Skip to content

सरकारी शिक्षकको रूपमा पहिलो दिन


२०७१ भदौ ३ गते मङ्गलबारको दिन सबेरै आँखा खुले । भदौरे झरीले स्वागत गरिरहेको थियो । लामो समयको खडेरीले सप्तरीका कृषक आक्रान्त थिए । अब भने तिनीहरूमा उमङ्ग छाएको हुनुपर्छ । ढिलै भए पनि खेतीपाती लगाउन पाइयो भन्ने लागेको हुनुपर्छ । मनमा नाना थरीका कुराहरू खेलिरहेका थिए । त्यत्तिकैमा पल्लो कोठामा बस्ने शिक्षक मित्र अभितकुमार चौधरीले भने, ‘‘आज तपाईंको साइत बनिरहेको छ । नयाँ ठाउँमा नयाँ मान्छेलाई प्रकृतिले पनि स्वागत गरिरहेको छ ।’’ उनका कुरालाई सहर्ष स्वीकार गर्दै ‘तपाईंका मुखमा दूधभात परोस्’ भनेर जवाफ फर्काएँ ।

अघिल्लो दिन जिल्ला शिक्षा कार्यालय, सप्तरीले स्थायी शिक्षक–नियुक्तिपत्र दिएको थियो । नयाँ स्कुलमा हाजिर हुनुथियो । प्रधानाध्यापक र अन्य शिक्षक मित्रहरूको आँखामा बिझाउन पुगिन्छ कि भन्ने आशङ्का समेत थियो । किनभने दरबन्दी मिलानका क्रममा कतिपय कार्यरत् शिक्षकहरू जिल्लाभित्रै सरुवा भएका थिए । सो कदमबाट कतिपय शिक्षक असन्तुष्ट थिए । कतिपय तोकिएको नयाँ विद्यालयमा नजाने अडानमा थिए । कतै म पनि त्यस्तै झमेला भएको स्कुलमा त परिनँ !

अपरिचितहरूको मनमा बस्न सजिलो हुन्न । अर्काको मन बुझी व्यवहार गरी रिझाउनु चानचुने कुरो पनि होइन । १९ वर्षे शिक्षण अनुभवले निजी विद्यालयका विद्यार्थी र अभिभावक रिझाउने कला मसँग विकसित भइसकेको थियो । सहरका बुझ्झकी विद्यार्थी र तिनका शिक्षित एवं जागरुक अभिभावकलाई सम्झाउन सजिलै थियो । नेपाली भाषामै विचारआदान प्रदान गर्दा पनि हुन्थ्यो । तर, गाउँघरका प्रायः अबुझ विद्यार्थी र तिनका अर्धशिक्षित एवं निष्कृय अभिभावकको मन फर्काउनु पक्कै पनि सकसको काम थियो । मैथिली भाषाको अल्पज्ञानले गर्दा अर्कै थरीको झमेलामा फँसिन्छ कि भन्ने त्रास समेत उत्तिकै थियो ।

शिक्षा कार्यालयले नियमपूर्वक खटाएको काम जिम्मेवारीका साथ फत्ते गर्नु नै थियो । २०९५ जना प्रतिस्पर्धीमध्ये बल्लतल्ल टप सेभेनमा परेर पाएको स्थायी शिक्षकको जागिर छाड्नु पनि भएन । यस धर्तीमा मान्छे स्वतन्त्र कहाँ रहेछ र ? रिमोटद्वारा चल्ने मेसिन पो रहेछ । ऊ चल्ने रिमोट उसैका आफन्तहरूको हातमा हुँदो रहेछ । अर्कातिर उसले सीमित नियमहरूको परिधिमा रहेर काम गर्नु पर्दो रहेछ । आफ्ना लागि मात्र मान्छे कहाँ बाँच्दो रहेछ र ? ऊ त परिवारजन बाँच्ने माध्यम पो बन्दो रहेछ ।

निजी विद्यालय जाँदा सधैँ सुटबुटमा हुन्थेँ । ८ कि.मि. दुरी पार गर्दै पुगिने सरकारी स्कुलका लागि म सामान्य पोशाकमा निस्किएँ । स्कुल गेटमा पुगेर घडी हेर्दा ठ्याक्कै बिहानको ९ः३० भएको रहेछ । विद्यालय परिसर सुनसान थियो । ‘ला, आज विद्यालय बन्द छ कि क्या हो !’ मेरो मुखबाट एक्कासि आवाज आयो । भवन र कक्षाकोठातिर आँखा दौडाएँ । कुनै कक्षामा ७÷८ जोर डेक्स–बेञ्च थिए, कुनै खाली नै थिए । स–साना कक्षामा हरियो कार्पेट ओछ्याइएको थियो । भित्तामा बालोपयोगी कुराहरू लेखिएका थिए । कुनै कोठाका झ्याल खुल्लै थिए, कुनैका बन्द थिए । तर, सबै कोठामा ताल्चा भने मारिएको थियो । मेरा आँखा पक्की भवनमा पुगे । त्यहाँ ठूलो अक्षरमा लेखिएको थियो– श्रीमहावीर माध्यमिक विद्यालय, विषहरिया–४, सप्तरी (स्थापना– वि.सं. २००९) ।

त्यत्ति पुरानो विद्यालय भएर पनि भौतिकरूपमा विपन्न देख्दा हिनताबोधको भावना उम्रियो । भौतिक रूपमा सम्पन्नशाली निजी विद्यालयमा पढाउँदै आएको व्यक्ति परेकाले होला मलाई विरसिलो अनुभूति भयो । आँखा दौडाउने क्रममा एउटा कोठा खुल्लै देखेँ । चियाएर हेरेको त एक जना ५० वर्ष नाघेका व्यक्ति बसेका रहेछन् । ती शिक्षक होइनन् भन्ने कुरा अनुमान गर्न मलाई गाह्रो परेन किनभने उनी धोती र स्याण्डो गन्जीको परिधानमा थिए । त्यही कोठा विद्यालयको कार्यालय रहेछ र उनिरहेछन्– त्यस विद्यालयमा विगत १२ वर्षदेखि पियन पदमा कार्यरत् विनोद यादव । उनी नेपाली भाषामा बोल्न माहिर रहेछन् । उनलाई देखेर र नेपालीमै कुरा गर्न पाएर मेरो मन पुलकित भयो ।

उनैसँग भलाकुसारी चल्दै थियो । त्यत्तिक्कैमा गहुँगोरी वर्णकी सानी छात्रा देखा परिन् । चारैतिर आँखा दौडाइन् र विद्यालय बन्द रहेछ भन्ठानेर होला घर फर्किन लागिन् । मैले तिनलाई बोलाउँदै भनेँ, ‘‘कम हेयर, प्लिज !’’ उनी ट्वाल्ल परेर मतिर हेरिरहिन् । ‘‘यता आऊ, नानी ।’’ उनले आउने नामै लिइनन् । पियनले भने, ‘‘ए नीति देव ! यत या न, माष्टर बोल्वै छो । ई लप्का माष्टर छो ।’’ (ए नीति देव ! यता आइज न । सर बोलाउँदै हुनुहुन्छ । उहाँ नयाँ सर हुनुहुन्छ ।) नभन्दै उनी आइन् । नेपाली भाषामा २÷४ कुरा सोधेँ । जवाफ फर्काउँदै फर्काइनन् । कतै बोल्लिन् कि भनी अङ्ग्रेजी भाषाको प्रयोग गरेँ । ढुङ्गो बोल्ला तर तिनी बोलिन् । निजी विद्यालयमा धेरै खाले विद्यार्थीहरूसँग व्यवहार गरिसकेको मेरो लागि त्यो चुनौती थियो । उनै पियन दाइले मैथिलीमा बोल्न सल्लाह दिए । टुटेपुटेको मैथिली भाषा प्रयोग गर्न थालेँ । उनी केही उत्साहित भइन् र बालसुलभ उत्तर दिन थालिन् । नेपाली किताब पढ्न लगाएँ । फरर पढेर सुनाइदिइन् । पाँच कक्षामा पढ्ने ती सानी छात्राको त्यस प्रतिभालाई मैले हृदयतः नमन गरेँ । किनभने बोर्डिङ्ग स्कुलका विद्यार्थीलाई राम्ररी नेपाली पढ्न र लेख्न नआउने रोगको डाक्टर मै थिएँ । यहाँ ती छात्रामा त्यस रोगले छोएको रहेनछ ।

उनका किताब–कापीको निरीक्षण गरेँ । निजी विद्यालयका विद्यार्थीहरूको कापी–किताबको निरीक्षण गर्दा जे पाउँथेँ, त्यसको एक प्रतिशत पनि नपाउँदा मेरो मन अँध्यारियो । न कापी पर्याप्त मात्रामा थिए, न पूरै किताब उनीसँग थिए । भएका किताब–कापी पनि च्यातचुत थिए, गाता लगाउने कुरै थिएन । जताततै केरकार र फोहोर पारिएका थिए । कापीमा न कक्षाकार्य थियो, न कतै गृहकार्य नै दिइएको थियो । न तिनले लेखेका कुराहरू नै निरीक्षण गरिएको थियो, न कुनै ठाउँमा अभिभावकलाई शिक्षकले सुझाव दिएको नै भेटियो । ती छात्राको निर्दोष अनुहार पढेँ । ती सिक्न आएकी थिइन् तर चार महिना स्कुल सञ्चालन भइसक्दा तिनले के सिकिन् र के–के सिकाइयो, त्यसको प्रमाण कापीमा चाहिँ फेला परेन । मन एक तमासको भयो ।

त्यस्तैमा सेतै फुलेका अधबैंसेले कार्यालयमा प्रवेश गरे । उनिरहेछन्– नि. प्रधानाध्यापक रविन्द्र यादव । उनलाई जिल्ला शिक्षा कार्यालय, सप्तरीले दिएको नियुक्तिपत्र थम्याएँ । उनले राम्ररी पढे र मुस्कुराउँदै मतिर फर्के–‘‘ए, तपाईं त चिरपरिचित व्यक्ति हुनुहुँदो रहेछ । तपाईंलाई भौतिकरूपले चिन्ने त कमै होलान् तर नाम पढ्ने भने धेरै छन् । पत्रपत्रिकामा तपाईंका विचार पढ्न पाइन्थ्यो । अब भने सहकर्मी हुन आउनुभएछ । खुशी लाग्यो । तपाईंको खारिएको अनुभवले पक्कै पनि यस विद्यालयको शैक्षिक अवस्थामा आमूल परिवर्तन हुन सक्छ भन्ने लागेको छ ।’’ उनका कुरा सुनिरहेँ । आभार व्यक्त गर्दै आफ्ना तर्फबाट भरमग्धुर प्रयत्न रहने प्रतिबद्धता व्यक्त गर्न पछि परिनँ ।

समय वित्दै थियो । क्रमशः, क्रमशः शिक्षकहरू आउन थाले । परिचयको क्रममा थाहा पाएँ । उनीहरू थिए– ईश्वरी कुमार मण्डल, बाल्मीकि सिंह, जनार्दन साह, वंशीलाल यादव र सुचिता देव । अर्का रामदेव रजकलाई भने त्यत्तिखेर मैले देखिनँ । त्यो विद्यालय सात जना शिक्षक र एक जना पियन गरी आठ जनाबाट चलेको रहेछ । म थपिएपछि नौ जना पुगेछ । शिक्षकहरू भित्रँदा नभित्रिँदै फाट्टफुट्ट विद्यार्थीहरू देखापर्न थाले । समयले भने १०ः३०भन्दा उकालो काटिसकेको थियो । विद्यार्थीहरूका बीच परिचित होऊँला, नेपाली भाषाशिक्षणको महत्व बारे बुझाऊँला र लेखपढतिर जागरुक बनाऊँला भनेको थिएँ । मौका नमिल्ने प्रष्ट देखिरहेको थिएँ ।

अरू शिक्षक हाजिरी पुस्तिका बोकेर कार्यालय बाहिरिए । मेरा आँखा भित्तामा ठोकिए । महात्मा गान्धीको फोटो सहित ‘सात पाप’ शीर्षकमा लेखिएको थियो– ‘सिद्धान्तविहीन राजनीति, श्रमविहीन सम्पत्ति, विवेकविहीन भोगविलास, चरित्रहीन शिक्षा, नैतिकताविहीन व्यापार, मानवीयताविहीन विज्ञान, त्यागविहीन पूजा ।’–महात्मा गान्धी । यसमा आएको ‘श्रमविहीन सम्पत्ति’ र ‘चरित्रहीन शिक्षा’ भन्ने कथन आफैंलाई भनेजस्तो लाग्यो । पढाउन जाऊँ त कक्षामा विद्यार्थी नै छैनन् । कसरी चरित्रनिर्माण हुने खालको शिक्षा दिनु, नजाऊँ त श्रम नगरीकनै तलव–भत्ता पचाउनुपर्ने अवस्था ! त्यसैले धनारूपमा विद्यार्थी उपस्थित हुने विद्यालय रोज्नुपर्छ भन्ने साथीहरूको कथन ठिक रहेको महसुस भयो ।

अर्को कुनाले भनिरहेको थियो–‘शिक्षक उड्यो भने विद्यार्थी दौडन्छ । शिक्षक दौड्यो भने विद्यार्थी हिँड्छ । शिक्षक हिँड्यो भने विद्यार्थी बस्छ । शिक्षक बस्यो भने विद्यार्थी सुत्छ । शिक्षक सुत्यो भने विद्यार्थी मर्छ ।’–चिनिया उखान । यस भनाइले समेत मनमा तरङ्ग ल्याइदियो । भविष्यका कर्णधार आजका बालबालिकाको जीवन बनाउने कालिगढ पो भइएछ भन्ने वोध भयो । हामीले आज गद्दारी गरे भोलिको नेपाल कुरूप हुने स्पष्ट सङ्केत देखेँ । विद्यार्थीलाई होस्सहितको जोसिलो बनाउने शिक्षक–कर्तव्य पूरा गर्ने हो भने पहिले आफू नै होसियार बन्नु पर्ने र आलस्यलाई शत्रु ठानी लत्याउनुपर्ने आवश्यकता अनुभूत भयो । हाम्रो वेहोसी कृत्यले लाखौं–करोडौंको घाटा राष्ट्रलाई हुने रहेछ र हामी शिक्षक पो वास्तविक सामाजिक अपराधी ठहरिने रहेछौँ भन्ने कुरा विश्लेषण गर्न मलाई समय लागेन । अतः आजका बालबालिकाको जीवन–निर्माताको जिम्मा शिक्षक सेवा आयोगले आफ्नो हातमा समेत सुम्पेको बोध गरी असल शिक्षक बनेर जीवन बिताउने सङ्कल्प गरेँ ।

हुन त त्यस विद्यालयमा कक्षा १मा छात्रा र छात्र क्रमशः १२+११, कक्षा २मा क्रमशः १९+२०, कक्षा ३मा क्रमशः १९+१४, कक्षा ४मा क्रमशः १९+२६, कक्षा ५मा क्रमशः २०+१५, कक्षा ६मा क्रमशः २२+२७, कक्षा ७मा क्रमशः ३८+२८, कक्षा ८मा क्रमशः ३१+२०, कक्षा ९मा क्रमशः २५+२६ र कक्षा १०मा क्रमशः ४८+२९ गरी जम्मा ४६९ जना विद्यार्थीहरू भर्ना भएका रहेछन् । लैङ्गिक दृष्टिले पनि २५२ जना छात्रा र २१७ जना छात्र रहेछन् । जातीय आधारमा हेर्दा यादव, चमार, देव, मण्डल र मुसहर समुदायका बालबालिका पढ्दा रहेछन् । यत्तिका विद्यार्थीलाई बाटो देखाउने शिक्षक सङ्ख्या चाहिँ आठ जना मात्र रहेको बुझ्दा शिक्षक अभाव पहिलो समस्या रहेको ठहर गरेँ ।

पहिले सप्तरी जिल्लाका तिलाठी, कोइलाडी र विषहरिया क्षेत्र सामाजिक, आर्थिक र शैक्षिकरूपले सम्पन्न ठाउँ मानिन्थे । यिनै क्षेत्रमा पढेर मुलुकभरि मात्र नभई विश्वमै नाम कमाएका व्यक्तिहरू पनि मनग्यै रहेछन् । पछि आएर यी ठाउँहरू ओझेलमा परेका र गरिब–पिछडिएका समुदायका बालबालिकाले मात्र पढ्ने थलोका रूपमा विकसित भएका देखिए । उच्च आर्थिक र शैक्षिक हैसियत भएकाहरू क्रमशः सहरतिर बसाइँ सर्दै गएपछि ती क्षेत्रले पहिलेको पहिचान हराउँदै गएको अनुभूत भयो ।

पहिलो बसाइमै नि.प्रअ यादवसँग विद्यार्थीलाई कसरी नियमित बनाउने भन्ने सन्दर्भमा मनग्यै विचारविमर्श भयो । उनले विद्यालयमा पढाइ हुँदैन भन्ने भ्रम भएकाले विद्यार्थी नियमित नभएका हुन् भन्ने सङ्केत गरे । विद्यालयमा रिक्त दरबन्दी शिक्षा कार्यालयले परिपूर्ति गर्दै जाने क्रममा नयाँ शिक्षक पठाएको जानकारी अभिभावककहाँ पुर्याउन र विद्यार्थीलाई नियमित विद्यालयमा पठाउन अनुरोध गर्ने ध्येयले विद्यालयले घरदैलो कार्यक्रम अगाडि सारेको जानकारी समेत दिए । (नभन्दै भदौ ४ गते उनकै नेतृत्वमा रामदेव रजक, ईश्वरी कुमार मण्डल र विनोद यादवसहितको टोलीले घरदैलो कार्यक्रम पूरा गर्यो । यता बाल्मीकि सिंह, जनार्दन साह, वंशीलाल यादव, सुचिता देव र म (नन्दलाल आचार्य) मिलेर बहुकक्षा शिक्षणको कार्यक्रम सञ्चालन गर्यौं । भदौ ५ गतेदेखि भने विद्यार्थीहरू स्कुलमा धमाधम आउन थाले । हप्तादिन नवित्दै विद्यार्थीहरूले कक्षाकोठा भरिन थाले । नयाँ रुटिन पनि बन्यो । मेरो भागमा नेपाली र केही कक्षामा सामाजिक शिक्षा विषय परेछ । जे भए पनि अब सन्तोषजनक परिस्थिति देखिएको छ । मन खोलेर पढाउने वातावरण सिर्जना भइरहेको छ ।)

शिक्षकहरू शिक्षण पेशाप्रति सकारात्मक सोच रहेका जवाफदेही, कर्तव्यनिष्ट र सक्रिय भए, शैक्षिक निकायले अनुगमन र सुपरिवेक्षणको कार्य बढाए, विषय शिक्षकको अभाव पूर्ति भए, भौतिक–शैक्षिक सामग्रीहरूको अभाव नरहे, समुदाय–विद्यालय बीच सौहाद्र्रपूर्ण वातावरण कायम रहे, राजनीतिमुक्त क्षेत्र भए, पुरस्कार र दण्डलाई कडाइका साथ कार्यान्वययन गरे र पेशाागतरूपमा योग्य–सक्षम नेतृत्व दिन सक्ने प्रधानाध्यापक भए श्रीमहावीर माध्यमिक विद्यालय, विषहरियाको शैक्षिक उन्नयन छिटो छरितो रूपमा हुने कुरामा दुई मत नरहला ।

नन्दलाल आचार्य
शिक्षक, श्रीमहावीर माध्यमिक विद्यालय, विषहरिया–४, सप्तरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *