लफक्कै भिजिसकेको थियो । आफ्नो भिजेको मन अरुले नदेखुन भनेर घाँटीमै अड्किन खोज्ने जुसको ग्लास मैले बलैले रित्याएँ ।

मैले अवकाश पत्र बुझ्ने बेलासम्ममा संस्थाभित्र जुन किसिमको माहौल बनेको थियो त्यसले गर्दा संस्थाको तर्फबाट हुने बिदाइको कुनै पनि औपचारिकता मैले स्वीकार गर्न सकिन । किनभने मलाई थाहा छ, म स्वनिर्मित व्यक्ति हुँ । आजसम्मको अवस्थासम्ममा आईपुग्न मैले आफ्नो जीवनको महत्वपूर्ण तीस वर्ष लगानी गरें । एस.एल.सी. नै उत्तीर्ण नगरी बिना भनसुन बिना चाकरी आफ्नै मिहिनेत, परिश्रम र क्षमताले तेश्रो तहमा जागीर खान सुरु गरेको मैले एस.एल.सी., आई.ए., बि.ए. र एम.ए. यही जागीर खाँदै पढें र अवकाश सातौं तहको अधिकृतबाट भएँ । त्यसैले पानी भरिएको आँखाले नियाल्दा एउटै अवकाश पत्रमा समेटिएका रहेछन् मेरो योग्यता, क्षमता र उर्जाशील समयका तीसवटा वर्षहरू ।

मलाई थाहा छ,समकक्षीहरूको तुलनामा जीवनमा मैले हिनताबोध गर्नुपर्ने कुनै कारण छैनन् केही असन्तुष्तिटका आफ्ना पाटाहरू भलै होलान । तर नतः जागीरे जीवनमा नतः व्यक्तिगत जीवनमा, मैले कहिल्यै स्वस्ति गर्न सिकिन, जानिन र गरिन पनि । आफ्नो नैतिकता, इमान्दारिता र कर्तव्यनिष्ठताप्रति म कहिल्यै विचलित भइन । त्यसैले मेरो जीवनभरिको पूँजी भन्नु नै मेरो आत्मसम्मान हो, मेरो स्वाभिमान हो । मलाई थाहा छ, मेरा यी अमूल्य पूँजी गुमाएर म बाँच्ने कल्पना पनि गर्न सक्दिन ।

मेरो यही स्वाभाव र दृढताले गर्दा नै जागीरे जीवनमै मेरा अगाडि थुपै्र अफ्ठ्याराहरू नआएका होइनन तर म विचलित भइन जवकि अब ती सबै ऐंजेरुहरूलाई मैले आफालेर आइसकेपछि तीप्रति पनि मेरो मनमा कुनै द्वैश वा तिक्तताका भावना छैनन् । बरु शुभकामना दिन्छु तिनलाई, तिनले पनि मैलेजस्तै सङ्घर्ष गर्न सिकुन्, सङ्घर्ष गर्न सकुन् । स्वाभिमान र नैतिकतालाई बन्धकी नराखिकन मैले जत्तिको जीवनसङ्घर्षका सोपानहरू चढ्न सकुन् ।

आज कार्यालयमा मेरो अन्तिम दिन । कार्यालयबाट बाहिरिने बेलामा साथीहरू लक्ष्मण अधिकारी, बिनोद कपाली, अर्जुन कँडेल, नवराज मुडभरी, मोहनलाल महर्जन लगायतका साथीहरू देखापर्नुभयो । तर जुन साथीलाई मैले वैचारिक दृष्टिकोणले नजिक र धेरै नै भद्र, विवेकी, सशनशील र आत्मीय ठान्थें उनी त मेरो सामु देखा नै परेनन् । सँगै बसेर चिया खाने साथीहरूको आग्रहलाई समेत लत्याउँदै उनी त नचिनिएका अपराधीझैँ उम्किएर भागे । यी सबै पाच्य—अपाच्य दृश्य र दृश्यावलीहरूलाई पचाएर भए पनि मुहारमा हाँसो देखाउनु नै थियो । किनभने दुःखी भएर मन डढाउनुको अब कुनै अर्थ थिएन । जिन्दगीमा अझै धेरै काम गर्न बाँकी नै छ बरु आगामी दिनका लागि अति आवश्यकपर्ने साहसलाई मैले आफूभित्र सञ्चित गरिरहेको थिएँ । साथीहरूको भीडमा साथी विनोद कपालीले आफ्नो मोटरबाइकमा मलाई घरसम्म पुर्याउने प्रस्तावलाई मैले स्नेहपूर्वक इन्कारगर्दा पनि मैले धर पाइन । र,मलाई म बनाउने संस्थालाई आँखाभरि,मनभरि राखेर, उनैको बाइकमा चढेर म कार्यालय हाताबाट बाहिरिएँ । नयाँ सडकमा पुगेपछि उनीसँग पनि मैले बिदाइको हात मिलाएँ र लागें माइक्रो पार्कतिर ।

आज २०६९।०१।१९ गतेको घमाइलो विहान । राष्ट्रिय बीमा संस्थानमा ३० वर्षसम्म गरेको सेवाको प्रमाणस्वरुप र सम्वन्धको समाप्तिको दशीस्वरुप एउटा अनिवार्य अवकाश पत्र एउटा हातमा बोकेर अर्को हातले म यी हरफहरू कोरिरहेको छु । तैपनि मलाई हतास देख्न चाहने, उदास देख्न चाहने, दुःखी देख्न चाहनेहरूलाई मैले भन्नै पर्छ म हतास छैन, उदास छैन र दुःखी पनि छैन । जीवनमा अबका दिनहरूमा हिंड्नुपर्ने बाटाहरू, घुम्तीहरू र मोडहरूका बारेमा म स्पष्ट छु । मलाई मैले पुग्नैपर्ने गन्तव्यको जानकारी यथेष्ठ छ । साहित्य र राजनीतिको समानानन्तर धारमा म निरन्तर हिंडिरहने नै छु । यो छोटो अवधिमै मैले वच्चाहरूका लागि तीनवटा किताव लेखिसकें । जागीरे जीवनमा त क्रियाशील मेरो साहित्यिक जीवनलाई अबका दिनहरूमा म अँझ निरन्तरता दिने नै छु । बरु मैले आत्मीय ठानेको, वैचारिक दृष्टिले स्पष्ट भएको र सशनहील अनि विवेकी ठानेको मित्रलेृ म सम्मुखपर्ने हिम्मत नजुटाउनु भएकोमा मलाई दुःख लागे तापनि अब यस्ता झिनामसिना प्रसङ्गहरूमा मेरा कुनै गुनासा छैनन् । किनभने मैले बुझिसकेको छु, यात्रामा भेटिने प्रत्येक यात्री आफन्त र गन्तव्यसम्मै पुग्ने खालका नहुने रहेछन् । आफूले आफन्त ठानेको व्यक्ति पराई नै रहेको यथार्थबोध हुँदा मैले यही वास्तविकतालाई हृदयंगम गरेर मनलाई सान्त्वना दिंदैं आएको छु । पारिलो घाममा बसेर आफ्नो तीस वर्षको समर्पणस्वरु पाएको यो अनिवार्य अवकाश पत्रलाई स्नेहपूर्वक ओल्टाईपल्टाई गरिरहेको छु । नचाहेरै पनि सोध्न मन लागेकोछ, ए अवकाशपत्र ! तीस वर्षसम्म मैले बुझेको तलब, भत्ता, सुविधा म जम्मै तिमीलाई नै फिर्ता गरिदिन्छु तर सट्टामा मलाई तिमीले पनि यौवन,आँट र उर्जाले भरिएका मेरा ती तीसवटा सुन्दर वर्षहरू मलाई फिर्ता देऊ । सक्छौ त यत्ति गर्न ? मेरो अनुरोधको कुनै प्रत्युत्तर नआएपछि मैले तीस वर्षको अनवरत दैनिकीलाई पुनः एकपटक पछ्याउँने निर्णय गरें । विहानको खाना खाएर इस्त्री लगाएको लुगा लगाएँ र लागें स्कुटरको सवारी गरेर एउटा निजी विद्यालयतिर । किनभने भर्खरै त हो म एउटा निजी विद्यालयसँग आबद्ध भएको, गतिशील जीवनमा आफू पनि क्रियाशील हुन ।

इन्द्रकुमार श्रेष्ठ ‘सरित्’

Leave a Reply

Your email address will not be published. Required fields are marked *