चरा भुर्र भुर्र उड्दै थियो । बाँसघारीमा सिमटालाको चिर्बिरसँगै साँझले प्रस्थान गर्छ । बुढी हजुरआमा घरको आँगनीबाट माथितिर हेर्छिन् । एउटा अपरिचित मान्छे आफ्ना पाइला लम्काऊदै आइरहेको हुन्छ । आफ्ना आँखामा संभावनाका रेखाहरू कोर्दै बुढी आमा टुलुटुलु हेरिरहन्छिन् ।
करिब करिब ५ फिट लम्बाईको हुँदो हो, नयाँ कपडा लगाएको र सहरको ठिटो हो भन्ने कुरा प्रष्ट भयो उसैको कानमा कोचिएको एयरफोन र आँखा अगाडिको चस्माले ।
हुन त आजभोलि वैँशले छोएका तरुनतन्नेरीको स्टाइल हो यो भन्दै बुढी हजुरआमा मुसुमुसु हाँसिन् । त्यो अपरिचित मान्छे आँखै अगाडिबाट गयो तर हजुरआमाले खोजेको मान्छे थिएन सायद ऊ । आँखाभरि टिलपिल आँसु बनाएर भित्र पस्दै उनीले मनलाई कसेर भनिन् “माया मारेछ’’ ।
यो आइमाईको जात पनि के भाको, पढ्नु छ होला केही काम छ होला अनि आएन होला । सधैँ एकै कहाँ हुन्छ र भन्दै बुढा हजुरबाले भने ।
हो त है अब तिहारमा पनि सम्झिन नपाउने भैसके त छोरा नातिहरू – आमाले भनिन् ।
भो उब नकरा भन्दै बुढा बाले वार्तलापलाई अन्तै मोडे । साँझको खानपान पछि दुवै जना सुत्छन् । दुवैको मन चाहिँ खिन्न छ किनभने त्यो ठुलो घर र धेरै कोठामा थोरै मान्छे छन् त्यही पनि तिहारको बेला । जसोतसो मन बुझाउदै छन् ।
बिहानै उठी आमा दिनचर्यामा लाग्छिन् । आगो बाल्छिन् । आगो खुशीले उफर्दै थियो । फेरि आगोले नि आशाको त्यान्द्रो बिच्छ्याउछ र बुढी आमा फेरि भन्छिन्, “बुढौ आज आउँछ कि क्या हो ?’’
बुढा भन्छन्, “आधुनिक तेरा छोरा नातिलाई प्राचिन तरिकाले नसम्झे। लु फोन गर । यदि त १० वर्ष पछि जन्म्या भए फेस्बुक चलाउथिस । अब मन बुझा ।’’