Skip to content

इन्दिरा–मन्दिरम शोककाव्य अवलोकन


परिचय

यो इन्दिरा–मन्दिरम शोककाव्यका कृतिकार हुनुहुन्छ भूपेन्द्र गण्डर्षि । भूपेन्द्र गण्डर्षि एक बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । उहाँ एक बरिष्ठ साहित्यकार पनि हो र एक बरिष्ठ पत्रकार पनि । उहाँका सात कृतिहरू बजारमा आइसकेका छन् । यी कृतिबाट हामी उहाँलाई कवि, समालोचक, गजलकार र काव्यकारको रूपमा विश्लेषण गर्न सकिन्छ भने उहाँको साहित्य सेवाले नवलपरासी क्षेत्रमा अग्रणी स्थान ओगटेको पाउँछौ । नवलपरासीको पत्रकारिताको कुरा गर्दा उहाँ नेपाल पत्रकार महासंघ नवलपरासीको संस्थापक अध्यक्ष हुनुहुन्छ । देवचुली साहित्यिक पत्रिका र भोजपत्र सप्ताहिकको संस्थापक / सम्पादक हुनुहुन्छ । सामुदायिक रेडियो मध्यविन्दु एफ्ए म कावासोती न.पा.–८ इन्द्रचोक नवलपरासीको संस्थापक र पूर्व उपाध्यक्ष हुनुहुन्छ । वैदिक धर्म परिषद नेपालको केन्द्रीय सदस्य हुनुहुन्छ । शिक्षा क्षेत्रमा कार्यरत रहेर पाल्ही बहुमुखी क्याम्पस परासी २०४७देखि २०५६सम्म सेवा दिनु भएको थियो भने लुम्बिनी आदर्श डिग्रीकलेज कावासोती–८मा पूर्व प्रिन्सिपल(२०६१) र हालसम्म पनि सेवा दिंदै आउनु भएको छ । हाल उहाँ पिताको शोकमा हुनुहुन्छ र यो शोककाव्य उहाँको पिताको देहत्याग(बि.सं.२०७२ जेष्ठ १२ गते)को ४५ दिन भित्रै हामीमा पस्कनु भएको छ । नेपाली साहित्यमा यो शोककाव्यले दर्बिलो स्थान ओगट्न सफल भएको छ ।

पण्डित इन्द्रप्रसाद पण्डितको संक्षिप्त जीवनी

पण्डित इन्द्रप्रसाद भट्टराई (इन्दिराशरण)को मरण विरामी न भै अचानक बेलुकीको सन्ध्या योगद्वारा बि.सं. २०७२जेष्ठ १२ गते भएको थियो । यो दिन भूपेन्द्र भट्टराईका घर परिवारमात्र शोकाकुल बनेन् अपितु उहाँको सम्पर्क र उहाँलाई जान्ने बुझ्ने हामी सबै शोकाकुल भयौं । सरल, सहज, सबै क्षेत्रमा व्यापक मानवतावादमा समर्पित उहाँको उच्च व्यक्तित्वले सबैलाई आकर्षण गरेको थियो । उहाँको मीठो सारगर्भित बोलीबाट म आफै पनि निकै प्रभावित भएको थिएँ । यहाँ म काव्यको शोक अश्रुलाई ग्रहण गर्नुभन्दा पहिला पण्डित इन्द्रप्रसाद भट्टराई (१९९३–२०७२)को यस काव्यमा प्रस्तुत गरिएको संक्षिप्त परिचयबाट सबै सामु प्रस्तुत हुने अनुमति माग्दछु– पण्डित इन्द्रप्रसाद भट्टराईको जन्म बि.सं. १९९३ साल भाद्र श्रीकृष्णजन्माअष्टमीमा पर्वतको शालग्राम–५ काभ्राङमा पं. जयबल्लभ (वेदुवा) कि प्रथम पत्नी अयोध्याका कोखबाट द्वितीय पुत्रको रूपमा भएकनो थियो । उहाँको अध्यनको थाचलनी घरबाटै आरम्भ भए पनि ११ वर्षको उमेरमा नै उहाँ बृन्दावनमा प्रस्थान गर्नुभयो र वाराणसेय विश्वविद्यालयबाट इतिहास पूराणमा आचार्य गरी १८ पूराणमा कुशल प्रवाचकको रूपमा आफूलाई स्थापित गर्नुभएको थियो ।

उहाँ एक वैदिक कर्मकाण्ड, निर्णय–सिन्धुका ज्ञाता भएको नाताले उहाँलाई नेपालका पूर्व राजगुरुहरू पनि कर्मकाण्डका गुरु मान्दथे र उहाँ राजकीय धार्मिक यज्ञहरूमा पनि सहभागी हुनुहुन्थ्यो । वि.सं. २०३१ सालदेखि नेपाल तथा भारतमा सम्पन्न गरिने विराट महायज्ञहरूमा प्रधाना आचार्यको रूपमा सहभागी हुनुहुन्थ्यो वि.सं. २०१७ सालदेखि नवलपरासीको पिठौली गा.वि.स. कुश्नहरीमा बसोबास गरे पनि वि.संस २०२२ सालमा चितवन माडीमा बस्ती बसाई माडी गर्दिमा प्रधानपञ्च हुनुभएका इन्द्रप्रसादजी पुन २०३१ सालबाट कावासोतीमा बसोबास गरी पञ्चायती राजनीतिमा सकृय रहँदा रहँदै पञ्चायतले जनताको मौलिकहकलाई बहाली गर्न नसकेकोले वि.सं २०३६ सालमा हुन गएको जनमत सङ्ग्रहमा नवलपरासीको बहुदल प्रचारप्रसार समितिको संयोजक भई बहुदललाई जिताउन सकृय भूमिका निभाउनु भएको थियो । उहाँको सामाजिक काममा सम्लग्नतामा पनि सकृय नै रहेको थियो जस्तै कावासोती खानेपानी आयोजना, नवलपुर विद्युतीकरण, कुमारबर्ती बहुमुखी क्याम्पस, ज्ञानोदय मावि, शिव उच्च मावि, सरस्वती संस्कृति उच्च मावि जनता उच्च मावि, लुम्विनी आदर्श डिग्री कलेजका संस्थापकहरूमा एक (पूर्व अध्यक्ष),वैदिक धर्म परिषद नेपालका संस्थापक महासचिव एव म अध्यक्ष भई झण्डै दुई दशक सक्रियता, राधाकृष्ण पञ्चायन मन्दिर, कावासोती–८ र नर्मदेश्वर शिवालय मन्दिरका संरक्षक, हरिहर सन्यास आश्रम देवघाटधाम आदिमा उहाँले समाज सेवाको साथै अध्यात्मक चिन्तनमा सकृय भूमिका निभाउँदै उहाँको जीवनको अन्त्य भयो । पण्डित इन्द्रप्रसाद भट्टराई एक कुशल लेखक पनि हुनुहुन्थ्यो । उहाँले तीर्थदीपिका(नेपाल भारतका तीर्थहरूको बर्णन), गण्डकी शालग्रमा महात्म्य, वैदिक अध्यात्म दर्शन आदि कृतिहरूलाई हामीले अध्ययन गर्न पाउँछौ।

कृति सरचना र शोकाकुल अश्रु धारा–
विषयक्रमलाई र कृतिमा व्यक्त गरिएका शोकाकुल भावनाका अश्रुधारालाई हामीले यस प्रकार अध्ययन गर्न सकिन्छ । सर्बप्रथम मंगलस्मृतिबाट काव्यको थालनी गरिएको छ । यसमा हामीले १५ श्लोकहरू पाउँछ म जस्मा ‘प्रथम पिताजीलाई हरिहर धारा । सुरमुनि देखिन् धरति–तारा’ भनी पिताजीकै आराधनाबाट थालनी गरिएको छ । बास्तवमा माता पिता भनेका साक्षात् ईश्वर नै हुन् र यो शोक काव्य पिताजीको शोकमा लेखिएकोले पिताजीको स्तुतिबाट थालनी गर्नु अति सान्दर्भिक देखिन्छ । मंगलस्मृति पछि प्रथम सर्गको थालनी हुन्छ । यस सर्गमा शोकै शोक शीर्षक दिएर २३ श्लोकको रचनाबाट पिताजीको निधनमा असह्य पीडालाई सहन नसकी शोककाव्यकार विव्हल हुन्छन् र प्रश्न गर्छन्–

भूल नै भयो र मूल नै गयो म के भनुँ
शूल झै भयो भएर के भयो कसो गरूँ?
छट्पटी भयो भएर के भयो बरू मरूँ !’
सत्यवाद ए ! किशोर कृष्ण हे ! म के गरूँ ?
श्लोक १७

यो सर्गमा पिताजीको मृत्युले सारा घर परिवार, गाउँ टोल सबै शोकमा डुबेको धारणा पस्किएको छ र शब्द शब्दले हामी सबैको मन छुन्छ ।

द्वितीय सर्ग

यस सर्गमा शोक र इन्द्रप्रसादले गरेका योगदानको स्मृतिको बारेमा प्रकाश पारिएको छ । यस सर्गमा दुईपदी ५० श्लोक र चतुस्पदी ३ गरी ५३ श्लोक समावेश गरिएका छन् । इन्द्रप्रसादले मुक्तिक्षेत्रलाई भू–स्वर्ग हो भन्ने गरेको, सत्कर्म श्रद्धाले गर्नु पर्दछ, राधेकृष्ण मूलमन्त्र जप्दा सधैं रमाउन सकिन्छ श्रीकृष्णको कृपा हामीमा हुन्छ,आत्मामा प्रभूको नाम जप्नु पर्दछ, प्रपञ्च त्याग्नु पर्दछ, तृष्ण सबै त्यागी देहले सत्कर्म, भक्ति ज्ञान र योग गर्नु पर्दछ, लोभी कपटी र स्वार्थी व्यक्तिले तपनिष्ठा गरे पनि तर्न नसकिने, जीतेन्द्रीय भएमात्र कृष्णको दर्शन गर्न पाइन्छ, जन्म मृत्यु, जरा व्याधी महाजाललाई शुद्ध चैतन्य आत्माले फार्नु पर्दछ,हर्ष शोक भय त्रास, रागद्वेषादि भावनाको त्याग, शरीर तुच्छ, दुर्गन्धी आशक्तिको त्याग, देहशक्ति नासवान छ, स्त्री–क्रीडा पुत्रक्रीडा धनक्रीडामा अल्झिने सबै संसारिक भइन्छ, निर्विकल्प परमेश्वरलाई चिन्नु पर्ने, साकार र निराकार पूर्ण्ब्रह्मलाई चिनेपछि मात्र आत्मा परमात्मामा मिल्न जाने, आत्मामा ईश्वर बस्छ, यो संसार सबै भुट्टा प्रपञ्च हो यो नश्वर छ, यो पञ्च भौतिक देहको आशक्ति र अहंपनालाई त्यागी, योगबाटै सच्चिदानन्द अर्चन गर्नु पर्छ,, ब्रह्म–च्यैतन्य ज्योतिको ध्यान गरेर भगवत्भावमा पुगिन्छ र उनैसँग लीन भइन्छ साथै लोकको भोक लाग्दैन, ईश्वर छैन भन्नेले दुःख पाउँछ, वेदको विधिलाई छाड्यो भने सृष्टि नासिन्छ, आर्यधर्म महामान्य हो र वेदले दिव्य दर्शन दिन्छ, आदि दिव्यज्ञानको ज्योति बालेर पण्डित इन्द्रप्रसादले आफ्ना सन्ततिमात्र नभएर सबैमा ज्ञानको मार्गदर्शन जो छोडेका छन् ती ब्रह्मबाक्यहरू अविस्मरणीय र अतुलनीय छन् । कृतिकारले यी आफ्नो बुबाले प्रदान गरेका दिव्यवाणीको अमृत पान जो गराउनु भएको छ त्यो नै परमब्रह्म सचिदानन्दलाई प्राप्त गर्ने एक सुगम मार्ग पनि हो । यहाँ मैले केही श्लोकलाई पस्कने अनुमति पनि चाहान्छु–

ब्रह्म सत्य जगत्मिथ्या आत्मा ईश्वर तत्व हो
भक्ति ज्ञानी वा वैरागी कुनै एक भए पुग्यो
श्लोक २९

‘‘ धारणात्धर्ममित्याहु धर्मेणा विधृता प्रजाः
यस्य धारण संयुक्तः सधर्म इति निश्चय’’
बताई धर्मको सार वेद धर्म सनातन
विश्वको माझमा हाम्रो धर्मशास्त्र पुरातन
श्लोक ३०

यी उपरोक्त बाणी पण्डित इन्द्रप्रसादले आफ्ना सन्तति तथा शिष्यहरूलाई दिनुभएका बाक्य पछि कृतिकारले शोकका शब्दहरू जो बुबाबाट गरिएका कामको स्मरण गर्दै चन्द्रसूर्य रहेसम्म बुबाकै यादमा र शिवबस्ती इन्द्रकै खोजीमा रहने दृढता व्यक्त गर्दै, बुबाले गरेका कामको यादगारलाई समेट्ने प्रयास गरिएको छ शोककाव्यमा ।

तृतीय सर्ग–

यस सर्गमा बंशलता बर्णन गरिएको छ । आठ ओटा चतुस्पदी र ९३ ओटा दुईपदी गरी १०१ श्लोकले सिर्जित छ तृतीय सर्ग । यसमा पिपलछायाँमा शिलासान गरी सुत्दा सपनामा भोलि धाङ्ग्रेमा जानु त्यहाँ एक खड्करो भेटिन्छ, त्यसलाई लिएर पाल्पा माडीलाई त्यागेर हल्लनडाँडामा गएर गाउँ बसाउनु, लुम्बारा खेत लिदीमा धान रोपेर मेरो पूजा चलाउनु भन्ने जानकारी पाए पछि सोही बमोजिम गर्दा पुराना खड्करे, खजाञ्ची बशिष्ठ गोत्र र भट्टराई थरका ब्राह्मण भनी बंशजको बर्णन गरिएको छ । यही बंशजमा हरिशरण पण्डितका एउटै छोरा जयबल्लभ वैदिक काभ्राङ वनमा आएर गौ सेवा गरेर बसेका र कर्मकाण्डी (गाउँका पुरोहित) भएर, पशुपति भुर्तेलको छोरी अयोध्याजीसँग विवाह गरेर समाजसेवा गर्दै बसेका थिए । यिनै जयबल्लभ वेदुवाका माहिला छोरा इन्द्रप्रसाद पण्डित र यिनकै खानदान विवाह मृत्यु आदि बर्णनको साथै पण्डित इन्द्रप्रसादको पोखरा गुरूकुलको अध्ययन, पाल्पाको थप अध्ययन, पाङमा ज्योतिष शास्त्र अध्ययन सब धर्म ग्रन्थ पढ्न लट्टे पण्डितसँग बृन्दावनको यात्रा, लटे पण्डितले धन लिएर एउटा चौतारामा छाडेको र रातभरि कुरेर बस्दा पनि नआएको युगलभवनका सिद्ध राधिका शरणलाई धारामा पानी खान जाँदा भेटनु र उनकै साथमा लाग्नु, राधिका शरणले नै साथमा लानु र ज्ञान दिनु, ज्ञान लिंदा इन्द्रप्रसाद नेपाली छात्रमा चम्किदै गएको र नेपाली छात्रसंघ खोलेर महामन्त्री भएको, समानता सहकार्य संघको चाहना थियो, प्रेम भन्ने साथी थिए, महाकवि वनमालिंदास प्रमुख शिक्षा गुरु थिए भन्ने बर्णको साथै वेदुवाको दोस्रो विवाहको बर्णन पनि यस सर्गमा गरिएको छ ।

चतुर्थसर्ग

चतुर्थ सर्गमा दुर्गा बहिनीको जन्म र इन्द्रलक्ष्मी विवाहको साथै पुःन बृन्दावनको बर्णन गरिएको छ । ११ चतुस्पदी र ३३ दुईपदी गरी ४४ ओटा श्लोकबाट यो सर्गको निमार्ण भएको छ । यस सर्गमा रेशमलाल र तेजु आसामतिर गएको, थानेश्वर स्वरोजगारमा भएको, जयबल्लभकी पत्नी लक्ष्मीको गर्भबाट पुत्री लाभ भएको र नाम दुर्गा रहेको, अध्ययन गरेर इन्द्रप्रसाद घरमा आएकोले टक्लाके माझघरे साहुँ खगेश्वर–देउरूपाकी छोरी लक्ष्मीसँग इन्द्रप्रसादको विवाह धुमधामसँग गरिएको र इन्द्रप्रसाद भागवतहरूको अध्ययन गर्न पुनः बृन्दावन गएको र शास्त्रीको उपाधी हाँसिल गरी फर्किएको विवरण यस सर्गमा अध्ययन गर्न पाइन्छ ।

पञ्चमसर्ग

यस शोककाव्यको सबैभन्दा ठूलो र अन्तिम सर्ग यही हो । ४३ ओटा दुईपदी र ६८ ओटा चतुस्पदी गरी १११ श्लोकबाट निर्माण गरिएको छ यो सर्ग । यस सर्गमा धर्म कर्म साधना सहित जीवन विश्रान्ति र पुत्रस्य परमोधर्म पित्रोद्धार समो नहि भनी दुई खण्डमा बर्णन गरिएको छ । इन्द्रप्रसाद पण्डितले भागवतहरूको अध्ययन गरेर घर फर्केपछि माताको चितास्थल लिदी तटमा पितृमोक्ष महायज्ञ आफै श्रीमद्भागवत्को कथा वाचन गर्न थाल्नुभयो, यसै यज्ञबाट उनको नाम व्यासकै रूपमा चल्न थाल्यो र उनी प्रबाचक हुन थाले, वहाकी उच्च मा.वि.को स्थापना गरेर आफै अध्यापक भएर शिक्षा प्रदान गर्नु, २०१७ सालमा जेष्ठ पुत्र पुरुषोत्तमको जन्म भए पछि तराईतिर झर्नु, पिठौलीमा आइ बस्नु, छोरी र छोराहरूको विवाह गर्नु, पण्डित इन्द्रप्रसादको संक्षिप्त जीवनीमा प्रकाश पारिएका सम्पूर्ण सामाजिक राजनीतिक धार्मिक कामहरूको बर्णन यस सर्गमा पस्किएको पाइन्छ ।

अन्तिममा कृतिकारले आफ्ना स्वर्गीय भाइ डोलराजलाई बाबाले तँलाई सम्झेर आएको हुँदा अब स्वर्गमा सेवा गर्ने पालो तेरो भएको र बाबा बस्ने मन्दिर बनाएर बाबाले खाने भोजन तँ आफैले पकाएस् र राम्रो सेवा गरेस् भन्दै आग्रह गरिएको छ । शोकाकुल अश्रुधारालाई बगाउँदै कृतिकारले भन्दछन्–

बग्दैछ अश्रु सरिता अँझ रोकिदैन,
यो गण्डकी–सलिल बन्छ विमुढ नै छ ।
पुग्दैन आँसु पिउनै अब रोक राम
सच्चा–सुधा–नयनबाट गरौं बिराम
श्लोक १११

इन्दिरा मन्दिर म शोक काव्यमा मंगलस्मृति सहित ३३७ श्लोकमा सिर्जना गरिएको छ । पण्डित इन्द्रप्रसादको शोकमा आफ्नै छोरा भूपेन्द्र शर्मा भट्टराई (भूपेन्द्र गण्डर्षि)ले आँसुको थोपा थोपाले लेखिएको यो शोककाव्यले आफ्नो बंशावलीलाई पनि समेट्ने प्रयास गरेको छ भने,यो कृति शोक काव्यमामात्र सीमित नरहेर एउटा स्मृतिकाव्यको रूपमा पनि प्रदर्शित भएको छ । छोटो अवधिमा सिर्जना गरिएको यो काव्यले नेपाली साहित्यको शोककाव्यमा एउटा कोशे ढुङ्गा थपेको छ भन्दै भूपेन्द्र शर्मा गण्डर्षिलाई धन्यवाद दिंदै बिदा चाहान्छु ।

धन्यवाद
सदानन्द अभागी
मिति २०७२ कार्तिक १७ गते,
कावासोती नगरपालिका वडा नं–७ शान्तिचोक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *