Skip to content

सुन्नेलाई सुनको माला – लघु कथा


आमाले जन्माउदा ती जुम्ल्याहरूको रंग केही फरक थियो ….. ।

बाले जमानामा जंगलामुलुक फाँडेर ओरालो भिरालो, समथर जोडेर कुलो पैनी खनेर एउटा ठुलो खेत तयार पार्नुभएको थियो, आमैले धेरै दुख: गरेर दुई भाइ जुम्ल्यहा दाजुभाइलाई हुर्काउनु भो बढाउनु भो पढाउनु भो, सारै मिल्थे दुवै जना । शत्रु उनीहरूको एकता देखेर सिर ठाडो गर्न सक्दैन थिए ! शत्रुहरू इर्श्या र डाहा गर्थे उनीहरूको एकताको मिशालनै थियो उनीहरूको कारणले त्यो गाउँमा शान्ति अमन चयन र न्याय थियो । कसैले पनि अनाहकमा दुख:पाउदैन थिए सारै सभ्य गाउँ थियो त्यो ।

माथि डाँडाबाट कलकल पानी बग्थ्यो, अँझै उत्तरतिर हेर्दा त्यो गाउँमा हिमाल मुस्कुराउथ्यो, तल्लो फाँटमा सुन फल्थ्यो पन्हेलपुर भएर बाले बर्खा लागेपछि हलो चलाएर फाँटमा सुन फलाउथे अनि हिउँद लागेपछि त्यो सुन भित्र्याउथे दाजु भाइहरू दङ्ग हुन्थे सबै खाले चाड वाडहरूमा रम्थे रमाउथे सुन्दर थियो त्यो गाउँ आखिर गाउँको नामनै सुन्दरशान्त गाउँ थियो । बाका नाना थरिका लुगा थिए हिमालतिर जाँदा बख्खु लाउथे ती डाँडातिर फर्कदा पानीको कल कलसँगै दौरा सुरुवाल लाउथे तल बेंशी झर्दा धोती लाउथे, आमा पनि त्यस्तै बख्खु, चौबन्दी फरिया, पेटानी चोली लाउथिन । हिमाली गोठका भेडिहरूको उन निकालेर डाँडाहरूमा झार्थिन, हिउँदमा फाँटमा पुर्याउथिन । आमाले माथिको सेतो त्यो पछिको हरियो अनि तल समतल ठाउँ तिमीहरू दाजु भाइले मिलेर हेर्नु भन्थिन सबै ठाउँको सबै तिरबाट राम्रो देखरेख गर है भनेर अराइरहन्थिन ।

छिमेकमा अजंगको अजिङ्गर बस्त्थ्यो एकदिन त्यसले ठुलो आँधी त्यो गाउँमा पठायो । आँधी पहाड हुँदै मधेश हुँदै बढ्यो, पूर्वको पश्चिमको सीमानाहरूमा त्यो वायुले सखाप पार्यो विश्वासको खेतीमा रगतको पोखरीमा पौडी खेलेर धेरै बालीहरू नष्ट बनायो सेतो सारी बजारमा धेरै बिक्रि भए आँशुहरू धेरै बगे । सलह पस्यो बालीमा खेतहरू रित्तो छोडेर बहरहरू सीमाना तरे हरियाली मुर्झायो सुनौलो बस्ती सुस्तायो हिमाल नहांसेको धेरै भयो । ती नंग्राहरू भुत्ते भए भाँचिए जब झुक्क्याएर टोक्न छोडे अब फेरि कुलो खन्न बाँध कस्न दाजुभाइहरू तम्सिन थाले । मनमोहक सुगन्धले भरिएको हावा बिहानको न्यानोसँगै आउन लागेको थियो त्यो अजिङ्गर फेरि ब्यूँझियो !

आमाले जन्माउदा ती जुम्ल्याहरूको रंग केही फरक थियो एउटा श्याम बर्णको थियो एउटा गहुँगोरो थियो । त्यही अजिंगरले फेरि तेरो रंग यस्तो त्यसको किन त्यस्तो भन्दै पालैपालो दाजु भाइलाई डस्न झमटनथ्यो निहुँ बनाएर दाजु भाइलाई एक आपसमा बिषबमन गराउथ्यो । त्यसलेभन्दाभन्दा गरेपछि दाजु भाइ आपसमा भ्रमित भए अनि त्यो अजिङ्गर तिनीहरूले आपसी रिसमा भित्र्याए आपसमा भीड्न थाले कहिले कुलोको निहुँमा कहिले बाटोको निहुँमा कहिले बतासको निहुँमा कहिले सीमाको निहुँमा युद्ध चल्यो । एक आपसमा त्यो छिमेकी अजिङ्गर प्रयोग गर्न थाले कहिले त्यो अजिङ्गर दाइकोमा बस्थ्यो कहिले त्यो अजिङ्गर भाइकोमा बस्थ्यो त्यो अजिंगरबाट भाइलाई डसाए दाइलाई डसाए । जसको सीमानामा त्यो अजिङ्गर आउछ अगरबत्ती बालेर पूजा गर्थे अर्को तर्फ गए पछि पुच्छर टेकथे अनि आफ्नै रगत चुसाउथे यसरी हजारौ वर्ष युद्ध चल्यो कालान्तरमा दाइ पनि मारियो भाइ पनि मारियो कथा समाप्त भयो ।

सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला यो कथा बैकुन्ठै जाला सदबुद्धि आएमा फर्केर नआउला – के हो ? इति द्वन्द पूराण रगत महात्मे अजिङ्गराये नमो नम :!

Leave a Reply

Your email address will not be published. Required fields are marked *